हामीले कस्तो बोली बोल्नुपर्छ होला ? (१)

2257 हेरेको संख्या

बोलीचाहिँ हाम्रो व्यक्तित्व झल्काउने ऐना हो, किनकि बोलीमा हाम्रो विचार र भावना समावेश हुन्छ । यसकारण मुक्तिको प्रतिज्ञा पाएका परमेश्वरको सन्तान भएअनुरूप हामीले अनुग्रह र धन्यवादले भरिएको बोलीद्वारा परमेश्वरलाई महिमा चढाउनुपर्छ ।

अब, हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे बाइबलमार्फत अध्ययन गर्नेछौं ।

१. हामीले डाहलाई त्यागेर असल बोली बोल्नुपर्छ ।

तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् । अनि परमेश्वरका पवित्र आत्मालाई दुःखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ । सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ । जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ । एफि ४:२९-३२

बाइबलमा डाहलाई त्यागेर असल बोली बोल्नुपर्ने कुरामा जोड दिइएको छ । हाम्रा असङ्ख्य पापलाई परमेश्वरले सित्तैँमा क्षमा गरिदिनुभयो । संसारमा जिउने क्रममा कहिलेकहीँ हामीहरू रिसाउने गर्छौं । तर दयालु र असल हुनुभएका परमेश्वरको स्वरूपमा हामीहरू तुरुन्त मिल्दै रीसलाई हटाउनुपर्छ । फेरि पाप नगर भन्नुहुने परमेश्वरको इच्छामा आज्ञाकारी हुँदै हामीले अरूको भलाइ हुने असल र कृपालु बोली बोल्नुपर्छ ।

२. हामीले कृपालु बोली बोल्नुपर्छ ।

समयको सदुपयोग गर्दै, बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर । नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीवचन सधैँ कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान । कल ४:५-६

परिकारलाई स्वादिलो बनाउन उचित मात्रामा नून छर्किनुपरेजस्तै वरपरका मानिसहरूसँग सुमधुर सम्बन्ध कायम गर्दै उनीहरूलाई परमेश्वरको काखमा डोऱ्याउनको निम्ति हामीले कृपालु र बुद्धिमानी बोली बोल्नुपर्छ । कहिलेकहीँ आफूमा निकै गर्व गर्ने अथवा अरूको भावनामा चोट पुऱ्याउने बोली बोलेर झगडा सृजना भएको हामीहरू देख्ने गर्छौं । योचाहिँ अरूप्रति विचारशील नभईकन बोल्दा उत्पन्न हुने समस्या हो । हामीहरू अरूप्रति विचारशील हुँदै कृपालु र बुद्धिमानी बोलीद्वारा आत्माहरू बचाउने र परमेश्वरलाई महिमा चढाउने परमेश्वरका सन्तानहरू हुनुपर्छ ।

समीक्षात्मक प्रश्न
हामीले डाहलाई त्यागेर असल बोली बोल्नुपर्ने कारण के हो ?
कृपालु र बुद्धिमानी बोलीवचन सुनेको क्षणलाई याद गरौं ।