ढोकामा ताला लगाउनुजत्तिकै महत्त्वपूर्ण रहेको सामाजिक सञ्जालको सुरक्षा
सामाजिक सञ्जालको अत्यधिक प्रयोगले अप्रत्याशित दुर्घटनाहरू निम्त्याउन सक्छ । त्यसैले पूर्ण सतर्कता अपनाउँदै बुद्धिमानी र सुरक्षित ढङ्गले यसको प्रयोग गरौं ।

सामाजिक सञ्जाल सेवा(Social Network Service, SNS)चाहिँ मानिसहरूबीच सूचनाहरू साझा गर्न मद्दत पुऱ्याउने र निःशुल्क सञ्चारमार्फत अरू मानिसहरूसँग सामाजिक सम्बन्ध निर्माण गर्न प्रयोग गर्ने अनलाइन मञ्च हो । फेसबुक, ट्विटर, काकाओ स्टोरी, इन्स्टाग्राम, ब्यान्ड, यूट्यूब जस्ता विभिन्न किसिमका सामाजिक सञ्जालहरू छन् । स्मार्टफोनको बढ्दो प्रयोगसँगै समय र ठाउँको परवाह नगरी सामाजिक सञ्जाल सबै ठाउँमा उपलब्ध भएको छ, त्यसैले यो अहिले आधुनिक मानिसहरूको दैनिक जीवनबाट अलग गर्नै नसकिने हिस्सा बनेको छ ।
एउटा कोरियाली पोर्टल साइटले ६९३ सदस्यहरूलाई लक्षित गर्दै ‘सामाजिक सञ्जाल प्रयोगको ढाँचा र त्यसको प्रयोग स्थिति’बारे सर्वेक्षण गरेको थियो । सर्वेक्षणका अनुसार ९१.३% उत्तरदाताहरूले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् र त्यसको उद्देश्य नै अरूसँग कुराकानी गर्न(६३.२%) विविध जानकारी र प्रवृत्तिको खोजी गर्न(६०.७%), अल्छीपना कम गराउन(४६.९%), आफ्नो दैनिक जीवन रेकर्ड गरेर साझा गर्न(३८.६%), कार्यक्रमहरूमा सहभागी हुन(२३.२%) र पछाडि परिने हो कि भन्ने चिन्तामा(७.७%) थियो ।
सर्वेक्षणको परिणामले देखाएजस्तै सामाजिक सञ्जाल आकर्षक हुनुको कारणचाहिँ मानिसहरूले जुनसुकै बेला, जहाँ पनि अन्तर्क्रियात्मक रूपमा अरूसँग सम्पर्क गर्न सक्ने भएकोले गर्दा हो । सामाजिक सञ्जालमा शुभकामना सन्देश आदानप्रदान गर्दै मानिसहरू ‘समानुभूति’ र ‘उत्तर’द्वारा सन्तुष्टि प्राप्त गर्छन्, अनि आफू समाजबाट अलग नभईकन सुमधुर सम्बन्ध कायम गरिरहेको कुरालाई निश्चित गर्छन् ।
तर एक सिक्काको दुई पाटा भएजस्तै यसको बाहिरी रूपमा देखिने विभिन्न फाइदाहरूको पछाडि कमजोरीहरू पनि छन् । सामाजिक सञ्जालमा लुकेका खतरनाक पासोहरूबारे र त्यसलाई कसरी सुरक्षितसाथ प्रयोग गर्ने भन्नेबारे थाहा पाऔं ।
नमेटिने डिजिटल निशानहरू
सामाजिक सञ्जालचाहिँ जानकारीहरूको सागर हो । प्रयोगकर्ताहरूले आफ्नो सामाजिक सञ्जालमा लेख, तस्वीर र भिडियोहरू सजिलैसित हाल्छन्, अनि अरूको अकाउन्टमा गएर उनीहरूको पोस्टहरू हेर्छन् । सामाजिक सञ्जालमा कुनै कुरा हाल्नु भनेको त्यो कुरा साझा गर्दा कुनै फरक पर्दैन भन्ने अर्थ हो । तर समस्याचाहिँ आफूले साझा गरेको पोस्ट हेर्ने व्यक्ति आफ्नो नजिकका चिनेजानेकाहरू मात्र हुँदैनन् ।
