घर चम्किलो भयो भने मन पनि चम्किलो हुनेछ
सरसफाइलाई थकानपूर्ण र तुच्छ कामको रूपमा लिइन्छ । तर यसले व्यक्ति, परिवार र विश्वलाई नै परिवर्तन गरिदिन्छ ।

“घरका कामहरूमध्ये सबैभन्दा झन्झटिलो काम कुन हो ?”, “अनि शारीरिक रूपमा सबैभन्दा गाह्रो काम कुन हो ?”
ग्यरब कोरियाले, कोरियाली गृहिणीहरूलाई घरेलु कामको बारेमा यी प्रश्नहरू गरेको थियो र माथिका दुवै प्रश्नहरूको उत्तरमा सरसफाइ पहिलो स्थानमा रहेको पाइयो । छोटकरीमा भन्नुपर्दा, घरको सरसफाइलाई एक थकानपूर्ण र झन्झटिलो कामको रूपमा लिइन्छ । त्यसैले कामबाट थकित भएर घर फर्किंदा, कसैले घर सफा गरिदिएर दराजका कुना काप्चामा भएका धुलोहरू पुसी, भुँइ बढालेर घर चिटिक्क पारिदिएको त्यो दृश्य हामीले कम्तीमा एक चोटि कल्पना गरेका हुन्छौं ।
थोरै रगड्दा सबै दाग जाने डिटर्जेन्ट, घर सफा गर्न प्रयोग गरिने टालो, स-साना धुलो समेत तान्ने भ्याकुम क्लिनर, र एउटा बटन थिच्दा घरको वरिपरि घुमेर सबै कोठाहरू सफा गरिदिने रोबोट क्लिनरजस्ता बजारमा निस्किएका सरसफाइका सामग्रीहरूले सरसफाइको कामलाई सरल बनाएको भए पनि घरको सरसफाइलाई अझै एउटा अनिच्छित कार्यको रूपमा लिइन्छ ।
मानिसहरूले सरसफाइ नगर्नका लागि व्यस्त भएको, आराम गर्न चाहेको, फेरि फोहोर भइहाल्छ नि भन्दै विभिन्न किसिमका बहाना बनाउँछन् । तर अन्ततः हार मानेर लुगाको बाहुला माथि सार्दै घर सफा गर्न थाल्छन् । त्यसैले सरसफाइ एकदमै महत्त्वपूर्ण छ । हामीले प्रयोग गर्ने गाडी, फ्रिज, खाट, ए.सी, लगायत घर, कार्यालय, विद्यालय, र सडकजस्ता ठाउँहरू पनि सफा गर्नुपर्छ ।
सरसफाइचाहिँ एउटा यस्तो चीज हो जुन लापरवाही गर्दै गरियो भने तुरुन्तै देखिन्छ, तर एकदमै परिश्रम गरेर यो काम गरियो भने पनि देखिँदैन । योचाहिँ हरेक दिन खाना खाएजस्तै कहिल्यै समाप्त नहुने काम हो । त्यसोभए, के सरसफाइ साँच्चै झन्झटिलो र थकानपूर्ण काम हो त ?
