सर्ने योजना भएकोले केही बेर घर मिलाउने क्रममा, म अबेर रातसम्म भान्सा मिलाउनमा व्यस्त भएँ । अन्तिममा फ्रिज सफा गरिरहँदा त्यतिकै राखिएको प्लास्टिकको बोतलमा के रहेछ भनेर निश्चित गर्न त्यसलाई खोलेर हेरें । त्यही बेला अचानक बोतलमा भएको कुरा ‘भ्वाट्ट’ पड्किएर छताछुल्ल भयो । अमिलिएको ऐंसेलुको झोल लामो समय नचलाएर गुम्सिएकोले पड्कियो ।
भान्साचाहिँ छतदेखि भुइँसम्मै ऐंसेलुको झोलले राताम्मे भएर फोहोर भयो । यो ‘बज्रपात’जस्तै थियो । त्यस्तो अनपेक्षित अवस्थाप्रति म यति छक्क परें, कि के गर्ने भन्ने पत्तो नपाएर केवल थरथर काँपिरहें । बैठक कोठामा टिभी हेर्दाहेर्दै दौडिएर आउनुभएका मेरा पति पनि छक्क पर्नुभयो ।
त्यो अवस्थालाई ठम्याएर उहाँले तुरुन्तै टालो ल्याई दाग सफा गर्न थाल्नुभयो । बच्चाहरू ब्यूँझेलान् भनेर उहाँले आफ्ना पाइलाहरू बिस्तारै सार्नुभयो, तर बोतलको आवाज यति ठूलो थियो, कि गहिरो निद्रामा परेका मेरा छोरीहरूसमेत ब्यूँझिएर छक्क पर्दै आफ्नो कोठाबाट बाहिर आए । उनीहरूले मलाई शान्त पारेर बुबालाई भान्सा सफा गर्न सहयोग गरे । त्यसरी परिवारको सहयोगद्वारा भान्सा कोठा पहिलाकै अवस्थामा फर्कियो, अनि मेरो मन पनि पुनः शान्त भयो ।
त्यस दिन मैले परिवारबाट सान्त्वना पाएँ । मेरा पति र छोरीहरूले मध्यरातमा किन हल्ला गरेको भनेर गुनासो गरेनन् नता झर्को नै माने, बरु फोहोर भएको भान्सा शान्त रूपले सफा गरे । त्यो आफ्नै गल्ती भएजस्तै गरेर उनीहरूले मलाई सान्त्वना दिए । मैले गर्नुपर्ने काम सट्टामा गरिदिएको मेरो परिवारप्रति म अत्यन्तै धन्यवादी र क्षमाप्रार्थी भएँ ।
त्यो घटनाद्वारा मैले परिवारको महत्त्वलाई गहिरो गरी महसुस गरें । जहिले भए पनि, जे भए पनि एक-आपसमा भर परेर प्रेम गर्न सकिने आधारचाहिँ परिवार हो भन्ने यथार्थताप्रति मलाई कुनै शङ्का छैन ।