WATV.org is provided in English. Would you like to change to English?

अहिले हामीलाई आवश्यक परेको कुरा, ‘सहनशीलता’ र ‘क्षमा’

अरूको गल्तीलाई ढाकछोप गरिदिँदै क्षमा गरिदिनुचाहिँ अरूको लागि मात्र नभएर अन्ततः आफ्नै लागि पनि हो ।

2205 हेरेको संख्या

प्राचीन कोरियामा सन्बी कहलाइने विद्वान्‌हरू सितिमिती रिसाउँदैनथे, अनि अरूलाई उदारतापूर्वक क्षमा गरिदिनु र अरूप्रति सहनशील हुनुलाई सद्गुण मान्दै आफूहरू पनि त्यसै गर्थे । बाटोमा ठूलो सोरले कराउने अथवा रीसको झोकमा झगडा गर्ने कुरालाई निम्न वर्गका मानिसहरूले मात्र गर्ने असभ्य व्यवहारको रूपमा लिइन्थ्यो । तर अहिले भने संसार यति परिवर्तन भएको छ, कि ठूलो सोरमा कराउने मानिसलाई उल्टै मालिक ठान्ने गरिन्छ ।

संसारमा हामी अरूहरूसँगै जिउने गर्छौं । दिनहुँ थुप्रै मानिसहरूसँग भेटवार्ता हुने भएकोले एक-अर्कालाई चोट पुऱ्याउन पुग्नु भनेको आम कुरा हो । हाँसउठ्दो कुराचाहिँ, हामीहरू आफूले अरूलाई गरेको दुर्व्यवहार सजिलै बिर्सन्छौं, तर अरूले आफूसँग गरेको दुर्व्यवहारलाई भने लामो समयसम्म सम्झिरहन्छौं । अझ कहिलेकहीँ त, कुनै न कुनै दिन ‘बदला’ लिने सोचाइसमेत लिन पुग्छौं ।

वास्तवमा रीसले आखिरमा हामी आफैलाई नै सर्वनाशमा पुऱ्याउँछ । ‘anger(रीस)’ शब्दमा एउटा वर्ण(d) मात्र थप्यो भने ‘danger(खतरा)’ बन्छ । सलाईको एउटा काँटीले जम्मै पहाडलाई नै स्वाहा पार्न सकेजस्तै रीसले पनि सबै थोकलाई स्वाहा पारिदिन्छ ।

समयको बहावसँगै मानिसहरू असहनशील हुन्छन्, अनि आफ्नै परिवारलाई गम्भीर चोट पुऱ्याएर आफ्नो पूरै जिन्दगी बर्बाद गर्ने गर्छन् । मानिसहरू झट्ट रिसाउने भएकाले झन्-झन् जोखिमपूर्ण बन्दैगएको यो संसारमा, हाम्रो परिवारमा आवश्यक पर्ने कुरा नै सहनशीलता, क्षमा, उदारता र दया हो ।

“यस्तो भइहाल्छ नि !” VS “कसरी यस्तो हुन सक्छ र ?”

धेरै मानिसहरू ठूलो कुरामा भन्दा सानातिना कुरामा झट्ट रिसाउने गर्छन् । उनीहरू, धेरै जनाको हत्या गरेको अपराधीसँगभन्दा बसमा गल्तीले खुट्टा कुल्चने मानिससँग अझ बढी रिसाउँछन् । मानिसहरू, जनताहरूको पसीनाको कमाइको कर लुट्ने सरकारी कर्मचारीहरूलाई भन्दा आफ्नो सामान भाँचेका मानिसहरूलाई क्षमा गर्न गाह्रो मान्छन् । त्यस्तो अवस्थामा प्रायःजसो हामी आँखा तर्दै रीसले मुर्मुरिने गर्छौं, तर यदि हामी एक कदम पछि सर्छौं भने खासमा त्यो कुनै ठूलो कुरा होइन । यदि हामीलाई अरूसँग झट्ट रीस उठ्छ भने त्योचाहिँ अरूले मलाई रीस उठ्ने कुरा गरेकोले हो कि अथवा म आफूमा नै धैर्यता र सहनशीलताको कमीले हो भन्नेबारे हामीले राम्ररी सोच्न आवश्यक छ । कतै हामीहरू आफ्नै सोचाइमा मात्र अडिग भएकाले अरूलाई बुझिदिन अथवा अरूको कुरालाई स्वीकार्न नसकेका पो हौं कि भनेर एक चोटि आफैलाई जाँचिहेरौं ।

