उचित दूरीले राम्रो सम्बन्ध कायम राख्न मद्दत गर्छ

हरेक व्यक्तिको आफ्नै स्थान र सीमा हुन्छ । जब हामी एक-अर्काको सीमाको सम्मान गर्दै उचित दूरी कायम राख्छौं, तब राम्रो सम्बन्ध बनाउन सक्छौं ।

32,594 भ्यु
लेख सुन्नुहोस् 31:14

चिसो हावा चलिरहेको हिउँदको दिनमा, दुम्सीहरूको एउटा समूह न्यानो हुनका लागि एकसाथ गुटमुटियो । तर जब तिनीहरू नजिक आए, तब तिनीहरूका तीखा काँडाहरूले एक-अर्कालाई घोच्दै पीडा दिन थाले । त्यो पीडा सहन नसकेपछि तिनीहरू एक कदम पछाडि हट्न बाध्य भए । यो कथाबाट आएको ‘दुम्सीको दुविधा’ले अरूसँग घनिष्ठ हुन चाहने, तर सँगसँगै निश्चित दूरी पनि खोज्ने मानवीय मनोविज्ञानलाई बुझाउँछ ।

मानिस घरमा बुबा-आमाको हेरचाहमा हुर्किन्छ, विद्यालयमा साथीहरू बनाउँछ र कार्यक्षेत्रमा सहकर्मीहरूसँग काम गर्छ । अर्को शब्दमा भन्नुपर्दा, हामी जीवनभर बुबा-आमा, जीवनसाथी, आफन्त, साथी, सहकर्मी र छिमेकीहरूसँग निरन्तर सम्बन्धहरू निर्माण गर्दै जिउँछौं । यसरी कुराकानी गर्ने, भावना साटासाट गर्ने र अनुभवहरू बाँड्ने क्रममा हामी कहिले खुसी हुन्छौं, त कहिले दुःखी हुन्छौं ।

अमेरिकाको हार्वर्ड मेडिकल स्कुलद्वारा गरिएको एउटा व्यापक सर्वेक्षणअनुसार, खुसी र स्वस्थ जीवनको रहस्य अरूसँगको ‘राम्रो सम्बन्ध’मा निहित हुन्छ । राम्रो सम्बन्ध भनेको घनिष्ठ सम्बन्ध हो । किनकि कसैसँग सँगै हुँदा घनिष्ठ महसुस भएमा मात्र सन्तुष्टि र खुसीको अनुभूति गर्न सकिन्छ ।

तर जब हामी कसैसँग अत्यन्तै नजिक हुन्छौं, तब त्यो घनिष्ठता प्रायः असहजतामा परिणत हुन पुग्छ । योचाहिँ कथाका दुम्सीहरू न्यानो हुन खोज्दा एक-अर्काको काँडाले घोचिएजस्तै हो । एक जना विद्वान्‌ले मानवीय सम्बन्धलाई हिटरसँग तुलना गर्दै “धेरै टाढा हुँदा चिसो लाग्छ, धेरै नजिक हुँदा पोल्छ” भनेका छन् । वास्तवमै, राम्रो सम्बन्ध कायम राख्न मानिसहरूबीच उचित दूरी हुन आवश्यक छ ।

सबै कुराका लागि उचित दूरी आवश्यक हुन्छ

हाम्रो सौर्यमण्डलका थुप्रै ग्रहहरूमध्ये पृथ्वीमा मात्र जीवहरू फस्टाउन सकेको कारणचाहिँ पृथ्वीमा पानी भएकोले गर्दा हो । पृथ्वीमा पानीको अस्तित्व रहनुको एउटा महत्त्वपूर्ण सर्त सूर्य र पृथ्वीबीचको उचित दूरी हो । यदि पृथ्वी अहिलेको भन्दा सूर्यको नजिक भएको भए सबै पानी वाष्पीकरण हुनेथियो, र अलि टाढा भएको भए सबै पानी जम्नेथियो ।

चराचुरुङ्गी, माछा र प्राइमेट(नरवानर) लगायत सबै जनावरहरूमा आफ्नो लागि न्यूनतम दायरा सुरक्षित राख्ने प्रवृत्ति हुन्छ । जब कुनै सिकारी नजिक आउँछ, तब सिकारी एउटा निश्चित दूरीसम्म नआउञ्जेल जनावरहरू भाग्दैनन् । यसलाई ‘भाग्ने दूरी(Flight distance)’ भनिन्छ । जिराफहरू शत्रु आफूभन्दा लगभग १५० मिटर टाढा रहँदा सुरक्षित र स्वतन्त्र महसुस गर्छन् । त्यसै गरी भैँसी ७० मिटर र बाँदर २० मिटरको दूरीमा सुरक्षित महसुस गर्छन् । एउटै प्रजातिभित्र पनि सहज महसुस हुने एउटा निश्चित दूरी हुन्छ । जलगौँडा, सुगा, सुँगुर र पेन्गुइनहरू आफ्नै प्रजातिका अन्य जनावरहरूसँग नजिकिन खोज्छन् भने, घोडा, बिरालो र बाज जस्ता जनावरहरू एक-अर्काबाट दूरी कायम राख्न रुचाउँछन् ।

