प्रेमको शक्तिद्वारा सन्तानलाई जित्नुहुने आमा
इ सु जा / गुमी, कोरिया

मैले भाँडा माझिरहेको बेला मोबाइलमा घण्टी बज्यो ।
‘आमा’
हेरेर मात्र पनि मैले यसो अनुमान लगाएँ । आमाले घरमा बनेका केही परिकारहरू लिन बोलाउन फोन गर्नुभएको हो जस्तो लाग्यो । ‘मैले पहिला फोन गर्नुपर्ने’ भनेर म क्षमाप्रार्थी भएँ ।
मेरा चार दिदीहरू र एक जना भाइ छन् । मेरो उमेर ४० कटिसकेको भए पनि आमाको नजरमा म अझै पनि उहाँलाई पिरोलिरहने कान्छी छोरीजस्तै छु । वास्तवमा सबैभन्दा कान्छोचाहिँ मेरो भाइ हो, तर ऊ अलि परिपक्व भएकोले होला आमाले मलाई कान्छोलाई झैँ व्यवहार गर्नुहुन्छ । मैले बच्चाले जस्तै “आमा” भन्दै फोन उठाएँ । मेरो अनुमान सही रहेछ । अघिल्लो दिनमा भेटघाटको लागि आउनुभएका मेरा काका-काकीले आमालाई फलफूल, मासु इत्यादि भोजनहरू टन्नै दिएर जानुभएको रहेछ, आमाले मलाई आएर केही लैजानको लागि बोलाउनुभयो ।
म आमाकहाँ नगएको धेरै भएकोले भोलिका दिन दिउँसोतिर म आमाकहाँ गएँ । ढोकाबाट छिर्ने क्रममा मैले घरको पछाडिबाट धूवाँ आइरहेको देखें । धूवाँ आएको ठाउँतिर जाँदा अगेनामा हड्डीको सूप उम्लिरहेको थियो । आमाले फोन पनि उठाउनुभएन, उहाँलाई खोज्दै घरभित्र जाँदा आमाले मलाई भान्सामा डाक्नुभयो ।
आमाले गत शरद्मा टिपेर राख्नुभएको कटुसबाट दोथोरी मुग(कटुसको जेली) बनाउँदैहुनुहुन्थ्यो । जेली बनाउनको लागि कटुसको तीतो स्वाद नजाँदासम्म त्यसलाई पानीमा भिजाएर सुकाएपछि पिस्नुपर्थ्यो । अनि पिसेको त्यो धूलोलाई पानीमा उमाल्नुपर्थ्यो । त्यसो गर्ने क्रममा त्यो डढेर पीँधमा नटासिओस् भनेर त्यसलाई लगातार काठको पन्यूले चलाइरहनुपर्थ्यो । लामो समयसम्म पिर्कामाथि टेकेर बराबरको उचाइमा त्यसलाई चलाइरहन आमालाई गाह्रो भएको हुनुपर्छ । मैले पहिला सधैँ पहिल्यै तयार भएको कटुसको जेली ल्याएर खाने गर्थें, तर यस पटकचाहिँ बनाउने तरिका पनि आफ्नै आँखाले देख्दाखेरि सजिलो कामचाहिँ होइन रहेछ भन्ने थाहा भयो ।
टेबिलमा सदाझैँ मलाई मन पर्ने उसिनेको सखरखन्डा र मकै राखिएको थियो । त्यसको छेउमा ताजा तिलको तेल, तुरुन्तै बनाउन सकिने गरी तयार गरिएका तरकारीहरू, किम्ची बनाउने समय नआउञ्जेल खानलाई पुग्ने प्रशस्त किम्ची र सिलामको तेलमा सेकेर खान सक्ने गरी एकदमै राम्रो आकारमा काटेर राखिएको किम(एक प्रकारको समुद्री साग) पनि थियो । त्यहाँ अन्य विभिन्न परिकारहरू पनि थियो । यसबाहेक त्यहाँ आमाले साइकलमा गएर भिरालो खेतबाट टिप्नुभएको ताजा र गुलियो हलुवाबेतको साथै विभिन्न किसिमका फलफूलहरू ६ प्याकेट तयार पारेर राखिदिनुभएको थियो ।
त्यो दिन अस्पतालमा आमा कोलोनोफाइबर्सकोपी[colonofiberscopy]को निम्ति जानुपर्ने भएकोले उहाँले सबै काम भोकभोकै गर्नुभयो, तापनि आफ्नी छोरी फेरि कहिले आउने हो भन्ने थाहा नभएकोले छोरीको लागि भनेर आमाले धेरै कुराहरू तयार गरेर राखिदिनुभएको थियो । लामो समयसम्म आमाले आफ्ना सन्तानहरूलाई केवल दिने जीवन जिउनुभयो । आफ्नो ख्यालै नगरी छोरा-छोरीको निम्ति मात्र सबै कुरा गर्नुहुने आमालाई देखेर मेरो मन दुख्छ ।
६ जना सन्तानहरूमध्ये कुखुरा पालन गर्ने जेठो सन्तानले अण्डा लिएर आयो भने आमाले “कान्छालाई अण्डा मन पर्छ” भन्दै कान्छो छोरालाई त्यो दिनुहुन्छ । काहिँली छोरीले एक बाकस मीठो स्याउ किनेर ल्याइदिइन् भने उहाँले “माइलीलाई स्याउ एकदम मन पर्छ” भन्दै माइली छोरीलाई त्यो दिनुहुन्छ । अनि साहिँली छोरीले राइस-केक बनाएर ल्याइदिइन् भने “यो त काहिँलीलाई मन पर्छ” भन्दै काहिँली छोरीलाई त्यो दिनुहुन्छ ।
यो कुरा थाहा पाएर मेरी दिदीले मन दुखाउँदै “अबदेखि म आमाको लागि केही पनि ल्याइदिन्नँ” भनेर गुनासो पोख्नुहुँदा आमाले “मलाई आफूले खाएको भन्दा छोरा-छोरीहरूले खाएको अझ राम्रो लाग्छ त के गर्ने ?” भन्नुभयो । त्यसैले हामी सबै एक भएर “अब आमाले दिनुभएको कुरा हामी लिँदैनौं” भनेर कुरा राख्दाखेरि आमाले प्रेमको शक्तिले हामीलाई जित्नुहुन्छ ।
कहिलेकहीँ त उमेर ढल्किँदैजाने क्रममा दुब्लाएर ढाड पनि कुप्रिएको आमालाई देखेर हामीहरू एकदमै लज्जित हुन पुग्छौं । मैले नै आमालाई यस्तो बनाएँ जस्तो लाग्छ । आत्मग्लानि भएर कसो गर्ने भन्ने थाहा नभए पनि, आमाको परिश्रम र बलिदानयुक्त प्रेमको कारणले म अझै पनि मनमा प्रशस्तपनाको आनन्द लिइरहेकी छु ।