यदि तपाईं सानातिना कुराहरूमा आफ्नो ऊर्जा खेर फाल्न चाहनुहुन्न भने मनलाई फराकिलो बनाउनुहोस् । भनेजस्तो सजिलो त नहोला, तर अरूलाई बुझिदिन गाह्रो लागेको बेला “यस्तो त भइहाल्छ नि !” भन्दै अरूलाई तपाईंको उदार चित्त देखाइदिनुहोस् । “कसरी यस्तो हुन सक्छ र ?” भन्ने सोचाइले रीस मात्र उठाउँछ, अनि समस्या समाधानमा कुनै सहयोग पुऱ्याउँदैन ।

तर जस्तोसुकै अवस्थामा पनि सबै कुरालाई विनाशर्त बुझिदिनुपर्छ, स्वीकार्नुपर्छ भन्ने अर्थचाहिँ होइन । मानौं, तपाईंको बच्चाले रुखो व्यवहार गर्दैछ अथवा सार्वजनिक स्थलमा यताउता दौडिँदै अरूलाई असहज गराइरा’छ भने “यस्तो त भइहाल्छ नि !” भन्दै अन्धाधुन्ध आफ्नो बच्चाको पक्षमा उभिनुचाहिँ उचित हुँदैन भन्ने कुरा हो । यदि तपाईंको सहनशीलताले अरूलाई फाइदा पुऱ्याउँछ, र सबैलाई सहज बनाउँछ भने अरूको गल्तीमा समेत उदार मनले मुस्कुराइदिनुहोस् ।

उदाहरणको लागि, तपाईंको जीवन-साथीले हैरान पार्दा ‘किन त्यसो गरेको ? कसरी मसँग त्यसो गर्न सकेको ?’ भनेर सोच्नुभयो भने यहाँहरूबीच मनमुटाव हुनेछ । तर ‘सायद दिनभरि केही भएर होला । त्यस्तो भइहाल्छ नि । मैले अझ धैर्य गरेर न्यानो व्यवहार गर्नुपर्छ’ भन्दै एकले अर्कालाई बुझिदिनुभयो भने कुनै समस्या उत्पन्न हुनेछैन । यसर्थ ‘कसरी त्यसो गर्न सकेको ?’लाई ‘यस्तो भइहाल्छ नि !’मा बदल्नुभएको क्षणमा तपाईंको रीस शान्त हुनेछ, र हृदयभित्र सहनशीलताको फूल फुल्नेछ ।

सहनशीलता र दया नै प्रेम हो

कार्टूनिस्ट बन्ने सपना बोकेको एक जना केटो थियो । पाकेट खर्च पाउँदैपिच्छे ऊ कमिक्स पुस्तक भण्डारमा दौडेर जान्थ्यो । एक दिन, उसले पुस्तक भण्डारमा नयाँ कमिक्स देख्यो । उसलाई त्यो यति मन पऱ्यो, कि उसले पुस्तकबाट एउटा पाना च्यात्यो र लुकाएर घर लग्यो । त्यसपछि साहुजीको सामु पर्न नसकेको त्यो केटो अबोप्रान्त त्यस पुस्तक भण्डारमा जान सकेन, र च्यातेर ल्याएको पानाबाट उसले एउटै कार्टुन बारम्बार बनाइरह्यो । समय बित्दैजाँदा ऊ त्यस पुस्तक भण्डारमा फेरि जान थाल्यो । उसको करतूतप्रति अझैसम्म अनभिज्ञ देखिएका साहुजीले उसलाई स्वागत गरेकाले उसले चैनको सास फेऱ्यो, अनि अझ साहसी भएर कमिक्स पुस्तकहरूबाट थुप्रै पानाहरू च्यातेर लैजान थाल्यो । ‘पाप धूरीबाट कराउँछ’ भन्ने भनाइजस्तै अन्ततः त्यो केटो साहुजीको पक्राउमा पऱ्यो । तब ऊ यति रातोपिरो भयो, कि कसो गर्ने भन्ने पत्तो पाएन । अचम्मको कुरा, साहुजीले रिसाउनुको सट्टा उल्टै उसको टाउकोमा प्याट्ट हिर्काउँदै यसो भने, “के हुनेवाला कार्टूनिस्ट तिमी नै हौ ?” साहुजीको सहनशीलताले उसलाई कोरियाली कमिक्स दुनियाँको महान् कार्टूनिस्ट बन्न मद्दत पुऱ्यायो । तिनी हुन्, इ ह्यन से ।