फेसबुकका सह-संस्थापक मार्क जुकरबर्गले गोपनीयताको युग समाप्त भयो भनेर घोषणा गरेका थिए । सामाजिक सञ्जालको द्रूत प्रसारले व्यक्तिगत जानकारीहरू झन्-झन् उजागर गरिरहेको छ । नाम, सामाजिक सुरक्षा नम्बर, ठेगाना, सम्पर्क जानकारी, रुचिका क्षेत्रहरू, घरेलु अर्थव्यवस्थाको आकार, मान्यताहरू, बाल-बच्चाको विद्यालय, स्थानान्तरण, व्यक्तिगत सम्बन्ध, स्थान, इत्यादि प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा खुलस्त पारेका जानकारीहरू र अरू सामाजिक सञ्जालको साइटहरू प्रयोग गरेको इतिहासमार्फत प्राप्त गर्न सकिने सयौँ किसिमका व्यक्तिगत जानकारीहरू हुन्छन् । योचाहिँ प्रयोगकर्ताहरूले थोरै सजिलो र आनन्दको लागि बद्लमा सामाजिक सञ्जाल कम्पनीहरूलाई आफ्नो जानकारी खुशीसाथ दिनुको परिणाम हो ।

सामाजिक सञ्जालमा गरिएका गतिविधिहरूका निशान ‘कुकिज’ (cookies) भनिने अदृश्य डिजिटल निशानको रूपमा कम्प्यूटर र स्मार्टफोनमा रहन्छ । योद्वारा, प्रयोगकर्ताले अनलाइनमा कस्तो कार्य गरेको थियो भन्ने कुरा पत्ता लगाउन सम्भव हुन्छ, अनि प्रयोगकर्ताको साधारण जानकारीहरू विभिन्न कम्पनीहरूमा हस्तान्तरण हुन्छ । तर प्रयोगकर्तालाई यसबारे केही थाहा हुँदैन । सामाजिक सञ्जालमा सक्रिय रूपले संलग्न हुने प्रयोगकर्ताहरूचाहिँ कम्पनीको दृष्टिकोणबाट ठूलो डाटामा निरन्तर रूपमा सामग्रीहरू आपूर्ति गर्ने बेतलबी कर्मचारीहरूजस्तै छन् । वास्तवमा इन्टरनेट कम्पनीहरू र तिनीहरूका विज्ञापनदाताहरूले प्रयोगकर्ताहरूको अनलाइन निशानलाई निरन्तर नियाल्दै र सङ्कलन गर्दै ठूलो मुनाफा कमाउँछन् ।
डिजिटल निशानचाहिँ समयसँगै पुरानो हुने वा हराएर जाने कागज वा रेकर्डिङ टेपमा भएका एनालग इन्फर्मेसन(analog information, एकरूपता जानकारी)जस्तो हुँदैन । त्यसैकारण सामाजिक सञ्जालमा हालिएका पोस्ट र तस्वीरहरू पछि गएर उजागर हुन्छन्, र प्रयोगकर्ताहरूलाई अप्ठ्यारोमा पार्छन् । त्यो क्षणमा आफ्नो भावनाप्रति ईमानदार भएर लेखेका पोस्टहरू र तस्वीरहरूप्रति मानिसहरूमा कुनै आशङ्का नभए पनि समय बित्दैजाँदा वा परिस्थिति बद्लिँदा उनीहरूको मन परिवर्तन हुन्छ । त्यसको बाबजुद उक्त कुकिज(cookies-वेबसाइट प्रयोग गर्दा कम्प्यूटर वा मोबाइलमा सेभ हुने सानो डाटा फाइल)ले भने ट्याग जसरी पछ्याइरहेको हुन्छ । एक पटक प्रयोगकर्ताको हात छोडिसकेको डिजिटल जानकारी पूरै संसार घुमेर बुमरेङ(boomerang)जस्तै प्रयोगकर्ताकहाँ फर्केर आउन सक्छ ।
