धेरै कुरा मन पराउने मानिस

“एक मिनेटमा आफूलाई मन पर्ने कुराहरू स्वतन्त्र रूपमा लेख्नुहोस् ।”
“एक मिनेटमा आफूलाई मन नपर्ने कुराहरू स्वतन्त्र रूपमा लेख्नुहोस् ।”
यी दुई प्रश्नहरूले मानिस खुसी छ वा छैन भन्ने कुरा बताउन सक्छ ।
कोरियाको सउल राष्ट्रिय विश्वविद्यालयको खुसी अध्ययन केन्द्रले माथिका प्रश्नहरूको उत्तरको आधारमा सहभागीहरूको खुसीलाई छुट्टै तरिकाले मापन गरेको थियो । परिणामस्वरूप, धेरै खुसी हुने व्यक्तिहरूले विभिन्न विधाहरूमा तिनीहरूलाई मन पर्ने विशिष्ट कुराहरूको विषयमा लेखे तर तिनीहरूलाई मन नपर्ने कुराको विषयमा भने लेख्न गाह्रो भयो । अर्कोतर्फ, कम खुसी हुनेहरूलाई चाहिँ आफूलाई मन पर्ने कुराको विषयमा लेख्न गाह्रो भयो तर मन नपर्ने कुराहरूचाहिँ स्पष्ट थाहा भएकोले धेरै लेखे ।
यस अध्ययनले खुसी मानिसहरूको मस्तिष्क, मन पर्ने कुराहरूले भरिएको र निराश मानिसहरूको मस्तिष्कचाहिँ मन नपर्ने कुराहरूले भरिएको तथ्य देखाउँछ । मन पर्ने कुराहरू धेरै भएमा ती कुराहरूसँग खुसी हुन सकिन्छ तर मन पर्ने कुराभन्दा मन नपर्ने कुरा धेरै भएमा चिन्तित हुन पुगिन्छ ।
तपाईंको मस्तिष्कमा के छ ?