आफूलाई हानि पुऱ्याएको व्यक्ति अथवा आफ्नो भरोसा तोडेको व्यक्तिलाई क्षमा गर्नु सजिलो त हुँदैन । कसै-कसैले “जति प्रेम गरिन्छ, त्यति नै क्षमा पनि गर्न सकिन्छ” भनेका छन् । तर कोही छन्, जसलाई माया त गरिन्छ, तर सजिलै क्षमा गर्न भने सकिँदैन । ती नै हाम्रो परिवारजन हुन् । हामी अरूहरूसित सहनशील हुने गर्छौं, तर आफ्नै परिवारसित चाहिँ प्रायः असहनशील हुन्छौं, कहिलेकहीँ उनीहरूको सानो गल्तीलाई पनि नसहने हुन्छौं, अनि आफ्नो मन नभरिउञ्जेल त्यो गल्तीलाई औँल्याइरहने गर्छौं । विशेष गरी आफ्ना बच्चाहरूसँग व्यवहार गर्ने क्रममा अक्सर त्यसो हुने गर्छ । तर बच्चाहरूको भूल अथवा गल्तीलाई बढी नै कोट्याउने गर्नुहुँदैन । उनीहरूले गल्ती गरे भने घरीघरी गाली गर्नु अथवा उनीहरूसित ठुस्किनुको सट्टा बरु उनीहरूले समाधानको उपाय भेट्टाउन सक्ने गरी उनीहरूलाई प्रेमद्वारा सिकाइदिनुपर्छ ।

यदि आफ्नै परिवारजनसँग साँच्चै नै सहनशील छैनौं भने हामीहरू कोसँग चाहिँ सहनशील हुन सक्छौं र ? अरू मानिसहरूसँग भन्दा आफ्नो परिवारजनसँग व्यवहार गर्दा अझ संवेदनशील भइरहेका छौं कि छैनौं भनेर आफैलाई फर्किहेरौं, र जति उनीहरूलाई प्रेम गर्छौं त्यति नै उनीहरूप्रति उदार चित्तका पनि होऔं । परिवारजनसँग उदारतापूर्वक व्यवहार गर्ने अठोट गरेका छौं भने बदलामा केही कुराको आश नगरी विनाशर्त व्यवहार गर्ने गरौं । के सही र के गलत भन्ने कुरामा बहस गरेर समय खेर फाल्नुको सट्टा बरु परिवारजनको हृदयमा चोट लाग्नुअघि नै तुरुन्तै सहिदिने गरौं ।

एक-अर्कालाई क्षमा गरिदिनुपर्ने कारण

विलियम शेक्सपियरले “अरूको गल्तीप्रति उदार हुने गर्नुहोस् । अरूले आज गरेको गल्ती हिजो तपाईंले पनि गर्नुभएको थियो भन्ने कुरा बुझ्नुहोस्” भने । सारा संसारमा भूल, गल्ती अथवा त्रुटिविनाको पूर्ण मानिस एक जना पनि छैन । हामीहरू सबै जना अपूर्ण भएकाले र हाम्रो जीवनमा थुप्रै परिवर्तनशील श्रृङ्‌खलाहरू भएकोले हामीहरू निरन्तर एक-अर्कालाई क्षमा गरिदिँदै र क्षमा पाउँदै जिउनुपर्छ ।

