
कुनै समयमा अस्वच्छ र संक्रामक फोहोर मानिने गर्भनाल(umbilical cord) र प्लेसेन्टा(placenta), अहिले चिकित्सा क्षेत्रमा निकै चासोको विषय बनेको छ । त्यसको कारणचाहिँ वैज्ञानिकहरूले गर्भनाल र प्लेसेन्टामा विभिन्न किसिमका तन्तुहरूमा रूपान्तरण हुन सक्ने स्टेम कोषिकाहरू पत्ता लगाएकोले गर्दा हो । विशष गरी नालको रगत, जसलाई गर्भनालको रगत पनि भनिन्छ, त्यसमा रगत निर्माण गर्ने स्टेम कोषिकाहरू हुन्छन् र हड्डी, मांसपेशी तथा अङ्गहरू बनाउने मेसेन्काइमल स्टेम कोषिकाहरू(mesenchymal stem cells) हुन्छन् ।
हाल, यसलाई विभिन्न रोगहरूका उपचारका लागि अध्ययन गरिँदैछ र केही प्रविधिहरू त व्यावसायिक रूपमा प्रयोगमा समेत आइसकेका छन् । सन् २०००मा संयुक्त राज्य अमेरिकामा बस्ने ६ वर्षीया मोली नाम गरेकी बालिका फान्कोनी एनीमिया(रगतसम्बन्धी रोग) भन्ने घातक आनुवंशिक रोगबाट ग्रस्त भइन् । त्यसको एकमात्र उपचार भनेको स्टेम कोषिका प्रत्यारोपण थियो, तर उनीहरूले त्यो बालिकाको लागि मिल्दो दाता खोज्न सकेनन् । त्यसैले उनीहरूले बालिकाको उपचारका लागि आमाको गर्भनालको रगत प्रयोग गर्ने निर्णय गरे । मोलीको नालको रगत फालेको धेरै समय भइसकेकोले मोलीलाई बचाउन उनका आमा-बुबाले अर्को बच्चा जन्माउने निर्णय गरे ।
यसरी उनको कान्छो भाई आदम जन्मियो र आदमले आश्चर्यजनक रूपमा मोलीलाई बचाएर परिवारलाई खुशी तुल्याए । यसरी गर्भनालको रगतलाई प्रयोग गरेर विभिन्न किसिमका रोगहरू उपचार गर्न सकिन्छ, र स्टेम कोषिकाहरूलाई संवर्धन गरेर रोगीलाई जीवन दिन सकिन्छ । यो प्रक्रियालाई नैतिक रूपमा विवादास्पद मानिँदैन, किनभने नालको रगतबाट स्टेम कोषिका सङ्कलन गर्दा भ्रूणलाई प्रयोग गरिँदैन ।
यसमा तीव्र रूपमा वृद्धि हुने क्षमता भएकोले धेरै मानिसहरू यस अध्ययनको परिणाम हेर्न उत्सुक छन् । प्लेसेन्टामा पनि सबै प्रकारका हर्मोन, इन्जाइम र स्टेम कोषिकाहरू हुन्छन्, जसले नयाँ औषधी विकासका लागि आधार प्रदान गर्दछ । प्राचीन समयदेखि केही देशहरूमा गर्भनाल र प्लेसेन्टालाई जीवनको प्रतीकको रूपमा लिइन्थ्यो र त्यसको संरक्षण गरिन्थ्यो । विशेष गरी कोरियाको जोसन राजवंशको समयमा, महारानीले जन्माएको राजकीय बच्चाको गर्भनाल र प्लेसेन्टालाई फालिँदैनथ्यो, तर होशियारीसाथ राखिन्थ्यो । तिनीहरूलाई एउटा सेतो सानो भाँडामा राखेर राजकुमार वा राजकुमारीको जन्म भएको सातौँ दिनपछि १०० पल्टसम्म पखाल्ने गरिन्थ्यो । त्यसपछि त्यसलाई धेरै तहमा बेरेर ठूलो भाँडामा राखिन्थ्यो र राम्रो स्थानमा गाडिन्थ्यो ।

