सुगन्धमा लुकेका यादहरू : घ्राणशक्तिको रहस्य

31,986 भ्यु
लेख सुन्नुहोस् 30:06

कतैबाट पाकेको तामा वा गुन्द्रुकको झोलको मीठो बास्ना आउँदा त्यसले मलाई साँझको सूर्यास्तको लालीले रातो भएको गाउँघरको दृश्य याद दिलाउँछ । आमाले खस्रो हातले पकाउनुभएको जे कुरा पनि मिठो हुने भएकोले त्यो स्वाद सोच्दैपिच्छे आमाको धेरै याद आउँछ । योजस्तै, यहाँहरूले पनि कुनै न कुनै समयमा कुनै परिचित सुगन्धका कारण बिर्सिसकेको पुराना स्मृतिहरू ताजा भएको अनुभव पक्कै गर्नुभएको छ होला । अझ, ती सम्झनाहरू यति विस्तृत हुन्छन् कि तिनले आफूसँगै जोडिएका भावनाहरू समेत ब्युँताइदिन्छन् । सुगन्धले स्मरणशक्तिको एक शक्तिशाली माध्यमको रूपमा काम गर्दछ । आखिर सुँघ्ने शक्तिभित्र त्यस्तो के रहस्य लुकेको छ होला ?

हामीले कसरी सुँघ्छौं

नाकको टुप्पालाई उत्तेजित गर्ने मिठो सुगन्धले मुखमा थुक ल्याइदिन्छ । वास्तवमा खानेकुराबाट आउने विभिन्न गन्धहरूचाहिँ हावामा मिसिएका रासायनिक तत्त्वहरू हुन् । जब खानेकुराका अणुहरू नाकको श्लेष्म झिल्ली(mucous membrane)को सम्पर्कमा आउँछन्, तब घ्राण रिसेप्टर(olfactory receptors)हरूले ती रसायनहरूको पहिचान गरी मस्तिष्कमा सूचना पठाउँछन् । त्यसपछि, मस्तिष्कले प्राप्त सूचनाको आधारमा उक्त गन्ध केको हो भनेर पहिचान गर्दछ । यी सबै प्रक्रियाहरू क्षणभरमै पूरा हुन्छन् ।

स्तनधारी प्राणीहरूमा सुँघ्ने शक्तिसँग सम्बन्धित करिब १,००० प्रकारका जीनहरू हुन्छन्, जसमध्ये करिब ३५० वटा जीनहरू मानवजातिमा सक्रिय हुन्छन् । बुढी औँलाको नङजत्रो क्षेत्रफल हुने घ्राण उपकला(olfactory epithelium)मा करिब ३५० प्रकारका घ्राण रिसेप्टर प्रोटिनहरू एकसाथ जम्मा हुन्छन् र तिनीहरूले आफूसँग मिल्ने गन्धका अणुहरूको प्रतीक्षा गरिरहेका हुन्छन् । घ्राण रिसेप्टरहरू र गन्धका अणुहरू आपसमा मिल्ने भागको आकार फरक-फरक हुन्छ । जसरी एउटा चाबीले आफूसँग मिल्ने ताल्चा मात्र खोल्न सक्छ, त्यसरी नै घ्राण रिसेप्टरहरू पनि आफूसँग मिल्ने आकार भएका निश्चित गन्धहरूसँग मात्र सक्रिय हुन्छन् ।

गन्धका अणुहरू घ्राण रिसेप्टरहरूसँग जोडिँदा तिनीहरूले विद्युतीय सङ्केतहरू उत्पन्न गर्छन् । यी सङ्केतहरू घ्राण नलीमार्फत मस्तिष्कमा पुग्छन् । त्यो लगतै मस्तिष्कको बाहिरी तहले ती विभिन्न सङ्केतहरूको संयोजनलाई विश्लेषण गरेर गन्धको प्रकार पहिचान गर्छ । त्यसपछि बल्ल गन्धको पहिचान खुल्छ ।

तर एउटा रिसेप्टरले एउटा मात्र गन्धको जिम्मेवारी लिने भन्नेचाहिँ हुँदैन । एउटै रासायनिक पदार्थमा धेरै वटा रिसेप्टरहरूले एकैसाथ प्रतिक्रिया जनाउँछन्, जसले गर्दा हामी विभिन्न गन्धहरू छुट्ट्याउन सक्छौं । अणुका विभिन्न भागहरूसँग जोडिएका धेरै रिसेप्टरहरूले भिन्न-भिन्न र आंशिक जानकारीहरू मस्तिष्कमा पठाउने गर्छन् । अर्थात्, गन्धका अणुहरूसँग जोडिने रिसेप्टरहरूको संयोजनअनुसार हामीले अनगिन्ती प्रकारका गन्धहरू चिन्न सक्छौं । परिणामस्वरूप, जीवित प्राणीहरूले आफ्नो शरीरमा भएका रिसेप्टरका प्रकारहरू भन्दा धेरै गुणा बढी विविधता भएका गन्धहरू पत्ता लगाउन सक्छन् ।