बुबा-आमाको सामाजिक सञ्जालको अत्यधिक प्रयोगले सन्तानलाई जोखिममा पार्छ
प्रतिष्ठित बेलायती शब्दकोश ‘चेम्बर्स’ले ‘ओभरशेयर(overshare)’लाई सन् २०१४को शब्दको रूपमा चयन गऱ्यो । यसको अर्थ सामाजिक सञ्जालमा कसैको व्यक्तिगत जानकारी अत्यधिक मात्रामा खुलासा गर्नु हो । उही सन्दर्भमा ‘श्यरेन्ट्स(sharents)’ भन्ने नयाँ शब्द देखा पऱ्यो । योचाहिँ ‘साझा(share)’ र ‘बुबा-आमा(parents)’ शब्दको समास शब्द हो, र यसले सामाजिक सञ्जालमा आफ्नो सन्तानको सम्पूर्ण कुरा आफ्नो अकाउन्टमा पोस्ट गर्ने बुबा-आमालाई जनाउँछ । यस्तो व्यवहारलाई ‘श्यरेन्टिङ(sharenting)’ भनिन्छ ।
उनीहरूले अत्यधिक मात्रामा पोस्ट गर्नुको कारणचाहिँ दैनिक जीवनको रेकर्ड राख्न, टाढा रहेका आफ्ना चिनेजानेकाहरूसित सम्झना बाँड्न, आफ्नो सन्तान राम्रो भएकोले बच्चाहरूको पालन-पोषणसम्बन्धी जानकारी र चिन्ता साझा गर्नको निम्ति हो । तर प्रयोगकर्ताको मनसायविपरीत यी सबै कुराको नकारात्मक परिणाम हुन सक्छन् ।
दक्षिण कोरियाको एक टिभी कार्यक्रममा सामाजिक सञ्जाल प्रयोग गर्ने साना बच्चाहरूमा एउटा परीक्षण गरिएको थियो । सामाजिक सञ्जालमा राखिएका तस्वीर र पोस्टहरूबाट बच्चाको जानकारी लिएको अपरिचित व्यक्ति, बुबा-आमाको अनुपस्थितिमा बच्चाको प्रतिक्रिया जाँच गर्न बच्चाको नजिक गयो । सुरुमा त ती बच्चाहरू अपरिचित व्यक्ति नजिक आउँदा सतर्क भए । तर उनीहरू कहिले र कहाँ गए, अनि के-के गरे भन्नेजस्ता आफ्ना कुराहरू उक्त अपरिचित व्यक्तिले विस्तृत रूपमा जानेको कुरा थाहा पाउनेबित्तिकै उनीहरूले तुरुन्तै शङ्का गर्न छोडेर उक्त व्यक्तिलाई पछ्याए । सामाजिक सञ्जालका गतिविधिहरूप्रति सकारात्मक भएका आमाहरू यो कुरा देखेर छक्क परे ।

यसैबीच सन् २०१६ अक्टोबरमा क्यानाडाको अल्बर्टामा बस्ने डेरन रेन्डाल(१३ वर्ष)ले आफ्ना बुबा-आमाविरुद्ध मुद्दा हाले । किनभने उसको बुबा-आमाले उसलाई लज्जित तुल्याउने उसको बाल्यकालका तस्वीरहरू सामाजिक सञ्जालमा हालेका थिए । सोही वर्ष अस्ट्रियामा पनि एक किशोरीले, सामाजिक सञ्जालमा हालिएका आफ्नो बाल्यकालका तस्वीरहरू हटाउनू भन्ने आग्रहलाई इन्कार गरेका आफ्नो बुबा-आमालाई मुद्दा हालिन् । यसरी दोष लगाइएका बुबा-आमाको सामाजिक सञ्जालमा बच्चाहरूका बाल्यावस्थाको नाङ्गो शरीर, शौचालय प्रशिक्षण, हास्यास्पद तस्वीरहरू हालिएका थिए ।
