घर-देवताहरू

प्राचीन मेसोपोटामियामा पूजा गरिने मूर्तिहरू ​

39,335 भ्यु

तर राहेलचाहिँ ती घर-देवताहरू लिएर आफ्नो ऊँटको काठीमा राखी तीमाथि बसिरहेकी थिइन् । … यसरी उनले खोज्न त खोजे, तर ती घर-देवताहरू भेट्टाउन सकेनन् । याकूब झोकिए, र लाबानलाई हप्काएर भने, … अब तपाईंले मेरा सबै मालतालहरूको खानतलाशी लिनुभयो । तपाईंका घरेलु मालहरूमध्ये के भेट्टाउनुभयो खै ? ती तपाईंका र मेरा कुटुम्बहरूका अगाडि राखिदिनुहोस् । यिनीहरूले हामी दुईका बीचमा इन्साफ गरिदिनेछन् । उत्पत्ति ३१:३४-३७

घर-देवताहरूचाहिँ याकूबका मामा लाबान बस्ने मेसोपोटामियाका प्रत्येक घरहरूमा पुजिने मूर्ति थियो । याकूबकी पत्नी राहेलले आफ्नो बुबाको घरबाट घर-देवताहरू चोरेको कुरादेखि न्यायकर्ताहरूको समय, राजाहरूको समय र परमेश्वरको आज्ञा अवहेलना गरी राज्यहरू विभाजन भएको समय अर्थात् उत्तर इस्राएल र दक्षिण यहूदा विभाजन भएको समयसम्म विभिन्न मूर्तिहरू र घर-देवताहरू पुज्ने प्रचलन थियो भन्ने कुरा बाइबलमा लेखिएको छ । विशेष गरी न्यायकर्ताहरूको समयमा, परमेश्वरलाई पुज्ने कुनै पनि प्रणाली स्थापना गरिएको थिएन । त्यसैले प्रत्येक कुल वा व्यक्तिले आ-आफ्नै तरिकाले मन्दिर निर्माण गर्थे र बलिदानहरू चढाउँथे (न्यायकर्ता १७:१-१८:३१)। तर परमेश्वरले पठाउनुभएका अगमवक्ताहरू देखा परेपिच्छे, मूर्तिहरू नष्ट गरिए ।

अमालेकीहरूलाई पूर्ण रूपमा नष्ट गर भन्ने परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेका शाऊल राजालाई शमूएल अगमवक्ताले हप्काए । उनले परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्नु भनेको घर देवतालाई पुज्नुजस्तै हो भने (१ शमू १५:२२-२३)। साथै जब योशियाह राजा भए, तब उनले निस्तार-चाडको सत्यता पुनर्स्थापन गरे र धर्म सुधारको कार्य गरे, उनले सबै जोखना हेर्ने, भूतप्रेत खेलाउने, सबै घर-देवताहरू र मूर्तिहरू, र यहूदा र यरूशलेममा देखिने सबै घिनलाग्दा थोकहरूलाई खतम गरे (२ राजा २३:२४)।

दश आज्ञामा परमेश्वरले इस्राएलीहरूलाई मूर्ति नबनाउन र तिनीहरूको पूजा नगर्न भन्नुभयो तर तिनीहरूले सधैँ मूर्ति पुज्ने दुष्ट कार्य गरे । विशेष गरी घर-देवताहरूलाई संरक्षक देवताको रूपमा चित्रण गरिन्थ्यो । इस्राएलको मूर्तिपूजाको विषयमा कुरा गर्नुपर्दा प्रायः घर-देवताहरूको कुरा उल्लेख गरिन्छ । राहेलले ती घर-देवताहरूलाई ऊँटको काठीमा राखेर त्यसमाथि बसेकी हुनाले ती घर-देवताहरू सजिलै बोक्न सकिने सानो आकारका थिए भन्ने कुरा बुझ्न सकिन्छ । तर न्यायकर्ताहरूको समयमा त्यसको आकार बढ्यो ।

जब शाऊलले दाऊदलाई मार्न खोजे, शाऊलकी छोरी मीकलले आफ्नो पतिलाई झ्यालबाट भाग्न मद्दत गरिन्, र उनको पतिलाई भाग्न समय मिलोस् भनेर ओछ्यानमा एउटा मूर्ति राखिदिइन् र सिरानमा बाख्राको रौँ राखेर मूर्तिलाई लुगा ओढाइदिइन् (१ शमूएल १९:८-१७)। योद्वारा घर-देवताहरू मानिसजत्तिकै अग्लो थियो भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।

जकरिया अगमवक्ताले घर-देवताहरू छलका कुरा बोल्छन् र झूटा सपनाहरू बताउँछन् भनी गवाही दिएका छन् ।

मूर्तिहरू छलका कुरा बोल्छन्, र मन्त्रतन्त्र गर्नेहरूले झूटा दर्शनहरू देख्छन् र झूटा सपनाहरू बताउँछन्, … जक १०:२