
अहिले मात्र होइन विगतको समयमा पनि पाइप-अर्गनबाट आवाज निकाल्नका लागि एक जना व्यक्तिले पछाडिबाट पाइपमा लगातार हावा फुक्नुपर्थ्यो ।
एक दिन एक जना प्रसिद्ध अर्गन वादकले संगीत कार्यक्रमको आयोजना गरे । त्यो दिन, दर्शकहरूले ठूलो ताली बजाएर तिनले गरेको भव्य र मनोरम प्रस्तुतिको प्रशंसा गरे । प्रस्तुतिको बीचमा ब्रेक हुँदा अर्गन वादक पर्दा पछाडि गए । ठीक त्यही समयमा अर्गनको पछाडि रहेर हावा फुक्ने एक जना वृद्ध मानिसले मुस्कुराउँदै अर्गन वादकलाई यसो भनेछन्,
“गुरुज्यू, आजको हाम्रो कन्सर्ट एकदमै सफल भयो ।”
ती अर्गन वादकले रिसाउँदै भनेछन्,
“ ‘हाम्रो ?’ तपाईंले अर्गन बजाउनुभएकै छैन, कसरी यो हाम्रो कन्सर्ट हुन सक्छ र ?”
“गुरुज्यू, मैले पनि यो प्रस्तुतिको लागि धेरै परिश्रम गरेको छु नि होइन र ?”
तर त्यो कुरा त्यति महत्त्वपूर्ण नभएको बताउँदै ती अर्गन वादक प्रस्तुति पूरा गर्नको लागि मञ्चमा फर्किएछन् । ब्रेकपछि फेरि कन्सर्ट सुरु भयो । अर्गन वादकले लामो श्वास लिएर किबोर्डलाई बलपूर्वक दबाए । तर अर्गनबाट आवाज आएन । पुरै हलमा कोलाहल मच्चियो ।
अलमल्ल पर्दै अर्गन वादकले कीवर्डमा बेस्सरी थिचे तर आवाज पटक्कै आएन । अचम्म पर्दै अर्गन वादकले पछाडि फर्केर हेरे । हावा फुक्ने ती वृद्ध मानिस चुपचाप लागि बसिरहेका थिए । त्यहाँबाट उठेर ती अर्गन वादक वृद्ध मानिसकहाँ गए, र विनम्रतापूर्वक आफूले भनेका कुराको लागि माफी मागे ।
“माफ गर्नुहोस्, मैले गल्ती गरें । प्रस्तुतिको लागि तपाईंको आश्चर्यको सीप आवश्यक छ । अब ‘हाम्रो’ कन्सर्ट सुरु गर्ने समय भएको छ ।”