विश्वविद्यालयको स्नातक समारोह हुनअघि मैले त्यसको लागि आवश्यक पर्ने कुराहरूको जानकारी लिन थालें । समारोह कहाँ हुन्छ होला, कति बजेसम्म पुग्नुपर्छ होला इत्यादि … धन्न आमाले समयमै स्नातक क्यापको विषयमा सोध्नुभयो । समारोहमा उपस्थित भएँ भने स्वभावतः क्याप पाइहालिन्छ भन्ने लागेको थियो, तर त्यसो होइन रहेछ ।
“सामान विभागले स्नातक क्यापहरू उपलब्ध गराउँछ” भनेर आमाले भन्नुभयो । विद्यालयको वेबसाइटमा गएर यताउता खोज्दा आमाले भन्नुभएको कुरा ठीक पाएँ । आमाले त्यस विषयमा सुझाव नदिनुभएको भए स्नातक समारोहको दिनमा म अलमल्ल पर्नेथिएँ ।
स्नातक समारोहको दिन, सामान विभागबाट उपलब्ध गराइएको स्नातक क्याप लगाएर मैले साथीहरूसँग तस्वीर खिचिरहेको बेला मेरो तस्वीर खिचिरहनुभएकी आमालाई देखें । मैले आफ्नो क्याप र गाउन फुकालेर आमालाई लगाइदिएँ । उहाँले राम्ररी मिलाएर लगाउनुभएको देखेर मैले उहाँको विद्यालयका दिनहरूको विषयमा सोचें । घर फर्किएपछि एल्बम खोलिहेर्दा मैले आमाको कलेजको स्नातक समारोहको तस्वीर भेट्टाएँ । आमाको कलेजको स्नातक समारोहको तस्वीर र भर्खरै खिचेको आमाको तस्वीरलाई तुलना गर्दा मेरो गह भरियो ।
मेरो लागि आमा सधैँ आमा नै हुनुहुन्थ्यो । म जन्मिएदेखि उहाँ मेरो निम्ति केवल आमा हुनुहुन्थ्यो । यसकारण मैले मेरी आमा, आमा नबन्नुहुँदाका दिनहरूको विषयमा कल्पना पनि गरिनँ । आमाले पनि विद्यालयका दिनहरू र अविवाहित हुँदाका समयहरू बिताउनुभयो । मैले उहाँका युवावस्थाका तस्वीरहरू देखाउँदै ती दिनहरूलाई फेरि फर्काउने इच्छा छ कि भनेर उहाँलाई सोधें । आमाले छैन भन्नुभयो । त्यसोभए कुन समयलाई फर्काउन चाहनुहुन्छ भनेर मैले सोधें । आमाले कुनै दिनलाई पनि फर्काउन नचाहेको कुरा बताउनुभयो ।
“मेरा कलेजका दिनहरू र जागिरे जीवन पनि राम्रै थियो । तर त्यो समयमा तिमी पनि थिएनौ, तिम्रो भाइ पनि थिएन । त्यसैले ती दिनहरूमा फर्केर जान मन छैन ।”
आमाले आफू आमा हुँदा नै राम्रो छ भन्नुभयो । मैले किशोरावस्थामा आमाको चित्त दुखाएकी थिएँ, आमालाई रुवाएकी थिएँ । त्यसको बाबजुद आमाले आफू आमा भएकोमा नै खुशी छु भन्नुभएको कुराप्रति म कृतज्ञ हुनुको साथै क्षमाप्रार्थी पनि भएँ । अब उहाँलाई भन्ने पालो मेरो हो ।
“म पनि तपाईंकी छोरी हुन पाएकोमा एकदमै खुशी छु ।”