WATV.org is provided in English. Would you like to change to English?

बुबा-आमाबाट पाइने आयु

981 हेरेको संख्या

अहिले सुपर आयु समूह समाज आउँदैछ, र स्वास्थ्य तथा दीर्घायुसम्बन्धी धेरै समाचारहरू बाहिर आइरहेका छन् : १२० वर्षभन्दा बढी बाँचेर गिनिज वर्ल्ड रेकर्डमा सूचीकृत मानिसहरूको दीर्घायुको रहस्य, विश्वका दीर्घायु गाउँ र गाउँलेहरूको जीवनपद्धति, जापानमा २६ वर्षसम्म बाँचेर हालसालै मरेको कुकुर इत्यादि ।

अरूको तुलनामा अलिकति लामो जीवन जिउँदा मानिसहरूको ध्यानार्कषण हुनुको कारण के होला ? किनभने दीर्घायुचाहिँ मानव-जातिको साझा चाहना हो । सभ्यताको विकास उल्लेखनीय रूपले भए तापनि विज्ञानले समेत अझै सुल्झाउन नसकेको रहस्य नै जीवन हो भन्ने कुरा यसबाट प्रमाणित हुन्छ ।

जीवन भनेको महसुस गर्न सजिलो तर परिभाषित गर्न निकै गाह्रो चीज हो । जीवनचाहिँ जीवित प्राणीहरू जिउँदो हुँदा हुने एउटा साझा गुण हो, अनि यसलाई सामान्यतया चयापचय(metabolism1), पुनरुत्पत्ति(regeneration) र विकास जस्ता विभिन्न विशेषताको रूपमा परिभाषित गरिन्छ । तर खास गरी जीवनमा शरीर क्रिया विज्ञान, भौतिक विज्ञान, जीव रसायनशास्त्र, आणविक जीवविज्ञान जस्ता विभिन्न वैज्ञानिक क्षेत्रहरूको मिश्रण भएकोले यसको परिभाषा पूर्ण वैज्ञानिक छ भन्न गाह्रो छ, यसको साथै महत्त्वपूर्ण घटनाक्रम एउटा पक्षबाट मात्र देख्न सकिँदैन । त्यसैले त शब्दकोशहरूमा पनि जीवनबारे “जन्म र मृत्युबीचको अवधि” भन्ने सहायक व्याख्या मात्र हुन्छ । जीवनको सुरु र अन्त्य भएकोले यसको एउटा सीमा छ । यो नै यसको सबैभन्दा विशेष गुण हो ।

1) चयापचय(metabolism) भनेको पाचन, श्वासप्रश्वास, प्रकाश संश्लेषण जस्ता जीवन व्यवस्थित गर्न जीवित प्राणीको शरीरभित्र हुने सम्पूर्ण रासायनिक प्रक्रिया हो ।

त्यसोभए जीवनको सीमितता कसरी निर्धारण हुन्छ होला ? हरेक प्राणीको आ-आफ्नै आयु अर्थात् जीवनको सीमित समय हुन्छ । सबैभन्दा छोटो आयु भएको मेफ्लाइ(mayfly) कीरा इमेगो(imago) बनेको केही घण्टादेखि लिएर केही दिनसम्म बाँच्छ । हम्सटर(एक प्रजातिको मुसा) करीब २ वर्ष बाँच्छ, कुकुर करीब १२-१६ वर्ष, गाई करीब २० वर्ष, हात्ती करीब ६०-७० वर्ष र कछुवा २०० वर्षभन्दा बढी बाँच्छ । उस्तै वातावरण र पारिस्थितिक अवस्थामा जिए तापनि प्रजातिअनुसार तिनीहरूको आयु भिन्नाभिन्नै हुन्छ । योचाहिँ तिनीहरूको आयु निर्धारण गर्ने जीन फरक भएकोले गर्दा हो । “प्याजको बोटमा गुलाफ फल्दैन” भन्ने भनाइजस्तै बुबा-आमाका वंशाणुगत विशेषता र गुणहरू सन्तानमा हस्तान्तरण हुन्छ ।