गर्भनाल र प्लेसेन्टालाई यति मूल्यवान् मानिन्थ्यो, कि केही व्यक्तिहरूले शिशु राजकुमार वा राजकुमारीको गर्भनाल र प्लेसेन्टालाई राम्रोसँग सुरक्षित राखेको आधारमा उनीहरूलाई राम्रो पद दिइन्थ्यो र लापरबाही गरेको खण्डमा कारवाहि गरिन्थ्यो । प्लेसेन्टाचाहिँ एउटा सुरक्षात्मक अङ्ग हो, जसले भ्रूणलाई आमाको गर्भभित्र बाँच्न र वृद्धि हुन मद्दत गर्दछ । यसले भ्रूणलाई गर्भाशयको भित्तासँग जोडेर राख्दछ । निषेचित अण्डा निषेचन भएको ४ वा ५ दिनपछि थैलीजस्तो भ्रूणमा परिवर्तन देखिन थाल्छ । त्यसपछि भ्रूण(embryo)को भित्री भाग बढेर गर्भस्थ शिशु(fetus) बन्छ, र त्यसको बाहिरी भागचाहिँ गर्भनाल र प्लेसेन्टामा परिवर्तन हुन्छ । गर्भाशयमा निषेचित अण्डा प्रत्यारोपण भएपछि भ्रूणको बाहिरी कोषिकाहरू फोकाजस्तो आकारमा परिणत हुन्छन् । त्यसपछि प्रोटिज इन्जाइम उत्पादन गरेर भ्रूण गर्भाशयको भित्तामा पस्छ र रगतका नलीहरू खोजेर तन्तु निर्माण गर्छ । रूख बढ्दैजाँदा त्यसका जराहरू पनि बढ्छन्, योजस्तै बच्चा हुर्कंदैजाँदा प्लेसेन्टाले पनि गर्भभित्र धेरै रक्त नलीहरू बनाउँदैजान्छ ।
गर्भधारणको सुरुमा भ्रूण र गर्भाशयको सम्बन्ध कमजोर हुन्छ । तर प्लेसेन्टा पूर्ण रूपमा विकास भएपछि, डुङ्गामा बाँधिएको लङ्गरजस्तै भ्रूण पनि आमासँग सुरक्षित रूपमा जोडिन्छ । गर्भधारणको १२औँ हप्तापछि, प्लेसेन्टा पूर्ण रूपमा विकास हुन्छ र गर्भपतनको दर नाटकीय रूपमा घट्छ । तर कङ्गारु र कोअला भालुमा चाहिँ प्लेसेन्टाको विकास कमजोर हुने भएकोले तिनीहरूले समयभन्दा पहिले बच्चा जन्माउँछन्, र एउटा निश्चित अवधिसम्म बच्चालाई आफ्नो थैलो(पाउच)मा बोक्छन् ।

भ्रूणको नाभिबाट सुरु हुने गर्भनाल प्लेसेन्टासँग जोडिएको हुन्छ । यसले आमा र बच्चालाई सिधै जोड्नुका साथै उनीहरूबीच सामग्री आदानप्रदान गर्ने माध्यमको रूपमा काम गर्छ । प्लेसेन्टाको माध्यमद्वारा भ्रूणले अक्सिजन र पोषक तत्त्वहरू प्राप्त गर्छ, र भ्रूणबाट निस्कने कार्बोन्डाइअक्साइडजस्तो अनावश्यक पदार्थलाई आमाकहाँ पुऱ्याउँछ । तर रोचक कुराचाहिँ एन्टिबडिज हो । जन्मेको पहिलो छ महिनामा, बच्चाहरूलाई दादुरा वा बिफर जस्ता संक्रामक रोगहरू सजिलै लाग्दैनन्, किनभने तिनीहरू आमाबाट एन्टिबडिज लिएर जन्मेका हुन्छन् । तर सबै मातृ एन्टिबडिजहरू प्लेसेन्टाबाट जान नसक्ने भएकोले, तिनीहरूमा लहरे खोकी वा चिकेनपक्स जस्ता रोगहरूसँग लड्ने प्रतिरक्षा प्रणाली हुँदैन ।
