परमेश्वरको मण्डलीका स्त्री सन्तहरूले आराधना समयमा किन शिरमा घुम्टो हाल्छन् ?

66,862 भ्यु
विश्वभरिका परमेश्वरको मण्डलीका तस्वीर अथवा भिडियोहरू हेर्दा अनौठो लाग्ने एउटा कुरा छ । देशैपिच्छे आराधना गरिने स्वरूप कसरी एउटै हुन सकेको होला ? स्त्री सन्तहरू सबैले शिरमा घुम्टो हाल्छन् भने पुरुष सन्तहरूचाहिँ शिर ढाक्दैनन् ।
परमेश्वरले सन्तहरूलाई, आराधना गर्दा पालन गर्नुपर्ने नियमहरू दिनुभएको छ । तीमध्येको एक नै घुम्टोको नियम हो ।
घुम्टोले शिर ढाक्नु पनि के परमेश्वरको नियम हो ?
हो नि !

किनकि पुरुषले आफ्नो शिर ढाक्नुहुँदैन, किनभने ऊ परमेश्वरको प्रतिरूप र गौरव हो, … १ कोरिन्थी ११:७

आराधना गर्दा अथवा प्रार्थना गर्दा पुरुषले शिर ढाक्नुहुँदैन । यो बाइबलको शिक्षा हो । यदि यो नियम पालन नगरी परमेश्वरलाई आराधना गरिन्छ भने त्योचाहिँ उल्टै परमेश्वरलाई अपमान गर्ने कार्य हुन्छ ।
हो त है !
स्त्रीको सन्दर्भमा पनि हेर्ने कि ?

तर शिर खुला राखेर प्रार्थना गर्ने, अथवा अगमवाणी बोल्ने स्त्रीले आफ्नो शिरको अपमान गर्दछे, किनकि यो तिनले आफ्नो केश खौरेको जस्तो हो । किनकि कुनै स्त्रीले शिर ढाक्दिन भने बरु तिनले केश काटोस् । तर केश काट्नु कि खौरनु स्त्रीको निम्ति शर्मको कुरो हो भनेता तिनले शिरमा घुम्टो हालोस् । १ कोरिन्थी ११:५-६

आराधना गर्दा स्त्रीले अनिवार्य रूपमा घुम्टोले शिर ढाक्नुपर्छ भनेर बाइबलले बताउँदछ ।
तर छोटो कपाल भएकी स्त्रीले चाहिँ घुम्टोले शिर ढाक्न आवश्यक छैन भन्ने अर्थ होइन र ?
हाहा, त्यसो होइन । यो त उल्टै, स्त्रीहरूले अनिवार्य रूपमा घुम्टोले शिर ढाक्नुपर्छ भन्ने कुरा, परमेश्वरले ‘प्रकृति’को नियमद्वारा नै जोड दिनुभएको छ भन्ने वचन हो । परमेश्वरले मानिसहरूलाई, स्त्रीको केश लामो हुँदा सुन्दर देखिने त्यस्तो आँखा दिनुभएको छ । स्त्रीले शिर ढाकेको स्वरूप परमेश्वरको दृष्टिमा सुन्दर देखिन्छ भन्ने कुरा त सरल शिक्षा हो । पद १५मा लेखिएको ‘तर यदि स्त्रीको लामो केश छ भनेता त्यो तिनको गौरव हो’ भन्ने वचन पनि उस्तै अर्थमा बुझ्न सकिन्छ ।
ए, बल्ल बुझें । केश लामो भएकोले केही पनि लगाउनुपर्दैन भन्ने अर्थचाहिँ होइन रहेछ । तर स्त्रीहरूलाई घुम्टोले शिर ढाकेर आराधना गर्ने गराउनको निम्ति परमेश्वरले लामो कपाल हुने गराउनुभएको रहेछ ।
ठीक भन्नुभयो । यदि केशको लम्बाइअनुसार घुम्टोको प्रयोग गरिनुपर्ने हुँदो हो त परमेश्वरले केशको लम्बाइको मापदण्ड स्पष्टसँग तोक्नुहुनेथियो । अझ भन्ने हो भने, सुरुमा घुम्टो हाल्नुपर्छ भनेर जोड दिएका प्रेरित पावलले एक्कासि फेरि घुम्टो नहाले पनि हुन्छ भनेर भन्ने नै थिएनन् ।

