दुई दाजुभाइको सुन्दर यात्रा

13,525 भ्यु
लेख सुन्नुहोस् 4:22

संयुक्त राज्य अमेरिकाको मिचिगानमा हन्टर गान्डे नाउँ गरेका एक जना युवा बस्थे, जसका भाइलाई सेलेब्रल पल्सी(मानसिक पक्षघात) भएको थियो । आफ्नो सात वर्षीया भाइ आफैँ हिँड्न नसक्ने भएकोले हन्टरले उसलाई मद्दत गर्ने तरिका सोच्न थाले । भाइलाई बाहिर घुम्न र रमाइलो गर्न मनपर्छ भन्ने कुरा थाहा पाएका हन्टरले उसलाई आफ्नो पिठ्युँमा बोकेर टाढाको यात्रामा लैजाने निर्णय गरे । त्यसरी सोचेर सुरु गरेको यात्रा ६४ किलोमिटरको लामो पैदल यात्रामा बद्लियो । २० केजी तौल भएको भाइलाई पिठ्युँमा बोकेर लामो दूरी तय गर्नु सजिलो थिएन, तर यो अनुभवले उनीहरू दुवैमा आत्मविश्वास र शक्ति जगाएको कुरा हन्टरले बताए ।

त्यो लगत्तै सन् २०१५को गर्मीमा उनले अझ ठूलो चुनौती लिए । उनले तीन दिनको अवधिमा भाइलाई पिँठ्युमा बोकेर ९१ किलोमिटरको यात्रा गरे । हन्टरले आफ्नो भाइलाई संसार देखाउन सुरु गरेको यो सानो प्रयासले मस्तिष्क पक्षघातबारे विश्वव्यापी रूपमा जनचेतना फैलायो । यो यात्राले धेरैलाई प्रभावित तुल्यायो र २ लाख अमेरिकी डलर बराबरको चन्दा सङ्कलन गर्न मद्दत पनि गऱ्यो । हन्टरले सङ्कलन भएको सबै पैसा आफ्नो भाइ पढ्ने विद्यालयमा अपाङ्गता भएका बालबालिकालाई सजिलो हुने खेलमैदान बनाउनका लागि दान गरे ।

आफ्नो भाइको कष्टकर जीवनलाई नजिकबाट देखेका हन्टरले चिकित्सा क्षेत्र प्रगति होओस्, र आफ्नो भाइको दैनिक जीवन सजिलो होस् भन्ने चाहेका थिए । यसरी प्रेम र सद्भावका साथ चालेको उनको हरेक पाइलाले उनलाई त्यो आशाको नजिक पुर्‍यायो र सारा संसारलाई प्रेरित गऱ्यो ।

दुई दाजुभाइको सुन्दर यात्रा

4:22
0:00 4:22

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।