हिजोआज परमेश्वरलाई विश्वास गर्छौं भन्ने मण्डलीहरू संसारमा असंख्य छन् । तर मुक्तिको प्रतिज्ञा समाविष्ट परमेश्वरको चाड, नयाँ करार निस्तार-चाड मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो ।
“मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्” (होशे ४:६) भन्ने वचनजस्तै, अधिकांश मानिसहरूले बाइबललाई सही तरिकाले बुझेका छैनन् । तिनीहरू “निस्तार-चाड नमाने पनि हुन्छ । परमेश्वरलाई विश्वास मात्र गऱ्यो भने अवश्य स्वर्ग-राज्य प्रवेश गर्न सकिन्छ” भन्ने गलत सोचाइमा फसेका छन् । त्यसैले आज बाइबलको वचनद्वारा, हामीले मान्ने गरेको निस्तार-चाडको अर्थलाई पुन: स्मरण गर्दै सत्य र झूटलाई छुट्ट्याउने समय लिऔं ।
२,००० वर्षअघि येशूज्यू यो पृथ्वीमा आउनुहुँदा, त्यो समयका धार्मिक नेताहरूले परमेश्वरको शिक्षालाई पछ्याउनुको सट्टा उल्टै धेरै मानिसहरूलाई गलत बाटोतर्फ डोऱ्याइरहेका थिए ।
“धिक्कार, तिमीहरूलाई शास्त्री र फरिसी हो, ढोंगीहरू ! किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ । तिमीहरू न त आफै पस्तछौ, न पस्न चाहनेहरूलाई पस्न दिन्छौ ।”मत्ती २३:१३
शास्त्री र फरिसीहरू त्यस बेलाका धार्मिक नेताहरू थिए । तर तिनीहरूले मानिसहरूलाई स्वर्ग-राज्यतर्फ डोऱ्याउनुको सट्टा उल्टै स्वर्ग-राज्यका ढोकाहरू बन्द गर्दै आफू पनि स्वर्ग नपस्ने र पस्न चाहनेहरूलाई पनि पस्न नदिने भएकाले येशूज्यूले तिनीहरूलाई कडा तरिकाले हप्काउनुभयो ।
मानिसहरूलाई स्वर्ग-राज्य प्रवेश गर्नबाट वञ्चित गराउने ती अगुवाहरूको परिणामबारे बाइबलमा स्पष्टसँग लेखिएको छ । येशूज्यूले तिनीहरूलाई बारम्बार चेताउनी दिनुभएको थियो ।
“… सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ ?”मत्ती २३:३२-३३
येशूज्यूले शास्त्रीहरू र फरिसीहरूलाई ‘चून लगाइएका चिहान’सँग दृष्टान्त गर्नुभयो । किनकि बाहिरपट्टि सुन्दर देखिए तापनि भित्रपट्टि भने मरेका मान्छेका हाडहरू र सबै अशुद्धताले भरिएको ‘चून लगाइएका चिहान’जस्तै, तिनीहरू बाहिरपट्टि धर्मी देखिए तापनि भित्रपट्टि भने कपट र दुष्टताले भरिएका थिए (मत्ती २३:२७-२८) ।
तिनीहरूले धेरै मानिसहरूलाई स्वर्ग-राज्य प्रवेश गर्न नसक्ने गरी बहकाएकाले तिनीहरू नरकको दण्डदेखि कदापि उम्कन सक्नेछैनन् । तिनीहरूले जतिसुकै स्वर्ग-राज्य प्रवेश गर्न खोजे तापनि प्रवेश निषेध गरिने त्यो दृश्य बाइबलमा देखाइएको छ ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं ? तपाईंको नाउँमा भूतहरू धपाएनौं । र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र ?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ’ ।”मत्ती ७:२१-२३
परमेश्वरलाई “प्रभु, प्रभु” भनेर पुकार्दैमा जो कोही स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनन् । तर परमेश्वरको इच्छा पालन गर्नेहरू मात्र स्वर्ग प्रवेश गर्नेछन् ।
के मानिसहरूका सामुन्ने स्वर्गको राज्यका ढोकाहरू बन्द गर्ने र पस्न चाहनेहरूलाई पनि पस्न नदिनेहरू परमेश्वरको इच्छा पालन गर्नेहरू हुन् ? कदापि होइनन् । तिनीहरूले प्रभुको नाउँमा अगमवाणी बोले तापनि येशूज्यूले तिनीहरूलाई ‘अधर्म काम गर्नेहरू’ भन्नुहुनेछ ।