एउटै ठाउँमा आफ्नो पूरै जीवन बिताउने बिरुवाहरूका लागि पनि यो आपसी दूरी अझ बढी महत्त्वपूर्ण हुन्छ । सामान्यतया गोलभेँडा ५० सेन्टिमिटर, स्याउको रुख ३ मिटर र मेटासेक्वोया(डन रेडवुड-सल्ला प्रजातिको रुख)को रुख २५ मिटरको दूरीमा रोपिन्छन् । यो दूरीले गर्दा बिरुवाहरूले पर्याप्त मात्रामा घाम र हावा पाउँछन् र हुर्कने क्रममा विना कुनै अवरोध आफ्ना डाँठ र हाँगाहरू आफ्नो इच्छाअनुसार फैलाउन सक्छन् ।

मानिसहरूबीच पनि एउटा अदृश्य क्षेत्र वा दायरा हुन्छ । अरूले अतिक्रमण गरेको नचाहने यस्तो भौतिक क्षेत्रलाई ‘व्यक्तिगत दायरा(Personal Space)’ भनिन्छ । यसलाई मुख्यतया चार वटा तहमा वर्गीकरण गरिएको छ, जसमा वक्ता र श्रोताबीचको ‘सार्वजनिक दूरी(३.६ देखि ७.५ मिटर),’ सहकर्मी वा पसलका ग्राहकबीचको ‘सामाजिक दूरी(१.२ देखि ३.६ मिटर),’ साथी वा चिनेजानेका व्यक्तिहरूबीचको ‘व्यक्तिगत दूरी(४६ सेन्टिमिटरदेखि १.२ मिटर),’ र परिवारका सदस्य वा प्रेमी-प्रेमिकाबीचको ‘घनिष्ठ दूरी(४६ सेन्टिमिटरभन्दा कम)’ पर्दछन् ।

अमेरिकी मानवशास्त्री एडवार्ड टी. हल(Edward T. Hall)का अनुसार, व्यक्तिगत दायराले भौतिक दूरी मात्र नभएर मनको दूरीलाई पनि जनाउँछ । घनिष्ठताको स्तरअनुसार दूरी फरक हुनु स्वाभाविक हो । तर नजिकको सम्बन्ध छ भन्दैमा निश्चित दूरी कायम राख्न बेवास्ता गरियो भने, अर्को व्यक्तिको व्यक्तिगत दायरा अतिक्रमण गर्न पुगिन्छ ।

आत्मकेन्द्रित सोचाइले अरूको व्यक्तिगत दायरा अतिक्रमण गर्छ

यदि कोही व्यक्ति तपाईंको अनुमतिविना घरभित्र पसेर जथाभावी ओछ्यानमा पल्टियो वा सोध्दै नसोधी फ्रिज खोल्यो भने तपाईंलाई कस्तो लाग्छ ? तपाईंलाई असहज वा नराम्रो मात्र नभएर घरमा अनधिकृत रूपमा पसेको आरोपमा उक्त व्यक्तिविरुद्ध मुद्दा हाल्न पनि मन लाग्न सक्छ । तर दृश्य व्यक्तिगत दायराप्रति सचेत भए पनि हामी प्रायः अरूको अदृश्य व्यक्तिगत दायरालाई भने विनाहिचकिचाहट अतिक्रमण गरिरहेका हुन्छौं ।

कतिपय बुबा-आमाले के गर्नुपर्छ र के गर्नुहुँदैन भन्दै सन्तानको जीवनमा अनावश्यक हस्तक्षेप गर्ने गर्छन् । कतिपयले परिवारका सदस्यहरूबीच कुनै गोपनीयता वा व्यक्तिगत जीवन हुनुहुँदैन भन्ने सोच्छन् र आफ्नो जीवनसाथीले भन्न नचाहेका कुराहरूको समेत स-साना विवरणहरू खोतल्न थाल्छन् । अनि कतिपयले त “यो सबै उनीहरूकै भलाइका लागि हो” भन्ने बहानामा परिवारका सदस्यहरूलाई नियन्त्रण वा बन्देजमा समेत राख्ने गर्छन् ।

