करारको महत्त्व

18,080 भ्यु

मानव जीवनमा सम्पूर्ण कुराहरू प्रतिज्ञाद्वारा कायम हुन्छ । कार्यालयको जीवन, वैवाहिक जीवन, एउटा सामान किनबेचको कारोवारजस्ता हरेक पक्षहरू प्रतिज्ञाद्वारा पूरा भइरहेको छ । प्राचीन समयमा वस्तु–विनिमय प्रणालीद्वारा गरिने कारोबार अहिले आएर मुद्रा, चेक, क्रेडिट कार्ड इत्यादिको प्रयोगद्वारा गर्ने गरिन्छ । एउटै कागज भए तापनि कुनै कागज सामान्य टिस्यू पेपरको रूपमा प्रयोग भइरहेको छ भने कुनैचाहिँ सय रुपैयाँ, एक हजार रुपैयाँ गरी विभिन्न मूल्यहरूको रूपमा प्रयोग भइरहेको छ । योचाहिँ मानिस–मानिसबीच सम्झौता र प्रतिज्ञा भएकोले गर्दा हो । परमेश्वर र हामीबीच पनि यस्तै प्रतिज्ञा कायम छ ।

१. बप्तिस्माद्वारा कायम भएको परमेश्वर र परमेश्वरका प्रजाबीचको करार

हामीले सुरुमा सत्यता ग्रहण गर्दा लिएको बप्तिस्माचाहिँ परमेश्वर र परमेश्वरका प्रजाबीचको करारको चिन्ह हो । हामीले सामान्य दिनमा नुहाउँदा प्रयोग गर्ने पानी र बप्तिस्माको निम्ति प्रयोग गर्ने पानी एउटै भए तापनि बप्तिस्मा लिँदाको पानीले अझ विशेष अर्थ बोकेको छ ।

पुरानो करारको समयमा परमेश्वरले खतनाको विधिलाई परमेश्वर र परमेश्वरका प्रजाबीचको चिन्हको रूपमा तोकिदिनुभएको थियो भने(उत १७:१०–१४), नयाँ करारको समय अर्थात् अहिले– चाहिँ येशूज्यूले बप्तिस्माको विधिलाई परमेश्वर र परमेश्वरका प्रजाबीचको मुक्तिको चिन्ह, करारको रूपमा तोकिदिनुभएको छ(कल २:११, १ पत्र ३:२)। अनि यो करार नै अपरिवर्तनीय अनन्तको करार हो भन्ने कुरा प्रमाणित गरिदिनको निम्ति येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने निस्तार–चाडको रोटी र दाखमद्य खान र पिउन लगाउनु भएर हामीहरू परमेश्वरका सन्तान हौं भन्ने अनन्त करारको चिन्ह हाम्रो शरीरभित्र छोडिदिनुभएको छ (यूह ६:५३-५४, मत्ती २६:१७-२८) ।

हामीहरू अपरिवर्तनीय प्रतिज्ञाले बाँधिएकोले गर्दा बाइबलमा हामीलाई प्रतिज्ञाको सन्तान भनेर गवाही दिइएको छ (गला ४:२८)।

२. परमेश्वरको आज्ञा पालन गर्नेहरूलाई मात्र दिइने स्वर्गको राज्य

हामीले बप्तिस्माद्वारा परमेश्वरबाट विशेष प्रतिज्ञा र आशिष्‌ पाएका छौं । तर यदि हामीले परमेश्वरसँगको करारप्रति रमाहट गरेनौं र उहाँको वचनमा आज्ञाकारी भएनौं भने अन्ततः हामीले परमेश्वरको आशिष् गुमाउनेछौं । पुरानो करारको समयको उजाड-स्थानको इतिहासद्वारा यो कुरा अध्ययन गरौं ।

परमेश्वरले मोशाद्वारा इस्राएलीहरूसँग करार स्थापना गर्नुभएर तिनीहरूलाई मिश्रबाट बचाउनुभयो र प्रतिज्ञा गरिएको भूमि कनानमा डोऱ्याउनुभयो । त्यो समयमा, परमेश्वरले तिनीहरूलाई तुरुन्तै कनानमा प्रवेश गराउनुभएन, तर तिनीहरूमा परमेश्वरको आज्ञा मान्ने हृदय छ कि छैन भनी जान्नलाई ४० वर्षसम्म उजाड-स्थानमा यात्रा गराउनुभयो (व्य ८:२-१६) । त्यो समयमा परमेश्वरले तिनीहरूलाई शबाथ-दिन लगायत विभिन्न किसिमका आज्ञाहरू दिनुभयो । तर तिनीहरूले परमेश्वरको नियम, व्यवस्था र विधिहरू पालन गरेनन् जसले गर्दा उजाड-स्थानको यात्रामै तिनीहरूमध्ये धेरै जना नष्ट भए (इज २०:१०-१३)। परमेश्वरको वचनलाई पूर्ण रूपमा पछ्याएका यहोशू र कालेब, अनि उजाड–स्थानमा जन्मिएका दोस्रो पुस्ता मात्रै प्रतिज्ञा गरिएको कनानमा प्रवेश गर्न सके (गन्ती १४:६–३८) ।

इस्राएलीहरू कनानमा प्रवेश गरेको इतिहासचाहिँ हामीहरू स्वर्गीय कनान अर्थात् स्वर्गीय राज्यमा प्रवेश गर्ने कुराको अगमवाणी हो जुनचाहिँ हाम्रो शिक्षाको निम्ति लेखिएको हो (हिब्रू ३:१८-१९, १ कोर १०:१-११)। इस्राएलीहरूले परमेश्वरको प्रतिज्ञा पाए पनि परमेश्वरको आज्ञामा अनाज्ञाकारी भएका कारण अन्ततः तिनीहरूले परमेश्वरको आशिष्‌ प्राप्त गर्न सकेनन् । स्वर्ग प्रवेश नगरुञ्जेल यो इतिहासलाई हृदयमा खोपेर परमेश्वरको नियम र व्यवस्थाहरू लगनशील भएर पालन गर्ने हामीहरू हुनुपर्छ ।

समीक्षात्मक प्रश्न
नयाँ करारको समयमा परमेश्वर र परमेश्वरका प्रजाबीचको करारको चिन्ह के हो ?
उजाड-स्थानको इतिहासलाई हेर्दा कस्ता मानिसहरू स्वर्ग जान सक्छन् ?