त्यसोभए अहिले हामीले मानिरहेको निस्तार-चाडचाहिँ परमेश्वरको इच्छा हो कि होइन होला ? येशूज्यूले, परमश्वरको इच्छा पालन गर्ने मानिस मात्र स्वर्ग-राज्य प्रवेश गर्नेछ भन्नुभएकोले निस्तार-चाड मान्नु परमेश्वरको इच्छा हो कि होइन भन्ने कुरा हामीले निश्चित गर्नुपर्छ । नयाँ करार बाइबलमा निस्तार-चाडसम्बन्धी कस्तो गवाही छ, हेरौं ।
अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार-चाडको थुमा बलि चढाउनुपर्थ्यो । उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनभुयो, “गएर हाम्रा निम्ति निस्तार-चाडको भोज तयार गर ।” … तिनीहरू गए र उहाँले भन्नुभएझैँ भेट्टाए, र तिनीहरूले निस्तार-चाडको तयारी गरे । अनि जब बेला भयो, तब उहाँ प्रेरितहरूसँग भोजन गर्न बस्नुभयो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दु:ख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।”लूक २२:७-१५
येशूज्यूले आफ्ना प्रिय चेला रहेका पत्रुस र यूहन्नालाई पठाउनुभएर निस्तार-चाडको तयारी गर्न लगाउनुभयो । जब निस्तार-चाडको बेला भयो, तब येशूज्यूले बस्नुभएर “यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ” भन्नुभयो । उहाँले “इच्छा गरेको थिएँ” मात्र भन्न पनि सक्नुहुन्थ्यो तर उहाँले “ठूलो इच्छा गरेको थिएँ” भन्नुभयो । यो वचनलाई हेर्दा, निस्तार-चाड मान्न येशूज्यू कति व्याकुल हुनुहुन्थ्यो भन्ने कुरा देख्न सकिन्छ ।
यसरी येशूज्यूको ठूलो र गहिरो इच्छाअनुसार निस्तार-चाड मनाइयो । निस्तार-चाडको पवित्र भोजमा येशूज्यूले आफ्ना चेलाहरूसित बाँध्नुभएको करार यस प्रकार छ :
अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”लूक २२:१९-२०
येशूज्यूले निस्तार-चाडको रोटी लिनुहुँदै “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर” भन्नुभयो । अनि निस्तार-चाडको दाखमद्य भएको कचौरा लिनुहुँदै “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो” भन्नुभयो ।
परमेश्वरले यो पृथ्वीमा आउनुभएर मानव-जातिलाई बचाउन आफ्नो अनमोल देह र रगतद्वारा स्थापना गर्नुभएको पवित्र नियम, विधि र व्यवस्था नै निस्तार-चाड हो । निस्तार-चाड नै परमेश्वरको इच्छा हो भन्ने कुरालाई हामी मत्तीको पुस्तकद्वारा पनि निश्चित गर्न सक्छौं ।
अब अखमिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशूकहाँ आएर भने, “तपाईंको निम्ति निस्तार-चाडको भोज खाने प्रबन्ध हामी कहाँ गरौं ?” उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए ।मत्ती २६:१७-१९
यो वचनमा पनि येशूज्यू स्वयम्ले निस्तार-चाड मान्नेछु भन्नुहुँदै चेलाहरूलाई निस्तार-चाडको तयारी गर्न लगाउनुभएको दृश्य देख्न सकिन्छ । येशू ख्रीष्टले गर्नुभएका सम्पूर्ण कार्यहरू हाम्रा लागि उदाहरण हुन् (यूह १३:१५) । येशूज्यूको सेवा-कार्यको विषयमा लेखिएको सुसमाचारका ४ वटा पुस्तकहरूमा, येशूज्यूले चेलाहरूसँगै निस्तार-चाड मान्नुभएको दृश्य बारम्बार देखिन्छ । कारण हामीले पनि येशूज्यूको उदाहरणलाई पछ्याउँदै निस्तार-चाड मानेको परमेश्वर चाहनुहुन्छ ।
