निस्तार-चाड र मुक्तिको सत्यता

24,167 भ्यु

वर्तमान समयमा मानिसहरूले परमेश्वरको वचनलाई त्यागिरहेका छन् । परिणामस्वरूप संसारमा जताततै विपत्ति झरिरहेको छ, अनि संसार आत्मिक तिर्खाले छटपटाइरहेको छ (आमो ८:११; यर ४४:२३) । तापनि तिनीहरू “निस्तार-चाड हाम्रो मुक्तिसँग सम्बन्धित छैन, हामीले यो मान्न आवश्यक छैन” भन्दै निस्तार-चाडको सत्यतालाई इन्कार गर्ने गर्छन् ।

२,००० वर्षअघि येशूज्यूले शास्त्री र फरिसीहरूलाई तिनीहरूको ढोंगप्रति हप्काउनुभयो, र स्वर्ग-राज्यको रहस्यको ज्ञान तिनीहरूलाई चाहिँ दिइएको छैन भन्नुभयो । वर्तमान समयमा पनि परमेश्वरलाई विश्वास गर्छु चाहिँ भन्ने तर परमेश्वरको इच्छालाई सही तरिकाले नबुझ्ने मानिसहरू छन् । मानिसहरू ज्ञानको कमीले गर्दा नष्ट भएका छन् भनेर बाइबलमा भनिएजस्तै, तिनीहरूले परमेश्वरको वचन नजानेसम्म र ती पालन नगरेसम्म विनाशको बाटोमा जानुबाहेक तिनीहरूसँग अर्को विकल्प छैन (होशे ४:६; यशै ९:१६; मत्ती अध्याय २३) ।

विपत्तिको युगमा अझ चम्किलो गरी चम्कने मुक्तिको सत्यता नै निस्तार-चाड हो । परमेश्वरले निस्तार-चाडचाहिँ पुस्तौँसम्म मानिनुपर्ने अनन्तको विधि हो भन्नुभएको छ । परमेश्वरको वचनचाहिँ पूर्ण मुक्तिको प्रतिज्ञा हो भन्ने यथार्थतालाई बाइबलद्वारा बुझेर, यस्तो अमूल्य सत्यता पाएकोमा हामीहरू कति आशिषित छौं भन्ने कुरालाई महसुस गरौं ।

बाइबल अध्ययन गर्दा अनन्त जीवनमा ध्यान देऊ

परमेश्वरले सृष्टि गर्नुभएको ब्रह्माण्डचाहिँ अनन्तको संसार हो । एक सेकेन्डमा एउटा तारालाई गन्ने हो भने हामी बस्ने आकाशगङ्गामा भएका ताराहरू गन्न मात्र पनि ६,००० वर्षभन्दा बढी समय लाग्नेछ । यसबाहेक ब्रह्माण्डमा करीब २ खरब आकाशगङ्गाहरू छन् । यो पनि वैज्ञानिकहरूले अहिलेसम्म पत्ता लगाएका ताराहरूको गन्तीमा पर्छ । अहिलेसम्म पत्ता नलागेका ताराहरूलाई विचार गर्ने हो भने ब्रह्माण्डभरि असीमित र अनगिन्ती ताराहरू छन् ।

फरक दृष्टिकोणबाट हेर्दा, हामी जिइरहेको यो संसारको एक सेकेन्डचाहिँ सूक्ष्मजीवको संसारमा ३० नील वर्ष बराबर हो । वैज्ञानिकहरूका अनुसार पृथ्वीको आयु लगभग ४.५ अरब वर्ष भयो, अनि ब्रह्माण्डको आयुचाहिँ करीब १५ अरब वर्ष भयो । तुलनात्मक रूपमा भन्नुपर्दा, ३० नील वर्ष भनेको एकदम असीमित समय हो ।

