मध्य उमेर वर्गको किशोरावस्था भनिने ‘रजोनिवृत्ति’

रजोनिवृत्ति(Menopause, महिनावारी बन्द हुने क्षण), एउटा रोग नभएर प्राकृतिक प्रक्रिया हो । रजोनिवृत्ति भएका महिलाहरू चिन्तामुक्त हुनुपर्छ, अनि परिवारजनले विचारशील भएर उनीहरूको त्यो अवस्थालाई बुझिदिनुपर्छ ।

12,960 भ्यु

‘हिजोआज आमाको व्यवहार अनौठो छ । उहाँले प्रायः झर्को लाग्छ, भावनात्मक रूपमा अस्थिरता छाउँछ, अनि सबै कुरा कष्टप्रद लाग्छ भन्नुहुन्छ । उहाँ एकदमै रिसाउने गर्नुहुन्छ, तर ओछ्यानमा पल्टिँदाखेरि अलि सुस्त बन्नुहुन्छ । उहाँलाई के भएको होला ?’

आमाको अनौठो व्यवहारले छोरा-छोरीलाई चिन्तित तुल्याउँछ ।

आमाले आफैलाई ऐनामा हेर्दाखेरि ऐनाको अगाडि कुनै वृद्धा बसिरहेजस्तो लाग्ने भएकोले उहाँलाई असहज महसुस हुन्छ । उहाँलाई अचानक आफ्नो मुटुको धडकन बढेजस्तो लाग्छ, अनि जति प्रयास गरे पनि आफ्ना भावनाहरूलाई नियन्त्रण गर्न गाह्रो पर्छ । तर कुनै पनि कुरा कारणविना हुँदैन । यस्तो लगातार भइरह्यो भने महिलाहरूले आफू मध्य उमेर वर्गको किशोरावस्था भनिने ‘रजोनिवृत्ति’मा पुगें कि भनेर सोच्नुपर्छ ।

जीवन ऋतुहरूजस्तै परिवर्तनशील हुन्छ । ठूलो आवाजमा रोएर संसारमा पहिलो पाइला टेक्ने शिशुको बाल्यावस्थादेखि किशोरावस्थासम्मको समयचाहिँ साह्रो जमिनमा छरिएको बीउ उम्रिने वसन्त ऋतुजस्तै हुन्छ । जीवनको फूल फक्रने युवावस्थाचाहिँ जमिनमा टन्टलापुर घाम चम्कने मध्य-ग्रीष्म ऋतुजस्तै हुन्छ । मध्य उमेरचाहिँ परिश्रमको फल प्राप्त गर्ने कटनीको ऋतु भनिने शरद्जस्तै हुन्छ । शक्ति कमजोर हुने र कपाल फुल्ने वृद्धावस्थाचाहिँ सबै काम ठप्प गरिएको भूमिमा सेताम्मे हिउँ पर्ने हिउँदजस्तै हुन्छ ।

ग्रीष्मपछि शरद् लाग्नु स्वाभाविक भएजस्तै महिलाको शरीरमा पनि परिवर्तन आउनु स्वाभाविक हो । यो प्रक्रिया सजिलै पार हुने भएको भए राम्रो हुनेथियो, तर भनिन्छ मध्य उमेरका ९०% महिलाहरू रजोनिवृत्तिका विभिन्न लक्षणहरूबाट पीडित हुन्छन् । कुनै महिलाले रजोनिवृत्तिलाई कसरी सम्हाल्छिन् भन्ने कुरा उनको पारिवारिक जीवन र खुशीमा एकदमै निर्भर हुन्छ भनेर विज्ञहरू बताउँछन् ।

रजोनिवृत्तिका कारण र लक्षणहरू

शब्दकोशमा रजोनिवृत्तिलाई शरीर वयस्क अवस्थाबाट वृद्धावस्थामा प्रवेश गर्ने समयावधिको रूपमा परिभाषित गरिएको छ । महिलाको उमेर बढ्दैजाँदा उनको गर्भाशयको कार्य क्षमता कमजोर भएर एस्ट्रोजन हर्मोन द्रुत रूपमा घट्ने भएकोले उनले आफूमा शारीरिक र मनोवैज्ञानिक परिवर्तनहरू आएको अनुभव गर्छिन् । रजोनिवृत्तिका लक्षणहरू सामान्यतया महिनावारी रोकिनुअघि वा पछिको १० वर्षभित्र देखा पर्छ । त्यो समयमा अचानक ज्वरो आउने, थकाइ लाग्ने, शरीरको माथिल्लो भाग भित्रभित्रै तातिने, मुटुको धड्कन बढ्ने, अपच, अनिद्रा, स्मरण-शक्ति कमजोर हुने, न्यूरोसिस, उदासीनता, काँध र गोडाका जोर्नीहरू दुख्ने, निष्क्रियता छाउने इत्यादि लक्षणहरू देखा पर्छ ।