यसकारण हामीले नयाँ करार निस्तार-चाड मान्नु येशूज्यूको इच्छा अर्थात् परमेश्वरको इच्छा हो । परमेश्वरको इच्छा पालन गर्नेहरू मात्र स्वर्ग-राज्य प्रवेश गर्न सक्ने भएकाले निस्तार-चाड मान्नेहरू मात्र स्वर्ग प्रवेश गर्न सक्नेछन् ।
त्यसोभए कसरी निस्तार-चाडद्वारा स्वर्ग-राज्यको ढोका उघारिन्छ होला ? निस्तार-चाडमा कस्तो आशिष् समावेश छ भन्नेबारे बुझौं ।
येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । किनभने मेरो देह साँच्चै खानेकुरो हो, र मेरो रगत साँच्चै पिउने कुरो हो । मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु । जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ । स्वर्गबाट आएको यो रोटी त्यस्तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए । यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ ।”यूह ६:५३-५८
येशूज्यूको देह नखाने र रगत नपिउनेसित जीवन हुँदैन, तर उहाँको देह खाने र रगत पिउनेसित अनन्त जीवन छ भनेर येशूज्यूले भन्नुभयो । निस्तार-चाडको रोटी र दाखमद्यमा महत्त्वपूर्ण अर्थ राखिएको छ; रोटीले येशूज्यूको देहलाई र दाखमद्यले येशूज्यूको रगतलाई सङ्केत गर्दछ । यसकारण निस्तार-चाड नमान्ने मानिसहरू यो पृथ्वीमा क्षणिक जीवन त जिउँछन्, तर स्वर्ग-राज्यमा अनन्तकाल भने जिउन सक्दैनन् ।
स्वर्ग भनेको फेरिचाहिँ मृत्यु नहुने ठाउँ हो (प्रका २१:१-४) । त्यसैले अनन्त जीवन पाएका मानिसहरू मात्र त्यहाँ प्रवेश गर्न सक्नेछन् । तसर्थ अनन्त जीवनको आशिष्को प्रतिज्ञा गरिएको निस्तार-चाड नै स्वर्ग-राज्यको ढोका उघार्ने सत्यता हो ।
३,५०० वर्षअघि मोशाका समयदेखि नै परमेश्वरले निस्तार-चाड मान्न लगाउनुभएको छ । पुरानो करारको समयमा पुरानो करारको विधिबमोजिम, र नयाँ करारको समयमा नयाँ करारकै विधिबमोजिम परमेश्वरले आफ्ना प्रजाहरूलाई निस्तार-चाड मान्न आज्ञा गर्नुभएको छ । किनभने निस्तार-चाड मानेमा मात्र स्वर्ग-राज्य प्रवेश गर्न सकिन्छ ।
किनकि प्रभुबाट मैले जे पाएँ, सो तिमीहरूलाई सुम्पी पनि दिएँ, अर्थात् जुन रात उहाँ पक्राउ पर्नुभयो, त्यो रात प्रभु येशूले रोटी लिनुभयो, र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो, र भन्नुभयो, “यो तिमीहरूका निम्ति मेरो शरीर हो । यो मेरो सम्झनाको निम्ति गर ।” त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो । जहिले-जहिले तिमीहरू यो पिउँछौ, मेरो सम्झनामा यो अक्सर गर ।” किनभने जहिले-जहिले तिमीहरू यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, उहाँ नआउञ्जेल तिमीहरू प्रभुका मृत्युको घोषणा गर्दछौ ।१ कोर ११:२३-२६
प्रेरित पावलले आफूले प्रभु येशूबाट जे पाए, सो सुरुको मण्डलीका सन्तहरूलाई सुम्पी पनि दिए । येशूज्यूको अनुरोधलाई शिरोपर गर्दै तिनले सन्तहरूलाई निस्तार-चाडको धर्मविधिबारे बताइदिए, र प्रभु नआउञ्जेल यसलाई अक्सर मान्न आग्रह गरे । वास्तवमा पावलले येशूज्यूबाट पाएको कुरा भनेकै निस्तार-चाड मान्नू भन्ने शिक्षा थियो । अहिले हामीले मानिरहेको निस्तार-चाडचाहिँ नमाने पनि हुने चाड होइनकि जसरी पनि मान्नुपर्ने जीवनको व्यवस्था हो ।