प्लेसेन्टाले अन्य सामग्रीका साथै एन्टिबडिजहरू पनि छनौट गरेर बच्चासम्म पुऱ्याउँछ । अर्को शब्दमा भन्नुपर्दा, यसले फिल्टरको भूमिका निर्वाह गर्छ, यसले आवश्यक तत्त्वहरूलाई भ्रूणसम्म पुऱ्याउन र हानिकारक तत्त्वहरूलाई रोक्न मद्दत गर्दछ । प्लेसेन्टाले गर्दा, रगतको प्रकार(blood type) फरक भए पनि भ्रूणलाई आमाको शरीरमा बाँच्न कुनै समस्या हुँदैन । किनभने प्लेसेन्टाले रातो रक्त कोषिकाहरू र एन्टिबडिजलाई छान्दछ ।1 प्लेसेन्टाकै कारण आमालाई ब्याक्टेरियाको संक्रमण भए पनि बच्चा सङ्क्रमित हुँदैन ।
१. ABOको प्रकार पहिचान गर्ने एन्टिबडिजहरू प्लेसेन्टामार्फत जान सक्दैनन्, तर Rhको प्रकार पहिचान गर्ने एन्टिबडिजहरूचाहिँ प्लेसेन्टामार्फत जान सक्छन् । तसर्थ, Rh नेगेटिभ भएको आमाले Rh फ्याक्टर पोजिटिभ भएको बच्चा जन्माउँदा समस्या हुन सक्छ ।
तर केही औषधिहरू अथवा स-साना भाइरसहरूले भ्रूणमा गहिरो प्रभाव पार्न सक्छ । उदाहरणको लागि, निकोटिन र अल्कोहलजस्ता बोसोमा घुलन हुने साना अणुहरू प्लेसेन्टाको माध्यमद्वारा भ्रूणमा पुग्न सक्छन्, जसका कारण सावधानी अपनाउनुपर्छ ।
गर्भावस्थाको सातौँ महिनादेखि भ्रूणले उज्यालो र छायाँलाई महसुस गर्न सक्छ । आमाले प्रकाश महसुस गर्दा, मेलाटोनिनको स्राव कम हुन्छ, र यस्तो परिवर्तन प्लेसेन्टाद्वारा भ्रूणमा प्रवाह हुन्छ । अर्थात् भ्रूणले आमाको शरीर बाहिरको प्रकाशलाई नदेखे पनि आमाले देखेको भरमा महसुस गर्न सक्छ ।
प्लेसेन्टाले केवल माध्यमको भूमिका मात्र निर्वाह गर्दैन तर आमा र भ्रूणका लागि आवश्यक पोषक तत्त्व र हार्मोनहरू पनि उत्पादन गर्छ । आमाबाट प्राप्त पोषक तत्त्वहरू भ्रूणमा ग्लाइकोजनको रूपमा सञ्चित हुन्छ, र प्लेसेन्टाको माध्यमद्वारा भ्रूणलाई पर्याप्त मात्रामा यी तत्त्वहरू उपलब्ध गराइन्छ । त्यसैले आमाबाट पोषक तत्त्वको आपूर्ति नियमित नभए पनि भ्रूणले स्थिर रूपमा पोषक तत्त्व प्राप्त गर्न सक्छ । प्लेसेन्टाले भ्रूणलाई कोलेस्ट्रोल र फ्याटी एसिडका साथै ग्लाइकोजनको संयोजन पनि प्रदान गर्छ ।

अनि यसले गर्भावस्थाको पहिलो त्रैमासिकमा गर्भावस्था कायम राख्ने मावन कोरिओनिक गोनाडोट्रोपिन [hCG] स्राव गर्छ । गर्भावस्थाको दोस्रो त्रैमासिकमा प्रवेश गर्दा, यसले ठूलो मात्रामा प्रोजेस्टेरोन र एस्ट्रोजेन स्राव गर्छ जसले गर्भाशयको विकास गर्छ । यसले रक्तसञ्चारलाई सहज बनाउनुका साथै गर्भाशयलाई संकुचित हुनबाट रोक्छ, र भ्रूणलाई सुरक्षित रूपमा बढ्न मद्दत गर्छ । प्रसवको समय निर्धारण गर्ने हर्मोनहरू पनि प्लेसेन्टाबाट स्राव हुन्छन् ।
