“येशू, यहूदीहरूका राजा” भन्ने उहाँविरुद्धको दोष-पत्र

60,317 भ्यु

सत्यतामा रहेका परमेश्वरका सन्तानहरूलाई थाहा छ कि, येशूज्यू हाम्रो पापको प्रायश्चितको लागि क्रूसमा बलि हुनुभयो ।

त्यसोभए हामीले स्वर्गमा कस्तो पाप गऱ्यौं होला ? येशूज्यूको बलिदानद्वारा हामीले गरेको पाप र स्वर्गबाट धपाइनुको कारण पत्ता लगाऔं ।

येशूज्यू क्रूसमा टाँगिनुहुँदा उहाँको शिरदेखि मास्तिर ‘यहूदीहरूका राजा’ भन्ने दोषपत्र टाँसिएको थियो ।

“येशू, यहूदीहरूको राजा” भन्ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए । मत्ती २७:३७

येशूज्यू जन्मनुहुँदा यहूदा क्षेत्र रोमी साम्राज्यद्वारा नियुक्त हेरोद राजाको नियन्त्रणमा थियो । तर येशूज्यूले सुसमाचार प्रचार गर्नुहुँदा, रोमबाट पठाइएका राज्यपालले यहूदालाई शासन गरिरहेका थिए । त्यसैले त्यतिबेला कुनै स्थानीय राजा थिएनन्, केवल रोमी सम्राट कैसर मात्र राजा थिए । यदि कसैले राजा भनेर दाबी गऱ्यो भने रोमी साम्राज्य विरुद्ध राजविद्रोह गरेको ठहरिन्थ्यो ।

वास्तवमा प्रधान पूजाहारी र अगुवाहरूलाई राम्ररी थाहा थियो कि, तिनीहरूले येशूज्यूलाई आरोप लगाउन चाहे पनि धार्मिक आधारमा मृत्युदण्ड दिन सक्दैनथे । त्यसैले, तिनीहरूले येशूज्यूलाई राजद्रोहको आरोप लगाउने मौका खोज्दै यसो भने, “उसले यहूदीहरूमाझ अशान्ति मच्चाइरहेको छ र आफूलाई तिनीहरूको राजा भएको दाबी गरिरहेको छ ।” त्यसैले तिनीहरूले येशूज्यूको जाँच गर्नका लागि आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए ।

तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे । तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए । … “कैसरलाई कर तिर्नु उचित हो कि होइन ?” मत्ती २२:१५-१७

यहूदीहरूले यस्तो भन्नुको उद्देश्यचाहिँ, यदि येशूज्यूले रोमी सम्राटलाई कर तिर्न भन्नुभयो भने उहाँलाई ‘रोमको सहयोगी’ भएको आरोप लगाउने र रोमी सम्राटलाई कर नतिर्न भन्नुभयो भने हेरोदीहरूलाई साक्षीको रूपमा प्रयोग गरेर रोमको विरोध गर्ने ‘देशद्रोही’ भएको आरोप लगाउने योजना थियो । तर येशूज्यूले तिनीहरूको धूर्तता थाहा पाएर तिनीहरूलाई यसो भन्नुभयो :

तर येशूले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, “ढोंगी हो, तिमीहरू मलाई किन जाँच्दछौ ? कर तिर्ने सिक्का मलाई देखाओ ।” अनि तिनीहरूले उहाँकहाँ एउटा सिक्का ल्याए । उहाँले तिनीहरूलाई भन्नुभयो, “यो चित्र कसको हो, अनि कसको नाउँ खोपिएको छ ?” तिनीहरूले उहाँलाई भने, “कैसरको ।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन्, ती कैसरलाई देओ, र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देओ ।” यो सुनेर तिनीहरू चकित भए, र उहाँलाई छोड़ेर गइहाले । मत्ती २२:१८-२२

रोमी राज्यपाल पिलातसले येशूज्यूलाई प्रश्न गर्दा, उनले “यहूदीहरूको राजा” को बारेमा पनि सोधे ।

पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ ?” यूह १८:३३

येशूज्यूलाई प्रश्न गर्ने पिलातसले उहाँलाई मृत्युदण्ड दिने कुनै कारण भेट्टाएनन् । तर येशूज्यूलाई मृत्युदण्ड नदिने हो भने तिनी राजनीतिक जोखिममा पर्ने अवस्था थियो ।