एउटा निश्चित ताल्चालाई त्यसको लागि बनेको साँचोले मात्र खोल्न सकेजस्तै, प्रत्येक घ्राण रिसेप्टरले त्यसको आकारसँग मिल्ने निश्चित गन्धयुक्त अणुसँग मात्र प्रतिक्रिया जनाउँछ । एउटै गन्धयुक्त अणुसँग धेरै रिसेप्टरहरूले एकैसाथ प्रतिक्रिया दिन्छन् र विभिन्न गन्धहरू छुट्‌ट्याउँछन् । रिसेप्टर A, B, र Dले गन्धयुक्त अणु १ सँग प्रतिक्रिया गर्छन् र रिसेप्टर A र Dले गन्धयुक्त अणु २सँग प्रतिक्रिया गर्छन् । सुगन्धित वस्तुसँग कुन रिसेप्टरहरूको संयोजन हुन्छ भन्ने आधारमा अनगिन्ती फरक-फरक गन्धहरू पहिचान गर्न सकिन्छ ।

हाल, घ्राण रिसेप्टरहरू नाकको भित्री श्लेष्ममा मात्र नभई, हाम्रो शरीरमा पनि पाइने कुरा पत्ता लागेको छ । मृगौलामा रहेका घ्राण रिसेप्टरहरूले (Olfactory receptors) हर्मोन उत्सर्जनलाई नियन्त्रण गर्न आन्द्राका सूक्ष्मजीवहरूको गन्ध पहिचान गर्छन् र मांसपेशीको पुनरुत्पादनमा समेत मद्दत पुर्‍याउँछन् । यस्ता नयाँ तथ्यहरू एक-एक गर्दै पत्ता लागिरहेका छन् ।

सुँघ्ने शक्ति र स्मृतिबीचको सम्बन्ध

फ्रान्सेली लेखक मार्सेल प्रुस्टको उपन्यास ‘हराएको समयको खोजी(In Search of Lost Time)’मा भएका मुख्य पात्र मार्सेलले, चियामा चोबिएको म्याडेलिन केकको बास्नाका कारण बाल्यकालमा घटेको एउटा पुरानो घटना याद गर्न पुगेका थिए । सुगन्धहरू समेटिएको स्मृतिले एल्बमबाट तस्बिरहरू हेरेजस्तै महसुस गराउँछ । यसरी कुनै सुगन्धको प्रभावले पुराना यादहरू ताजा हुने प्रक्रियालाई ‘प्रुस्ट फेनोमेनन’(Proust phenomenon) भनिन्छ ।

सुँघ्ने शक्ति सिधै मस्तिष्कमा पुग्ने र अन्य इन्द्रियका जानकारीहरूचाहिँ थ्यालामसबाट त्यहाँ पुग्ने भएकोले यस्तो भएको हो । घ्राण स्नायु(olfactory nerve) सिधै मस्तिष्कको ‘लिम्बिक सिस्टम’(limbic system)सँग जोडिएको हुन्छ, जसले भावना र स्मृतिलाई नियन्त्रण गर्दछ । त्यसैले यसले व्यक्तिको भावना र स्मृतिमा प्रत्यक्ष प्रभाव पार्दछ ।

घ्राण रिसेप्टरहरूले पत्ता लगाएको जानकारीलाई मस्तिष्कको बाह्य तहका विभिन्न ठाउँहरूमा पठाइन्छ । भावनाहरूको प्रतिक्रियामा संलग्न एमिग्डाला(Amygdala)ले गन्धमा भावनात्मक जानकारी थपेर त्यसको मनपर्ने वा मन नपर्ने कुराको मूल्याङ्कन गर्दछ, र दीर्घकालीन स्मृति नियन्त्रण गर्ने हिप्पोक्याम्पस(Hippocampus)मा गन्धसँग सम्बन्धित सम्झनाहरू सञ्चय गर्दछ । सुँघ्ने शक्ति प्रत्यक्ष रूपमा मस्तिष्क(Cerebrum)सँग जोडिएको हुनाले यदि अचानक गन्ध छुट्ट्याउनमा समस्या भइरहेको छ भने, त्योचाहिँ अल्जाइमर जस्तो मस्तिष्क रोगको प्रारम्भिक चरण हुन सक्छ ।

