WATV.org is provided in English. Would you like to change to English?

June 9, 2019

सन् २०१९ उचालिनुभएको दिन सम्झनात्मक आराधना र पेन्तिकोसको चाड पवित्र सभा

पवित्र आत्माको शक्तिद्वारा पूरा गर्ने ७ अरब प्रचार

8,730 भ्यु

येशू ख्रीष्ट पुनरुत्थान हुनुभएपछि ४० दिनमा स्वर्ग उचालिनुभएको घटना नै सुरुको मण्डलीको पुनर्जागरणको सुरुवाती बिन्दु थियो । पुनरुत्थान र उचालिने शक्तिसमेत अवलोकन गरेका सन्तहरूको विश्वास अझ दह्रो भयो, र पेन्तिकोसमा पवित्र आत्माको वरदान पाएपछि अन्यजातिहरूलाई पनि सुसमाचार प्रचार गर्न सुरु भयो । “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर” (मर्क १६:१५) भन्नुभएका येशूज्यूको आदेशअनुसार ७ अरब प्रचार अभियान गरिरहेका विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरू सुरुको मण्डलीमा भएको पवित्र आत्माको कार्य पुनः दोहोरिने अपेक्षाका साथ उचालिनुभएको दिन(मे ३० तारिख)को सम्झना गर्दै पेन्तिकोसको चाड पवित्र सभा(जून ९ तारिख)मा सहभागी भए ।

उचालिनुभएको दिन सम्झनात्मक आराधना : “मेरा साक्षी होओ” भन्नुभएका येशूज्यूको इच्छालाई शिरोपर गर्दै

कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा गरिएको उचालिनुभएको दिनको सम्झनात्मक आराधनामार्फत माताले मानव-जातिलाई पुनरुत्थान र उचालिने जीवित आशा दिनुभएका पितालाई गहिरो धन्यवाद चढाउनुभयो, अनि येशूज्यूले उचालिनुअघि “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरू सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ” (प्रे १:८) भन्नुभएको अगमवाणी विश्वभरिका सियोनका सन्तानहरूले पूरा गरून् भन्ने चाहनुभयो । त्यसै गरी येशूज्यू उचालिनुभएपछि एक ठाउँमा भेला भएर प्रार्थना गरी पेन्तिकोसको पवित्र आत्मा पाएका सुरुको मण्डलीको इतिहासलाई उल्लेख गर्नुहुँदै माताले “प्रार्थनाविना केही पनि पूरा गर्न नसकिने भएकोले पिताले निश्चय नै उत्तर दिनुहुनेछ भन्ने विश्वासद्वारा तनमनले पवित्र आत्मा मागौं” भन्नुभयो ।

महासचिव पास्टर गिम जु छलले पनि ‘ख्रीष्टको साक्षी’ को रूपमा सारा मानव-जातिलाई सुसमाचार प्रचार गर्न सक्ने गरी पेन्तिकोसको पवित्र आत्माको शक्ति व्यग्रतापूर्वक मागौं भनेर प्रोत्साहन दिनुभयो, अनि “परमेश्वरलाई प्रसन्न पार्ने विश्वासद्वारा परमेश्वरको साथमा हिँडेका हनोक र एलियाजस्तै, आत्मा बचाउने कार्यमा सबैभन्दा खुशी हुनुहुने पिता-माताको साथमा हिँड्नेहरूले पुनरुत्थान र स्वर्गारोहणको महिमा उपभोग गर्नेछन्” भन्नुहुँदै आशिष् पाउन योग्यको विश्वास लिन आग्रह गर्नुभयो (लूक २४:४७-५३; हिब्रू ११:५; मत्ती २८:१८-२०; १ कोर ९:१६-१७; १ थेस २:३-४) । सन्तहरूले यो दिनको साँझदेखि पेन्तिकोसको चाड पवित्र सभासम्म अर्थात् १० दिनसम्म पवित्र आत्माको शक्तिको निम्ति प्रभात र साँझमा बिन्ती गरे ।

पेन्तिकोसको चाड पवित्र सभा : परमेश्वरको मण्डलीमा झारिएको पवित्र आत्माको कार्य

“जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए … तिनीहरू सबै जना पवित्र आत्माले भरिए” प्रे २:१-४

माताले पेन्तिकोसको चाडमा, उचालिनुभएको दिनदेखि एकै मनका भएर प्रार्थना गरेका सन्तहरूमा पवित्र आत्माको आशिष् प्रशस्त बर्सियोस् भनी प्रार्थना गर्नुभयो । अनि “मानिसको शक्तिद्वारा ७ अरब मानव-जातिलाई सत्यता सुनाउन गाह्रो छ, तर पवित्र आत्मा धारण गरेपछि केही पनि असम्भव छैन । पवित्र आत्मा झारिदिनुहुने परमेश्वर नै हाम्रा पिता हुनुहुन्छ भन्ने यथार्थताप्रति गर्व गर्दै, दिनुभएको वरदानद्वारा जीवनको पानीको निम्ति तिर्खाइरहेका सारा मानव-जातिलाई मुक्तिको खबर सुनाऔं” भन्नुभयो ।

महासचिव पास्टर गिम जु छलले “२,००० वर्षअघि र अहिले पनि परमेश्वर स्वयम्‌ले स्थापना गर्नुभएर नयाँ करार प्रदान गर्नुभएको परमेश्वरको मण्डलीमा पवित्र आत्मा खन्याइदिनुहुन्छ । परमेश्वरको सट्टामा संसारलाई ब्यूँझाएर मानव-जातिलाई पश्चात्ताप र मुक्तिको मार्गमा डोऱ्याउनु नै पवित्र आत्मा पाएको मण्डली र सन्तको मिसन” हो भन्ने कुरा बोध गराइदिनुभयो । अनि “पवित्र आत्मा पाएपछि चूपचाप नबसी साहसका साथ सुसमाचार सुनाएका सुरुको मण्डलीका सन्तहरूले एकै दिनमा ३,०००, ५,००० जनालाई परमेश्वरकहाँ डोऱ्याएजस्तै यो युगमा पनि सामरिया र पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार सुनाउने सङ्कल्पलाई कार्यान्वयन गर्नेले पवित्र आत्माको कार्यको अनुभव गर्नेछ” भन्नुहुँदै ७ अरब मानव-जातिलाई प्रचार गर्ने कार्यलाई अझ गतिशील बनाऔं भनी प्रोत्साहन दिनुभयो (प्रे २:४१; इज ३:१६-१७; भज १९:१-४; यशै ६०:१-८; प्रे १:१२-१५) ।