यसरी परिवारका सदस्यहरूको व्यक्तिगत दायरालाई विनाहिचकिचाहट अतिक्रमण गर्नुमा आत्मकेन्द्रित सोचाइले ठूलो भूमिका खेल्छ । उदाहरणका लागि, अर्को व्यक्तिलाई आफूले चाहेअनुसार परिवर्तन गर्ने इच्छा, आफूले गरेको बलिदान वा कडा परिश्रमका कारण अर्को व्यक्तिमाथि प्रभुत्व जमाउने अधिकार छ भन्ने धारणा, र आफ्नै विचार मात्र सही हो भन्ने अहम्‌का साथ अर्को व्यक्तिको निर्णयमा सहमत नहुने मानसिकता आदि । यी सबै अन्ततः अरूप्रतिको आदरको कमीबाट उत्पन्न हुन्छन् ।

आफूले जतिसुकै चासो वा सद्भाव देखाएको ठाने पनि, वा अर्को व्यक्तिलाई चोट पुर्‍याउने कुनै नियत नभए पनि, यदि अर्को व्यक्तिले आफ्नो व्यक्तिगत दायरा अतिक्रमण भएको महसुस गर्छ भने उसले तनाव लिन सक्छ । मानिसलाई जति धेरै दबाइन्छ वा नियन्त्रण गरिन्छ, उति नै ऊ बन्धनबाट उम्कने प्रयास गर्छ र लुकाउनु नपर्ने कुराहरू पनि लुकाउन थाल्छ । सहानुभूति र समझदारीमार्फत खुला मनले स्वेच्छाले गर्दा सजिलै समाधान हुने कुराहरू पनि यदि अरूको दबाबमा परेर जबरजस्ती गर्नुपऱ्यो भने, त्यसले समस्या वा आक्रोश उत्पन्न गर्न सक्छ ।

अर्को शब्दमा भन्नपर्दा, अर्को व्यक्तिले सहज महसुस गर्ने दूरीलाई सम्मान नगरी केवल आफ्नो इच्छाअनुसार नजिकिन खोज्यो भने, उक्त व्यक्ति असहज महसुस गर्दै पछाडि हट्न बाध्य हुन्छ ।

अरूको व्यक्तिगत दायरा अतिक्रमण गर्न सक्ने अभिव्यक्तिहरू

  • त्यो काम गर्ने समय छ भने, बरु (…) गरे हुन्थ्यो नि !
  • पछि पछुताउनेछौ, हेर्दै जाऊ ।
  • तिम्रो वार्षिक तलब कति छ ?
  • धेरै कुरा नगर, जे भनिएको छ त्यही गर !
  • तिम्रो समस्या नै यही हो !
  • छोरा-छोरीलाई यसरी हुर्काउने होइन ।
  • यो चुनावमा कसलाई भोट दिँदैछौ ?
  • यति सजिलो काम पनि किन गर्न नसकेको ?
  • यो सबै तिम्रै भलाइका लागि भनेको हुँ ।
  • मैले भनेकै थिएँ ! यस्तो हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो ।
  • म तिम्रो चिन्ता लागेर भन्दैछु, तिमीले त्यसो गर्नुहुँदैन ।
  • तिम्रो भलाइ सोचेर यति धेरै मद्दत गरेको त …।

अरूप्रतिको सम्मानले सम्बन्ध प्रगाढ बनाउँछ

परिवारका सदस्यहरूबीच सुमधुर सम्बन्ध जोगाइराख्न घनिष्ठताका साथै एक-अर्काको व्यक्तिगत दायरा अतिक्रमण नहुने गरी उचित दूरी कायम राख्न पनि आवश्यक हुन्छ । अरूको व्यक्तिगत दायराको सम्मान गर्नु भनेको उनीहरूले जे गरे पनि वास्ता नगर्नु भन्ने होइन । यसको अर्थ उनीहरूलाई स्वतन्त्र व्यक्तिको रूपमा स्वीकार गर्नु, उनीहरूको विचार र धारणा आफूभन्दा फरक हुन सक्छ भन्ने कुरालाई आत्मसात् गर्नु अनि उनीहरूको छनोट र निर्णयको कदर गर्नु हो । यसरी एक कदम पछि हटिदिँदा घनिष्ठता अझ प्रगाढ हुन्छ । यसरी मनमा ठाउँ बनेपछि एक-अर्कालाई स्वतन्त्र र खुसी राख्न सकिनेछ ।

