परिवारले एक-अर्कामा भरोसा गर्छन्

पारिवारिक भरोसा जीवनको ठूलो शक्ति हो । अन्त्यसम्म आफ्ना परिवारलाई निःशर्त भरोसा र समर्थन गरौं ।

26,119 भ्यु

हिजोआज कसैलाई पेय पदार्थ पिलाएर बेहोस गराउनु वा सार्वजनिक संस्थाको नाउँमा कसैलाई फोन गरेर ठूलो रकम ठग्नु कुनै नौलो खबर होइन । यस्तो ठगीको युगमा यस्ता घटना सामान्य भइसकेका छन् । त्यसैले छल कपट व्याप्त भएको हाम्रो समाजमा ‘राम्रो छिमेकी’ भन्ने अभिव्यक्ति लागमर्दो बनेको छ । मानिसहरूले आफ्ना छिमेकीहरूलाई समेत विश्वास गर्दैनन्, पल्लो छेऊमा को बस्छ भन्ने कुराको समेत पर्वाह नगरी झ्याल, ढोका बन्द गरेर बस्छन् । एक-अर्कालाई विश्वास गर्न नसक्ने भएकोले सानोतिनो सहयोगप्रति पनि शंका गर्छन् र सुरुदेखि नै सत्रक भएर हुन्छन् । तसर्थ अहिले हरेक ठाउँमा २४ घण्टा चल्ने CCTV जताततै जडान गरिएको छ ।

मानिसहरूले एक-अर्कालाई भरोसा गर्दैनन्, उनीहरूले आफ्नै परिवारलाई समेत भरोसा गर्दैनन् । उदाहरणको लागि, केही मानिसहरूले आफ्ना पति/पत्नीका गाडिहरूमा GPS ट्र्याकिङ उपकरणहरू राख्छन्, अझ केही मानिसहरूले त आमा-बुबाको हेरचाह गर्ने जस्तो जिम्मेवारीका लागि समेत लिखित रूपमा सम्झौता गर्छन् । सन् २०१७ नोभेम्बर मा एक बजार अनुसन्धान कम्पनीले देशभरका १३ देखि ५९ उमेर समूहका १,००० जना पुरुष र महिलाहरूमा पारिवारिक सम्बन्धको बारेमा एउटा सर्वेक्षण गरेको थियो, उक्त सर्वेक्षणका अनुसार केवल ६६.९% मानिसहरूले “मैले गल्ती गरे पनि मेरो परिवार सधैँ मेरो साथमा हुनेछ” भनेर विश्वास गरे ।

यदि राजा र उनका प्रजाहरूले एक-अर्कामा भरोसा गर्दैनन् भने, देश अस्थिर हुन्छ, बुबा र छोराले एक-अर्कामा भरोसा गर्दैनन् भने परिवार मेलमिलापपूर्ण हुँदैन, दाजुभाइले एक-अर्कामा भरोसा गर्दैनन् भने उनीहरू मैत्रीपूर्ण हुन सक्दैनन्, अनि साथीहरूबीचमा भरोसा छैन भने उनीहरू अलगिन्छन् ।

एउटा पुरानो पूर्वीय शैक्षिक पुस्तकमा लेखिएको छ, यदि हामीले एक-अर्कालाई भरोसा गर्दैनौं भने राम्रो सम्बन्ध कायम गर्न सक्दैनौं । मानवीय सम्बन्धको जग भनेकै भरोसा हो । विशेष गरी परिवारका सदस्यबीचको भरोसा अझ महत्त्वपूर्ण हुन्छ । किनभने परिवारका सदस्यबीचको भरोसाले कुराकानीको ढोका खोलिदिन्छ, र हृदयस्पर्षी कुराकानीले खुशी र सन्तुष्टिको अनुभव गराउँछ ।

भरोसाद्वारा घर निर्माण हुन्छ

“तिमीले फेरि गृहकार्य गरेनौ ? के तिमीलाई आमाले थाहा पाउनुहुन्न जस्तो लाग्छ ?” “ओहो, तिमीलाई विश्वास गर्नु मेरो गल्ती थियो ।” “के तिमी गाली गरेपछि मात्र भनेको टेर्छौ” “अब म तिमीलाई कहिल्यै विश्वास गर्दिनँ ।”

