मेटाडोर

22,467 भ्यु

रातो कपडा हल्लाउने बुलफाइटरको दक्ष हातमा परेको साँढे उत्तेजित हुन्छ । हडबडाएको साँढेको पछाडि धेरै भालाहरू अड्किएको हुन्छ । अन्ततः धारिलो छुरीले साँढेको खोपडी छेड्दा त्यो ठाउँको ठाउँ ढल्छ ।

साँढेको खोपडीमा छुरी प्रहार गर्ने बुलफाइटरलाई नै स्पेनी भाषामा ‘मेटाडोर’ भनिन्छ । हिजोआज मेटाडोरले कसैको निन्दा गर्ने हेतुले यथार्थतालाई विकृत गर्ने र सार्वजनिक विचारलाई हेरफेर गर्ने कालो सङ्गठित प्रचारलाई जनाउँदछ । साँढेलाई लोभ्याएर त्यसको खोपडी छेड्ने बुलफाइटरको धारिलो छुरीजस्तै मेटाडोरले अवैध रूपमा बोलीद्वारा अन्य मानिसहरूमा घातक प्रहार गर्दछ ।

सुरुदेखि नै अरूलाई हानि पुऱ्याउने मेटाडोरबाट प्रहार भएको मानिसले कहीँ-कतैबाट चोट पाइहाल्छ । अनि त्यो पुष्टि गर्न र त्यसको जिम्मेवारी कसले लिने भन्ने कुरा पत्ता लगाउन पनि गाह्रो हुन्छ ।

बाइबलको इतिहासमा पनि मेटाडोरको अस्तित्व छ । २,००० वर्षअघि येशूज्यूले नयाँ करार सुसमाचार प्रचार गर्नुहुँदा यहूदीहरूले धर्मशास्त्रबाट कहिल्यै येशूज्यूको सामना गर्न नसकेकाले तिनीहरूले प्रयोग गरेका कुरा नै मेटाडोर थियो ।

“किनभने यूहन्ना खाँदै र पिउँदै आएनन्, र तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन् । मानिसको पुत्र खाँदै र पिउँदै आयो, र तिनीहरू भन्दछन्, ‘हेर, घिचुवा, पियक्कड, कर उठाउने र पापीहरूको मित्र !’ …” मत्ती ११:१८-१९

अब मुख्य पूजाहारी र जम्मै महासभाले येशूलाई मार्नको निम्ति उहाँको विरुद्धमा गवाही खोजे, तर केही पाएनन् । धेरैले उहाँको विरुद्धमा झूटो गवाही दिए । तर तिनीहरूले दिएको गवाहीले मेल खाएन । कसै-कसैले उठेर उहाँको विरुद्धमा यसो भन्दै गवाही दिए, “यसले यसो भनेको हामीले सुन्यौं, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु, र हातैविना बनाइएको अर्को मन्दिर म तीन दिनमा निर्माण गर्नेछु’ ।” तर यसमा पनि तिनीहरूको गवाही एकै मतको थिएन । मर्क १४:५५-५९

येशूज्यूलाई विभिन्न किसिमका अफवाहद्वारा निन्दा गरेका यहूदीहरूले आफ्नो उद्देश्य पूरा गरे । तिनीहरूले येशूज्यूलाई ‘नासरी पन्थी[विधर्मी]’(प्रे २४:५)को संज्ञा दिएकाले र उहाँलाई क्रूसमा पनि टाँगेकाले तिनीहरूले मेटाडोरबाट ठूलो उपलब्धि हासिल गरे ।

त्यसोभए यहूदीहरूको जिद्दीअनुसार के साँच्चै येशूज्यू विधर्मी हुनुहुन्थ्यो त ? होइन । तर सबै किसिमका निन्दा र अपमानको बाबजुद येशूज्यू बाइबलको सबै अगमवाणीअनुसार शरीर धारण गरेर यो पृथ्वीमा आउनुभएका परमेश्वर हुनुहुन्छ भन्ने यथार्थता अपरिवर्तनीय छ ।

हाम्रो मुक्तिको निम्ति परमेश्वर फेरि शरीर धारण गरेर आउनुभएको यस पवित्र आत्माको युगको अवस्था पनि उस्तै हो ।

त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतिक्षा गर्नेहरूका उद्धारको निम्ति । हिब्रू ९:२८

उहाँ दोस्रो पल्ट देखा पर्नुहुँदा पनि हामीहरू होशियार रहनुपर्ने कुरा नै मेटाडोर हो । आधारहीन अफवाहबाट डगमगिनुअघि नै हामीहरू बाइबललाई हेरौं । हामीले बाइबलद्वारा सही र गलतलाई छुट्ट्याउनुपर्छ । सत्यतालाई कुनै पनि कुराले बदल्न वा हटाउन सक्दैन ।