जीवनबाट सुरु हुने जीवन

20,033 भ्यु

कुनै समयमा चित्र कोर्न र कीराहरू हेर्न असाध्यै मन पराउने एक जना केटी थिइन् । ती केटीले रूखको हाँगामा टाँसिएको एउटा वस्तु देखिन् जुन कुनै ढुङ्गा वा बीउजस्तो देखिन्थ्यो । उनले महिनौसम्म त्यो वस्तुमा आएको परिवर्तन अवलोकन गरिन् र त्यसको चित्र बनाइन् । वसन्त ऋतु आएसँगै त्यो वस्तु नरम पखेटाका साथ आकाशमा उड्यो । वास्तवमा त्यो वस्तु प्युपा थियो जुन पुतलीको स्वरूपमा परिवर्तन भयो । प्युपालाई पहिलो पटक जादुई रूपमा परिवर्तन भएको देख्ने उक्त केटी मेरियन थिइन्, जो १७औँ शताब्दीकी जर्मन चित्रकार र पहिलो महिला कीटवैज्ञानिक थिइन् ।

यो वर्तमान समयमा कुरुप देखिने झुसिल्कीरा सुन्दर पुतलीमा परिवर्तन हुन्छ भन्ने कुरा सबैलाई थाहा छ तर सयौँ वर्षअघि कसैलाई पनि थाहा थिएन । मानिसहरूले फोहोरबाट निस्कने झुसिल्कीरालाई ‘शैतानको फल’ भन्थे, र पुतलीलाई चाहिँ वसन्त ऋतुमा आकाशबाट झरेर शरद ऋतुमा गायब हुने सानो चरा भन्थे । उनीहरूले अण्डा, झुसिल्कीरा, प्युपा र पुतलीलाई फरक-फरक प्राणीको रूपमा बुझेका थिए । त्यो समयमा भूँइमा घस्रने झुसिल्कीरा आकाशमा उड्ने पुतलीमा परिवर्तन हुन्छ भन्ने कुरा कल्पना गर्न पनि गाह्रो थियो ।

स्वतः उत्पन्न हुने सिद्धान्तको सुरुवात

आमा-बुबाविना जीवित प्राणीहरू आफै उत्पन्न हुन सक्छन् भन्ने सिद्धान्तलाई स्वतः उत्पन्न हुने सिद्धान्त भनिन्छ । यो सिद्धान्त प्राचीन ग्रीक दार्शनिक एरिस्टोटलले तत्कालीन दार्शनिक सिद्धान्त र प्राचीन पौराणिक कथाको आधारमा बनाएका थिए । उनले प्रमाणको रूपमा धुलोबाट निस्कने कीरा र सडेको मासुबाट उत्पन्न हुने गोब्रे कीरालाई उद्धृत गरे । यसबाहेक, उनले अकशेरुकीहरू(invertebrates) मात्र होइन तर केही कशेरुकीहरू(vertebrates) पनि प्राकृतिक रूपमा आफै उत्पन्न हुन्छन् भन्ने कुरा बताए । अनि यो कुरालाई वर्णन गर्ने क्रममा इल माछालाई(eel हिले बाम माछा) उदाहरणको रूपमा उद्धृत गरे । इल माछाहरूमा प्रजनन अङ्ग नपाइएको र तिनीहरू जवान अवस्थामा नभेटिएकोले एरिसटोटलले हिले बाम माछाहरू हिलोमा आफै उत्पन्न हुन्छन् भन्ने कुरा बताए ।

इल माछाहरू ताजा पानीमा बस्छन्, तर प्रजननको समयमा उनीहरू आफू जन्मिएको समुद्रमा फर्किन्छन् । त्यो समयमा उनीहरूको पाचन प्रणाली क्षय हुँदैजान्छ र प्रजनन अङ्ग विकास हुन थाल्छ । यी माछाहरूले गहिरो समुद्रमा अण्डा पार्छन् । इलको अण्डा लेप्टोसेफलस(leptocephalus) भन्ने लार्भा चरणबाट पार भएर एल्भरमा(elver) परिणत हुन्छ र नदीमा फर्कन्छ । इल माछाको अनौठो जीवनचक्रबारे अनभिज्ञ भएका एरिस्टोटलले केवाल वयस्क इल माछाहरूलाई हेरेर तिनीहरू आफै उत्पन्न हुन्छन् भन्ने गलत निष्कर्ष निकालेका थिए ।

जीवित वस्तुहरू निर्जीव वस्तुहरूबाट संयोगवश उत्पन्न हुन्छन् भन्ने एरिसटोटलको दृष्टिकोणलाई आधुनिक समयसम्म स्थापित सिद्धान्तको रूपमा स्वीकार गरिएको थियो । त्यो समयमा धेरै मानिसहरूले जीवित प्राणीहरू पानी वा माटोबाट उत्पन्न हुन्छ भन्ने कुरा विश्वास गर्थे । हिजोआज यो कुरा एकदमै हास्यास्पद सुनिन्छ, तर त्यो समयमा प्रख्यात विद्वानहरूले पनि स्वतः उत्पन्न हुने सिद्धान्तमा विश्वास गर्थे । १७औँ शताब्दीको सुरुमा, बेल्जियमका रसायनशास्त्री हेल्मोन्टले एउटा अनुसन्धानको आधारमा स्वतः उत्पन्न हुने सिद्धान्तबारे एउटा विवरण दिएका थिए । उक्त अनुसन्धानमा उनले पसिनाले भिजेको एउटा फोहोर सर्टमा गहुँको दाना राखे र २१ दिनपछि मुसा उत्पन्न भएको कुरा बताए ।

