बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान

हा जङ ओ / जिन्जु, कोरिया

9,423 भ्यु

मचाहिँ ४ छोरीहरूमध्येकी साहिँली हुँ । कोरियामा ‘साहिँलीलाई लैजान त अनुहार हेर्नै पर्दैन’ भन्ने एउटा पुरानो ठट्यौली छ । यद्यपि मचाहिँ बुबाले सबैभन्दा चिन्ता गर्नुहुने सन्तान थिएँ । सानो छँदा मलाई पोलियोको कारण उच्च ज्वरो आएको थियो । जसोतसो म मृत्युको मुखबाट उम्कें, तर मेरो कम्मरदेखि मुनिको भाग पक्षाघात हुने खतरामा थियो । मलाई जसरी भए पनि निको पार्नको लागि खेतबारीसमेत बेच्नुभएका मेरो बुबा-आमा हुनुभएकोले म लङ्गडी भए पनि हिँड्न भने सक्ने भएँ ।

मप्रति क्षमाप्रार्थी हुनुभएका बुबाले मलाई एक चोटि पनि गाली नगरी मायाले हुर्काउनुभयो । तर किशोरावस्थाबाट गुज्रने क्रममा निराश भएकी मैले, मेरो निम्ति कुनै कसर बाँकी नराख्नुभएका बुबा-आमालाई दोष दिँदै पढाइ छोड्ने निर्णय सुनाएँ । बुबाले मेरो भविष्यको खातिर कम्तीमा विद्यालयबाट उत्तीर्ण गर्नुपर्छ भन्नुहुँदै सम्झाउन खोज्नुहुँदा मलाई झनक्क रीस उठेको थियो ।

“तपाईंले किन मलाई बचाउनुभएको ? मेरो जीवनमा सबै कुरा असहज छ, के मैले पढ्दैमा आरामले जिउन सक्ने हो र ? यसरी बाँच्नुभन्दा त बरु मर्नु बेस !”

बुबाले पहिलो चोटि मलाई थप्पड हान्नुभयो । उहाँको मन एकदमै दुखेकोले मसँग आँखा पनि नजुधाईकन उहाँ फनक्क फर्केर बाहिर निस्कनुभयो । आफ्नो दु:ख बाँड्नलाई कोही नभएकोले भित्रभित्रै पीडा लुकाउनुभएका बुबा ! त्यसपछि एक दिन अप्रत्याशित घटना घट्यो । जागिर खोज्न जेजु टापू जाने डुङ्गामा चढ्नुभएका बुबालाई एक्कासि नराम्ररी उल्टी भएर अस्पताल लानुपऱ्यो । त्यो खबर सुन्नेबित्तिकै मेरी आमा र दिदी अस्पताल जानुभयो । अक्सिजन मास्कको सहायताले मुश्किलले सास फेरिरहनुभएका मेरा बुबा, उहाँहरूलाई अन्तिम पटक हेरेपछि बित्नुभयो । उहाँलाई कलेजोमा क्यान्सर भएको रहेछ । उहाँले एक्कासि यसरी संसार छोड्नुभएकोले पक्कै पनि एकदमै गम्भीर पीडा सहनुभएको हुनुपर्छ । त्यस्तो पीडामा पनि कसरी जेजु टापूसम्म यात्रा गर्न सक्नुभएको होला ? परिवार पाल्नुपर्ने जिम्मेवारीको भार कति गह्रौँ भएको थियो होला ?

बुबाको अन्तिम क्षणमा म उहाँको साथमा रहन पाइनँ । अन्येष्टिको समयमा म ३ दिनसम्म यत्तिकै बसें । वर्णन गर्न नसकिने पीडाले मेरो मुटु घोचिरहेको थियो । जति रोए पनि आँसु थामिएन । मैले बुबालाई क्षमाप्रार्थी हुनुपर्ने कुरा केही पनि छैन भन्दै एक चोटि पनि धन्यवाद भनिनँ । अन्तिम सास लिने क्षणमा पनि मेरो निम्ति फिक्री गर्नुहुँदै “मेरी साहिँली छोरीलाई कसरी छोड्न सक्छु र ?” भन्नुहुँदै मप्रति चिन्तित हुनुभएको थियो अरे ।

मैले राम्रो जागिर र जीवनसाथी नपाउने हो कि भनेर बुबाले सधैँ चिन्ता गर्नुहुन्थ्यो । उहाँको चिन्ताभन्दा विपरीत, मेरो राम्रो व्यक्तिसँग विवाह भयो, अनि एक जना छोरा पनि जन्मियो । मैले स्वर्गीय पिता-मातालाई पनि पाएँ, अनि स्वर्ग गएर त्यहाँ बुबालाई फेरि भेट्ने आशा पनि छ । बुबाले मलाई सुन्न सक्नुहुन्छ कि सक्नुहुन्न थाहा छैन, तर म उहाँलाई साँच्चै यो सन्देश दिन चाहन्छु :

“बुबा ! तपाईंलाई मेरा बुबा भन्न पाएकोमा म खुशी छु । अहिले पनि तपाईंको धेरै याद आउँछ । पीडा र मृत्यु नभएको स्वर्ग-राज्यमा फेरि भेटौंला !”