उज्यालो र सफा ठाउँमा सकारात्मक ऊर्जा महसुस गर्न सकिन्छ
एउटा झ्याल फुटेको गाडि यत्तिकै अलपत्र अवस्थामा छोडिएको थियो । मानिसहरूले त्यसका ब्याट्री र टायरजस्ता पूर्जाहरू झिकेर लगे, र पछि त्यो गाडिलाई तोडफोड गरी फुटाइदिए । गाडी जति घिनलाग्दो हुँदै गयो, अपराध त्यति नै बढ्दैगयो । यो नै फुटेको झ्यालको सिद्धान्त (Broken Windows Theory) हो ।
सन् १९९३ मा न्यू योर्कका मेयरको रूपमा नियुक्त भएका रुडोल्फ विलियम लुइस गिउलियानीले स्थिर सुरक्षा कायम गर्नको लागि यो सिद्धान्त अपनाएका थिए । उनले अपराधको केन्द्रबिन्दु रहेको सबवे स्टेसनमा पाइने भित्तेचित्र हटाएर त्यहाँ सरसफाइ गर्ने नीति जारी गरे । अपराध नियन्त्रणलाई कडाइ गर्नुपर्छ भन्ने धारणाको विपरीत उनले वर्षौंसम्म भित्तेचित्र हटाउनमा नै ध्यान दिए । परिणामस्वरूप, अपराधको दर ७०% भन्दा बढीले घट्यो, र मानिसहरू ढुक्क भएर स्टेशनमा आवतजावत गर्न सके ।
आश्चर्य र सपनाको संसार, टोकियो डिज्नील्यान्ड सरसफाइको लागि परिचित छ । त्यहाँको रिसोर्ट यति सफा छ, कि मानिसहरूले भुइँमा झरेको पपकर्न समेत टिपेर खान सक्छन् । सरसफाइ गर्नेहरूलाई ‘कस्टोडियल’ भनिन्छ, जसले आफ्नो जिम्मामा परेको प्रत्येक क्षेत्रलाई पूर्ण रूपमा व्यवस्थापन गर्छन् । उनीहरूले फोहोर भएकोले सफा गर्दैनन् तर फोहोर हुन नदिनका लागि सफा गर्छन् । फोहोर ठाउँमा सपना र आशाहरू कदापि पूरा गर्न सकिँदैन भन्ने विश्वासका साथ उनीहरूले सरसफाइ गर्छन् । यस्तो उद्यमशिलताको भावना भएको टोकियो डिज्नील्यान्डमा, औसतमा एक करोड साठी लाख आगन्तुकहरू वर्षेनी आउने गर्छन् ।

जुनसुकै ठाउँ होस्, यदि त्यो ठाउँमा सरसफाइ गरिएन भने त्यहाँ फोहोर थुप्रिन थाल्छ र कीराहरू लागेर गनाउन थाल्छ । त्यस्तो ठाउँहरूमा आफूलाई चाहिने सामान खोज्दा समय बर्बाद हुन्छ र स्वास्थ्य नै जोखिममा पर्ने अवस्था हुन्छ । यदि त्यो ठाउँ घर हो भने, परिवारका सदस्यहरू खुशी हुन सक्दैनन्, यदि त्यो पसल वा खाजाघर हो भने ग्राहकहरू त्यहाँ जान हिचकिचाउँछन् । यदि त्यो ठाउँ कार्यालाय हो भने त्यहाँको कार्यदक्षता घट्नेछ, र विद्यालय हो भने विद्यार्थीहरूको शैक्षिक अवस्था दुर्बल हुनेछ । टेक्सस विश्वविद्यालयका प्राध्यापक शमूएल डि. गोस्लिङले ८३ वटा विद्यार्थीहरूको छात्रावास कोठा, भाडामा लिएका कोठा र ९४ वटा कार्यालयहरूको सर्वेक्षण गर्दा, सफा कोठामा बस्ने मानिसहरू फोहोर कोठामा बस्ने मानिसहरूभन्दा अझ कुशल, व्यवस्थित र रचनात्मक हुन्छन् भन्ने निष्कर्ष निकाले ।
जापानमा यात्रा गर्दै सरसफाइको शक्तिको विषयमा बोल्ने मासुदा मित्सुहिरो भन्छन्, “मैले धेरै मानिसहरूलाई भेट्ने क्रममा, फोहोर घरमा बस्ने मानिसहरूको पारिवारमा कलह हुने यथार्थता पत्ता लगाएँ ।” उनले फोहोर कोठाले नकारात्मक ऊर्जा प्रवाह गर्ने र सफा कोठाले चाहिँ सकारात्मक ऊर्जा प्रवाह गरेर खुशी दिलाउने कुरा पनि बताए । यसले, फोहोर ठाउँ अझ फोहोर हुँदैजान्छ र सफा ठाउँचाहिँ सफै रहन्छ भन्ने कुरा पुष्टि गर्दछ ।
सरसफाइले सोचाइ परिवर्तन गरिदिन्छ
मासुदा मित्सुहिरोले सरसफाइको शक्ति महसुस गरेकाले यसबारे प्रचार गर्न थाले । वास्तवमा उनी व्यापारमा असफल भएर पारिवारिक संकटमा पर्दा लाचार महसुस गर्दै फोहोर घरमा बसिरहेका थिए । त्यो समयमा सरसफाइको सामान बोकेर एक जना साथी उनलाई भेट्न आए । सरसफाइ गरेपछि उनले फुर्तिलो महसुस गरे । यो घटनापछि उनी सरसफाइ व्यवसायमा प्रवेश गर्न प्ररित भए र आफ्नो परिवारसँग अझ निकट भए । यसरी सरसफाइले एउटा मानिसको जीवन परिवर्तन गरिदियो ।
जब कोरियाली स्वतन्त्रता अभियन्ता आन छाङ-हो अमेरिकामा बसाइँ सरे, उनले आफ्ना देशवासीहरू दयनीय अवस्थामा बसिरहेको देखेर तिनीहरूको घर र वरपरका क्षेत्रहरू सफा गरिदिए । एक जना स्वदेशीले उनी किन सरसफाइलाई यति महत्त्वपूर्ण ठान्छन् भनी सोध्दा, उनले “सरसफाइ नै जीवनको आधार हो” भने । जब हामी आधारभूत कुराहरूले सुसज्जित भएर कम्तिमा पनि आफ्नो वरपरको वातावरण सफा राख्छौं, के हामीले थप विकासको आशा गर्न सक्दैनौं र ?”