स्वतः उत्पन्न हुने सिद्धान्तलाई समर्थन गर्ने हेल्मन्टको परीक्षण

स्वतः उत्पन्न हुने सिद्धान्त VS जैविक उत्पत्ति (समान जीवबाट मात्र जीवित प्राणी उत्पन्न हुन्छ भन्ने सिद्धान्त)

१७औँ शताब्दीको मध्यतिर, इटालेली चिकित्सक रेडीले स्वतः उत्पन्न हुने सिद्धान्तलाई पहिलो चोटि खण्डन गरे । उनले रक्तसञ्चारको सिद्धान्तका लागि प्रसिद्ध चिकित्सक विलियम हार्वेको पुस्तक ‘Exercitationes de Generatione Animalium’ मा अभिलेख गरिएको परिकल्पनाको आधारमा स्वतः उत्पन्न हुने सिद्धान्तलाई खण्डन गर्दै कीरा, गँड्यौला र भ्यागुताहरू स्वतः उत्पन्न हुँदैनन्, तर देख्न नसकिने स-साना अण्डाबाट उत्पन्न हुन्छन्” भनेका थिए । रेडीले मासुका टुक्राहरू दुईवटा भाँडमा राखेर एउटालाई कपडाले छोपे र अर्कोलाई खुल्लै छोडे । फलस्वरूप, कपडाले छोपिएको मासुमा केही परिवर्तन आएन तर कपडाले नछोपिएको मासुमा भने कीरा र झिँगाहरू देखा परे । यसैको आधारमा, रेडीले जीवित प्राणीहरू जीवित प्राणीबाटै जन्मन्छन् भन्ने ‘जैविक उत्पत्तिको सिद्धान्त’ घोषणा गरे । यसरी उनले स्वतः उत्पन्न हुने सिद्धान्तको खण्डन गरे ।

जैविक उत्पत्तिको घोषणा गर्ने रेडीको परीक्षण

यद्यपि, सुक्ष्मदर्शक यन्त्र प्रयोग गरेर पहिलो पटक सूक्ष्मजीवहरू पत्ता लगाउने लिउवेनहोकले (Leeuwenhoek) स्वतः उत्पन्न हुने सिद्धान्तलाई फेरि बलियो बनाए । किनभने उनले छोपेर राखिएको मासुको टुक्रामा समेत सूक्ष्मजीवहरू देखे । स्वतः उत्पन्न हुने सिद्धान्त १८ औँ शताब्दीसम्म पनि हराएको थिएन । बेलायती जैव रसायनशास्त्री नीडह्यामले उमालेको मासुको रस भएको फ्लास्कमा सूक्ष्मजीवहरू फेला पारेपछि, त्यसलाई छोपे र तातो खरानीमा राखेर त्यसलाई जीवाणुमुक्त गर्न खोजे, तर उनले त्यसमा फेरि सूक्ष्मजीवहरू भेटे । उनले सूक्ष्मजीवजस्ता सामान्य जीवहरू स्वतः उत्पन्न हुन सक्छन् भन्ने कुरामा जोड दिए जसले गर्दा फेरि विवाद चर्कियो ।

पछि, इटालेली जीववैज्ञानिक स्पालान्जानीले (Spallanzani) नीडह्यामको जिद्दीमा आपत्ति जनाए । उनले नीडह्यामको परीक्षणमा सम्भवतः फ्लास्कलाई जीवाणुमुक्त गर्ने काम राम्ररी नभएको अथवा फ्लास्क बन्द गर्ने क्रममा सङ्क्रमण भएको हुन सक्छ भन्ने कुरा बताए । उनले मासुको झोललाई पूर्ण रूपमा बन्द गरिएको फ्लास्कमा राखेर उमाल्दा सूक्ष्मजीवहरू उत्पन्न हुँदैनन् भन्ने कुरा लगातारको परीक्षणद्वारा प्रमाणित गरे । त्यसपछि नीडह्यामले ती दावीहरूको कडा विरोध गर्दै यसो भने, “अत्यधिक तापले सूक्ष्मजीव मात्र होइन तर वृद्धि गर्ने ऊर्जा पनि नष्ट हुन्छ“ र “हावा अवरुद्ध हुँदा कुनै पनि जीवन बढ्न सक्दैन ।”

