एउटा रोटी वा दुई वटा रोटी

11,893 भ्यु

यो कहानीका मुख्य पात्र एक उच्च माध्यमिक विद्यालयका विद्यार्थी हुन् । विद्यालयबाट घर फर्किंदा उसले सानो टेबिलमा दुई वटा रोटी र एउटा नोट भेट्टाउँछ ।

‘बहिनीसँगै बाँडेर खानू’

नोट पढ्नेबित्तिकै उसले एउटा रोटी खान्छ । तर त्यतिले उसको पेट भरिँदैन, उसले आमाको कुरालाई बेवास्ता गरी बहिनीको भाग समेत खाइदिन्छ । प्रमाण हटाउनका लागि उसले आमाको नोटलाई डस्टबिनमा फालिदिन्छ ।

केही समयपछि बहिनी घर आउँछिन् र डस्टबिनमा फालिएको आमाको त्यो नोटलाई देख्छिन् । उनी रिसाउँछिन् र दाजु-बहिनीबीच झगडा सुरु हुन्छ । बहिनीसँग माफी मागेर अर्को रोटी किनिदिएमा समस्या समाधान हुनेछ भनेर दाजुले सोच्दछ, तर त्यो कुरा त्यति सरल थिएन । बहिनीले रोटी माग्दै यसो भन्छिन् ।

“तपाईंले दुई वटा रोटी खानुभएकोले म पनि दुई वटै रोटी खान्छु ! मलाई पनि दुई वटा रोटी किनिदिनुहोस् ।”

बहिनीको जिद्दीलाई दाजुले स्वीकारेन ।

“दुईवटा रोटीमध्ये एउटा रोटी मेरो थियो । त्यसैले म तिमीलाई एउटा रोटी किनिदिन्छु । तिमीलाई एउटा रोटी किनिदिनुपर्ने कुरामा कुनै शङ्कै छैन ।”

दुवैको विचार फरक भएकोले उनीहरूले एक-अर्काको विचार स्वीकार्न सकेनन् । निष्कर्षमा पुग्न नसकी समानान्तर रेखामा दौडिरहेका ती दाजु-बहिनीले कसरी समस्याको समाधान गरे होला ? पढ्दैगर्ने क्रममा बहिनी टेबिलमै निदाउँछिन्, ठीक त्यही समयमा दाजुले उसको छेउमा दुई वटा रोटी राखिदिएसँगै कहानी समाप्त हुन्छ ।

योचाहिँ ‘Red Bean Bun Theory’ नामक छोटो चलचित्रको कहानी हो । सबै मानिसहरूले परिवार, साथीभाइ वा अपरिचितहरूसँग विचार नमिल्दा कम्तिमा एक पटक रिसाएको अनुभव गरेकै हुन्छन् । यदि कुनै निश्चित उत्तर छैन र सही र गलत छुट्याउन गाह्रो छ भने, दुवै पक्षले आ-आफ्नो विचारमा जोड दिइरहँदा तर्कहरू लम्बिन्छन् । किनभने मानव भावनाहरू जटिल र बुझ्न एकदमै गाह्रो हुन्छन्, र मानिसहरूबीच हुने कुराहरू प्रायः सही र गलत जत्तिकै स्पष्ट हुँदैनन् । यद्यपि अर्को व्यक्तिलाई सही र गलत छुट्याउने जिद्दी मनोवृत्तिसहित व्यवहार गरियो र केवल आफ्नो विचारमा मात्र जोड दियो भने, समस्या कदापि समाधान हुँदैन । यसले दुवै व्यक्तिको भावनामा चोट पुऱ्याउँछ । कहिलेकहीँ, को सही छ भनेर निर्णय गर्नुको सट्टा, कसले आफ्नो शिर निहुराउँछ र पहिले अगाडि बढ्छ भन्ने कुरा समस्या समाधान गर्ने प्रमुख तत्त्व हुन्छ । चलचित्रमा पनि, रोटीको सङ्ख्याले समस्या समाधान भएन तर सम्झौता र विचारशीलताका कारण समस्या समाधान भयो ।

बाइबलमा भातृ-प्रेम र आदरको विषयमा जोड दिइएको छ (रोमी १२:१०)। एक-अर्कासँग विचार नमिले पनि, विचारशील भएर सम्झौता गरी मायालु शब्दहरू प्रयोग गरियो भने भातृ-प्रेम र एकताको फूल फलाउन सकिन्छ । यस्तो ठाउँमा परमेश्वरले आशिष् र अनन्त जीवन दिनुहुनेछ ।