WATV.org is provided in English. Would you like to change to English?

भाग्य

24,705 भ्यु

“भविष्यमा कुनै निश्चित व्यक्ति अथवा थोकमा अवश्य नै घट्ने घटना अथवा भविष्यमा हुने कुरालाई नियन्त्रण गर्न सक्ने गुप्त ऊर्जा ।”

यो नै ‘भाग्य’को परिभाषा हो । सजिलोसँग भन्ने हो भने योचाहिँ मानिसको शक्तिद्वारा परिवर्तन हुन नसक्ने कुरा हो ।

कुनै एक जना भिखारी थियो । त्यस भिखारीले अन्य धनी र महान् व्यक्तिहरूको भन्दा फरक भाग्य लिएर जन्मेको आफ्नो परिस्थितिबारे कुनै एक जना बुद्धिमान् मानिसलाई सोधेछ,

“मेरो भाग्य किन उनीहरूको भन्दा फरक भएको होला ?”

तब ती बुद्धिमान् मानिसले “तिम्रो भाग्य उनीहरूको भन्दा फरक छैन । धनी मानिस र महान् व्यक्तिहरू पनि तिम्रो जस्तै भाग्य लिएर जन्मिएका हुन्छन्” भनेर जवाफ दिएछन् ।

उनको कुरा सुनेर त्यो भिखारीमा अलि आशा पलाउन थालेछ, अनि त्यो आफ्नो भाग्य परिवर्तन हुने आशा गर्दै जिएछ । त्यसपछि उसको मृत्यु भएछ ।

त्यो भिखारी मरेपछि ती बुद्धिमान् मानिसका चेलाहरूले तिनलाई सोधेछन्, “त्यो भिखारी त अन्त्यमा भिखारी नै भएर मऱ्यो त । तपाईंले किन उसलाई तिम्रो भाग्य धनी र महान् व्यक्तिहरूको भन्दा फरक छैन भन्नुभएको ?”

तब ती बुद्धिमान् मानिसले यसरी उत्तर दिएछन्,

“चाहे त्यो भिखारी होस् अथवा कुनै धनी मानिस, यस संसारका सबै मानिसहरूको भाग्य उस्तै हो । सबैले अन्त्यमा गएर मृत्यु भोग्छन्, होइन र ?”

यो संसारमा जन्मेको जो कोही होस्, मृत्यु भन्ने भाग्यबाट तर्केर जान सक्दैन । बाइबलमा पनि ‘मृत्यु’ नै यो संसारमा जन्मिएका सबै मानिसको निर्धारित भाग्य हो भनेर जानकारी दिइएको छ ।

“जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ …” हिब्रू ९:२७

त्यसोभए मानिस किन मर्नुपर्ने भाग्य लिएर जन्मेको होला ?

“किनकि हरेक जीवित प्राण मेरै हो– बुबा र छोरा दुवै एकैजस्तै मेरा हुन् । जुन प्राणले पाप गर्छ, त्यही मर्छ ।” इज १८:४

“किनकि पापको ज्याला मृत्यु हो …” रोम ६:२३

मानव-जातिले मृत्यु भन्ने भाग्य लिएर जन्मनुको कारणचाहिँ स्वर्गमा पाप गरेकोले हो । त्यो पापको ज्याला नै मृत्यु हो । मानिसको शक्तिद्वारा यसलाई कदापि परिवर्तन गर्न सकिँदैन । तर परमेश्वरले दयालाग्दा मानिसहरूको भाग्य परिवर्तन गरिदिनुभयो । मर्नुबाहेक अर्को विकल्प नभएका हामीहरूको भाग्यलाई परमेश्वरले अनन्तकाल जिउन सकिने भाग्यमा परिवर्तन गरिदिनुभयो ।

“उहाँले हामीलाई गर्नुभएको प्रतिज्ञा यही हो– अनन्त जीवन ।” १ यूह २:२५

मर्नुपर्ने भाग्य लिएर यो संसारमा जन्मेका हामीलाई परमेश्वरले अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो । अनि त्यो प्रतिज्ञा कोद्वारा दिइनेछ भन्ने कुरा सजिलै बुझ्न सक्ने गरी सम्पूर्ण थोकलाई आफ्नो इच्छाअनुसार सृष्टि गर्नुभयो ।

“हे हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंले नै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती अस्तित्वमा आए, र तिनको सृष्टि भयो ।” प्रका ४:११

यो पृथ्वीमा भएका सम्पूर्ण जीवित प्राणीहरूले आमाद्वारा जीवन पाउँछन् । यहाँ हाम्रो आत्माको जीवन पनि माताद्वारा प्राप्त गर्न सकिन्छ भन्ने परमेश्वरको इच्छा जानकारी दिइएको छ ।

“तर माथि(स्वर्ग)को यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् … अब हे भाइ हो, इसहाकजस्तै हामी पनि प्रतिज्ञाका सन्तान हौं … यसकारण भाइ हो, हामी कमारीका होइनौं, तर स्वतन्त्र स्त्रीका सन्तान हौं ।” गला ४:२६-३१

परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त जीवनचाहिँ केवल स्वर्गीय माताद्वारा प्राप्त गर्न सकिन्छ । हाम्रो मृत्युको भाग्यलाई अनन्तकाल बाँच्न सक्ने भाग्यमा परिवर्तन गर्न सक्ने साँचो नै केवल स्वर्गीय माता परमेश्वरकहाँ जानु हो ।

पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । प्रका २२:१७