फ्रान्समा आफ्नो सन्तानको स्वीकृतिविना सामाजिक सञ्जालमा तस्वीरहरू हाल्ने बुबा-आमालाई एक वर्षसम्म कैद गरिनुका साथै जरिबाना पनि तिर्न लगाइन्छ । भियतनाममा पनि बुबा-आमाले आफ्नो सन्तानको तस्वीर वा भिडियो जस्ता व्यक्तिगत जानकारीहरू सन्तानको अनुमतिविना सामाजिक सञ्जालमा हालेमा उनीहरू दण्डित हुने नियम छ । बुबा-आमाको नजरमा सन्तानहरू राम्रो र मायालाग्दो देखिन्छन्, तर बच्चाहरू पनि निर्णय लिन सक्ने र आफ्नो व्यक्तिगत जानकारीहरू सुरक्षित राख्न पाउने अधिकार भएका स्वतन्त्र व्यक्ति हुन् । बुबा-आमाहरू आफ्ना सन्तानसँग सम्बन्धित सामग्रीहरू अनलाइनमा हाल्दा सचेत हुनुपर्छ, साथै उनीहरू अपमानित हुने वा जोखिममा पर्ने पो हुन् कि भनेर जाँच गर्नुपर्छ । बुबा-आमाको सामाजिक सञ्जालको उचित प्रयोगले उनीहरूको सन्तानको गोपनीयतालाई सुरक्षित राख्छ ।
सामाजिक सञ्जालको सुरक्षित र बुद्धिमानी प्रयोग
सन् २०११मा कोरिया इन्टरनेट तथा सुरक्षा निकायले २०० जना स्वदेशी ट्विटर प्रयोगकर्ताहरूमा सर्वेक्षण गरेको थियो, र तीमध्ये ६३%ले आफ्नो कार्यतालिका र ८३%ले आफ्नो स्थानको जानकारी खुलाएको कुरा रिपोर्ट गरिएको थियो । उनीहरूले वास्तविक समयमा आफ्नो दैनिक जीवन सामाजिक सञ्जालमा साझा गरिरहेका हुनाले छुट्टी र पारिवारिक कार्यक्रमका योजनाहरू, छुट्टीमा लिइएका तस्वीरहरू, प्रदर्शनीको टिकेट इत्यादि अनिश्चित व्यक्तिहरूकहाँ पुग्छ । सबैभन्दा खतरानक कुराचाहिँ यसको आधारमा उनीहरूको घर कहिले खाली हुन्छ भनी अनुमान गर्न सकिन्छ । सामाजिक सञ्जालमा आफ्नो जानकारीहरू हाल्दा जोखिमहरूको जाँच गरी पोस्टबारे सतर्क रहनुपर्छ ।
वास्तवमा यो घटना संयुक्त राज्य अमेरिकामा घटेको थियो । एक जना चोरले, सामाजिक सञ्जालमा छुट्टी मनाउन जाने विषयमा लेखहरू हालेका मानिसहरूको २० वटा घरहरू लुटेको थियो । अनि सन् २०११मा संयुक्त अधिराज्यमा दोषी ठहरिएका चोरहरूको सर्वेक्षणमार्फत, करीब ८०%ले सामाजिक सञ्जालमार्फत घरहरू खोजेर लुटेको कुरा पत्ता लाग्यो । स्थानको जानकारी सार्वजनिक गर्दा (भोइस फिशिङ, voice phishing) ठगी वा चोरीको सम्भावना प्रबल हुन्छ । किनभने ह्याकरले छुट्टीमा गएको तपाईंको परिवारको स्पष्ट ठेगाना थाहा पाएर खताराबाट जोगिनको लागि आपत्कालीन रकमको माग गऱ्यो भने तपाईं छलमा पर्ने सम्भावना बढी हुन्छ ।
