प्रार्थना कहिले गर्नुपर्छ ?

83,053 भ्यु

बाइबलमा हेर्ने हो भने असङ्ख्य विश्वासका पुर्खाहरूले प्रार्थनाद्वारा कठिनाइहरूलाई जितेपछि परमेश्वरबाट आशिष् पाएको यथार्थता जान्न सकिन्छ । मुक्तिदाताको रूपमा यो पृथ्वीमा आउनुभएका येशूज्यूले पनि प्रार्थनाद्वारा सुसमाचारको कार्य पूरा गर्नुभयो ।

यसरी प्रार्थनाचाहिँ ख्रीष्टियानहरूबाट अलग गर्नै नमिल्ने विश्वासको एक हिस्सा हो । प्रार्थनाले परमेश्वर र हामीबीच सम्बन्ध गाँस्ने कार्य गर्दछ । तसर्थ हाम्रो चाहना परमेश्वरसमक्ष व्यक्त गर्नको निम्ति प्रार्थना अपरिहार्य छ ।

त्यसोभए हामीले प्रार्थना कहिले गर्नुपर्छ होला ?

१) हरसमय प्रार्थना गर्नुपर्छ

हामीले आफ्नो दैनिक जीवनमा कुनै पनि कार्य गर्दा प्रार्थनाद्वारा आरम्भ गरेर प्रार्थनाद्वारा नै अगाडि बढाउँदै प्रार्थनाद्वारा नै समाप्त गर्नुपर्छ । त्योचाहिँ “निरन्तर प्रार्थना गरिरहो (१ थेस ५:१७)” भन्नुभएको वचनलाई कार्यान्वयन गर्नको निम्ति हो ।

२) दैनिक जीवनमा प्रार्थना गर्नुपर्ने अवस्थाहरू

  • बिहान उठ्नेबित्तिकै प्रार्थना गर्नुपर्छ ।
  • खाना खानुअघि प्रार्थना गर्नुपर्छ ।
  • नियमित प्रार्थना समयमा विधिअनुसार प्रार्थना गर्नुपर्छ । (ग्रीष्म – बिहान ९ बजे, अपरान्ह ३ बजे / हिउँद – बिहान १० बजे, अपरान्ह २:३० बजे)
  • दिनचर्या सम्पन्न गरेर सुत्नुअघि एक दिनलाई थन्क्याउने प्रार्थना गर्नुपर्छ ।
  • सहयोगको आवश्यकता पर्दा (परीक्षामा पर्दा, सतावट पाउँदा, कठिन परिस्थिति उत्पन्न हुँदा) तुरुन्त प्रार्थना गर्नुपर्छ ।
  • धन्यवाद चढाउनुपर्ने अवस्थामा प्रार्थना गर्नुपर्छ ।
  • गलत कार्यप्रति पश्चात्तापको प्रार्थना गर्नुपर्छ ।
  • यीबाहेक विशेष कार्यमा पनि प्रार्थना गर्नुपर्छ ।

३) विशेष प्रार्थना समय निकाल्न प्रयत्न गर्नुपर्छ

  • विश्वास वृद्धि नहुँदा वा विश्वास सेलाउँदैगएको बेला उपवासको प्रार्थना गर्नु उचित हुन्छ । उपवासको प्रार्थनामा परमेश्वर प्रसन्न हुनुहुन्छ भनिएको छ (यशै ५८:६) ।
  • वर्षमा एक पटक समय निर्धारण गरिएको उपवासको प्रार्थनाचाहिँ अखमिरी रोटीको चाड(पवित्र पात्रोअनुसार पहिलो महिनाको पन्ध्रौँ दिन)मा पर्दछ । यस दिनको उपवासको प्रार्थनामा येशूज्यूले क्रूसमा टाँगिनुभएर भोग्नुभएको कष्टमा सँगै सहभागी हुने अर्थ रहेको छ (मर्क २:२०) ।
  • त्यसबाहेक व्यक्तिगत विश्वास वा विशेष कार्यको निम्ति प्रभातको समय अथवा कुनै निश्चित समय तोकेर प्रार्थना गर्दा उचित हुन्छ (मर्क १:३५) ।

“धेरै खायो भने चिनी पनि तीतो हुन्छ” भन्ने गरिन्छ, तर प्रार्थनाचाहिँ अपवादमा पर्छ । बाइबलमा “निरन्तर प्रार्थना गरिरहो” भन्ने वचनद्वारा परमेश्वरले हामीलाई प्रार्थनाको महत्त्व बोध गराउनुभएको छ (लूक १८:१-१७; १ थेस ५:१६-२५) ।

“निरन्तर प्रार्थना गरिरहो” भन्ने परमेश्वरको शिक्षालाई सधैँ याद गर्दै हामीहरू प्रार्थनाको जीवन जिएर परमेश्वरबाट प्रशस्त आशिष् प्राप्त गर्ने सियोनका सन्तहरू होऔं ।

समीक्षात्मक प्रश्न
हामीले आफ्नो दैनिक जीवनमा परमेश्वरसँग प्रार्थना गर्नुपर्ने अवस्थाहरू के-के हुन् ?
विशेष प्रार्थनामा के-कस्ता प्रार्थनाहरू पर्छन् ?