रजोनिवृत्तिको समयमा गम्भीर उदासीनता छाउने गर्छ, किनभने महिलाले नारीत्व गुमाउने भएकीले रित्तोपना महसुस गर्छिन्, बुढ्यौली लागेकोले अलि लाजको भाव उत्पन्न हुन्छ, छोरा-छोरीको स्वतन्त्रता र विवाहका कारण एकलो महसुस हुने गर्छ । आमा रजोनिवृत्तिबीच गुज्रिरहेको बेला छोरा-छोरीहरूचाहिँ किशोरावस्थाबीच गुज्रिरहेका छन् भने घर एउटा रणभूमि नै बन्ने अवस्था हुन सक्छ । छोरा-छोरीसँगको विवादचाहिँ रजोनिवृत्तिको समयमा महिलाहरूको मानसिक दबाबको अर्को कारक पनि बन्न सक्छ ।

महिलाहरू मात्र रजोनिवृत्तिबाट गुज्रिने होइन । रजोनिवृत्तिको पुरुष रूपान्तरलाई एन्ड्रोपज भनिन्छ । पुरुषहरूको उमेर ढल्किएसँगै हर्मोन कम हुँदैजान्छ, अनि केही लक्षणहरू देखा पर्छ, तर अचानक रजोनिवृत्तिका लक्षणहरूको अनुभव गर्ने महिलाहरूको ठीक विपरीत पुरुषहरूमा एन्ड्रोपज अलि बिस्तारै विकास हुन्छ । यसैकारण पुरुषहरूले आफूमा परिवर्तन आएको त्यति महसुस गर्दैनन् अथवा उनीहरूले त्यसलाई तनावको कुनै लक्षण होला भन्ठान्न सक्छन् ।

एन्ड्रोपजबाट गुज्रिरहेका पुरुषहरूले “आफ्नो शारीरिक र मानसिक शक्ति हराएको छ” भन्ने गर्छन् । पुरुषहरूको उमेर ढल्किँदैजाँदा उनीहरूमा स्त्रीगत गुणहरू देखा पर्छ भन्ने गरिन्छ । उनीहरू पहिला खासै नहेर्ने धारावाहिक कार्यक्रमहरू हेरेर आँसु झार्ने अथवा आफ्नी पत्नीहरूको सुरक्षामुनि रहन चाहने हुन्छन् । किनभने उनीहरूमा टेस्टोस्टेरोन हर्मोन घटेर एस्ट्रोजन हर्मोनचाहिँ बढ्छ । त्यसको ठीक विपरीत महिलाहरूचाहिँ बढ्दो उमेरसँगै कम लजाउने, आवाज उठाउने र सामाजिक गतिविधिहरूमा विशेष सक्रियता देखाउने गर्छन् ।

रजोनिवृत्तिलाई पार गर्ने तरिका

रजोनिवृत्तिलाई अनिमन्त्रित पाहुनाको रूपमा लिनुभन्दा बरु जीवनको दोस्रो भागको तयारी गर्नू भन्ने सङ्केतको रूपमा लिनुपर्छ । वर्तमान समयमा हामी प्राय: उमेर १०० वर्ष नाघेका मानिसहरू देख्ने गर्छौं । रजोनिवृत्तिपछि समेत जीवनको एक तिहाइ भाग बाँकी रहन्छ । किशोरावस्थालाई राम्ररी पार गर्ने व्यक्ति महान् वयस्कको रूपमा हुर्कन सकेजस्तै बुद्धिमानीपूर्वक रजोनिवृत्तिलाई पार गरेपछि आफूमा भावनात्मक स्थिरता अझ कायम गर्न सकिन्छ ।

त्यसरी गर्नको लागि शरीरले साथ दिएसम्म नियमित व्यायाम गर्नुपर्छ, पौष्टिक भोजन खानुपर्छ, पर्याप्त मात्रामा सुत्नुपर्छ, अनि भरपूर आराम गर्नुपर्छ । अनि वरिपरिका मानिसहरूसँग असल कुराकानी गर्नु पनि उचित छ । आफ्नो क्षमताअनुसारको काम गर्नु अथवा जीवनको अर्थ पत्ता लगाउनको निम्ति अतिरिक्त क्रियाकलापहरू, स्वयंसेवा कार्यमा सहभागी हुनु पनि उत्तम हो ।

