पहिले गएर आफ्नो भाइसँग मिलाप गर

मत्ती अध्याय ५

1048 हेरेको संख्या

येशूज्यू डाँडामा उक्लनुहुँदा चेलाहरू उहाँकहाँ आउँछन् । उहाँले धन्य(आशिषित) मानिसको विषयमा, व्यवस्था, सद्गुण र सन्तले लिनुपर्ने शिष्टाचारको विषयमा विस्तृत रूपले शिक्षा दिन लाग्नुहुन्छ ।

“तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने तिम्रो भेटी त्यही वेदीको सामु छोड, र जाऊ । पहिले आफ्नो भाइसँग मिलाप गर, र त्यसपछि आएर आफ्नो भेटी चढाऊ ।”

“आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर, र तिमीहरू स्वर्गमा हुनुहुने आफ्ना पिताका छोराहरू हुनेछौ ।”

“यदि तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने तिमीहरूलाई के इनाम छ ? तिमीहरूले आफ्ना दाज्यू-भाइहरूलाई मात्र अभिवादन गर्छौ भने अरूहरूले भन्दा बढी के गऱ्यौ र ? के अन्यजातिहरूले पनि त्यसै गर्दैनन् र ? यसकारण जस्तो तिमीहरूका स्वर्गमा हुनुहुने पिता सिद्ध हुनुहुन्छ, तिमीहरू पनि त्यस्तै सिद्ध हुनुपर्दछ ।”

बाइबलको केन्द्रबिन्दु नै प्रेम हो । जस्तो लेखिएको छ, “प्रेम नै व्यवस्थाको पूर्णता हो” (रोम १३:८-१०) । यदि हामी परमेश्वरको आज्ञा र व्यवस्था एउटा पनि नछुटाई पालन गर्छौं, तर हामीमा प्रेमचाहिँ छैन भने त्यसबाट केही लाभ हुँदैन । येशूज्यूले सिकाउनुभएको प्रेमचाहिँ नजिकका दाजुभाइ, दिदीबहिनीदेखि लिएर छरछिमेक र शत्रुसम्म पुग्नेजत्तिको फराकिलो छ । परमेश्वरको प्रेम ७ अरब मानव-जातिमाझ बेजोडले फैलिरहेको यो समयमा, कतै आफूले चाहिँ वरिपरिका दाजुभाइ, दिदीबहिनीलाई पूर्ण रूपले प्रेम गरेको छुइनँ कि भनेर आफैलाई फर्किहेरौं । येशूज्यूले, यदि तिम्रो हृदयमा तिम्रा भाइ-बहिनीको विरुद्ध केही छ भने तिम्रो भेटीलाई समेत वेदीको सामु छोडेर गई पहिले उनीहरूसँग मिलाप गर भन्नुभएको छ ।

सोच्ने तरिका फरक भएकोले अथवा घृणा, डाह र ईर्ष्या जस्ता पापमय स्वभावका कारण कुनै दाजुभाइ, दिदीबहिनीसँग मनमुटाव छ भने माफी माग्ने, मिलाप गर्ने, माफ गरिदिने र पूर्ण प्रेम कायम राख्ने समय अहिले नै हो । हामीप्रतिको प्रेमले गर्दा क्रूसको असह्य कष्टसमेत सहनुभएका ख्रीष्टको गहिरो चाहना नै यही हो ।