यदि तपाईं अरूको मामिलामा संलग्न हुन वा कसैलाई कुनै दिशा देखाउन चाहनुहुन्छ भने, सोध्दै नसोधी मद्दत गर्न खोज्नु वा कुनै कुरा जबरजस्ती गर्न लगाउनुअघि उनीहरूको विचार बुझ्नुपर्छ । यो कसैको घरभित्र प्रवेश गर्नुअघि घण्टी बजाएर अनुमति लिएजस्तै हो । उदाहरणका लागि, यदि बच्चा विद्यालयबाट फर्कँदा अनुहार अँध्यारो देखिन्छ भने, के भएको हो भनेर तुरुन्तै भन्न दबाब दिनुको सट्टा नरम स्वरमा “के भएको हो, मलाई भन्न सक्छौ ?,” “मैले तिमीलाई कसरी मद्दत गर्न सक्छु ?” भनी सोध्नुपर्छ । त्यसै गरी, जीवनसाथीको कुनै मूल्यमान्यता वा बानी मन परेको छैन भने, परिवर्तन गर्न मात्र माग गर्नुको सट्टा खुला मनले कुराकानी गर्नु र कुन कुराले आफूलाई असहज बनाइरहेको छ भनी स्पष्ट पार्नु उचित हुन्छ ।

यदि तपाईं साँच्चिकै अर्को व्यक्तिको भलाइ चाहनुहुन्छ भने, उनीहरूलाई दयालु नजरले हेर्नुहोस् र आवश्यक परेको बेला सजिलै मद्दत माग्न सक्ने वातावरण बनाइदिनुहोस् । तपाईंले साँचो मनले सल्लाह दिए पनि अन्तिम निर्णय गर्ने अधिकार उनीहरूकै हुन्छ । त्यसैले यदि उनीहरूले तपाईंको सल्लाहभन्दा फरक छनोट गरे र त्यसको परिणाम नकारात्मक नै आए पनि, उनीहरूलाई दोष लगाउने वा हप्काउने काम गर्नुहुँदैन ।

हाम्रो चासो र स्नेह सही रूपमा व्यक्त हुनका लागि अर्को व्यक्तिले चाहेको समयमा, चाहेको मात्रामा र चाहेकै तरिकाले दिनुपर्छ । त्यसो गर्नका लागि, ‘के गर्दा ऊ खुसी होला ?,’ ‘मैले यसरी गर्दा उसले कसरी लिन्छ ?’ भनेर विचार पुऱ्याउनुपर्छ । साथै, ‘कुन कुराले उसको मन दुख्छ,’ ‘ऊ कस्ता कुराहरूमा संवेदनशील छ’ र ‘कस्तो परिस्थिति उसका लागि बोझिलो हुन सक्छ’ भन्ने कुरामा पनि सचेत रहनुपर्छ ।

यदि तपाईंको बोली वा व्यवहारका कारण परिवारका सदस्य दुःखी भए भने, “परिवारभित्र पनि यति कुरा भन्न वा गर्न पाइँदैन र ?” भनेर निराश हुनुको सट्टा “उहाँलाई यस्तो कुराले असहज बनाउँदो रहेछ” भनी उनीहरूको दृष्टिकोण बुझ्ने प्रयास गरिहेर्नुहोस् । कहिलेकहीँ, कुनै कुरा विस्तारमा सोधेर पुष्टि गर्न मन लागे पनि आफूलाई रोक्नुपर्ने समय हुन्छ, वा सबै कुरा थाहा भए पनि केही थाहा नभएझैँ गरिदिनुपर्छ । अर्को व्यक्तिको व्यक्तिगत दायराको सीमा तपाईंले होइनकि, उसैले निर्धारण गर्ने भएकोले त्यो सीमाको सम्मान गर्दै त्यसलाई कायम राख्ने प्रयास गरौं ।

मानिसलाई जनाउने चिनियाँ शब्द 人間 (रेन्चिएन), 人(मानिस) र 間(बीच) मिलेर बनेको हो । यसको अर्थ, मानिस अरू मानिसहरूको बीचमा मिलेर बस्ने प्राणी हो भन्ने बुझिन्छ । पदार्थको सबैभन्दा सानो एकाइ मानिने सूक्ष्म परमाणुदेखि लिएर पृथ्वीबाहिरको आकाशगङ्गाका ग्रहहरूसम्म, यी सबै तिनीहरूबीचको उचित दूरीकै कारण व्यवस्थित छ । मानिसको सन्दर्भमा पनि उस्तै हो ।

मानिसहरूबीचको यो दूरीको कुनै निश्चित सङ्ख्यात्मक मापन हुँदैन । यो भावना र परिस्थितिअनुसार फरक हुने भएकाले कहिलेकहीँ विवाद हुनु स्वाभाविकै हो । तर, यदि तपाईंले अरूप्रति आदरको भाव राख्दै आफू र अर्को व्यक्तिबीचको दूरी मिलाउने प्रयास गर्नुभयो भने, दुई व्यक्तिबीच निश्चय नै न्यानो वातावरण बन्नेछ । योचाहिँ दुई वटा दुम्सीले एक-अर्कालाई काँडाले नघोची दुवैलाई खुसी बनाउने उचित दूरी खोजिरहेको अवस्थाजस्तै हो ।

उचित दूरीले राम्रो सम्बन्ध कायम राख्न मद्दत गर्छ

31:14
0:00 31:14

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।