
यरूशलेम नजिक आइपुगेपछि येशूज्यूले दुई जना चेलाहरूलाई गाउँमा पठाउनुभयो ।
“तिमीहरूका सामुन्नेको गाउँमा जाओ, र पस्दापस्दै तिमीहरूले अहिलेसम्म कोही मानिस नचढ़ेको एउटा गधाको बछेडो भेट्टाउनेछौ । त्यसलाई फुकाएर यहाँ ल्याओ । कसैले तिमीहरूलाई ‘यो के गरेको ?’ भन्यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन ।”
जब चेलाहरू गाउँमा पसे, तिनीहरूले येशूज्यूले भन्नुभएझैँ एउटा घरको ढोकानेर खुला गल्लीमा गधाको बछेडोलाई बाँधिएको देखे । चेलाहरूले त्यो बछेडोलाई फुकाएर लैजान खोज्दा, नजिकै उभिरहेको एक जना मानिसले सोध्यो,
“बछेडोलाई फुकाएर तिमीहरू के गर्दैछौ ?”
“प्रभुलाई यसको खाँचो छ ।”
चेलाहरूको जवाफ सुनेपछि मालिकले त्यो बछेडो लान दिए । अनि येशूज्यू आफ्ना चेलाहरूले ल्याएको बछेडोमा चढेर यरूशलेमतिर जानुभयो ।
क्रूसमा कष्ट भोग्ने दिन नजिकै छ भन्ने कुरा थाहा पाउनुभएका येशूज्यूले आफ्ना चेलाहरूलाई उहाँकहाँ बछेडो ल्याउन भन्नुभयो । योचाहिँ “मुक्ति दिनुहुने राजा यरूशलेम प्रवेश गर्दा बछेडामा सवार हुनुहुन्छ” (जक ९:९) भन्ने जकरिया अगमवक्ताको अगमवाणी पूरा गर्नको निम्ति घटेको घटना थियो । प्रभुलाई यसको खाँचो छ भन्ने वचनअनुसारै कमजोर बछेडा र साधारण मालिक दुवैलाई अगमवाणी पूरा गर्नको निम्ति प्रयोग गरियो ।
“अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ” भन्ने वचन पूरा गर्नको निम्ति परमेश्वरले हामीलाई बोलाउनुभएको छ (मत्ती २४:१४) । निश्चय पूरा हुने बाइबलको अगमवाणी पूरा गर्नको निम्ति सबैभन्दा साधारण प्राणीलाई सुसमाचार सामग्रीको रूपमा प्रयोग गरिएको छ । के योभन्दा ठूलो आशिष् अरू केही हुन सक्छ र ? यस्तो असीम आशिष् पाएका हामीले गर्नुपर्ने कुरा भनेकै अझ नम्र र आज्ञाकारी हुनु हो । त्यसो गरेमा बल्ल परमेश्वरले हामीलाई सुसमाचार सामग्रीको रूपमा प्रयोग गर्नुहुन्छ ।