सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन

परमेश्वरको इच्छाअनुसार संसारलाई डोऱ्याउने भविष्यका विश्व लिडर

दक्षिण कोरिया

July 10, 2019 23,555 भ्यु

विश्वासी र बुद्धिमान्‌ भएर आफूलाई क्याम्पसभित्र र बाहिर समर्पण गरेर केही सिक्ने बाटोमा हिँड्ने विश्वविद्यालय विद्यार्थी सन्तहरूका निम्ति विशेष कार्यक्रमको आयोजना गरियो । संसारलाई डोऱ्याउने भविष्यका विश्व लिडरले लिनुपर्ने सद्गुण एवम् प्रगतिशील र रचनात्मक भिजन प्रदान गर्ने उद्देश्यका साथ परमेश्वरको मण्डलीद्वारा ‘सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन’ आयोजना गरियो ।

बिदाको समयमा आयोजित यस सम्मेलनमा संयुक्त राज्य अमेरिका, जर्मनी, पेरु, भारत, गणतन्त्र दक्षिण अफ्रिका इत्यादि ४१ देशका २०७ वटा विश्वविद्यालय र कोरियाका २२८ वटा विश्वविद्यालयबाट कुल ५३२ जना विश्वविद्यालय विद्यार्थीहरू सहभागी भएका थिए । आफ्नो राष्ट्रिय सिमाना कटेर भातृ-प्रेम बाँड्दै उनीहरूले भविष्यका कर्णधारको रूपमा आफ्नो क्षमता वृद्धि गरे ।

बाइबलको वचनद्वारा लिडरशीप सिक्दै

जुलाई १० तारिखमा, उद्घाटन आराधनासँगै ७ दिन, ८ रातको सम्मेलन जारी भयो । माताले, युवावस्थामा परमेश्वरको शिक्षा पाएर उहाँको इच्छा पछ्याउन भेला भएका विश्वविद्यालय विद्यार्थीहरूमाथि प्रशस्त पवित्र आत्माको आशिष् बर्सियोस् भनी प्रार्थना गर्नुभयो, अनि उनीहरूले अगमवाणीका नायकको रूपमा दृढ विश्वास र जोशका साथ पढाइ र सुसमाचारमा आफूलाई समर्पण गरून् भन्ने इच्छा व्यक्त गर्नुभयो । अनि क्याम्पसमा भक्तिपूर्ण स्वरूप र सुकर्मद्वारा परमेश्वरको महिमा प्रकट गर्दै आत्मा बचाउने कार्यमा पनि परिश्रम गरेका विश्वविद्यालय विद्यार्थीहरूलाई “यहाँहरूले नयाँ प्रेरितहरूको पुस्तक लेख्दैहुनुहुन्छ” भनेर प्रशंसा गर्नुभई युवाहरूले लिनुपर्ने सद्गुणलाई तालिकामार्फत विस्तृत रूपमा जानकारी दिनुभयो । “‘ठूलो सफलताचाहिँ युवावस्थाबाट सुरु हुन्छ, सफलताको रहस्य नै कार्यान्वयन हो’ भन्नुभएका पिताको वचनअनुसार युवावस्थामा परमेश्वरको इच्छालाई शिरोपर गर्दै कार्यान्वयन गरौं” भन्ने शिक्षासँगै माताले, डाँकूहरूको हातमा फेला परेको मानिसलाई बचाएका असल सामरीको मन लिन अनुरोध गर्नुभयो ।

यसको अर्थ साँचो लिडर हो भने उसमा बाइबल र आफ्नो सङ्कायको ज्ञान मात्र नभएर अरूप्रति दया दर्शाउने गुण अर्थात् मानव-जातिलाई बचाउन चरम पीडा सहनुभएका ख्रीष्टको प्रेम र बलिदानको आत्मा अनिवार्य हुनुपर्छ । माताले “मुक्तिको आशिष्‌को प्रतिज्ञा पहिला पाएका व्यक्ति भएअनुरूप हामीले जिम्मेवारीको भाव लिएर युद्ध, मौसम परिवर्तन, आर्थिक कठिनाइ जस्ता प्रकोपहरूको डरले काँपिरहेका मानव-जातिलाई मुक्तिको प्रतिज्ञा ‘नयाँ करार’को सन्देश लगनशीलताका साथ सुनाऔं” भनेर जागृत गराउनुभयो, अनि विश्वविद्यालय विद्यार्थीहरू सबै जना संसारमा नून र ज्योतिको भूमिका निर्वाह गर्ने लिडर बन्न सकून् भनी प्रशस्त आशिष् दिनुभयो (कल ३:१; उप २:७-११; कल २:२; रोम ८:१६) ।

