
“आमा, म ठूली भएपछि आमा बन्नेछु ।”
“किन ?”
“किनभने आमाले एउटा हातले ट्वालेट पेपर र अर्को हातले मेरो हात समाउन सक्नुहुन्छ ।”
मलाई यो कुरा याद त छैन, तर म ४ वर्षकी हुँदा मैले यसो भनेकी थिएँ भनेर आमाले बताउनुहुन्छ । बजारबाट घर फर्कंदा, मेरी आमाले एउटा हातमा ट्वाइलेट पेपरको प्याकेट र अर्को हातमा मेरो हात समाउनुहुन्थ्यो । सोचिहेर्दा, त्यसबेला आमाको त्यो स्वरूप मेरो लागि प्रभावशाली थियो । त्यो समयमा मेरो उचाइ ट्वाइलेट पेपरको ब्यागजत्रै भएकोले त्यो कुरा अर्थपूर्ण लाग्छ ।
अहिले म आमाभन्दा अग्ली भइसकें । तर अझै पनि मलाई मेरी आमा उत्कृष्ट लाग्छ । किनभने मैले वयस्क भएर पनि गर्न नसक्ने कामहरू आमाले सजिलै गर्नुहुन्छ । उहाँले गर्न नसक्ने काम केही छैन । वालपेपर टाँस्ने, फर्निचर सार्ने, सिलाइ बुनाइ गर्ने, कपाल काट्ने जस्ता सबै कामहरू गर्नुहुन्छ । त्यसैले अरू कसैको मद्दतविना घरमै सबै समस्याको समाधान गर्न सकिन्छ ।
केही दिनअघि, म घर फर्किंदा फर्निचरहरू अलि अगाडि सारिएका थिए । आमाले वालपेपर टाँस्दैहुनुहुन्थ्यो । लामो समय भएर वालपेपर फोहोर भएकोले परिवर्तन गरेको कुरा आमाले बताउनुभयो । वालपेपरमा भएका दागहरूले मेरो पनि ध्यानाकर्षण गऱ्यो, तर म थकित भएकोले आमासँग झर्किएँ ।
“हात-मुख धोएर तुरुन्तै सुत्ने मन थियो, तर यो सब के हो ।”
एक शब्द नबोली आमाले वालपेपर टाँस्नुभयो । त्यो दिन, आमाको मायालु हातले गर्दा मेरो कोठा सफा र चिटिक्क देखियो । विशेष गरी, कोठामा प्रवेश गर्ने बित्तिकै देखिने हरियो वालपेपर साँच्चै सुन्दर थियो । त्यो वालपेपरलाई देख्दैपिच्छे स्वर्थी भएर आमालाई सहयोग नगरेको कुरा याद गर्दै क्षमाप्रार्थी हुन्छु ।
विगतदेखि आजको समयसम्म, आमाको परिश्रम असीम छ । म प्राथमिक विद्यालयमा हुँदा साथीहरूले प्रशंसा गर्ने मेरो सुन्दर स्कार्फ आमाले बनाइदिनुभएको थियो, र मैले घरमा पढ्नका लागि प्रयोग गर्ने कुसन पनि आमाले नै बनाइदिनुभएको थियो । जुत्ताको रङ्ग मन नपर्दा अर्कै रङ्ग लगाइदिने र छोटो भएकोले लगाउन अप्ठ्यारो लागेको स्कर्टको लम्बाइ बढाइदिने पनि मेरी आमा नै हुनुहुन्थ्यो । तर पछाडि फर्केर हेर्दा, आमाले कहिल्यै पनि आफूमा भएको त्यो सीप आफ्नो लागि प्रयोग गर्नुभएन । उहाँले केवल आफ्नो परिवारको निम्ति प्रेमद्वारा बलिदान गर्नुभयो ।
अलराउन्डर हुनुभएकी मेरी आमाले जे पनि गर्न सक्नुहुन्छ । कहिलेकहीँ ममा पनि हस्तकला सीप छ भन्ने कुरा अरूबाट सुन्छु । वास्तवमा योचाहिँ मेरी आमाको देन हो, तर म कहिल्यै पनि उहाँको मौन प्रेमको बराबरी गर्न सक्दिनँ ।