भाषा चयन गर्नुहोस् ।

Close

आशिषित मिसन, प्रेमको जिम्मेवारी

छा यङ ये / गिम्हे, कोरिया

876 हेरेको संख्या

म सानो छँदा पल्लो घरमा एउटा सानो मण्डलीका पास्टर दम्पती बस्थे । मेरी आमा उनीहरूको नजिकको साथी हुनुभएकोले र जन्मैदेखि नै म ख्रीष्टियान भएकीले स्वाभाविक रूपले उनीहरूकै मण्डली जाने गर्थें ।

आइतबारचाहिँ मेरो लागि हप्ताको सबैभन्दा व्यस्त दिन थियो । मण्डलीभित्र युवा समूहकी अध्यक्ष, आम मामिला प्रबन्धक, सचिव इत्यादि विभिन्न कार्यको जिम्मा पाएकीले म बिहान सबेरै मण्डली जाने गर्थें, अनि दिनभरिको कामले थकित भएर म मध्यराततिर घर फर्कन्थें । तरै पनि मलाई मण्डलीमा कार्य गर्न मन लाग्थ्यो । जीवनभर परमेश्वरलाई प्रेम गर्दै परमेश्वरको कार्य गर्नु नै मेरो एकमात्र चाहना थियो ।

मण्डलीमा प्रायः समस्या सृजना हुन्थ्यो । मण्डलीका सन्तहरूबीच धेरै विवाद हुन्थ्यो, अनि म विश्वविद्यालय तहकी विद्यार्थी हुँदा उनीहरूबीचको विवाद झन्-झन् चर्किएर अन्ततः उनीहरू दुई समूहमा विभाजन भए । प्रेम हुनुभएका परमेश्वर वास गर्नुहुने मण्डलीमा किन यस्ता घटनाहरू घटिरहेको होला भनेर म सोच्ने गर्थें । सारा ब्रह्माण्डलाई ढाक्नुहुने परमेश्वर त्यो मण्डलीमा चाहिँ वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो । धेरै सोचविचार गरेपछि अन्तमा मैले त्यो मण्डली नजाने निर्णय लिएँ ।

जीवनको केन्द्रबिन्दु नै गुमाएकीले त्यसोप्रान्त मलाई कुनै पनि कुरा रोमाञ्चक अथवा रमाइलो लागेन, सबै कुरा अर्थहीन जस्तो देखिन्थ्यो । मण्डली जान छोडेको भए पनि म सधैँ परमेश्वरलाई सम्झिन्थें, अनि परमेश्वरलाई मात्र हेर्ने गरेको त्यो समयमा फर्कन चाहन्थें । त्यसैले म मेरा साथीहरू जाने मण्डलीमा गएँ, अनि प्रख्यात प्रोटेस्टेन्ट मण्डलीमा २ वर्षसम्म सन्त शिक्षा कार्यक्रममा पनि भाग लिएँ । तर मेरो मन अझै पनि रित्तो नै थियो ।

विवाहपछि म, मेरा पतिको परिवार जानुहुने प्रोटेस्टेन्ट मण्डली जान थालें । लामो समयदेखि एउटा मण्डलीबाट अर्को मण्डलीमा सर्ने क्रममा म, आफू जुनसुकै मण्डलीमा गए पनि केवल परमेश्वरलाई खोज्न प्रयास गर्नेछु भन्ने निष्कर्षमा पुगें । बल्ल स्थिरता भेट्टाएँ भनेजस्तो लाग्थ्यो, तर त्यसलाई छोड्ने समय चाँडै आउँथ्यो ।

मेरो दोस्रो सन्तान जन्मने समय नजिक हुँदा परमेश्वरको मण्डलीका सन्तहरूसित मेरो भेट भयो । उहाँहरूले शबाथ-दिनको बारेमा बताउनुहुँदा मलाई धेरै खिन्न लाग्यो । कारण मैले बाइबल धेरै पटक पढेको र सबै किसिमका ख्रीष्टियान पुस्तकहरूसमेत पढेको भए तापनि मलाई बाइबलको सबैभन्दा आधारभूत सत्यता, बाइबलको आराधनाको दिनको बारेमा पनि थाहा थिएन । शबाथ-दिनको बारेमा सुनेपछि म पुस्तकालयतिर दगुरें, अनि शबाथ-दिन आराधनाको सही दिन हो कि होइन भन्ने कुरा पत्ता लगाउन मैले सबै इतिहासका पुस्तकहरूमा एक-एक गर्दै खोजें । शबाथ-दिन मात्र नभएर उहाँहरूले मलाई सिकाउनुभएका अन्य सबै कुराहरू सत्य थियो । मण्डलीको इतिहासका सबै पुस्तकहरू र बाइबलमा पनि आराधनाको सही दिन भनेको शबाथ-दिन हो, अनि शबाथ-दिन मान्नु नै परमेश्वरको इच्छा हो भनेर प्रमाणित गरिएको थियो । बाइबलको पूर्ण शिक्षाअनुसार मैले सत्यता ग्रहण गरें ।

