सफलताको रहस्य

‘क’ रेस्टुरेन्ट सहरकै सबैभन्दा सफल सूप रेस्टुरेन्ट हो । ‘क’ रेस्टुरेन्टमा लगातार जाने एक जना मानिस थियो । एक दिन, त्यो मानिस ‘क’ रेस्टुरेन्टमा खाना खान गयो, तर त्यहाँ यति धेरै ग्राहकहरू थिए कि बस्नलाई खाली ठाउँ नै थिएन ।
आफ्नो पालो पर्खिरहँदा त्यस मानिसले ठिक अगाडि रहेको ‘ख’ रेस्टुरेन्ट देखेछ । हुन त ‘ख’ रेस्टुरेन्टले ‘क’ रेस्टुरेन्टले जस्तै उस्तै सुप बेच्थ्यो तर ‘ख’ रेस्टुरेन्टमा भने ग्राहकहरू नभएर झिँगा मात्र भन्किरहेको थियो । कारण जान्न उत्सुक भएका उक्त मानिसले ‘क’ रेस्टुरेन्टका मालिकलाई सोधेछन् ।
“यो रेस्टुरेन्टमा धेरै ग्रहाकहरू आउँछन् , छेउको रेस्टुरेन्टभन्दा यो रेस्टुरेन्टको व्यापार यति राम्रो हुनुको कारण के हो नि ?”
मालिकले भने, “किनभने छेउको रेस्टुरेन्ट र हाम्रो रेस्टुरेन्टले फरक-फरक कुरा बेचिरहेको छ ।”
“के भन्नुभएको त्यस्तो, दुवै रेस्टुरेन्टले एउटै सूप त बेचिरहेको छ नि ?”
तब मालिकले भने,
“छेउको रेस्टुरेन्टले सूप बेचिरहेको छ, तर हाम्रो रेस्टुरेन्टले चाहिँ सेवा बेचिरहेको छ ।”
यो सुनेपछि ती मानिसले मालिकको कुराको मर्म बुझे, र मुस्कुराए । किनभने उनी यो कुरामा सहभत थिए, कि ग्राहकहरूले चाहेको कुराचाहिँ एक कचौरा सूप मात्र थिएन, तर त्यो तातो सूपजस्तै न्यानो व्यवहार पनि थियो ।