मानव संसारमा आँखाको एक निमेषजस्तो लाग्ने एक सेकेन्डको समय सूक्ष्मजीवको संसारमा भने ३० नील वर्ष बराबर हो । अणुहरूको दृष्टिकोणबाट हेर्दा मानव संसारचाहिँ समय कहिल्यै समाप्त नहोला जस्तो देखिने एक अकल्पनीय ठाउँ हो । त्यसरी नै मानव संसारको दृष्टिकोणबाट हेर्दा आत्मिक संसार अर्थात् परमेश्वरको राज्य पनि पूर्ण रूपमा बुझ्न नसकिने विलक्षणको ठाउँ हो । त्यसैले परमेश्वरले हामीलाई बाइबल दिनुभएको हो । टाढामा रहेको ब्रह्माण्डका ताराहरूलाई दूरदर्शक यन्त्रविना ठीकसँग देख्न नसकिएजस्तै, बाइबलविना परमेश्वरको राज्यलाई देख्न सकिँदैन ।

हामीहरू भविष्यमा जाने स्वर्ग अर्थात् स्वर्गदूतहरूको संसारचाहिँ समय र क्षेत्रको सीमा नभएको ‘विलक्षण र अनन्त’को संसार हो (दान ७:१८) । समय र क्षेत्रको सीमाभित्र थुनिएर, मर्नुबाहेक अर्को विकल्प नभएका मानव-जातिलाई अनन्त स्वर्ग-राज्यमा डोऱ्याउन परमेश्वरले अनन्त जीवन दिन चाहनुभएको हो ।

अनन्त जीवनचाहिँ परमेश्वरले मात्र दिन सक्नुहुन्छ । तसर्थ मानव-जातिलाई अनन्त जीवनको ठूलो उपहार दिनको निम्ति बाइबल लेख्नुभएका परमेश्वर स्वयम् यो पृथ्वीमा आउनुभयो ।

“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्, तापनि तिमीहरू जीवन प्राप्त गर्न मकहाँ आउन इन्कार गर्छौ ।”यूह ५:३९-४०

“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ । म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।”यूह १०:१०

येशूज्यूले धर्मशास्त्र बाइबलको उद्देश्यलाई स्पष्टसित थाहा दिनुभयो । केही मानिसहरूले बाइबललाई नैतिक शिक्षा दिने पुस्तकको रूपमा मात्र लिने गर्छन् । तर बाइबलको सबैभन्दा महत्त्वपूर्ण भूमिका भनेको नै हामीलाई अनन्त जीवन दिलाउनु हो । त्यसैले बाइबल अध्ययन गर्दा हामीले अनन्त जीवनको विषयमा ध्यान दिनुपर्छ ।

बाइबलमा लिखित परमेश्वरको वचनलाई पूर्ण नठानेसम्म हामीले कदापि अनन्त जीवन प्राप्त गर्न सक्दैनौं । अनन्त जीवन प्राप्त गर्नलाई हामीले अनन्त जीवन दिनुहुने परमेश्वरलाई सही तरिकाले चिन्नुपर्छ, र उहाँकहाँ जानुपर्छ । यहूदीहरूले बाइबललाई विश्वास नगरेकाले तिनीहरूमाझ आउनुभएका परमेश्वरलाई तिनीहरूले चिन्न सकेनन् । तिनीहरूले उहाँलाई शङ्काको दृष्टिले हेरेकाले, शरीर धारण गरेर आउनुभएका येशूज्यूलाई इन्कार गरी अन्ततः क्रूसमा टाँग्नेजस्तो घोर पाप गर्न पुगे ।

हामीलाई अनन्त जीवन दिन परमेश्वरले नयाँ करार स्थापना गर्नुभयो

अनन्त जीवनको स्रोत हुनुभएका परमेश्वरको वचनमा हामीले केही थप्ने वा घटाउने गर्नुहुँदैन । यो नै बाइबलको निष्कर्ष हो ।

यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ । अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ ।प्रका २२:१८-१९

माथिको वचनअनुसार, यदि हामीले आफ्नो इच्छाअनुसार बाइबलको शिक्षामा केही थप्यौं भने विपत्ति पाउनेछौं र केही घटायौं भने परमेश्वरको राज्यमा प्रवेश गर्ने अधिकार गुमाउनेछौं । अर्थात् हामीले बाइबलका सबै शिक्षाहरूलाई जस्ताको तस्तै पछ्याउनुपर्छ भन्ने वचन हो ।

“किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।”यूह १३:१५

बाइबलका वचनहरूमा थपघट नगरीकन हामीले कसरी अनन्त जीवन प्राप्त गर्न सक्छौं भन्नेबारे येशूज्यू स्वयम्‌ले उदाहरण देखाइदिनुभयो । ख्रीष्टका उदाहरणहरूमध्ये चेलाहरूसँगै निस्तार-चाड मान्नुभएको दृश्य एक पटक हेरौं ।

अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार-चाडको थुमा बलि चढाउनुपर्थ्यो । उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाडको भोज तयार गर ।” … तिनीहरू गए, र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाडको तयारी गरे । अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।”लूक २२:७-१५

येशूज्यू र बाह्र जना चेलाहरूले सँगै गर्नुभएका कार्यहरूमध्ये निस्तार-चाडचाहिँ बाइबलका ४ वटै सुसमाचारका पुस्तकहरूमा लेखिएको सबैभन्दा उल्लेखनीय र अनुग्रहात्मक दृश्य हो । ख्रीष्टको उदाहरण भएकोले हामीले यो दृश्यमा विशेष ध्यान दिन आवश्यक छ ।

पत्रुस, यूहन्ना र येशूज्यूका अन्य चेलाहरू सबैले निस्तार-चाड माने । “यो चाड मान्न आवश्यक छैन” भन्दै निस्तार-चाडलाई इन्कार गर्नेहरू कोही थिएनन् । अरूभन्दा पनि चेलाहरूलाई निस्तार-चाडको तयारी गर्न लगाउनुभएर मान्ने इच्छा गर्नुभएका व्यक्ति नै येशूज्यू स्वयम् हुनुहुन्थ्यो । येशूज्यू यो पृथ्वीमा आउनुको उद्देश्यचाहिँ मानव-जातिलाई तिनीहरूका पापबाट छुटकारा गराएर अनन्त मुक्तिको मार्गमा डोऱ्याउनको निम्ति थियो । तसर्थ येशूज्यूले निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभएकोले हाम्रो मुक्तिसँग निस्तार-चाडको एकदम नजिकको सम्बन्ध छ भनी हामी बुझ्न सक्छौं ।

येशू ख्रीष्टले निस्तार-चाडको पवित्र भोजमा निस्तार-चाडको रोटीलाई आफ्नो शरीर र दाखमद्यलाई आफ्नो रगतको रूपमा प्रतिज्ञा गर्नुभएर नयाँ करार स्थापना गर्नुभयो ।

अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”लूक २२:१९-२०

येशूज्यूले “मैले यो निस्तार-चाडको भोजन खाने ठूलो इच्छा गरेको थिएँ” भन्नुको पछाडि एउटा कारण थियो । त्योचाहिँ येशूज्यूको देह खाने र उहाँको रगत पिउनेले मात्र अनन्त जीवन पाउने भएकोले गर्दा हो (यूह ६:५४) । निस्तार-चाडको करारद्वारा सम्पूर्ण मानव-जातिलाई अनन्त जीवन दिनु नै येशूज्यूको ठूलो इच्छा थियो ।

अनन्त मृत्यु भोग्नुबाहेक अर्को विकल्प नभएका पापी, हामीहरूलाई मुक्ति दिनको निम्ति ख्रीष्टले आफ्नो अनमोल देह र रगतद्वारा स्थापना गरिदिनुभएको सत्यता नै नयाँ करार निस्तार-चाड हो । पुरानो करारका अगमवक्ताहरूद्वारा परमेश्वरले, मानव-जातिको लागि नयाँ करार कति महत्त्वपूर्ण छ भन्ने कुरा बोध गराइदिनुभएको छ ।

नयाँ करार स्थापना गर्नुमा परमेश्वरको इच्छा

परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” … परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् । ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन । किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ । “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ ।”यर ३१:३१-३४