रङलाई रातो वा पहेँलो भनेर स्पष्ट रूपमा चिन्न सकिन्छ र आवाजलाई फ्रिक्वेन्सी वा डेसिबलद्वारा सङ्ख्यामा मापन गर्न सकिन्छ । तर अन्य इन्द्रियहरूको तुलनामा गन्धलाई सरल तरिकाले व्याख्या गर्ने शब्दहरू निकै कम हुन्छन् । त्यसैले प्रायः अवस्थामा गन्धलाई सम्बन्धित वस्तु वा स्मृतिका आधारमा व्यक्त गरिन्छ । किनभने सुँघ्ने शक्तिचाहिँ स्मृति र भावनासँग गाँसिएको हुन्छ, त्यसैले यो व्यक्तिपिच्छे फरक हुन्छ र एउटै गन्ध भए पनि व्यक्तिअनुसार त्यसलाई हेर्ने दृष्टिकोण एकदमै फरक हुन्छ । कसैका लागि उही गन्ध सुगन्ध हुन सक्छ भने कसैका लागि चाहिँ दुर्गन्ध हुन सक्छ ।

कम्पनीहरूले सुँघ्ने शक्तिको यो विशेषतालाई बजारीकरण(marketing)मा पनि प्रयोग गर्छन् । उनीहरूले उपभोक्ताहरूको खरीद गर्ने इच्छा प्रोत्साहन गर्नका लागि कुनै विशेष सम्झना जगाउने सुगन्ध वा ब्रान्डको छवि झल्काउने बास्नाको प्रयोग गर्छन् । योचाहिँ बेकरी पसलेहरूले बिहानको समयमा पाकेको पाउरोटीको बास्ना जानाजानी फैलाएजस्तै हो । जापानमा एउटा साबुन कम्पनीले आफ्नो उत्पादनको विशेष बास्ना मसीमा मिसाएर पत्रिकामा विज्ञापन समेत छापेको थियो । उनीहरूले त्यसो गर्नुको कारणचाहिँ स्मृती र भावनामा सुँघ्ने शक्तिले जस्तो प्रत्यक्ष प्रभाव पार्ने अर्को कुनै इन्द्रिय नभएकोले हो ।

संवेदनशील सुँघ्ने शक्ति

यदि मानिसहरूलाई गुमाउँदा खासै फरक नपर्ने इन्द्रिय छान्न लगाइयो भने, धेरैले सुँघ्ने शक्तिलाई रोज्नेछन् । यसले मानिसहरू सुँघ्ने शक्तिमा खासै निर्भर हुँदैनन् र त्यसलाई खासै महत्त्वपूर्ण ठान्दैनन् भन्ने कुरा देखाउँछ । प्रायः जनावरहरू बाह्य जानकारीका लागि आफ्नो सुँघ्ने शक्तिमा निर्भर हुने भएकोले सुँघ्ने शक्तिबिना उनीहरूलाई पारिस्थितिक प्रणालीमा बाँच्न गाह्रो हुन्छ । तर मानिसमा सुँघ्ने शक्ति छैन भने पनि उसलाई जीवनयापन गर्न खासै समस्या पर्दैन ।

सुँघ्ने शक्तिबिना जिउन सकिए पनि मानिसको जीवनमा सुँघ्ने शक्तिको छुट्टै महत्त्व छ । सुँघ्ने शक्ति छैन भने खाना बिग्रिएको कुरा थाहा पाउन सकिँदैन । हामीले स्वादको रूपमा बुझेको ९० प्रतिशत कुरा वास्तवमा सुँघ्ने शक्तिबाट थाहा पाउन सकिएको हो । विशेष गरी जिब्रोले चार प्रकारका स्वादहरू मात्र थाहा पाउने भएकोले हामीले अनुभव गर्ने विभिन्न स्वादहरू पूर्ण रूपमा सुँघ्ने शक्तिमा निर्भर हुन्छ । यही कारणले गर्दा रुघाखोकी लाग्दा वा नाक बन्द हुँदा कुनै पनि खानेकुराको स्वाद लिन सकिँदैन ।

