परमेश्वरको वचन पूर्ण छ र यसमा कुनै अपवाद छैन । परमेश्वरले उहाँको वचन पूर्ण रूपमा पालन गर्ने मानिसहरूलाई मात्र आशिष् दिनुहुने भएकोले परमेश्वरको वचनलाई पूर्ण रूपमा पालन गर्नु नै आशिष् र मुक्तिको एकमात्र बाटो हो ।
१. नोआको जहाज
पानी नै नपरेको त्यो समयमा परमेश्वरले नोआलाई ठूलो जहाज बनाउन आदेश गर्नुभयो । परमेश्वरले आदेश गर्नुभएको जहाजको लमाइ १४० मिटर, चौडाइ २३ मिटर र उचाइ १४ मिटरको थियो । ती दिनहरूमा अहिलेको जस्तो आधुनिक प्रविधि नभएकोले परमेश्वरले आदेश गर्नुभएको जहाज बनाउन लगभग असम्भव थियो । अझ त्यसमाथि त्यो जहाज बनाउन नोआलाई धेरै जनशक्ति र उपकरण आवश्यक पर्नुको साथै लगानी पनि धेरै चाहिएको हुनुपर्छ । विद्हरूको अनुमानमा त्यो जहाज बनाउन कम्तीमा पनि ४०देखि १२० वर्ष लागेको हुनुपर्छ । यस्तो विशाल जहाज बनाउन नोआले कति धैर्य धारण गर्नुपरेको थियो भनेर हामी अनुमान लगाउन सक्छौं ।
यस्तो कठिन परिस्थितिमा पनि नोआले परमेश्वरविरुद्ध कदापि गनगन नगरी जहाज बनाउन थाले, किनभने तिनले परमेश्वरको वचनलाई पूर्ण ठानेका थिए । त्यसको परिणामस्वरूप सबै मानिसहरू जलप्रलयमा डुबेर नष्ट हुँदा नोआ र तिनका परिवारचाहिँ बचाइएका थिए ।
२. यरीहो सहर
इस्राएलीहरू यर्दन नदी तरेर कनानको भूमिमा आइपुग्दा अजेय यरीहो सहरले तिनीहरूको बाटो छेक्यो । त्यो अजेय सहर कब्जा नगरीकन तिनीहरू कनानमा प्रवेश गर्न सक्दैनथे । तब परमेश्वरले यरीहो नष्ट गर्न सकिने तरिका जानकारी दिनुभयो । त्यो नै ६ दिनसम्म, दिनमा एक चोटि सहर घुम्ने, अनि सातौँ दिनमा चाहिँ ७ चोटि सहर घुमेर सबैले एकसाथ कराउने थियो ।
कुनै सहर कब्जा गर्नु छ भने आक्रमण गर्ने योजनाहरू बनाएर त्यसलाई लागू गर्नुपर्ने हुन्छ : सुरुमा घेरा हाल्ने, त्यसपछि भऱ्याङ, तीर, भाला, ढाल लगायतका युद्ध सामग्रीहरू बनाउने इत्यादि । तर परमेश्वरले मानिसको आम समझद्वारा बुझ्न नसकिने अनौठो रणनीति बनाउनुभयो ।
पहिलो दिन, इस्राएलीहरू यरीहो सहरको वरिपरि एक चोटि घुमे, तर केही पनि भएन । दोस्रो दिन पनि त्यसरी नै सहर घुमे, तर पनि केही भएन । तेस्रो दिन, चौथो दिन, पाँचौँ दिन, छैटौँ दिन पनि त्यसै गरे, तर केही भएन । परमेश्वरको वचनलाई पूर्ण विश्वास नगरेकाहरू अलि चिन्तित भएका हुनुपर्छ । ‘तरवारमा धार लगाएर, भालाहरू र ढालहरू बनाएर यरीहोको पर्खाल भत्काउनु नै उचित होइन र ?’ भन्ने सोचाइमा तिनीहरू जकडिएका हुनुपर्छ ।
सातौँ दिनमा सात चोटि यरीहोको वरिपरि घुम्दा तिनीहरूले ‘के साँच्चै ढल्छ र ?’ अथवा ‘पर्खालभन्दा अघि हामी नै थाकेर ढल्छौं होला’ भन्ने सोच्दै तिनीहरू गहिरो चिन्तामा डुबेका हुनुपर्छ । तर परमेश्वरले उहाँको वचन पूर्ण रूपले पालन गरेका इस्राएलीहरूलाई कस्तो परिणाम दिनुभयो त ? जब इस्राएलीहरू यरीहो सहरतिर जोडले कराए तब तुरुन्त पर्खाल घर्लम्मै ढल्यो । यसरी इस्राएलीहरूले एकै क्षणमा यरीहो सहरलाई कब्जा गरेर प्रतिज्ञाको भूमि, कनानको उत्तराधिकार प्राप्त गरे ।
परमेश्वरको वचन पूर्ण रूपमा पालन गरेर ठूलो आशिष् पाएका इस्राएलीहरूको इतिहास हामीले बुझ्यौं । यो युगमा हामीले पनि परमेश्वरको वचनलाई पूर्ण रूपमा पालन गऱ्यौं भने आशिष् पाउनेछौं । परमेश्वरले सधैँ हाम्रै भलाइको निम्ति हामीलाई धार्मिक र सही मार्गमा डोऱ्याउनुहुन्छ । हामीहरू परमेश्वरको वचन पूर्ण रूपले पालन गरेर परमेश्वरले तयार पार्नुभएको आशिष् प्रशस्त प्राप्त गर्ने सन्तान होऔं ।
- समीक्षात्मक प्रश्न
- परमेश्वरले थाहा दिनुभएको, यरीहो सहरलाई कब्जा गर्ने तरिका के थियो ?
- परमेश्वरको वचन पूर्ण रूपमा पालन गरेर आशिष् पाएका क्षणहरूलाई सोचिहेरौं ।