परमेश्वरका प्रजाको हृदयमा अनिवार्य नयाँ करारको व्यवस्था हुनुपर्छ । “म नयाँ करार मान्नेहरूका परमेश्वर हुनेछु, हृदयमा नयाँ करार भएकाहरूका अपराधहरू म क्षमा गर्नेछु” भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभयो । मानिसले चाहिँ प्रतिज्ञा गरेर त्यसलाई पूरा नगर्न पनि सक्छ, तर परमेश्वरले आफ्नो प्रतिज्ञा अवश्य पूरा गर्नुहुन्छ ।

परमेश्वरले केवल नयाँ करारद्वारा हाम्रो पाप क्षमा गरिदिने प्रतिज्ञा गर्नुभएकोले नयाँ करारविना हामीले कदापि पाप-क्षमा पाउन सक्दैनौं । तसर्थ निस्तार-चाड नमानीकन पाप-क्षमा पाउन सकिँदैन, पाप-क्षमा पाउन सकिएन भने अनन्त जीवन पाउन सकिँदैन, र अनन्त जीवन पाउन सकिएन भने स्वर्ग जान सकिँदैन । यसकारण येशूज्यूले निस्तार-चाडलाई नयाँ करारको रूपमा घोषणा गर्नुभएर यो चाड मान्ने ठूलो इच्छा गर्नुभएको हो ।

येशूज्यूले निस्तार-चाड मान्ने ठूलो इच्छा गर्नुभएको थियो । तर निस्तार-चाडचाहिँ केवल पुरानो करारको व्यवस्था भएकोले नमाने पनि हुन्छ भन्दै जिद्दी गर्ने मानिसहरू पनि छन् । तिनीहरूचाहिँ निस्तार-चाड मान्न आवश्यक छैन भन्ने गर्छन् । त्यसोभए के तिनीहरूले वास्तवमै येशूज्यूलाई विश्वास गर्छन् भन्न मिल्छ होला ? बाइबलमा त्यस्ता मानिसहरूलाई “तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्” भनिएको छ (तीत १:१६) । तिनीहरूले येशूज्यूलाई विश्वास गर्छौं त भन्छन्, तर येशूज्यूले मानव-जातिको मुक्तिको निम्ति दिनुभएको सत्यतालाई चाहिँ तिनीहरू इन्कार गर्छन् । त कसरी तिनीहरूले आफूलाई साँचो गोठालो अथवा साँचो ख्रीष्टियान भन्न मिल्छ र ?

“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । त्यो दिन धेरैले मलाई भन्नेछन् ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं ? तपाईंको नाउँमा भूतहरू धपाएनौं । र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र ?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ’ ।”मत्ती ७:२१-२३

“मैले यो निस्तार-चाडको भोजन खाने ठूलो इच्छा गरेको थिएँ” भन्नुभएका येशूज्यूको वचनद्वारा पनि निस्तार-चाड मान्नु नै परमेश्वरको इच्छा हो भन्ने कुरामा हामीहरू निश्चित हुन सक्छौं । परमेश्वरको पवित्र इच्छा सारा संसारमा सुनाउने कुरा शैतानलाई कदापि मन पर्दैन । परमेश्वरले मानव-जातिको खुशीको निम्ति स्थापना गरिदिनुभएको नयाँ करारको निन्दा गर्ने र तर्कहीन सिद्धान्तहरूद्वारा निरन्तर विरोध गर्नेहरू कसको पक्षमा उभिएका छन् भनेर हामीले स्पष्टसित देख्न सक्छौं ।

तिनीहरूले इन्साफको दिनमा येशूज्यूलाई ‘प्रभु, प्रभु’ भनी पुकार्दा, उहाँले तिनीहरूलाई “मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ” भन्नुहुनेछ । अर्थात् येशूज्यूसँग तिनीहरूको केही हिस्सा हुनेछैन भन्ने वचन हो ।