अहिलेसम्म हाम्रा ठूला-साना गल्तीहरूलाई ढाकिदिएर क्षमा गरिदिनुभएका व्यक्तिहरूलाई सोचौं । परिवार, साथीभाइ, शिक्षक, सहकर्मी … हाम्रो वरपर रहनुभएका सबै मानिसहरू त्यो वर्गमा पर्नुहुन्छ । विशेष गरी, सबैभन्दा धेरै क्षमा गरिदिनुभएका व्यक्तिचाहिँ हामीलाई जन्माउनुभएका हाम्रा बुबा-आमा हुनुहुन्छ । हामीले बाल्यावस्थादेखि युवावस्थासम्म पनि बुबा-आमाको विरुद्धमा धेरै गल्तीहरू गरेका छौं । उहाँहरू हामीलाई सर्वस्व दिएर पनि अझ बढी दिन नसकेकोमा उल्टै क्षमाप्रार्थी बन्नुहुन्छ । हामीले बुबा-आमाबाट त्यस्तो महान् प्रेम पाएकाले हामीले क्षमा गरिदिन नसक्ने त्यस्तो कुनै गल्ती नै छैन ।

बाइबलमा हामीलाई १० हजार सुनका सिक्काको ऋणीको रूपमा दृष्टान्त गरिएको छ । १० हजार सुनका सिक्काको ऋणचाहिँ १ लाख ६० हजार वर्ष साधारण मजदूरी गरेमा तिर्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा, हामीले जतिसुकै प्रयत्न गरे पनि तिर्न नसकिने ऋण हो । हाम्रो त्यस्तो घोर पापको ऋणसमेत परमेश्वरले सित्तैँमा क्षमा गरिदिनुभयो । त्यसैले हामीले पनि एक-अर्कालाई क्षमा गरिदिनुपर्छ । पत्रुसले येशूज्यूलाई “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने ? के सात पल्टसम्म ?” भनेर सोध्दा येशूज्यूले “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट” भन्नुभयो ।

क्षमा गरिदिनु भनेको आफूले पाएको कुरा फिर्ता गर्नु हो । को सही छ, र को गलत भनेर भन्ने अथवा कसैको गल्तीलाई प्रकट गर्ने अधिकार हामीसँग छैन । एकले अर्कालाई अँगाल्दै क्षमा गरिदिनु नै हामीले गर्न सक्ने उत्तम कार्य हो ।

कहिलेकहीँ हामी आफ्नै परिवारलाई घृणा गर्न पुग्छौं । आफ्नो परिवार होइनजस्तै गरेर उनीहरूतिर पीठ फर्काउनेसम्म हामीहरू अत्यन्तै क्रोधित हुने समय पनि हुन्छ । वास्तवमा आफ्नो परिवारतिर पीठ फर्काएर अपरिचितझैँ जिउने मानिसहरू पनि छन् । घृणा, रीस र क्रोधबाट छुटकारा पाउन चाहन्छौं भने, अनि आफूले पहिला हात अगि बढाएमा पारिवारिक सम्बन्ध पुनर्स्थापन हुने सम्भावना छ भने सहनशील हुने गरौं ।

भनिन्छ, “घृणा र क्रोध गर्नुचाहिँ विषालु सर्पको डसाइमा पर्नुजस्तै हो ।” विषालु सर्पले डस्दाखेरि सबैभन्दा पहिला गर्नुपर्ने कार्य भनेको सर्पसँग बदला लिनलाई त्यसको पछाडि दौडिने होइनकि विष पूरै शरीरभरि फैलिनुअघि नै त्यो विष निकालिहाल्नु हो । सहनशीलता र क्षमालाई विस्तार गर्नुचाहिँ हाम्रो हृदयबाट विष निकाल्नुसरह हो, अनि यो नै अन्ततः हाम्रो निम्ति उत्तम रोजाइ हो ।