बच्चा आफ्ना बुबा-आमाजस्तो देखिनु स्वाभाविक र आम कुरा हो । तर यसको गोपनीयताचाहिँ कोषिकाको DNAमा रहेको हुन्छ भनेर संसारले थाहा पाएको लामो समय भएको छैन । बुबा-आमाको जैविक विशेषताहरूचाहिँ जीन प्रजनन कोषिका(शुक्रकीट/डिम्ब)द्वारा अर्को पुस्तामा हस्तान्तरण हुन्छ । जनावरहरूले पनि आफ्ना बुबा-आमाबाट जीन पाउने भएकाले बिरालोले कुकुर जन्माउनु अथवा गाईले बछेडा जन्माउनु भनेको असम्भव कुरा हो । बच्चाले आफ्नो बुबा-आमाबाट प्राप्त गर्ने विभिन्न जीनले उचाइ, वर्ण, केशको आकार मात्र होइन, तर यसले व्यक्तित्व र रोग पनि निर्धारण गर्छ । आयु पनि बुबा-आमाबाट प्राप्त गरेको जीनसँग सम्बन्धित हुने भएकोले कुकुरले जति लामो समय बाँचे पनि औसतमा त्यो मानव-जाति बाँचेजति बाँच्न सक्दैन ।

2) जैविक विशेषताहरूचाहिँ बुबा-आमाबाट प्राप्त गरेका दृश्य गुणहरू अथवा जीवको कुनै लक्षण/स्वभाव हो । जस्तै आँखाको रङ र शैक्षिक कौशलता ।

मानव DNAको बारेमा विस्तृत रूपमा जान्नलाई गरिएको वैज्ञानिक अनुसन्धान परियोजना– मानव जीनोम परियोजनाद्वारा, वैज्ञानिकहरूले प्रत्येक मानिसको आयु पनि उसको जीनको नक्सामा कोरिएको हुन्छ भनेर सोच्न थाले । १० वर्ष अघिसम्म मात्र पनि मानिसको आयुचाहिँ उसको जीवनशैलीबाट ८०% र जीनबाट २०% निर्धारण हुन्छ भनेर स्वाभाविक रूपले विश्वास गर्ने गरिन्थ्यो । तर सन् १९९०को अन्तिमदेखि भने जीनको अस्तित्व नै दीर्घायुको निम्ति जिम्मेवार हुन्छ भनेर पुष्टि गर्ने अनुसन्धानका परिणामहरूको वृद्धिले, आनुवंशिक कारकलाई जोड दिन थाल्यो ।

3) मानव जीनोम परियोजना : जीन र गुणसूत्रको मिश्रित शब्द जीनोमले सम्पूर्ण आनुवंशिक जानकारी भन्ने अर्थ बोकेको छ । मानव जीनोम परियोजना एक बृहत् अन्तर्राष्ट्रिय विज्ञान कार्यक्रम हो जसले मानव DNAको ३ अरब आधारहरू पत्ता लगाएर DNAमा जीन जाँच गर्दै मानव आनुवंशिक मानचित्र बनाउँछ । यो प्रोजेक्ट सन् १९९०मा सुरु भएर सन् २००३मा समाप्त भयो, तर आनुवंशिक मानचित्रका धेरै भागहरू अझै पनि खाली छ । आनुवंशिक मानचित्रका सबै खाली भागहरू भरेपछि, आनुवंशिक रोग लाग्नुको कारण र बच्ने तरिका वा उपचार पत्ता लगाउन ठूलो सहयोग हुनेछ ।

हालसालैको अनुसन्धान अझ अगि बढेको छ, र दीर्घायुमा वातावरणीय कारकहरूको भन्दा आनुवंशिक कारकहरूको बढी प्रभाव हुन्छ भन्ने कुरा पत्ता लागेको छ । सन् २०११ अगस्टमा अल्बर्ट आइन्स्टाइन मेडिकल कलेजमा अमेरिकाको जेरोन्टोलोजिकल समाजको पत्रिकामा प्रकाशित अनुसन्धान टोलीको रिपोर्टअनुसार औसत आयु १०० वर्ष भएका ५०० जना यहूदीहरूको जीनमा दीर्घायुका ३ वटा साझा जीन पत्ता लागेको थियो । चाखलाग्दो कुराचाहिँ, त्यसको एक तिहाइमा राम्रो स्वास्थ्यसँग असम्बन्धित गुणहरू थिए, अर्थात् आयुमा निर्णायक कारक नै जीन हुन्छ भन्ने कुरा हो ।