सिस्टरले भन्नुभएजस्तै, प्रेरित पावलले घुम्टोको विषयमा परमेश्वरको नियम स्पष्ट रूपमा सिकाउनको निम्ति यो वचन लेखेका हुन् । परमेश्वरको मण्डलीमा स्त्री सन्तहरूले अनिवार्य घुम्टोको नियम पालन गर्दछन् भनेर दृढतापूर्वक बताएका छन् ।

तिमीहरू आफै विचार गर, शिर नढाकी परमेश्वरलाई प्रार्थना गर्न स्त्रीलाई सुहाउँछ र ? … तर कसैले यस विषयमा वाद-विवाद गर्न चाहन्छ भने, हाम्रो यस्तो कुनै रीति छैन, न त परमेश्वरका मण्डलीहरूको नै छ । १ कोरिन्थी ११:१३-१६

स्त्री सन्तहरूले शिरमा घुम्टो हाल्नुपर्ने रहेछ भन्ने कुरा अब प्रष्टसँग थाहा भयो । तर किन परमेश्वरले पुरुष र स्त्रीलाई फरक-फरक नियम दिनुभएको होला ?
किनकि योचाहिँ परमेश्वरले तोकिदिनुभएको क्रम हो ।

तर तिमीहरूले यो बुझ भन्ने म चाहन्छु, कि हरेक मानिसको शिर ख्रीष्ट हुनुहुन्छ, स्त्रीको शिर तिनको पति हो, अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ । १ कोरिन्थी ११:३

परमेश्वरले मानिस सृष्टि गर्नुहुँदा पहिलो पुरुष, आदमलाई भूमिको माटोबाट बनाउनुभयो र आदमको एउटा करङ निकाल्नुभएर स्त्री, हव्वा बनाउनुभयो । दुवैलाई एउटै भूमिको माटोबाट नबनाईकन पुरुषको शरीरद्वारा स्त्री सृष्टि गर्नुभएको कुरा पनि परमेश्वरले तोकिदिनुभएको क्रम देखाउनको निम्ति हो ।
त्यसोभए के परमेश्वरले पुरुषलाई अझ महत्त्व दिनुभएको हो ?
त्यसो त होइन । अर्को पदद्वारा निश्चित गरौं ।

तरै पनि प्रभुमा पुरुषबाट स्त्री स्वतन्त्र हुँदिन, न त स्त्रीबाट पुरुष नै । किनकि जसरी पुरुषबाट स्त्री बनिई, त्यसरी नै पुरुष स्त्रीबाट जन्मन्छ । तर सब थोक परमेश्वरबाट नै आउँदछन् । १ कोरिन्थी ११:११-१२

क्रमचाहिँ केवल स्थान र भूमिकाअनुसार तोकिएको हो । पुरुष र स्त्री सबै जना परमेश्वरभित्र समान रहेका प्रिय स्वर्गीय सन्तानहरू हुन् ।
वाह् ! यसरी सिकेपछि त, विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूले एउटै सोचद्वारा आराधना गरेको स्वरूप देख्दा म अझ प्रभावित भएकी छु । रहनसहन एक-अर्काबाट टाढा भए पनि हामीहरू एउटै हौं भन्ने कुरा महसुस भयो ।
ठीक हो । परमेश्वरभित्र हामी सबै एक हौं । बाइबलमा, पुरुषले शिर ढाकेर अनि स्त्रीले शिर नढाकीकन आराधना गर्नुपर्छ भनेर कहिल्यै सिकाइएको छैन भन्ने यथार्थतालाई, कृपया सधैँ मनन गर्नुहोला !