हाम्रो आँखाले जे देख्छ, हाम्रो मन पनि त्यस्तै हुँदै जान्छ । सरसफाइ केवल देखिने फोहोर हटाउने काम मात्र होइन, तर मनलाई पवित्र पार्ने तरिका पनि हो । मनोवैज्ञानिक डा. लरेन नेपोलिटानोका अनुसार, “फोहोर भान्साकोठा वा फोहोरले भरिएको दराज सफा गर्ने जस्ता साना कामहरूले हाम्रो मुड र मनस्थितिमा भिन्नता ल्याउन सक्छ ।”
सन् २००२ मा मिनेसोटा विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले २० देखि २९ वर्षसम्मका ८४ जना व्यक्तिहरूको विकास प्रक्रियाबारे अनुसन्धान गऱ्यो । तीन वा चार वर्षको उमेरदेखि घरको काम गर्ने मानिसहरूको परिवार र साथीहरूसँग राम्रो सम्बन्ध रहेको र विभिन्न क्षेत्रमा सफलता हासिल गरेको कुरा पत्ता लाग्यो । त्यसैले सरसफाइ र घरेलु काम गर्ने मानिसहरूमा आत्मविश्वास, जिम्मेवारीको भाव र अन्तर्दृष्टि रहेको कुरा प्रमाणित भयो । अरूको लागि सरसफाइ, कामजस्तो लाग्न सक्छ तर वास्तवमा सरसफाइद्वारा हामीले धेरै फाइदा पाउन सक्छौं ।
यदि हामी तनावमा छौं अथवा हाम्रो दिन राम्रो चलिरहेको छैन भने झ्याल पुरै खोलेर पहिला कोठा सफा गर्नुपर्छ । मनलाई फेरि ऊर्जावान् बनाउन सरसफाइ गर्नुजस्तो प्रभावकारी अरू केही हुँदैन । “जीवनका समस्याहरू समाधान गर्न पहिले सियो-धागो ठेगानमा राख्नुपर्छ” भन्ने थोमस कार्लाइलको यो भनाइअनुसार अनावश्यक सामानहरू हटाएर कुनाकाप्चाका सबै फोहोर हटाएमा मन पनि सफा हुनेछ ।
सरसफाइ रमाइलो र उत्साहपूर्ण हुन्छ
अमेरिकाको राष्ट्रपतिले NASA को भ्रमण गर्दा एक जना सरसफाइकर्मीले गुनगुनाउँदै भुइँ पुसिरहेको देखे । राष्ट्रपतिले उनको छेउमा गएर सोधे, “यहाँलाई सरसफाइ गर्न यति रमाइलो लाग्छ ?” सरसफाइकर्मीले जवाफ दिए, “मैले केवल सरसफाइ मात्र गरिरहेको छैनँ, तर चन्द्रमामा जाने मानिसलाई सहयोग गरिरहेको छु ।”
काम गर्दा सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ मनस्थिति हो । सबै कुरालाई कामको रूपमा मात्र लियो भने, त्यो काम पट्टाइ लाग्दो हुन्छ र काम गर्न मनै नलाग्ने अवस्था हुन्छ । तर आनन्दित मनद्वारा त्यसको मूल्य बुझ्न सकियो भने कामको कदर गर्न सकिन्छ । सरसफाइ पनि उस्तै हो । यदि रिसाउँदै, “म त दिनदिनै सफा गर्दा वाक्कदिक्क र थकित भइसकें !” भन्दै गुनासो गरियो भने सफा गर्न गाह्रो हुनुका साथै, सरसफाइको सकारात्मक ऊर्जा पनि महसुस गर्न सकिँदैन । अनि सफा गर्ने घर भएको कुरामा पनि खुशी हुन सकिँदैन ।