यी सबैको बाबजुद, हिजोआज परमेश्वरको मण्डलीमा बाहेक अन्य कुनै मण्डलीमा निस्तार-चाड मनाइँदैन । साँच्चै अचम्म छैन र ? परमेश्वरको विरोध गर्ने शैतानले जीवनको सत्यता हटाउन अनेक धूर्त षड्यन्त्र रचिरहेको छ (दान ७:२५) । विशेष गरी दोस्रो शताब्दी(येशूज्यू स्वर्ग उचालिनुभएको १०० वर्षपछि)देखि अहिलेसम्म त्यसले, स्वर्गको ढोकालाई उघार्ने निस्तार-चाडको सत्यतालाई विरोध गरिरहेको छ ।
प्रेरितहरूको युगपछि, सुरुको मण्डली दुई समूहमा विभाजन भयो : यरूशलेम र एसिया माइनरमा केन्द्रित पूर्वी मण्डली, र रोममा केन्द्रित पश्चिमी मण्डली । त्यस बेला निस्तार-चाडको दिनमा नभएर पुनरुत्थानको चाडको दिनमा पवित्र भोज मान्दैआएको रोमको मण्डली, अनि निस्तार-चाडकै दिनमा पवित्र भोज मान्दैआएको पूर्वी मण्डलीबीच चर्को विवाद उत्पन्न भयो । ई.सं. १५५तिर, पूर्वी मण्डलीमध्ये स्मुर्ना मण्डलीका बिशप पोलिकार्प, र पश्चिमी मण्डलीको प्रतिनिधित्व गर्ने रोमको मण्डलीका बिशप एनिसिटसबीच पहिलो वादविवाद भयो । १२ जना चेलामध्येको एक, प्रेरित यूहन्नाबाट सीधै शिक्षा पाएका पोलिकार्प “निस्तार-चाड निशान महिना(पवित्र पात्रोअनुसार पहिलो महिना)को चौधौँ दिनमा मान्ने नियम हटाइनुपर्छ, र त्यसको सट्टा इस्टरमा पवित्र भोज गरिनुपर्छ” भन्ने पश्चिमी मण्डलीहरूको एकतर्फी जिद्दीमा कदापि सहमत भएनन् ।
निस्तार-चाडको विषयमा उठेको पहिलो वादविवाद सहमतिमा आउन सकेन, र ई.सं. १९७तिर उही कुरालाई लिएर पूर्वी मण्डली र पश्चिमी मण्डलीबीच फेरि अर्को विवाद भयो । तब रोमको मण्डलीका बिशप भिक्टरले निस्तार-चाडको पवित्र भोजचाहिँ वसन्त विषुवको पूर्णिमापछि आउने पहिलो आइतबार अर्थात् इस्टरमा गरिनुपर्छ भन्ने डोमिनिकको नियमलाई पछ्याउन सबै मण्डलीहरूलाई कर गरे । तर एफिसस मण्डलीका बिशप पोलिक्रेट्स लगायत अन्य सबै पूर्वी मण्डलीहरूले निस्तार-चाडचाहिँ प्रेरितहरूले मनाएका रीतिअनुसार नै मनाइनुपर्छ भन्दै पश्चिमी मण्डलीहरूको जिद्दीमा असहमति जनाए ।
तर शैतानको धूर्त षड्यन्त्रभित्र विधर्मको शक्ति झन्-झन् प्रबल हुँदैगयो, र ई.सं. ३२५मा रोमका सम्राट कन्स्टेन्टाइनद्वारा गठित निकेयाको सम्मलेनमा अन्तत: निस्तार-चाडको पवित्र भोज इस्टरको दिनमा गरिनुपर्छ भन्ने निष्कर्षमा सम्मेलन टुङ्गियो । यसरी निस्तार-चाड पूर्णत: हटाइयो । वास्तवमा निस्तार-चाड र इस्टर बिलकुल फरक चाड हो । तर शैतानले निकै धूर्ततापूर्वक यी दुई चाडलाई समायोजन गरिदिएर निस्तार-चाडलाई हटाएरै छाड्यो ।
निस्तार-चाड हटाइएपछि अनन्त जीवनको प्रतिज्ञा १,६०० वर्षभन्दा लामो समयसम्म गुप्तमा रह्यो, र कोही पनि स्वर्ग-राज्यमा प्रवेश गर्न सकेनन् । त्यसैले वर्तमान संसारका अधिकांश मण्डलीहरू निस्तार-चाड मान्दैनन् र उल्टै परिवर्तन गरिएका सिद्धान्तहरूलाई पछ्याइरहेका छन् । तर बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा दोस्रो पल्ट आउनुभएका येशूज्यूले नयाँ करार निस्तार-चाडको सत्यतालाई पुनर्स्थापना गरिदिनुभई, बन्द भएको स्वर्ग प्रवेश गर्ने ढोका पुनः उघारिदिनुभयो ।
