WATV.org is provided in English. Would you like to change to English?

माताको छैटौँ शिक्षा

“अरूहरूले काम गरेनन् भनेर गुनासो नगरी आफूले गर्नुपर्ने काम ईमानदार भएर गरौं । मालिकको मन लिएर काम गर्दा गाह्रो लाग्दैन र आनन्दित मनले काम गर्न सकिन्छ ।”

63,217 भ्यु

अरूहरूले काम नगरिरहेका बेला आफू एकलैले काम गर्नुपर्ने अवस्थाको पक्कै पनि सामना गरिन्छ । त्यस्तो अवस्थामा कहिलेकहीँ हामीहरू ‘उहाँले चाहिँ किन काम गर्नुहुन्न ?’ अथवा ‘किन मैले मात्र काम गर्नुपर्ने ?’ भनेर सोच्न सक्छौं, तर परमेश्वरले जस्तोसुकै अवस्थामा पनि मालिकको जस्तो मन लिएर काम गर्दा आनन्दित मनले काम गर्न सकिन्छ भन्नुभएको छ ।

खेतको मालिक र नोकरलाई एक पटक सोचौं । नोकरलाई फसल कटनीप्रति ठूलो चासो हुँदैन, र उसले न्यून प्रयत्न गर्छ । मालिकले हेरिरहेका छन् भने मात्र उसले कडा परिश्रम गरेको स्वाँग पार्छ । त्योचाहिँ उसले कति समय काम गऱ्यो भन्ने कुराको आधारमा ज्याला पाउने भएकोले हो ।

तर मालिकचाहिँ फरक हुन्छन् । तिनी सधैँ खेतको फसलप्रति चिन्तित हुन्छन्, बालीलाई सपार्ने उत्तम तरिकाको खोजीमा जुट्छन् । अरूले काम गरेन भनेर आफूले पनि काम नगर्ने मालिक कोही छैन । चाहे अरूले काम गरून्, चाहे नगरून् मालिकचाहिँ सधैँ आफ्नो काममा केन्द्रित हुन्छन्, किनभने ती सारा परिश्रमले पछि गएर प्रशस्त बाली भित्रिने कुरा तिनी राम्ररी जान्दछन् ।

हामीहरू नोकरहरू होइनौं, तर परमेश्वरका छोरा-छोरीको रूपमा स्वर्गका सबै कुराहरूको अधिकार पाउने परमेश्वरका उत्तराधिकारीहरू हौं । अहिले हामीले सुसमाचारको निम्ति बगाउने प्रत्येक थोपा पसीनाचाहिँ स्वर्गमा स्वर्गीय इनामको रूपमा हामीकहाँ फर्किआउनेछ । भविष्यमा पाइने इनाम र आशिष्‌लाई सोच्दै मालिकको मन लिएर काम गरेमा गाह्रो लाग्दैन, र आनन्दित मनले काम गर्न सकिन्छ ।

अहिले हाम्रो परमेश्वरको मण्डली बाइबलको अगमवाणीअनुसार हुर्कंदैगएको छ, किनभने परमेश्वर आफैले सम्पूर्ण सुसमाचार कार्यको नेतृत्व गर्दैहुनुहुन्छ । परमेश्वरको मण्डलीचाहिँ कुनै एक जना मानिसले काम गरेन भन्दैमा सबै काम ठप्प हुने त्यस्तो मण्डली होइन ।

यसकारण अरूहरूले काम गर्छन् कि गर्दैनन् भन्ने कुरामा हामीले चासो राख्ने होइन, तर कमजोर मलाई बोलाउनुभएर सुसमाचारको कार्य जिम्मा दिनुभएका परमेश्वरप्रति धन्यवादी भएर ईमानदारितापूर्वक काम गर्नुपर्छ । हामीले मालिकको जस्तो मन लिएर ईमानदारितापूर्वक काम गर्दा परमेश्वर प्रसन्न हुनुभएर हामीलाई अझ बढी आशिष् र अनुग्रह प्रदान गर्नुहुनेछ ।

समीक्षात्मक प्रश्न
माताको छैटौँ शिक्षा के हो ?
हामीले किन मालिकको जस्तो मन लिएर काम गर्नुपर्छ भन्नेबारे छलफल गरौं ।