विवादको अन्त्य

१९औँ शताब्दीमा दुई पक्षबीचको तीव्र विवादलाई अन्त्य गर्ने र स्वतः उत्पन्न हुने सिद्धान्तलाई घुँडा टेकाउने व्यक्ति पाश्चर थिए । धुलोमा मिसिएको हावामा हुने सूक्ष्मजीवहरू खानेकुरामा टाँसिएर प्रजननद्वारा वृद्धि हुन्छन् । यो कुराको आधारमा उनले एउटा सामान्य तर प्रभावकारी परीक्षण गरे । स्वान नेक फ्लास्क परीक्षण(Swan Neck Flask Experiment) नामक एउटा परीक्षणमा उनले खमीर र चिनीको घोल मिश्रण गरिएको फ्लास्कको मुख तताएर त्यसलाई लामो र पातलो ‘S’ आकारमा तन्काए । त्यसपछि उनले स्वान नेक फ्लास्कमा उक्त मिश्रण उमालेर त्यसलाई जीवाणुमुक्त गरे, र फ्लास्कको मुखबाट स्वतन्त्र रूपले हावा पस्न दिए ।

पाश्चरको स्वान नेक फ्लास्क प्ररीक्षण

परिणाम आश्चर्यजनक थियो । सामान्य फ्लास्कमा जस्तो, स्वान नेक फ्लास्कमा सूक्ष्मजीवहरू भेटिएनन् । यो स्वान नेक फ्लास्कको अद्वितीय आकारको कारणले भएको थियो, जसले गर्दा हावा स्वतन्त्र रूपमा सर्न सक्यो र पानीको कारणले धुलो भित्र पस्न सकेन । स्वान नेक फ्लास्कको माथिल्लो भाग फुटाएको केही दिनपछि उनले खमीर मिसिएको तरल पदार्थमा सूक्ष्मजीवहरू बढ्दैगएको कुरा पत्ता लगाए । यो परीक्षणद्वारा, पास्चरले हावा आउने जाने भए पनि सूक्ष्मजीवहरू आफै उत्पन्न हुँदैनन् तर अन्य सूक्ष्मजीवहरू भएमा मात्र वृद्धि हुन सक्छन् भन्ने कुरा प्रमाणित गर्दै स्वतः उत्पन्न हुने सिद्धान्तलाई खण्डन गरे ।

पाश्चरको थेसिस प्रकाशन भएसँगै स्वतः उत्पन्न हुने सिद्धान्त नामोनिशानै नहुने गरी विलिन भयो । अनि जीवित प्राणी जन्मनको लागि जीवन भएको आमा-बुबा हुनुपर्छ भनेर व्याख्या गर्ने जैविक उत्पत्तिको सिद्धान्त पुष्टि भयो । यसरी जीवन जन्मिनको निम्ति जीवन भएको आमा-बुबा हुनुपर्छ भन्ने जैविक उत्पत्तिको सिद्धान्त पुष्टि भयो ।

विज्ञानको विकाससँगै हालसालै यो कुरा प्रमाणित भएको छ । जीवित प्राणीहरू कहिल्यै पनि स्वतः उत्पन्न हुन नसक्ने कुरा एउटा अपरिवर्तनीय सिद्धान्त हो । जीवन केवल जीवनबाट आउँछ र जन्मिएको जीवित प्राणी आफ्नो आमा-बुबाको स्वरूपमा मिल्छन् । आमा-बुबादेखि सन्तानसम्मको जीवनको क्रमले आजको दिनसम्म पनि निरन्तरता पाएको छ । जीवनको क्रमलाई फर्केर हेर्ने हो भने सबैभन्दा सुरुमा को अस्तित्वमा थिए ?

येशूले आफ्नो सेवाकार्य आरम्भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्थ्यो । मानिसहरू उहाँ योसेफका छोरा हुन् भन्ठान्थे । योसेफ एलीका छोरा थिए, एली मत्तातका छोरा . . . दाऊदका छोरा . . . यहूदाका छोरा, याकूबका छोरा, इसहाकका छोरा, अब्राहामका छोरा . . . शेमका छोरा, नोआका छोरा, लेमेखका छोरा, मतूशेलहका छोरा, हनोकका छोरा . . . एनोशका छोरा, शेतका छोरा, आदमका छोरा, परमेश्वरका छोरा । लूका ३:२३-३८

सन्दर्भ
लि जोङ हो, ‘विद्वानलाई हराउने विद्वानहरू १’ (कोरियालीमा 천재를 이긴 천재들 1, Geniuses Who Beat Geniuses), गुल्हान्गारी, सन् २००७
गिम दु सिक र लि हि बोङ, ‘जीवन विज्ञानको आधुनिक बुझाइ’ (कोरियालीमा, 생명과학의 현대적 이해, Modern Understanding of Life Science), योङ्साइ विश्वविद्यालय प्रेस, सन् १९९०
गु जा ह्यन, ‘पास्चरको स्वान नेक फ्लास्क परीक्षण’ (कोरियालीमा, 파스퇴르의 백조목 플라스크 실, Pasteur’s Swan Neck Flask Experiment), विज्ञान दोङगा, अगस्ट, सन् २००५