आमाको शरीरमा प्लेसेन्टा कसरी नकुहिकन रहन सक्छ भन्ने कुरा लामो समयदेखि रहस्य रहेको छ । शरीरलाई सुरक्षित राख्नका लागि प्रतिरक्षा प्रणालीले सामान्यतया फरक जीन भएका पदार्थहरूलाई आक्रमण गर्दछ । त्यसैले आमाबाट आधा र भ्रूणबाट आधा रहेको प्लेसेन्टा कसरी अस्तित्वमा रहन सक्छ भनेर बुझ्न गाह्रो छ ।
रिडिङ विश्वविद्यालयका प्रोफेसर फिल लोरीले, आमाको प्रतिरक्षा प्रणालीको आक्रमणबाट बच्न प्लेसेन्टाले परजीवीजस्तै कार्य गर्ने भएकोले यो सम्भव भएको हो भन्ने कुरा बताए । परजीवीहरूको हकमा, तिनीहरूको कोषिकाहरूको सतहमा हुने फोस्फोकोलिन नामक अणुहरूले मानिसको प्रतिरक्षा प्रणालीलाई झुक्काएर आफ्नै कोषिकाहरूजस्तो पहिचान गराउँछन् । त्यसै गरी प्लेसेन्टामा निर्माण भएका अधिकांश प्रोटिनहरूमा फोस्फोकोलाइनहरू हुन्छन्, जुन आमाको शरीरको प्रतिरक्षा प्रणालीलाई झुक्याउने रणनीति स्वरूप प्रयोग गरिन्छ । प्लेसेन्टाचाहिँ केवल भ्रूणको लागि मात्र बनेको अङ्ग भएकोले बच्चा जन्मिएपछि आमाको शरीरबाट निस्किन्छ र प्रसवपछि यसको कार्य समाप्त हुन्छ ।
आफैले केही गर्न नसक्ने भ्रूण आमाको गर्भमा हुर्कन्छ र आत्मविश्वासी जीवको रूपमा जन्मिन्छ । योचाहिँ आमा र बच्चालाई जोड्ने गर्भनाल र प्लेसेन्टाले गर्दा सम्भव भएको हो । आमाको शरीरले गर्भमा भएको बच्चालाई कुनै शर्तविना त्यसको जीवन धान्न आवश्यक सबै कुरा दिन्छ र अनावश्यक चीजहरूलाई आफैमा समेट्छ ।
यस संसारमा जन्मेका सबै मानिसहरूमा गर्भनालको चिन्ह हुन्छ जसले उनीहरू आफ्नी आमासँग एक थिए भन्ने कुरा देखाउँछ । वास्तवमा त्यो कुरा नै नाभि हो । जीवन सुरु भएको क्षणदेखि आमा र बच्चा एक-अर्कासँग जोडिएका हुन्छन्, उनीहरूको सम्बन्ध अविभाज्य हुन्छ ।
- सन्दर्भ
- लि ग्वाङ ग्यु “세종대왕과 태반의 수수께끼” [Sejong the Great and the Mystery of Placenta]. दोङ-ए विज्ञान, डिसेम्बर ३, सन् २०१०
- गिम जङ हुन “엄마와 아기의 경계선, 태반의 신비” [Boundary between Mom and Baby, Mystery of the Placenta]. KISTIको विज्ञान सुगन्ध, सन् २००७ डिसेम्बर ३
- लि, उन्ही 하리하라의 바이오 사이언스 [Hari Hara’s Bioscience]. कोरिया : सलिमफ्रेन्ड्स, सन् २००९
- पार्क, सि-पिल 줄기세포 생명공학의 위대한 도전 [Great Challenge of Stem Cell Biotechnology]. कोरिया : दोङ्गा M&B, सन् २००५