नयाँ करारचाहिँ परमेश्वरले मात्र स्थापना गर्न सक्नुहुने सत्यता हो । येशूज्यूले निस्तार-चाडमा “यो कचौरा मेरो रगतमा स्थापित गरिने नयाँ करार हो” भन्नुहुँदै नयाँ करार स्थापना गर्नुभयो । तर त्यसरी नयाँ करार स्थापना गरिने कुरालाई परमेश्वरले येशूज्यूको समयभन्दा करीब ६०० वर्षअघि नै, पुरानो करारको यर्मियाको पुस्तकमा पहिल्यै अगमवाणी गर्नुभएको थियो ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहदूाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु ।” … परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् । ‘परमप्रभुलाई चिन’ भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउनेछैन । किनकि सानादेखि लिएर ठूलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्,” परमप्रभु भन्नुहुन्छ । “किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु, र म तिनीहरूका पाप फेरि कहिल्यै सम्झनेछैनँ ।” परमप्रभु यसो भन्नुहुन्छ : जसले दिन उज्यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्छ, र राती प्रकाश दिनलाई चन्द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्छ– उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । “यी विधिहरू मेरो दृष्टिबाट लुप्त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्नुहुन्छ ।यर ३१:३१-३६
परमेश्वरले “म हृदयमा मेरो व्यवस्था भएकाहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन्” भन्नुभयो । अर्थात् नयाँ करार निस्तार-चाड मान्नेहरू मात्र परमेश्वरका प्रजा हुनेछन् भन्ने वचन हो । साथै परमेश्वरले, म यिनीहरूका पाप र अपराध सबै क्षमा गर्नेछु भनेर प्रतिज्ञा पनि गर्नुभयो । जसरी परमेश्वरले दिनमा प्रकाश दिनलाई सूर्य, अनि रातमा प्रकाश दिनलाई चन्द्रमा र ताराहरूलाई सुव्यवस्थित नियममा राख्नुभएको छ, त्यसरी नै यो नयाँ करारको प्रतिज्ञा सदा अपरिवर्तनीय रहनेछ भन्नुभएको छ ।
नयाँ करार निस्तार-चाडद्वारा स्वर्ग-राज्यको ढोका उघारिँदा, हामीमा परमेश्वरको रगत छ कि छैन भनेर परमेश्वरले जाँच गर्नुहुनेछ । DNA रगत जाँचद्वारा परिवारको सदस्यलाई पुष्टि गर्न सकिएजस्तै, निस्तार-चाड मानेकाहरू परमेश्वरका सन्तान भनेर पुष्टि हुनेछन् र स्वर्ग-राज्यको ढोकाबाट भित्र प्रवेश गर्नेछन् । तर निस्तार-चाड नमान्नेहरूमा परमेश्वरको देह र रगत नहुने भएकोले तिनीहरू परमेश्वरबाट अस्वीकृत हुनेछन् ।
वर्तमान संसारमा असंख्य मण्डलीहरू भए तापनि अधिकांश ख्रीष्टियानहरूलाई परमेश्वरको इच्छा, र परमेश्वरले केद्वारा जीवन दिनुहुन्छ भन्ने कुरा नै थाहा छैन । २,००० वर्षअघि परमेश्वरलाई विश्वास गर्छौं भन्ने धेरै मानिसहरूले येशूज्यूलाई र उहाँको शिक्षालाई इन्कार गरेका थिए । त्योजस्तै यो युगमा पनि येशूज्यूलाई विश्वास गर्छौं भन्ने धेरै मानिसहरू येशूज्यूको पवित्र इच्छा समाविष्ट निस्तार-चाड मान्दैनन् । यो साँच्चै दुःखलाग्दो कुरा हो !
परमेश्वर स्वयम्ले स्थापना गर्नुभएको नयाँ करारको सत्यता भएको मण्डलीको खोजी गरेर त्यो मण्डलीमा गएमा स्वर्ग-राज्य प्रवेश गर्न सकिन्छ । परमेश्वरले निस्तार-चाडद्वारा प्रदान गर्नुभएको अनुग्रहलाई मनन गर्दै, जीवनको सत्यता रहेको नयाँ करार निस्तार-चाडको बारेमा अझैसम्म अनभिज्ञ भएका मानिसहरूमाझ यो सत्यता जोडका साथ सुनाउने सियोनका परिवार हामी सबै जना हुन सकौं ।