अघिदेखि खोजिरहेको गाडीको चाबी हातमै छ त । तिमीले हराएको फोनको घण्टीको आवाज त घर्राभित्रबाट आइरहेको छ । तिमीले धुइँधुइँती खोजिरहेको रिमोट मैले फ्रिजभित्र भेट्टाएँ । आफ्नो बिर्सिने बानीका कारण यहाँहरूले यीमध्येको एउटा अवस्था भए पनि अनुभव गर्नुभएको छ होला ।

तर यदि आफूसँग घटेका घटनाहरू एउटै पनि छुटाईकन सबै याद भइरह्यो भने के हुन्छ होला ? वास्तवमा बेलायतको विश्वविद्यालयका एक जना विद्यार्थीलाई आफू १० वर्षको छँदादेखिका सबै, कुन दिनमा कसलाई भेटेको, के खाएको अनि त्यो दिनको मौसम कस्तो थियो भन्नेजस्ता कुराहरू स्पष्ट याद छ । त्योचाहिँ कुनै फोल्डरमा राखिएका तस्वीरहरूलाई आँखा अगाडि ल्याएर राखिदिएजस्तै हो । त्यस्ता लक्षणहरूलाई ‘हाइपरथिमेजिया’ भनिन्छ । योचाहिँ कुनै अध्ययन वा सिकाइविना नै असामान्य तवरमा आफ्नो जीवनका सबै अनुभवहरू र आत्मकथात्मक स्मृतिहरू विस्तृत रूपमा याद आउने अवस्था हो ।
यस्तो लक्षण भएका मानिसहरूलाई विगतमा घटेका घटनाहरू लगातार याद आइरहने भएकोले उनीहरूलाई आफ्ना भावहरू सम्हाल्न एकदमै गाह्रो पर्छ, अनि विगतका नराम्रा स्मृतिहरूले उनीहरूलाई दैनिक जीवनमा लगातार पिरोलिरहेको हुन्छ । ‘सुस्वास्थ्य र कमजोर स्मरण शक्तिभन्दा खुशीको कुरा अरू छैन’ भन्ने अल्बर्ट स्वाइटजरको भनाइजस्तै, बिर्सिने बानी पनि यदाकदा आशिष् नै हो जस्तो लाग्छ ।