सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी

एलोहिम परमेश्वरको अस्तित्व र नयाँ करारको मूल्यबारे ५ देशका वक्ताहरूको प्रस्तुति

दक्षिण कोरिया

April 4, 2019 21,141 भ्यु

नियमित महासभाको कार्यतालिकाले रफ्तार लिएको अप्रिल ४ तारिखमा ‘सन् २०१९ Arise & Shine अन्तर्राष्ट्रिय बाइबल गोष्ठी’ कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा आयोजना गरियो । ‘एलोहिम परमेश्वर र नयाँ करारको सत्यतालाई सही तरिकाले जानकारी दिएर सम्पूर्ण मानव-जातिलाई मुक्तिमा डोऱ्याऔं’ भन्ने लक्ष्यका साथ आयोजित यस कार्यक्रममा देश-विदेशका पादरी कर्मचारीहरू र स्थानीय सन्तहरूको उपस्थिति रहेको थियो । मन्दिर र गोष्ठी हल मात्र नभएर अन्य सुविधा कक्षहरूसमेत खचाखच भरिएको थियो ।

७ अरब मानव-जातिले मुक्तिको सत्यतालाई महसुस गरून् भनेर प्रार्थना गरिदिनुभएकी माताको प्रार्थनाबाट गोष्ठी आरम्भ भयो । जर्मनी, संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, पेरु र भारत गरेर ५ देशका ८ जना वक्ताहरूले बाइबलीय आधारमा जीव विज्ञान, चिकित्सा विज्ञान, शिक्षण शास्त्र, मानव विज्ञान, आधुनिक तथा समकालीन इतिहास इत्यादि विषयहरूलाई समेटेर ‘तपाईंको शिक्षक को हुनुहुन्छ ?’ ‘सेतो रगत, आमाको दूधको महत्त्व,’ ‘एलोहिम परमेश्वर : सृष्टिकर्ताको उदेकको विशेषता’ जस्ता गहन शीर्षकहरूमा टेड(TED : Technology प्रविधि, Entertainment मनोरञ्जन र Design डिजाइन; कुनै पनि विषयलाई प्रतिबन्ध नलगाईकन मूल्यवान् तर्कमा प्रस्तुति गर्ने) शैलीमा वक्तव्य दिए ।

सहभागीहरूले सृष्टिकर्ता र मानव-जातिको मुक्तिदाता हुनुभएका एलोहिम परमेश्वरको अस्तित्व र नयाँ करार निस्तार-चाडको सत्यताको मूल्यलाई सुनिश्चित गरे । “सत्यताको निम्ति तिर्खाइरहेका ७ अरब मानव-जातिलाई यथाशीघ्र मुक्तिको शुभ समाचार सुनाऔं” भनेका प्रस्तोताहरूको कुरामा सहभागीहरूले एकै सोरमा सहमति जनाए ।

गोष्ठीमा सहभागी भएका मिसनरी हायामी केन्साकु(ओसाका, जापान)ले “हाम्रो वरिपरिको प्रकृतिलाई मात्र यसो हेर्दा पनि परमेश्वरको अस्तित्व सजिलै पत्ता लगाउन सकिने यथार्थता स्पष्टसँग महसुस भयो । जापानवासीहरू सबैलाई सृष्टिकर्ता एलोहिम परमेश्वरको बारेमा सुनाएर स्वर्गीय राज्यको बारेमा थाहा गराउने कार्यमा भरमग्दूर प्रयत्न गर्नेछु” भने ।

मिसनरी इम जा राङ(मलेसियाको कोता किनाबालु)ले “संस्कृति र परम्पराजस्तै धर्म पनि एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण हुने अवस्था धेरै हुन्छ । मानिसहरूले सत्यतालाई महसुस गरेर सही धार्मिक जीवन रोजून् भनेर बाइबलका वचनहरूमा भएको कुरा सुनाउनु नै अगमवक्ताको मिसन हो” भन्दै मलेसियाको सुसमाचारलाई अझ गति दिने प्रतिबद्धता जाहेर गरे ।

माताले “२,००० वर्षअघिका पत्रुस र यूहन्नाले जस्तै यहाँहरूले बलपूर्वक सत्यता गवाही दिनुभयो” भन्नुहुँदै वक्ताहरूका लागि ठूलो ताली बजाइदिनुभयो । माताले “जीवनको वचन लगनशीलताका साथ सुनाएर एकै दिनमा ५,००० जनालाई डोऱ्याएका सुरुको मण्डलीभन्दा अझ ठूलो इतिहास रचौं” भन्नुहुँदै आशिष् दिनुभयो । महासचिव पास्टर गिम जु छलले कार्यक्रमको अन्तमा, गोष्ठीका सहभागीहरू मात्र नभएर विश्वभरिका पादरी कर्मचारीहरू र सन्तहरूले सत्यतालाई पूर्ण रूपले महसुस गरी दृढ विश्वासद्वारा मुक्तिको खबर जोडका साथ सुनाउने कुराको अपेक्षा गर्नुभयो ।

अन्तर्राष्ट्रिय बाइबल गोष्ठी वेबसाइटमा जाने