सरसफाइ भनेको मन र शरीरले रमाइलो वातावरणमा आराम गर्न पाउने माध्यम हो, प्रेमको मौन अभिव्यक्ति हो, र थकित भएर घर फर्किदा परिवारको जीवनलाई समृद्ध बनाउने अमूल्य कुरा हो । सधैँ रमाउँदै आनन्दित मन लिएर यो कार्य गरेमा, घरको सबै कुनालाई प्रेम गर्न सकिनेछ । अनि घर नै सुत्ने र आराम गर्ने ठाउँ भएकोमा धन्यवादी हुन सकिनेछ र घरको परिवारका सदस्यहरूलाई अझ अमूल्य मान्न सकिनेछ । सरसफाइको सकारात्मक ऊर्जाले सयौँ पटक काम गर्न सकिनेछ ।
यदि आमा-बुबाले बाध्य भएर सरसफाइ गर्नुहुन्छ वा छोरा-छोरीहरूलाई हप्काएर जबरजस्ती सफा गर्न लगाउनुहुन्छ भने, छोरा-छोरीहरूलाई पनि सरसफाइको काम झन्झटिलो लाग्नेछ । बालबालिकाहरूलाई सानैदेखि सरसफाइको आदत बसाल्न र परिवारको सदस्यको रूपमा सामूहिक भावना जगाउनको निम्ति, पहिले आमा-बुबाले आनन्दित मनद्वारा सरसफाइ गरेर देखाउनुपर्छ ।

घरमा परिवारका सबै सदस्यहरू बस्ने भएकाले, सबै सदस्यहरूले घर सफा गर्न मद्दत गर्नुपर्छ । कुनै एउटा सदस्यको मात्र काम हो भन्ने नसोची सबैले सँगै समय तोकेर सरसफाइ गरेमा अझ अर्थपूर्ण हुन्छ । सरसफाइको निम्ति बिहानको समय राम्रो हुन्छ तर परिवारको अवस्था हेरेर समय तोक्दा अझ राम्रो छ । अनि सम्भव भएसम्म दैनिक सरसफाइ गर्दा उत्कृष्ट हुन्छ । सरसफाइको क्रम माथिदेखि तलसम्म (छत, भित्ता, र भुइँको क्रमअनुसार), र बाहिरदेखि भित्रसम्म (ढोका, पर्दा, बरन्डा, अगाडिको ढोका, बैठक कोठा, भान्छा, सुत्ने कोठा, र शौचालय) हुनुपर्छ । काम नलाग्ने सामान यत्तिकै लामो समयसम्म राखियो भने, जतिसुकै सफा गरे पनि कोठा अव्यवस्थित देखिन्छ । त्यसैले, समय-समयमा नचाहिने सामानहरू फ्याँक्दा राम्रो हुन्छ ।
एउटा भनाइ छ, “सफा घरलाई सबै राम्रा कुराले पछ्याउँछन् ।” यद्यपि कहिलेकहीँ मानिसहरू सरसफाइमा चाहिनेभन्दा बढी ध्यान दिँदै आफ्नो परिवारलाई बेवास्ता गर्छन् ।
उदाहरणको लागि, मिहिनेतका साथ कोठा सफा गरेको बेला यदि छोराले बिस्कुटको धुलो छरिदियो भने कोठा फोहोर गरेकोमा उसलाई बेस्सरी गाली गर्न पुगिन्छ ।
बाइबलको हितोपदेशको पुस्तकमा यसो लेखिएको छ, “जहाँ गोरुहरू छैनन्, त्यहाँ भकारी खाली रहन्छ, तर गोरुको बलले प्रशस्त फसल कटनी हुन्छ ।” भकारीभन्दा गोरुहरू अझ अमूल्य हुन्छन् । हामीले घर सफा गर्नुको कारणचाहिँ त्यहाँ बस्ने मानिसहरू अमूल्य भएकाले हो । यदि हामीले यो कुरा मनमा राख्यौं भने भुइँ पुस्ने, शौचालय सफा गर्ने, र आँगन बढार्ने जस्ता सामान्य कामहरूको अद्भुत शक्ति निश्चय नै महसुस गर्नेछौं ।