कुकुर र सुँगुरहरूमा विभिन्न प्रकारका घ्राण रिसेप्टरहरू हुन्छन् र उनीहरूको घ्राण कोषिका मानिसहरूको तुलनामा दर्जनौं गुणा बढी हुन्छ, जसले गर्दा तिनीहरूले मानिसले सुँघ्न नसक्ने कुराहरू पनि सुँघ्न सक्छन् । अनि एउटै प्रजातिभित्र पनि घ्राण शक्तिको स्तर धेरै फरक हुन्छ । केही मानिसहरू थोरै गन्ध भए पनि थाहा पाइहाल्ने गरी संवेदनशील हुन्छन् भने केही मानिसहरूचाहिँ जतिसुकै कडा गन्ध भए पनि थाहा नपाउने भएकोले प्रतिक्रिया दिँदैनन् ।

जनावरको तुलनामा मानिसको सुँघ्ने शक्ति कम भए पनि आश्चर्यजनक रूपमा राम्रो हुन्छ । भनिन्छ, कि गन्ध ग्रहण गर्ने रिसेप्टरहरू भएका ५० लाखभन्दा बढी घ्राण-कोषिकाहरूको प्रयोग गरेर मानिसहरूले १०,००० प्रकारका विभिन्न गन्धहरू चिन्न सक्छन् । केही मानिसहरूको सुँघ्ने शक्ति यति शक्तिशाली हुन्छ, कि उनीहरूले लगभग २५ लाख अणुहरूका बीचमा एउटा मात्र फरक अणु मिसिएको छ भने पनि त्यसलाई पत्ता लगाउन सक्छन् ।

हामीले केरा वा कफीजस्ता राम्ररी थाहा भएका बास्नाहरूलाई स्पष्टसँग छुट्‌ट्याउन सक्छौं, तर पहिला कहिल्यै नसुँघेका वस्तुहरूको बास्ना थाहा पाउन सक्दैनौं । तर यदि पदार्थहरूको सूची पहिले नै उपलब्ध गराइयो भने सुगन्धको प्रकार सही रूपमा पहिचान गर्ने सम्भावना बढ्छ । अपरिचित गन्ध ठ्याक्कै चिन्न नसक्नुको कारण हाम्रो सुँघ्ने शक्ति कमजोर भएकोले होइन तर हाम्रो सुँघ्ने शक्ति धेरै इन्द्रियसँग जोडिएकोले गर्दा हो, र हाम्रो स्मृतिबाट त्यो गन्धको जानकारी खोज्ने क्षमता अपरिपक्व भएकोले हो । अनि गन्ध थाहा नपाउनुको अर्को कारण भनेको नाक छिट्टै थाक्ने भएकोले हो ।

गुलाबको सुगन्धचाहिँ प्रायः सबै मानिसलाई थाहा छ । अनि यो फूलको सुगन्धमा पाइने सबै तत्त्वहरू पहिचान भइसकेका छन् । तर अनुसन्धानका अनुसार यदि सयौँ तत्त्वहरूलाई सही मात्रामा मिसाउने हो भने पनि प्राकृतिक गुलाबको बास्ना बनाउन सकिँदैन । मेसिनहरूले कृत्रिम र प्राकृतिक सुगन्ध बीचको भिन्नता पत्ता लगाउन सक्दैन, तर सुगन्धविद जस्तो अनुभवी व्यक्तिले भने त्यसको सुगन्ध तुरुन्त पत्ता लगाउन सक्छ । त्यसैले धेरै कम्पनीहरू अझै पनि महँगो मूल्यका बाबजुद आफ्ना उत्पादनहरूमा थोरै भए पनि प्राकृतिक गुलाफको तेल हाल्ने गर्छन् ।

संसारबाट सबै सुगन्ध हरायो भने के हुन्छ होला ? हाम्रो जीवन एकदमै खल्लो, नीरस हुनेछ । हामीले सुगन्धित फूलहरूको बास्ना थाहा पाउन सक्दैनौं र खानेकुराको स्वाद पनि लिन सक्दैनौं । जब हामी आफ्ना आँखाहरू चिम्लेर ताजा हरिया पातहरूको बास्ना सुँघ्छौं, तब हामी पुराना राम्रा दिनहरूको स्मृतिमा हराउँछौं र ताजा महसुस गर्छौं । सुँघ्ने शक्ति भनेको मस्तिष्कले महसुस गर्ने विद्युतीय सङ्केत हो । तर सुँघ्ने शक्तिको यो साधारण व्याख्याले यसको पूर्ण चमत्कारलाई कसरी बुझाउन सक्छ र ?

सुगन्धमा लुकेका यादहरू : घ्राणशक्तिको रहस्य

30:06
0:00 30:06

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।