महासचिव पास्टर गिम जु छलले पनि विशेष व्याख्यान, भिजन प्रस्तुति वर्णन जस्ता कार्यक्रमहरूमार्फत यस युगको मिसन जागृत गराउनुहुँदै युवाहरूलाई लगातार हौसला दिनुभयो । “पावल, पत्रुस र यूहन्ना जस्ता प्रेरितहरू जाने गरेका परमेश्वरको मण्डलीको सन्तको रूपमा गर्व गर्दै येशूज्यूको उदाहरणलाई पछ्याउँदा, परमेश्वरले तयार गर्नुभएको आशिषित भविष्य आउनेछ” भन्नुभएका पास्टर गिम जु छलले “शून्यताबाट सब थोक सृष्टि गर्नुभएका परमेश्वरको वचनमा यहाँहरूको मात्र नभएर असङ्ख्य मानिसहरूको भविष्यसमेत परिवर्तन गर्ने शक्ति छ । सधैँ परमेश्वरको वचनको शक्तिमा भरोसा गर्दै मानव-जातिलाई सही मार्गमा डोऱ्याएर बचाऔं” भन्नुहुँदै युवाहरूलाई प्रोत्साहन दिनुभयो ।

सञ्चार र विचार आदानप्रदानद्वारा दृष्टिकोणलाई फराकिलो पार्दै

यस पटकको सम्मेलनमा विश्वविद्यालय विद्यार्थीहरूले नै अभियानको तयारी र सञ्चालन गर्दै आपसमा वार्तालाप गर्ने कार्यक्रमहरू समावेश थियो । Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठीमा विश्वविद्यालय विद्यार्थीहरूले आफूले छानेको शीर्षकमा प्रस्तुतिको तयारी गरेर हजारौँ मानिसहरूका सामु प्रस्तुति गरे, अनि विश्वविद्यालय विद्यार्थी अन्तर्राष्ट्रिय फोरममा अन्य देशका विश्वविद्यालय विद्यार्थीहरूसँग मिसन र स्वयंसेवाका खबरहरू आदानप्रदान गरे । आफ्नो ज्ञान र क्रियाकलापको आधारमा विद्यार्थीहरूले विश्वव्यापी आसेज शिखर सम्मेलनमा एजेन्डा प्रस्तुति, निर्णय चयन र लिडरशीप विकास गर्नुका साथै सहकारिता र ऐक्यबद्धताको महत्त्व पनि बुझे । त्यो प्रक्रियामा एकसाथ रहेका विभिन्न देशका विश्वविद्यालय विद्यार्थीहरूले पनि क्याम्पसमा नपाएको मूल्यवान् अनुभव बटुले । ब्रदर इ यङ बिन(सउल विश्वविद्यालय)ले “फरक सोचाइ लिएका विश्वव्यापी विश्वविद्यालय विद्यार्थीहरूसँग कुराकानी गर्ने क्रममा मेरो दृष्टिकोण फराकिलो भएको छ । एउटै लक्ष्य बोकेर इच्छा र शक्तिलाई एक गरायौं भने विद्यार्थीहरूले पनि अरूको निम्ति र समाजको निम्ति गर्न सक्ने कार्यहरू धेरै रहेको कुरा यस पटक थाहा पाएँ” भने ।

कार्यतालिकाको अन्तिम दिनमा, राष्ट्रिय मामिलाहरूबारे बहस हुने कोरियाको राष्ट्रिय सभा, राष्ट्रिय सभाको प्रकार्य र गतिविधिको तथ्याङ्क प्रदर्शन गरिएको राष्ट्रिय स्मृति हलको भ्रमण गर्ने समय लिइयो । विद्यार्थीहरूले कोरियाको ग्यङगी ग्वाङजु प्रान्तमा अवस्थित हानोग गाउँमा कोरियाली परम्परागत पोशाक हान्बोग, परम्परागत पङ्खा, चियापति इत्यादि कोरियाली संस्कृतिको सुन्दरता अनुभव गर्नुका साथै केही विश्वविद्यालयहरूको पनि भ्रमण गरे । सउल विश्वविद्यालयको भ्रमण गरेका ब्रदर एन्थोनी डेभी(जर्जीया स्टेट विश्वविद्यालय, संयुक्त राज्य अमेरिका)ले “केही दशक अघिसम्म युद्धले तहसनहस भएको कोरियाले यस्तो अविश्वसनीय तीव्र विकास गर्दै उत्कृष्ट विश्वविद्यालय संस्कृति र प्रणाली लिन सकेको चाहिँ बुबा-आमाको पुस्ताको बलिदानले गर्दा हो भन्ने कुरा सुनें । हाम्रा बुबा-आमाहरूको बलिदानद्वारा हुर्किएका हामीहरू पनि हाम्रा भावी पुस्ताको निम्ति उत्कृष्ट मानिस बन्नुपर्छ भन्ने जिम्मेवारीको भाव महसुस भयो” भने ।