त्यसपछि पिलातसले उहाँलाई छोडिदिन बढी प्रयत्न गरे । तर यहूदीहरू यसो भन्दै कराए, “यदि तपाईंले यस मानिसलाई छोडिदिनुभयो भने तपाईं कैसरका मित्र हुनुहुन्न । आफैलाई राजा हुँ भनी दाबी गर्ने प्रत्येक कैसरको विरुद्धमा खडा हुन्छ ।” पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्याए, र उनी “ढुङ्गाका पाटी” भनिने ठाउँमा (जसलाई हिब्रूमा गब्बथा भनिन्छ) न्याय आसनमा बसे । यूह १९:१२-१३

यदि पिलातसले येशूज्यूलाई मृत्युदण्ड नदिएको भए यहूदीहरूले रोममा अफवाह फैलाउनेथिए । रोममा राज्यपालले देशद्रोहीलाई बचाइरहेका छन् भन्ने हल्ला फैलिएमा आफूले सामना गर्नुपर्ने राजनीतिक खतरा पिलातसलाई थाहा थियो, त्यसैले उनले यहूदीहरूको माग पालना गर्ने निर्णय गरे ।

अन्ततः यहूदीहरूले येशूज्यूलाई रोम विरुद्ध राजद्रोहको आरोप लगाए र मृत्युदण्डको सजाय सुनाए । त्यसैले तिनीहरूले येशूज्यूको शिरमाथि ‘येशू यहूदीहरूका राजा’ भनेर लेखे । येशूज्यू शक्तिहीन हुनुभएकोले रोमी सिपाहीहरूले उहाँलाई मृत्युदण्डको सजाय दिन सकेका होइनन् । तर बाइबलमा लेखिएका सबै अगमवाणीहरू पूरा गर्न उहाँले सबै दुःख र कष्ट सहनुभयो ।

तिमी के ठान्दछौ, के म आफ्ना पितालाई बिन्ती गर्न सक्दिनँ, र उहाँले तुरुन्तै स्वर्गदूतहरूका बाह्र पल्टनभन्दा बढी मेरो निम्ति पठाइदिनुहुन्न र ? तर त्यसो भएदेखि यी कुरा यसरी हुनैपर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने ?” मत्ती २६:५३-५४

येशूज्यूले क्रूसमा मुत्यु भोग्नुभयो, जुनचाहिँ रोमीहरूको सबैभन्दा कठोर मृत्युदण्डको सजाय थियो । उहाँले हाम्रा पापहरू बोक्नुभयो, उहाँलाई देशद्रोहको आरोप लगाइयो र मृत्युदण्डको सजाय दिइयो । यो तथ्यद्वारा यो पृथ्वीमा फ्याँकिनुअघि हामीले स्वर्गमा कस्तो पाप गरेका थियौं भन्ने कुरा महसुस गर्न सकिन्छ ।

हामीले स्वर्गमा विद्रोहको पाप गरेर यो पृथ्वीमा आएकोले येशूज्यूलाई पनि विद्रोहीको पाप स्वरूप मृत्युदण्डको सजाय दिइयो । यसरी उहाँले अधर्मी हामीलाई बचाउनुभयो । त्यसैले हाम्रो पापलाई ‘मर्नुपर्ने पाप’ भनेर व्यक्त गरिएको हो । मर्नुपर्ने पाप गरेका हामीलाई क्षमा गर्नुभएकोले हामी परमेश्वरप्रति कति धन्यवादी हुनुपर्छ होला ?

निश्चय नै उसले हाम्रा निर्बलताहरू बोक्यो, र हाम्रा दु:ख भोग्यो, तापनि हामीले उसलाई परमेश्वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्झ्यौं । तर ऊ त हाम्रा अपराधहरूका निम्ति छेडियो । हाम्रा अधर्मका निम्ति ऊ पेलियो । हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पऱ्यो, र उसको कोर्राको चोटले हामी निको भयौं । हामी सबै भेडाझैँ बरालिएका छौं । हामी हरेक आफ्नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ । यशै ५३:४-६