बिहान सबेरै ब्युँझिने तरिका

राती ओछ्यानमा पल्टिन सजिलो हुन्छ, तर बिहान आफ्नो न्यानो ओछ्यानलाई छोडेर एकैचोटी उठ्न भने गाह्रो हुन्छ । प्रायः मानिसहरू हरेक बिहान ओछ्यानमै अलमलिइरहन्छन्, अथवा ‘अब एक मिनेट’ भन्दै ढिलो गर्छन् र अन्ततः समय नपुगेर हतार-हतार घरबाट निस्किन्छन् । विशेष गरी, अहिलेको जस्तो चिसो मौसममा झन् धेरै सुत्न मन लाग्छ, तर त्यस्तो प्रलोभनलाई त्यागेर रमाइलो तरिकाले ब्युँझिने एउटा वैज्ञानिक तरिका छ ।
हाम्रो मस्तिष्कमा ‘भेन्ट्रल टेग्मेन्टल एरिया’ (Ventral Tegmental Area VTA) भनिने एउटा क्षतिपूर्ति प्रणाली हुन्छ । यो भाग सक्रिय भयो भने सजिलै निद्राबाट ब्यूँझिन सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा, यसलाई पर्याप्त इनाम चाहिन्छ । सामान्य अवस्थामा ढिलासम्म सुत्ने मानिसहरू पनि, घुम्न जाने दिनमा भने अलार्म बज्नुअघि नै जुरुक्क उठ्ने गर्छन् । त्यसो हुनुको कारणचाहिँ मनमा “आज त घुम्न जाने हो” भन्ने खुसी भएकोले गर्दा हो । भनिन्छ कि, विगतमा कुनै एउटा समूहका लिडर हरेक दिन काम गर्नका लागि उत्साहित हुन्थे र हरेक बिहानी उमङ्गका साथ जुरुक्क उठ्थे । उनी कहिल्यै पनि अबेरसम्म सुत्न सक्दैनथे ।
यदि तपाईं पनि हरेक बिहान खुसीसाथ ब्युँझिन चाहनुहुन्छ भने, राति सुत्ने बेलामा भन्नुहोस्, “भोलिको दिन निकै उत्साहजनक र सुखद हुनेछ !” यसो गर्दा तपाईंको मस्तिष्कले भोलिपल्ट छिटो उठ्नका लागि तपाईंलाई आफै ब्युँझाउनेछ ।