
कुनै मोबाइललाई १ मिटर माथिदेखि खसालिन्छ, नरोकीकन फन्फनी घुमिरहने बाकसमा राखिन्छ, अनि त्यसमा पानी पनि खन्याइन्छ । फेरि १०० किलो तौलको व्यक्तिलाई त्यसमा बस्न लगाइन्छ, अथवा त्यसका बटनहरूलाई लाखौँ पटक थिच्न लगाइन्छ । मोबाइललाई यतिसम्म दिइएको चरम यातनाचाहिँ वास्तवमा मोबाइल कम्पनीले गरेको गुणस्तर जाँच हो । भनिन्छ, कम्पनीले आफ्नो सामानलाई उच्च गुणस्तरीय बनाउनको निम्ति ग्राहकहरूको सुझावलाई मध्यनजर गर्ने, प्रयोग शैली जाँच्ने र अनुगमन सूचीमा राख्ने गर्छ ।
यति मात्र नभएर कुनै एयर-टाइट भाँडा कम्पनीले भाँडाको बिर्कोलाई लाखौँ पटक लगाउने र खोल्ने गर्नुको साथै भाँडामा तरल तत्व हालेर त्यसलाई चौबीसै घण्टा हल्लाउने गर्छ । राइस-कुकर कम्पनीले चाहिँ कुनै नयाँ कुकर उत्पादन गर्दाखेरि १.५ टनभन्दा बढी चामल पकाइहेर्छ, अनि दैनिक १०० वटा कुकरहरूमा भात पकाएर त्यसको स्वाद जाँच्ने गर्छ ।
यस्तो कठिन गुणस्तर जाँचपछि बल्ल नयाँ सामानहरूलाई बजारमा भित्र्याइन्छ । त्यसैले त मन्दीको बेलामा पनि यी सामग्रीहरूको व्यापारमा कुनै असर पर्दैन ।