आमाले पकाउनुभएको खाना

गिम जङ हा, आनयाङ, कोरिया

35,908 भ्यु
लेख सुन्नुहोस् 10:37

“आज बेलुका के खाने होला ?”

अफिसबाट निस्केदेखि भान्छा कोठामा नछिर्दासम्म मेरो दिमागमा यही एउटा कुरा खेलिरहन्छ । नयाँ जागिर सुरु गरेर एक्लै बस्न थालेदेखि पहिला कहिल्यै वास्ता नगरेका कुराहरूमा पनि समय दिनुपर्छ । अब त आफ्नो लागि खाना पनि पकाउनुपर्छ ।

एक साँझ, निकै अबेरसम्म मैले केही पकाएको थिइनँ । मलाई न त धेरै तामझाम गरेर पकाउन मन थियो, न त अघिल्लो दिनको बासी तरकारी नै खान मन थियो । केही खानेकुरा छ कि भनेर दराजमा हेर्दा एउटा ‘किम्छी’को बट्टा भेटे । दिमागमा झट्ट एउटा सजिलो र छिटोछरितो परिकार फुर्‍यो । ‘किम्छी फ्राईड राइस’ । अलि स्वादिलो बनाएर खान मन लागेकोले इन्टरनेटमा यसलाई बनाउने तरिका खोज्न थालें । चाहिने सामानहरू घरमै भएका र पकाउने तरिका पनि सजिलो देखिएकाले म तुरुन्तै पकाउनतिर तम्सिएँ ।

पहिले त तावामा तेल हालेर फ्रिजरमा राखेको हरियो प्याज काटें । हरियो प्याजलाई तेलमा हालेको मात्र के थिएँ, तेल त पटाका पड्केझैँ चारैतिर उछिट्टिन थाल्यो ! मैले हतार-हतार ग्यासको आगो सानो पारें, तर प्याजको पानी र तेल जुध्दा त्यसको आवाज झन्-झन् उग्र हुँदैगयो । मैले हत्तपत्त माछा र सोया सस हालेर चलाएँ । तर त्यो सस एक्कासि उम्लियो र दोस्रो चरणको पटाका शो सुरु भयो । एक किसिमको बमबारी नै भएको जस्तो महसुस भयो । अत्तालिँदै मैले ग्यास निभाएँ, तर त्यो विष्फोटनले भान्छाभरि दागैदाग भयो ।

तावा अलि चिसो भएपछि, मैले त्यसमा भुटेको किम्छी, खुर्सानीको धुलो र अरू मरमसलाहरू हालिदिएँ । अन्तिममा तयार भएको त्यो परिकार इन्टरनेटमा देखेका ती लोभलाग्दा तस्बिरहरू भन्दा बिल्कुलै फरक थियो । चाख्न पनि डर लागेकोले मैले खानुअघि भान्छा सफा गर्ने निर्णय गरें ।

भित्ताका टायलदेखि सिङ्कसम्म, मैले पटक-पटक सफा कपडाले पुसिरहें । भान्छा पहिलेकै अवस्थामा फर्किएपछि बल्ल मैले खान सुरु गरें । घडी हेर्दा पकाउन सुरु गरेको डेढ घण्टा बितिसकेको रहेछ । सायद भोकले भाउन्न छुटेकोले होला, त्यो चिसिसकेको किम्छी फ्राईड राइस सोचेभन्दा स्वादिलो नै लाग्यो ।

यसरी खाने क्रममा मलाई बुबाको याद आयो । उहाँले “सधैँ फोन गर्नू” भन्नुभएकोले मैले उहाँको नम्बर डायल गरें ।

“बुबा ।”

“ए, नानी । खाना खायौ त ?”

खाएँ भनेर झूट बोल्नु बाहेक मसँग अरू कुनै विकल्प थिएन । किनभने अबेर रात भइसकेकाले त्यसबेलासम्म खाना नखाएको कुरा बताउँदा बुबाले गाली गर्ने कुरा निश्चित थियो । पछाडिबाट आमा र बहिनी हाँस्दै कुरा गरेको आवाज मैले सुनें । एकै छिन त म पनि उहाँहरूसँगै त्यही कोठामा भएझैँ लाग्यो । तर फोन राख्ने बित्तिकै म फेरि आफ्नै सुनसान कोठाको यथार्थतामा फर्किएँ । आमाले पस्कने त्यो तातो-तातो खानाको अगाडि मैले बनाएको यो चिसो फ्राइड राइस निकै टिठलाग्दो देखियो ।

“के आमाले पनि भान्छामा यस्तै पटाका पड्केको अनुभव गर्नुभयो होला ?”

“के उहाँले पनि यसरी नै अनपेक्षित बमबारीहरू झेल्दै हाम्रो परिवारका लागि मिठो-मसिनो पकाइरहनुभयो ?”

मैले बल्ल आमाले खाना बनाउनको निम्ति गर्नुभएको त्यो असीम परिश्रम बुझें । मैले उहाँको दुःख नबुझे पनि उहाँले सधैँ मेरो लागि प्रेमद्वारा खाना तयार पारिदिनुभयो । तर म भने आमाले खाना बनाउने समयमा सधैँ आफ्नै धुनमा रमाइरहेको हुन्थें । उहाँको त्यो अथक प्रयासलाई सधैँ मैले हल्का रूपमा लिएँ, र खानाका लागि औपचारिक रूपमा मात्र “मिठो छ, धन्यवाद” भनें ।

यदि खाना बनाउन यति गाह्रो हुन्छ भन्ने कुरा मलाई पहिल्यै थाहा भएको भए, आमाले “खाना खान आऊ” भन्नासाथ म दौडेर टेबिलमा बस्ने थिएँ । जस्तोसुकै खानालाई पनि गनगन नगरी खाने थिएँ । मैले पहिला किन त्यसो नगरेको होला ?

आज आमाको हातको त्यो न्यानो खाना निकै याद आइरहेको छ । होइन, वास्तवमा भन्नुपर्दा आफ्नो सारा प्रेम मिसाएर खाना बनाउनुहुने मेरी आमाको याद आइरहेको छ ।

आमाले पकाउनुभएको खाना

10:37
0:00 10:37

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।