एक-अर्कामा भरोसा नगर्ने परिवारमा निरन्तर कलह हुन्छ । व्यङ्ग्यात्मक शब्द, शंकालु शब्द, आदेश, जबरजस्ती र गालीजस्ता लापरवाह शब्दहरूले सुन्ने व्यक्तिको भावनामा चोट पुऱ्याउँछ र यस्तो कुराकानीले पारिवारीक सम्बन्ध राम्रो हुन दिँदैन ।

विवाहित जोडिको सम्बन्धचाहिँ भरोसामा निर्माण हुने भएकोले यदि त्यो भरोसा टुट्यो भने लामो समयसम्म प्रेम कायम हुन सक्दैन । तर यदि त्यो जोडिले एक-अर्कालाई भरोसा गर्छन् भने उनीहरूले एक-अर्काको कमजोरीलाई ठूलो समस्याको रूपमा लिँदैनन् । उनीहरूले एक-अर्कालाई विश्वास गर्दैनन् भने स-साना झगडाहरू पनि समाधान गर्न गाह्रो हुन्छ ।

बालबालिकाको बढ्दो उमेरमा आमा-बाबुको भरोसाले उनीहरूमा ठूलो प्रभाव पार्छ । बाल्यकालमा आमा-बाबुबाट प्रोत्साहन र भरोसा प्राप्त गरेका बालबालिकाहरूमा उच्च आत्म-सम्मान हुन्छ र उनीहरूले आफूले पाएको अनुभवहरूको आधारमा नयाँ परिस्थितिहरूको सामना गर्न सिक्छन् । तर आमा-बुबाको भरोसा जित्ने अनुभव कम भएका बच्चाहरूमा आत्मविश्वास कम हुन्छ र उनीहरूले आफ्ना भावनाहरू खुलेर व्यक्त गर्न सक्दैनन् । यस्ता बच्चाहरूले स-साना कुराहरूमा पनि बहाना बनाउँछन् र झूट बोल्छन् । आमा-बुबाले माया गर्दैनन् भन्ने सोचका कारण उनीहरू विद्रोही स्वभावका हुन्छन् र आमा-बुबाले चाहेको कुराभन्दा ठीक विपरीत काम गर्छन् ।

यदि छोराछोरी वा पति/पत्नी कुरा गर्न हिचकिचाउँछन्, अथवा आफ्नो परिवारजनसँग अर्थपूर्ण कुराकानी गर्न गाह्रो छ भने, पहिले एक-अर्काबीचमा भरोसा पुनर्निर्माण गर्नुपर्छ । पति-पत्नी वा छोरा-छोरीबीच भरोसा छ भने उनीहरूले एक-अर्कासँग मन खोलेर कुरा गर्न सक्छन् र परिआएको खण्डमा जहाँ र जुनसुकै समयमा मद्दत गर्न तत्पर हुन्छन् । भरोसाचाहिँ एउटा शक्तिशाली स्रोत हो जसले परिवारलाई अप्रत्याशित कठिनाइहरू एकसाथ मिलेर सामना गर्न मद्दत गर्दछ ।

कुनै व्यक्तिलाई भरोसा गर्दा ऊ विश्वसनीय बन्छ

अमेरिकी मनोवैज्ञानिक रोबर्ट रोसेन्थलले एउटा प्राथमिक विद्यालयका सबै विद्यार्थीहरूको IQ परीक्षण गरेर शिक्षकलाई केही विद्यार्थीहरूको सूची दिँदै भने, “यी विद्यार्थीहरूको बौद्धिक क्षमता (IQ)असाधारण रूपमा उच्च छ, जसले गर्दा उनीहरूमा विकासको ठूलो सम्भावना छ ।” ८ महिनापछि, सूचीमा रहेका विद्यार्थीहरूले अन्य विद्यार्थीहरूको तुलनामा आफ्नो शैक्षिक प्रदर्शनमा उल्लेखनीय सुधार गरे । वास्तवमा, शिक्षकलाई दिइएको त्यो IQ सूचीलाई वास्तै नगरी विद्यार्थीहरू छनोट गरिएको थियो । ‘सूचीमा रहेका विद्यार्थीहरूमा विकासको ठूलो सम्भावना छ’ भन्ने शिक्षकको भरोसाले ती विद्यार्थीहरूमा सकारात्मक प्रभाव पारेको थियो ।