हरेक बुबा-आमाले सकेसम्म आफ्ना बच्चाहरूमा राम्रो उचाइ, बुद्धि, स्वास्थ्य र दीर्घायुको जीन हस्तान्तरण गर्न चाहन्छन्, तर आफूसँग भएको जीन दिनुबाहेक अरू कुनै विकल्प छैन । केही मानिसहरू दीर्घायुको जीन भएको स्वस्थ परिवारमा जन्मिएर १०० वर्षभन्दा बढी जिउँछन् । कुनै मानिसहरू आफ्ना बुबा-आमाबाट रङ अन्धोपन वा हेमोफिलिया जस्ता आनुवंशिक रोग पाएकोले कठिन जीवन जिउँछन् । यसकारण वैज्ञानिकहरूले जीनको बारेमा अध्ययन गर्दै रोगहरू निको पार्न प्रयत्न गरिरहेका छन् । यति मात्र होइन उनीहरूले बुढेसकाल सुस्त गराउन र जीवन लम्ब्याउन सक्रिय अनुसन्धान पनि सञ्चालन गर्दैछन् ।

तर सयौँ जीनहरू बुढेसकालतिर आउँछ जस्तो लाग्छ । त्यसैले बुढेसकालको संयन्त्र खोज्नु सजिलो छैन । बुढेसकालको गतिचाहिँ अङ्ग वा तन्तुबीच अथवा तन्तुहरूभित्र पनि सबै फरक हुने भएकोले यो चुनौतीपूर्ण काम हो । आनुवंशिक संशोधनद्वारा १० नील(१,००० खरब) तन्तुहरू मिलाउनु भनेको असम्भव कुरा हो ।

कोषिका बुढेसकालको अनुसन्धानका संस्थापक लिओनार्ड हेफ्लिकका अनुसार, कोषिकाहरू सदाकाल सङ्ख्यामा बढ्दैनन्, तर तिनीहरूको जीवन सीमित हुन्छ । उनको मानव कोषिका प्रणालीको परीक्षणअनुसार भ्रुणिक कोषिका १०० चोटि टुक्रिएपछि रोकिन्छ भने बूढो मानिसको कोषिकाचाहिँ केवल २० चोटि टुक्रिन्छ । कोषिकामा हाम्रो समय नाप्ने एउटा जीवन घडी हुन्छ, र मृत्युलाई नकार्न सकिँदैन । केही समयपछि जीवशास्त्रीहरूले कोषिका टुक्रिँदा छोटो हुँदैजाने ‘टेलोमियर’ पत्ता लगाए । शरीरमा भएको ‘जीवन घडी’ पछाडि फर्केर जान सक्दैन । यो पृथ्वीमा जीवित प्राणीहरू सीमित जीवन लिएर जन्मन्छन्, बूढो हुन्छन्, र अन्तिममा मृत्यु भोग्छन् ।

गुणसूत्रको अन्तिममा रहने टेलोमियरले DNAलाई नष्ट हुनबाट सुरक्षा गर्दै पुनरुत्पत्ति हुन मद्दत गर्छ । कोषिका टुक्रिँदा यो छोटिँदैजान्छ । यो पूर्ण रूपमा लोप भएपछि कोषिका विभाजन समाप्त हुन्छ, र कोषिका मर्छ । यसकारण टेलोमियरलाई ‘जीवन घडी’ अथवा ‘बुढेसकाल घडी’ पनि भनिन्छ । चम्किलो भागचाहिँ टेलोमियर हो ।

बाइबलमा परमेश्वरबाट जन्मिएका मानिसहरूमा परमेश्वरको बीउ हुन्छ भनिएको छ (१ यूह ३:९) । अर्को शब्दमा भन्ने हो भने परमेश्वरले तिनीहरूलाई उहाँको बीउ अर्थात् जीन दिनुभयो । परमेश्वरको जीन प्राप्त गरेकाहरू परमेश्वरका सन्तान हुन्छन्, र परमेश्वर तिनीहरूका बुबा-आमा बन्नुहुन्छ । परमेश्वरमा सीमित जीवन होइनकि अनन्त जीवन छ । त्यसोभए परमेश्वरका सन्तानहरूले कस्तो जीवन पाउनेछन् होला ? परमेश्वरको दीर्घायुको जीन अर्थात् अनन्त जीवनको जीन प्राप्त गर्ने तरिका के होला ?