म आमाजस्तै बन्न चाहन्छु

बिनी एलेक्जेन्ड्रा चेतियार, भारत

11,505 भ्यु

हरेक मानिसको जीवनमा एक आदर्श व्यक्ति हुन्छ, र ऊ त्यो आदर्श व्यक्तिजस्तै बन्न चाहन्छ । मेरो जीवनको आदर्श व्यक्तिचाहिँ मेरी आमा हुनुहुन्छ, र म उहाँजस्तै बन्न चाहन्छु । परिवारमा उहाँ नै सबैभन्दा मायालु र विचारशील व्यक्ति हुनुहुन्छ । त्यसैले म उहाँले गर्नुभएको सबै कुरा सिक्न चाहन्छु । बाह्र वर्षको उमेरदेखि मैले घरका सबै काम सिकें, र आमालाई भान्सामा सहयोग गर्न थालें । तर पछि पढाइको कारणले गर्दा म उहाँबाट टाढा बस्नुपर्ने भयो ।

आमाबाट टाढा बस्न थालेपछि, आमाजस्तै बन्नको लागि कति बलिदान गर्नुपर्ने रहेछ भन्ने कुरा महसुस भयो । परिवारका सबै सदस्यहरूको हेरचाह गर्दै उनीहरूको इच्छा पूरा गर्न उहाँको लागि सजिलो थिएन, तर पनि उहाँले अझै कडा परिश्रम गर्दैहुनुहुन्छ ।

एक दिन, बिदाको समयमा घर फर्किंदा मैले घरको सबै काम गर्ने निर्णय गरें । किनभने म उहाँलाई घरको कामबाट आराम दिन चाहन्थें र केही समय भए पनि म उहाँलाई राजकुमारी जस्तो महसुस गराउन चाहन्थें ।

आमालाई आरामसँग बस्न लगाएर मैले खाना बनाउनको लागि तयारी गरें । मैले उहाँको मनपर्ने परिकार मिटबल बनाउने विचार गरें । खाना बनाउँदै मैले मेरा सहपाठी र होस्टेलका साथीहरूको रमाइलो किस्साहरू सुनाउँदै उहाँलाई हँसाएँ । मैले खाना पकाएको देखेर आमा खुशी हुनुभयो । आमा त्यसरी खुशी हुनुभएको देख्दा मैले साँच्चै बहुमूल्य समय कमाएझैँ महसुस भयो ।

अन्ततः तेल तातिएकोले मिटबल फ्राइ गर्ने पालो आयो । प्यानमा मिटबललाई हाल्न खोज्दा अचानक तेलका थोपाहरू मतिर उछिट्टियो । यो दृश्य देख्नुभएकी मेरी आमाले तुरुन्तै ग्यास बन्द गर्नुभयो र मलाई भान्साबाट बाहिर ल्याउनुभयो । उहाँले मलाई पोल्यो कि भनेर शिरदेखि पाउसम्म हेर्नुभयो । आमाले केवल मेरो मात्र चिन्ता गर्नुभयो ।

त्यो समयमा आमाको लागि म कति बहुमूल्य रहेछु भन्ने कुरा महसुस भयो । मेरी आमाको आँखामा मप्रति भएको प्रेम संसारको कुनै पनि कुराभन्दा ठूलो थियो । उहाँजस्तो आमा पाएको म आफूलाई भाग्यमानी ठान्छु । म निर्धक्कताका साथ भन्न सक्छु कि, मेरी आमा नै मेरो लागि एक आदर्श व्यक्ति हुनुहुन्छ ।