सफल सङ्गठनको मुख्य सिद्धान्त, एक-अर्काप्रतिको आदर

हालसालै सार्वजनिक भएको प्रतिवेदनमा, अभद्र बोली र व्यवहारले कार्य सन्तुष्टि र कार्यसम्पादनमा नकारात्मक असर पार्ने कुरा उल्लेख गरिएको थियो । अर्थशास्त्री पियर्सन र फोरसले ३,००० कर्मचारीमा गरेको सर्वेक्षणअनुसार, अभद्र व्यवहारको सामना गर्ने कर्मचारीहरू मानसिक तनावका कारण सङ्गठनप्रति विमुख हुन्छन् र उनीहरूको कार्यक्षमता घट्छ, जसले गर्दा उनीहरूको कार्य प्रदर्शन निकै कमजोर हुँदैजान्छ । यसरी कार्यक्षेत्रमा हुने असभ्य व्यवहारले कर्मचारीहरूको मानसिक तनाव त बढाउँछ नै, साथै संस्थाको समग्र सफलता र उपलब्धिमा समेत ठुलो बाधा पुर्याउँछ ।
यसको ठीक विपरीत, आपसी आदरको संस्कृतिले कार्यक्षेत्रमा काम गर्न मन लाग्ने वातावरण सिर्जना गर्दछ । राम्रो कार्यक्षेत्र बनाउने लक्ष्य राख्ने कम्पनीहरूको एउटा साझा विशेषता भनेको आफ्नो व्यवस्थापकीय दर्शन वा मुख्य मान्यताहरूमा ‘आदर’ र ‘विचारशीलता’ जस्ता शब्दहरूलाई स्पष्ट रूपमा समावेश गर्नु हो । उदाहरणको लागि, साउथ वेस्ट एयरलाइन्सको एउटा सिद्धान्त छ, “हामीले ग्राहकहरूलाई जति आदर र राम्रो व्यवहार गर्छौं, संस्थाभित्र सँगै काम गर्ने सहकर्मीहरूलाई पनि त्यत्तिकै आदर र राम्रो व्यवहार गर्नुपर्छ ।” स्टारबक्सको सिद्धान्त छ, “हामी हाम्रो कर्मचारीहरूलाई काम गर्ने उत्कृष्ट वातावरण प्रदान गर्दछौं र एक-अर्कालाई आदर गर्ने संस्कृति सृजना गर्दछौं ।” बोइङ कम्पनीको सिद्धान्त छ, “कर्मचारीहरूले एक-अर्कालाई आदर गर्नुपर्छ ।” त्यसै गरी फोर सीजन्स होटेलको सिद्धान्त छ, “तपाईंले अरूबाट आफ्नो लागि जस्तो व्यवहारको अपेक्षा गर्नुहुन्छ, अरूसँग पनि त्यस्तै व्यवहार गर्नुहोस् ।” उपरोक्त उदाहरणहरूमा हेर्दा, एक-अर्कालाई आदर गर्नु नै सङ्गठनको सफलताको रहस्य हो भन्ने कुरा बुझ्न सकिन्छ ।
आदर गर्नु भनेको अरूको कदर गर्नु र अरूसँग दयालु व्यवहार गर्नु हो । एक-अर्काप्रति गर्ने आदरको संस्कृतिले जीवनको गुणस्तर मात्र बढाउँदैन तर कामको परिणाममा पनि सकारात्मक असर पार्दछ । सियोनका परिवारहरूले पनि आदर र विचारशीलताको भावनाले एक-अर्कालाई व्यवहार गर्ने हो भने, अझ प्रचुर मात्रामा सुसमाचारको फल फलाउन सकिन्छ ।