सन् १९५४ मा, हवाईयन टापुहरू मध्येको एक, काउई टापुका लगभग ८०० बासिन्दाहरूमा पारिवारिक पृष्ठभूमि र सामाजिक-आर्थिक कारकले व्यक्तिको विकासमा कसरी प्रभाव पार्छ भनेर हेर्नको लागि ठूलो स्तरमा सर्वेक्षण गरिएको थियो । त्यो समयमा, मदिरा सेवन र बाल अपराधको समस्या गम्भीर भएकोले टापुको वातावरण एकदमै खराब थियो । विभिन्न क्षेत्रका विशेषज्ञहरूले ती व्यक्तिहरूको जीवन भ्रूण अवस्थादेखि वयस्क अवस्थासम्म अध्ययन गरे । उनीहरूले सबैभन्दा प्रतिकूल वातावरणमा हुर्केका २०१ जना व्यक्तिहरूलाई उच्च जोखिम समूह भनेर वर्गीकरण गरे र ती व्यक्तिहरू सामाजिक रूपमा असन्तुलित हुने कुराको अनुमान लगाए ।

तर उनीहरूको अनुमान गलत थियो । उच्च जोखिम समूहका २०१ जनामध्ये ७२ जना समस्या बिनै राम्ररी हुर्किए, र केहीले चाहिँ प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्ययन गरे । उनीहरूमा एउटा कुरा समान थियो : जस्तोसुकै परिस्थिति भए पनि उनीहरूलाई प्रेम र भरोसा गर्ने कम्तीमा एक जना वयस्क थियो ।

अरूबाट विश्वास र प्रोत्साहन पाउने मानिसहरूमा उच्च सहनशक्ति हुन्छ । सहनशक्ति भन्नाले विपत्ति र कठिनाइलाई पार गर्ने क्षमता हो । यदि हामीमा भरोसा गर्ने परिवार, साथी वा शिक्षक छन् भने हामी त्यो भरोसालाई सार्थक बनाउन प्रयास गर्छौं ।

भरोसा सबैभन्दा ठूलो शक्ति हो जसले अर्को व्यक्तिलाई परिवर्तन हुन मद्दत गर्दछ । “म तिमीमा भरोसा गर्छु” भन्ने एउटा अभिव्यक्ति चिन्ता र चासोले भरिएको दश शब्दहरू भन्दा बढी शक्तिशाली हुन्छ । जतिसुकै लोसे र भर पर्न अयोग्य मानिस भए पनि, यदि त्यो व्यक्तिलाई भरोसा गरियो भने ऊ कम्तीमा त्यो भरोसा गर्ने मानिस कै लागि भए पनि भरपर्दो, विश्वासयोग्य मानिस हुनेछ ।

भरोसाको अर्थ

कसैलाई भरोसा गर्नु भनेको उसको कुरा मान्नु मात्र होइन, तर उसलाई स्वीकारेर उसको नदेखिएको क्षमतालाई समर्थन गर्नु हो । सधैँ अर्को व्यक्तिले आफ्ना अपेक्षाहरू पूरा गरिदिओस् भनेर चाह गर्नुचाहिँ साँचो भरोसा होइन । उदाहरणको लागि यदि कुनै बुबा-आमाले आफ्नो बच्चाले परीक्षामा राम्रो अङ्क ल्याउनेछ भनेर विश्वास गर्छन् तर उनीहरूको आशाा विपरीत त्यो बच्चाले राम्रो अङ्क ल्याएन भने उनीहरू निराश भएर बच्चालाई गाली गर्छन्, त्यसोभए के साँच्चै ती आमा-बुबाले त्यो बच्चामा भरोसा गरेको थियो भनेर भन्न सकिन्छ र ? योचाहिँ उनीहरूले आफ्ना छोराछोरीमा भरोसा गर्नुको सट्टा आफ्नै अपेक्षाहरूमा भरोसा गरेका हुन् भन्ने अर्थ हो ।