“हामीहरू हाम्रो क्याम्पस जीवनलाई जागिर पाउने अथवा सफलता हासिल गर्ने पाइलाको रूपमा मात्र नभएर साथीभाइ, छरछिमेक र समाजलाई सहयोग गर्दै आफ्नो भित्री मनुष्यत्वलाई विकास गर्दैलाने अर्थपूर्ण समय बनाउनेछौं” भनेर सहभागीहरूले लिएको सङ्कल्पका साथ सन् २०१९ विश्वव्यापी विश्वविद्यालय विद्यार्थी लिडरशीप सम्मेलन समापन भयो । विद्यार्थीहरूले, सिकेको कुरालाई तुरुन्त लागू गर्ने कार्यान्वयन शक्ति, अनि बाइबलबाट सिकेको नम्रता, विचारशीलता, त्याग, समर्पण, एकताको मनस्थितिको साथै संसारलाई अँगाल्न सक्ने फराकिलो दृष्टिकोण र लिडरशीप लिए । विश्वविद्यालय विद्यार्थीहरूले आफूसँग भएको प्रतिभा र सद्गुणद्वारा एकसाथ निर्माण गर्दैलाने ‘भोलि’ भन्ने दिन हेर्ने ठूलो अपेक्षा गरिएको छ ।

सन् २०१९ विश्वव्यापी क्याम्पस मिसन भिजन प्रस्तुति

जुलाई १४मा कोरियाको ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठानमा सन् २०१९ विश्वव्यापी क्याम्पस मिसन भिजन प्रस्तुति आयोजना गरियो, जसमा आफ्नो भविष्यप्रति विचारशील रहेका १०,००० भन्दा बढी क्याम्पस विद्यार्थीहरू र उच्च माध्यमिक तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो । सउल राष्ट्रिय विश्वविद्यालय, हार्भड विश्वविद्यालय, सिङ्गापूर राष्ट्रिय विश्वविद्यालय इत्यादिका विद्यार्थीहरूले आफ्नो विश्वविद्यालयको परिचय दिँदै भिजन प्रस्तुत गरे । केही विद्यार्थीहरूले चाहिँ क्याम्पस मिसन गतिविधिबारे बुद्धिमानीपूर्वक व्याख्या गर्न उद्घोषक र पत्रकारको भूमिका निभाए ।

सिङ्गापूर राष्ट्रिय विश्वविद्यालयमा अध्ययनरत ब्रदर तान चोङ लिले भने, “सपना बोकेको व्यक्तिले आफ्नो सपना साकार गर्नलाई धेरै प्रयत्न गर्ने गर्छ । हाम्रा परमेश्वरले हामीलाई सुसमाचारको स्पष्ट भिजन दिनुभएकोले हामीहरू कदापि निरुत्साहित नभई बल गरौं !”

क्याम्पस मिसन पुनर्जागरणको निम्ति क्याम्पस विद्यार्थी अन्तर्राष्ट्रिय फोरम

सम्मेलनको दोस्रो दिन(जुलाई ११) साँझमा, परमेश्वरको इच्छाअनुसार अगि बढिरहेको क्याम्पस मिसनका घटनाक्रमहरू साझा गर्नको निम्ति विश्वविद्यालय विद्यार्थीहरू नयाँ यरूशलेम फान्ग्यो मन्दिरको गोष्ठी हलमा भेला भए ।

फिलिपिन्स र भारतदेखि आएका विद्यार्थीहरूले प्रस्तुति दिए भने यता जर्मनी, संयुक्त राज्य अमेरिका, यूक्रेन र बोट्स्वानाका विद्यार्थीहरूले चाहिँ प्यानेल छलफलमा सहभागिता जनाए । यस ठाउँमा ‘क्याम्पस क्लब’ प्रस्तुतिले सबै सहभागीहरूको ध्यान खिँच्यो । परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थीहरूले धर्म, शिक्षा, स्वयंसेवा इत्यादिसँग सम्बन्धित विभिन्न क्लबहरू स्थापना गरेर बाइबल गोष्ठी, क्याम्पस सरसफाइ, मानव अधिकार क्याम्पेन लगायतका विविध गतिविधिहरू गर्दैआएका छन् । ब्रदर फेर्नान्दो(कोर्दोबा राष्ट्रिय विश्वविद्यालय, अर्जेन्टिना)ले “हरेक बिहान लेक्चर कक्षमा सन्तहरूसँग भेला भएर वचन अध्ययन र प्रार्थना गर्दा त्यो एक दिन कस्तो मनद्वारा बिताउने भन्ने कुरा दिमागमा पहिल्यै आइसक्छ” भन्दै क्लब गतिविधिमा संलग्न हुनुका फाइदाहरूबारे वर्णन गरे ।