माकुराद्वारा सिकेको पाठ

कुनै एउटा देशका सेनाहरू युद्धमा पराजित भएर झण्डै नष्ट भएका थिए । गुफामा लुकेर जसोतसो आफ्नो जीवन बचाउन सफल भएका सेनापतिले लाजका कारण आत्महत्या गर्ने निर्णय गरे, र तरबार निकाले ।
ठीक त्यहीँ समयमा, उनले एउटा माकुरा गुफाको प्रवेशद्वारको जालोमा घुमिरहेको देखे ।
हावाको कारण त्यो माकुरा लगातार आफ्नो जालो बनाउन असफल भयो । तर त्यसले हार नमानिकन अन्त्यसम्मै प्रयास गऱ्यो र अन्ततः सातौँ पटकको प्रयासमा त्यो सफल भयो ।
त्यो दृश्य हेरिरहेका सेनापतिले तरबार म्यानमा राखेर जुरुक्क उठे ।
उनले सोचे “म त एक चोटी मात्र असफल भएको छु ।”
त्यसपछि अरू सेनाहरूलाई लिएर उनी फेरि युद्ध मैदानमा फर्किए, र ठूलो सफलता हासिल गरे ।