पौष्टिक आहार, हर्मोन सुई र मनोवैज्ञानिक परामर्श पनि आवश्यक हुन सक्छ, तर अझ महत्त्वपूर्ण कुराचाहिँ आशावादी मानसिकता हो । किनभने तनावले रजोनिवृत्तिका लक्षणहरूलाई अझ खराब बनाइदिन्छ । बुबा-आमा दोधारमा परे भने त्यसले छोरा-छोरीमा गम्भीर प्रभाव पार्न सक्छ, उनीहरूले एक-अर्कालाई चोट पुऱ्याउने अवस्था हुन सक्छ । त्यो समयमा समस्यालाई सँगै मिलेर समाधान गर्नको निम्ति परिवारसँग कुराकानी गर्न आवश्यक हुन्छ ।

रजोनिवृत्तिका लक्षणहरू धूम्रपान, मदिरापान, मोटोपना, उच्च रक्तचाप अथवा मधुमेह जस्ता कारकहरूमा निर्भर हुन्छ । ती कुराहरूले हर्मोन स्रावलाई दबाएर स्वास्थ्यमा हानि पुऱ्याउने हुँदा तीबाट टाढै रहनु बेस हुन्छ ।

पारिवारिक विचारशीलता नै उत्तम औषधी

रजोनिवृत्तिका लक्ष​णहरूबाट पीडित महिलाको लागि परिवारको प्रेम र विचारशीलताभन्दा उत्तम औषधी छैन । परिवारले उनको वास्ता नगरी ठीक भइहाल्छ नि भनेर सोच्यो भने उनको नैराश्यताले अझ खराब रूप लिन्छ । उनले कमजोर र संवेदनशील महसुस गरेको समयमा उनका पति वा छोरा-छोरीले उनीसँग सुख-दुःख बाँड्न तयार छु भन्ने किसिमको महसुस दिलाएमा उनलाई ठूलो सान्त्वना मिल्नेछ ।

छोरा-छोरीले बुबा-आमाका उपलब्धिहरूको आदर गर्दै उहाँहरूको अनुभव तथा ज्ञानलाई स्वीकार्नुपर्छ । छोरा-छोरीले बुबा-आमासँग आफ्ना चिन्ताहरूबारे कुरा गर्दा र सल्लाह माग्दा बुबा-आमाको रूपमा उहाँहरूले आत्मविश्वास प्राप्त गर्न सक्नुहुन्छ । उहाँहरूसँगै हिँडडुल, व्यायाम गर्ने र खाना पकाउने जस्ता गतिविधिहरू पनि गर्न सकिन्छ । पति-पत्नीले कुनै कलहविना एक-आपसमा धेरै कुराकानी गर्न आवश्यक हुन्छ । अनि प्रेम अभिव्यक्त गर्दै एक-अर्कालाई भावनात्मक स्थिरता प्रदान गर्ने, सक्रियतापूर्वक प्रोत्साहन दिने अथवा घरायसी कामहरूमा सहयोग गर्ने गर्नुपर्छ । पति-पत्नीले मिलेर एकसाथ समस्याहरूको सामना गर्दाखेरि रजोनिवृत्तिलाई सजिलै पार गर्न सकिन्छ ।

लिङ्कनले “४० वर्ष कटेको प्रत्येक मानिस आफ्नो अनुहारप्रति जिम्मेवार हुन्छ” भनेका छन् । उज्यालो र सकारात्मक मनचाहिँ स्वच्छ अनुहारमा झल्किन्छ भने गुनासोले भरिएको नकारात्मक मनचाहिँ असन्तुष्ट अनुहारमा झल्किन्छ । हाम्रो भित्री सुगन्धले राम्रो प्रभाव पार्दछ, अनि यो युवावस्थाभन्दा बढी मूल्यवान् हुन्छ । “अब म वृद्ध भएँ” भनेर रजोनिवृत्तिप्रति दुःखित नहुनुहोस्, तर त्यसलाई अझ सुन्दर र परिपक्व मानिस बन्ने प्रक्रियाको रूपमा सहर्ष स्वीकार्नुहोस् । तपाईंको मन वसन्त ऋतुको घमाइलो दिनजस्तै सधैँ जवान रहनेछ ।