नयाँ करार निस्तार-चाडचाहिँ परमेश्वरले प्रमाणित गर्नुभएको मुक्तिको सत्यता हो । धार्मिक अन्धकारको युगमा मारिएका असंख्य सन्तहरूको रगतको जगमाथि परमेश्वरले पुनर्स्थापन गर्नुभएको केन्द्रीय सत्यता नै निस्तार-चाड हो । मानिसहरू यसको विरोध गर्न खडा भए तापनि हामीले सत्यता सुनाउन कदापि रोक्नुहुँदैन ।

नयाँ करार मान र सुनाऊ

अझै पनि नयाँ करारबारे थाहा नपाएका मानिसहरू संसारमा धेरै छन् । यो निस्तार-चाड हाम्रा परिवारजन, छिमेकी, चिनाजाना लगायतका मानिसहरूलाई सक्दो धेरै सुनाऔं । निस्तार-चाडमा मानव-जातिको मुक्तिको प्रतिज्ञा समावेश भएकोले हामीले संसारका सबै जातिहरूलाई यो प्रतिज्ञाको बारेमा सुनाउनुपर्छ ।

किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो । यो मेरो सम्झनाको निम्ति गर ।” त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर ।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ ।१ कोर ११:२३-२६

माथिको वचनमा प्रेरित पावलले सुरुको मण्डलीका सन्तहरूलाई कुन सत्यता प्रचार गर्दैछन् ? त्यो नै येशू ख्रीष्टले “यो(रोटी) तिमीहरूका निम्ति मेरो शरीर हो … यो कचौरा(दाखमद्य) मेरो रगतमा भएको नयाँ करार हो” भन्नुहुँदै स्थापना गर्नुभएको निस्तार-चाडको सत्यता हो । पावलले तिनीहरूलाई सुम्पेका कुराचाहिँ पावलको व्यक्तिगत विचार नभएर प्रभुबाट पाएको आज्ञा हो भनेर तिनले भनेका छन् । अनि तिनले आफूलाई, यो नयाँ करार सुनाउने ‘नयाँ करारको सेवक’ पनि भनेका छन् (२ कोर ३:६) ।

हामीहरू पवित्र स्वर्गीय पिता-माताको सेवा गर्दै पिता-माताको साँचो शिक्षाभित्र नयाँ करार निस्तार-चाड मानिरहेका छौं । नयाँ करारको व्यवस्था हाम्रो हृदयमा भएकोले परमेश्वरले हामीलाई “तिमीहरू मेरा प्रजा हौ” भनी स्वीकार्नुभएको छ, अनि उहाँचाहिँ हाम्रा परमेश्वर हुनुभएको छ । परमेश्वरका प्रजा मात्र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्छन् । अनि नयाँ करारभित्र रहने आफ्ना सन्तानहरूलाई परमेश्वरले अन्तिम इन्साफको समयमा सबै विपत्तिहरूबाट बचाउने अनुग्रहपूर्ण प्रतिज्ञा पनि गर्नुभएको छ ।

नयाँ करार निस्तार-चाडमार्फत परमेश्वरले हामीलाई स्वर्गीय नागरिकता प्रदान गर्नुभएर अनन्त जीवन र मुक्तितर्फ डोऱ्याइरहनुभएको छ । हामी सबै जना परमेश्वरको यो अनुग्रहलाई सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म सुनाऔं । झूटा अगमवक्ताहरूले निस्तार-चाड मुक्तिको सत्यता होइन भनेर जतिसुकै छल्न खोजे तापनि हामीले ख्रीष्टको दृष्टिकोणबाट सही कुरालाई छुट्‌ट्याउन जान्नुपर्छ । बाइबलको दृष्टिकोणबाट हेर्ने हो भने तिनीहरूको तर्क र सबै शिक्षाहरू गैरबाइबलीय र गलत छ भनी जान्न सकिन्छ । मुक्तिको सत्यता नयाँ करार निस्तार-चाड लगनशीलताका साथ सुनाऔं, अनि नयाँ करारभित्र हामीलाई परमेश्वरको प्रजा बनाउनुभई स्वर्ग-राज्यमा डोऱ्याइरहनुभएका स्वर्गीय पिता र स्वर्गीय मातालाई सदैव धन्यवाद र महिमा चढाउने हामीहरू हुन सकौं ।