सामाजिक सञ्जाल खुला किताबजस्तै हो । त्यसैले प्रयोगकर्ताहरू अरूको नजरमा कसरी प्रस्तुत भइरहेका छन् भन्ने कुराप्रति सचेत रहन बाध्य हुन्छन् । यसैकारण अरूको चासो र प्रतिक्रियालाई आकर्षण गर्न आफ्नो जीवनलाई वास्तविकताभन्दा फरक ढङ्गले दर्शाउने मानिसहरू पनि हुन्छन् । तर सामाजिक सञ्जाल प्रदर्शन-क्षेत्र भए पनि आत्मगौरव र लापरवाही सेल्फीहरू धेरै नै भएमा, यसले वरपरका मानिसहरूलाई थकित बनाउँछ ।
यसबाहेक सामाजिक सञ्जालमा अरूको उत्कृष्ट जीवन लगातार देखेमा ‘अरूहरूले राम्रै गरिरहेका छन्, खुशी देखिन्छन्, तर मचाहिँ किन यस्तो होला’ भनेर उनीहरूसँग आफ्नो जीवन तुलना गर्न पुगी अभावको भावना महसुस हुनेछ । निरन्तरको नकारात्मक भावनाले तनाव र उदासीनता निम्त्याउँछ । सामाजिक सञ्जालबाट आफू अलग भइने पो हो कि भन्ने डर ‘फोमो(Fear of Missing Out, FOMO) लक्षण’ पनि देखा पर्न सक्छ ।

अरूलाई देखाउने जीवनमा केन्द्रित हुने वा अरूको दैनिक जीवनलाई हेर्दै ईर्ष्या गर्ने नगरौं, तर आफूलाई दिइएको समयलाई अझ मूल्यवान् ठानौं । सामाजिक सञ्जालको लतबाट जोगिनको निम्ति त्यसलाई प्रयोग गर्ने समय र ठाउँको सीमा तोकौं, अनि अनलाइनमा कस्तो र कति जानकारीहरू साझा गर्ने भन्ने कुरा पनि ध्यानपूर्वक सोचेर निर्णय गरौं । आफ्नो नजिकको व्यक्तिलाई मात्र साझा गर्न सक्ने गरी गोपनीयताको दायरा तोक्नु राम्रो विचार हो । अनि साझा गर्नुहुँदा आफ्नो व्यक्तिगत जीवन मात्र नभएर अरूको गोपनीयतासँग सम्बन्धित जानकारी र अरूले नचाहेका तस्वीरहरू पनि नखुलाउन सावधान हुनुपर्छ भन्ने कुरा नबिर्सौं ।
‘सोशल ब्ल्याकआउट(Social Blackout)’ भनेको प्रतिकूल प्रभावका कारण सामाजिक सञ्जालको प्रयोगलाई रोक्नु हो । प्राप्त रिपोर्टअनुसार, प्रयोगकर्ताहरूले सोशल ब्ल्याकआउट चयन गर्नुको सबैभन्दा ठूलो कारण नै ‘निजी जानकारी चुहावट’ हो । यसले जानकारी सुरक्षाप्रति सचेत हुने मानिसहरूको सङ्ख्या बढिरहेको कुरा पनि देखाउँछ ।
डिजिटल प्रविधिले हाम्रो जीवन जतिसुकै समृद्ध बनाए पनि यसको दुरुपयोग, प्रयोग नगर्नुभन्दा अझ खराब हुन्छ । अनि योभन्दा पनि खराबचाहिँ यसको दुरुप्रयोगले अपराधिक गतिविधिलाई बढावा दिनुका साथै पारिवारिक सुरक्षामा समेत खतरा पुऱ्याउँछ । व्यक्तिगत जानकारीको सुरक्षाको लागि प्रत्येक उद्यमले सक्रिय कदम चाल्नुपर्छ, तर प्रयोगकर्ताहरू आफै पनि सुरक्षाप्रति अरूभन्दा सचेत हुनुपर्छ । आफ्नो घरको सुरक्षाको निम्ति ढोकामा सधैँ ताला लगाएजस्तै आफ्नो अनलाइन ढोकाको सुरक्षामा पनि विशेष ध्यान दिऔं ।