कहिलेकहिँ हामीमा भरोसा गर्ने मानिसले आफ्नो बोली र व्यवहारबाट मन दुखाउने कार्य गऱ्यो भने त्यसो गर्नुको पछाडि केही राम्रो नियत छन् भनेर विश्वास गर्दै उसलाई बुझ्न कोसिस गर्छौं । मानिलिऔं आमाले मनाही गर्दा गर्दै बच्चाले गीलासमा पानी खन्याउन खोज्दा, पानी पोखियो । त्यो समयमा आमालाई बच्चाको कारणले रिस उठ्न सक्छ । तर बच्चाको मनसाय आमालाई पानी दिएर सेवा गर्ने हुन सक्छ । बाहिरी पक्षहरूलाई मात्र नहेरी, लुकेका मनसायहरू पनि बुझ्ने प्रयास गर्नुपर्छ । तर आफ्नो बच्चाले अरूलाई हानि पुऱ्याउँदा समेत “मेरो बच्चा त्यस्तो छैन” भन्दै उसको ढाकछोप गर्नुचाहिँ गलत हो । भरोसा गर्नु र साथ दिनु दुई फरक कुरा हुन् ।

वास्तवमा, अर्को व्यक्तिलाई पूर्ण रूपमा भरोसा गर्नु सजिलो छैन । किनभने कसैलाई भरोसा गर्नको लागि, आफ्नो अधीरता त्यागेर धैर्यवान हुनुपर्छ । शब्दद्वारा “म भरोसा गर्छु” भने पनि यदि हरेक सानो कुरामा हस्तक्षेप र झगडा गर्ने गऱ्यो भने त्यो व्यक्तिले उसमाथि भरोसा गरेको छ भनेर विश्वासै गर्न सक्दैन । योचाहिँ कसैले योग्य काम गर्दा खुशी भएर प्रशंसा गरिदिने र गल्ती गर्दा गाली गर्नुजस्तै हो । यदि हामी कसैमा भरोसा गर्छौ भने धैर्य गर्दै पर्खनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ तपाईंले उसमाथि भरोसा गरेको भन्ने तपाईंको विश्वास होइन तर उसले तपाईंको भरोसा पाएको छ भन्ने उसको निश्चित अनुभूति हो ।

परिवार सबैभन्दा बहुमूल्य भएकोले हामीले सधैँ एक-अर्कामा भरोसा गर्नुपर्छ र कहिल्यै एक-अर्काको मन दुखाउनुहुँदैन । परिवारप्रति राखिने सकारात्मक भरोसा प्लेसिबो प्रभाव(मानसिक विश्वासको कारण देखिने उपचार प्रभाव)जस्तै प्रभावकारी हुन्छ । केही बिरामीहरू आफूले विश्वास गरेर औषधी खाँदा निको हुन्छन्, वास्तवमा तिनीहरू त्यो औषधीले होइन तर त्यसलाई असरदार ठानेकाले निको हुन्छन् ।

परिवारको असीम भरोसा र जस्तोसुकै परिस्थितिमा पनि साथमा रहने व्यक्ति हुनु कत्ति खुशीको कुरा हो । यस्तो खुशी कायम राख्नका लागि परिवारजनले आफूमाथि बिना शर्त भरोसा गरोस् भन्ने चाह राख्नुको सट्टा उनीहरूले स्वतः हामीमा भरोसा गर्ने गराउन आफू सक्षम बन्नुपर्छ । लगातार झूट बोल्ने, समय खेर फाल्ने, बोली र व्यवहार फरक छन् भने परिवारले हामीमा गर्ने भरोसा डगमगाउनेछ । तसर्थ हामीमा भरोसा गर्ने परिवारलाई निराश नबनाउनका लागि प्रयास गर्नुपर्छ र परिवारमा अझ गहिरो आपसी विश्वास बढाउनुपर्छ ।