मैले व्यग्रतापूर्वक खोजी गरिरहेको साँचो परमेश्वर त परमेश्वरको मण्डलीमा हुनुहुँदोरहेछ । सत्यता एकदमै स्पष्ट र पूर्ण थियो । मैले सत्यतालाई सैद्धान्तिक रूपमा स्वीकारे तापनि हृदयदेखि भने विश्वास गर्न सकिनँ । मेरो मनमा केही कुरा अड्किएझैँ गरेर म निराश भएँ । सुसमाचार प्रचार गर्नुपर्छ भन्ने कुरा बाइबलबाट सिकेपछि मैले सुसमाचार प्रचार गर्न थालें । म दिउँसो वचन प्रचार गर्थें, र रातीचाहिँ बाइबल अध्ययन गर्थें । मेरो बाइबलीय ज्ञान झन्-झन् बढ्दैगयो, अनि फल पनि फल्यो । मेरो एक जना साथी सत्यता ग्रहण गरेर छिट्टै प्रचारकको रूपमा हुर्कनुभयो । अर्की सिस्टर स्वर्गीय मातालाई महसुस गरेर धेरै रुनुभयो । तर ममा भने अझै बुझाइको कमी थियो ।

यसैबीचमा म एक दिन बाइबलको वचन प्रचार गरिरहनुभएकी एक जना सिस्टरको छेउमा बसिरहेकी थिएँ । उहाँले प्रचार गर्नुभएको प्रत्येक वचन मेरो हृदयमा गहिरो गरी खोपियो । छरिएर रहेका मोतीहरूलाई गाँसेर सुन्दर माला बनाएको जस्तो महसुस भयो । त्यो क्षण, बाइबलको सुरुदेखि अन्तिमसम्म सबै अगमवाणी र दृष्टान्तहरूले अन्ततः सत्यताको मूल हुनुभएकी ‘स्वर्गीय माता’लाई केन्द्रित गरेको छ भन्ने यथार्थता मैले महसुस गरें । माताचाहिँ टाढामा मात्र रहनुहुने परमेश्वर होइनकि मेरी आत्माकी साँचो माता हुनुहुन्छ ।

मैले जसलाई भेटे पनि कुनै हिचकिचाहटविना सत्यता सुनाएँ । योभन्दा अझ खुशी हुने कुरा केही थिएन । आफ्नो पूरै जीवन परमेश्वरको कार्यमा समर्पण गर्न चाहने मेरो बाल्यकालको सपना अन्ततः पूरा भयो ! कोरियाको सउलबाट गिम्हेमा बसाइँ सरेपछि पनि मैले अझ धेरै फलको आशिष् पाउनुका साथै सुसमाचारको जिम्मेवारी पनि पाएँ । संसारमा सुसमाचार सुनाउँदाको जस्तो आनन्द र उत्साहजनक कार्य अरू केही छैन जस्तो महसुस भयो ।

आफू के चाहन्छु, के चाहदिनँ भन्ने कुरामा म एकदमै तार्किक र स्पष्ट भएकीले सुसमाचारको कार्य गर्दा पनि म विस्तृत योजना बनाउँथें, र त्यो योजनालाई व्यवस्थित रूपले अगि बढाउँथें । परमेश्वरको सहयोगद्वारा सबै योजनाहरू पूरा हुँदा ममा अवर्णनीय खुशी छाउँथ्यो । फेरि त्यही बेला, मैले जसरी कार्य नगर्ने अरूहरूप्रति म निराश हुन्थें । बुद्धिमानीपूर्वक लक्ष्य अथवा योजना बनाएर त्यसलाई कार्यान्वयन गरियो भने कुनै काम पनि गाह्रो छैन भन्ने मेरो मान्यता थियो । सुसमाचारको राम्रो परिणाम प्राप्त गर्न नसकेका सन्तहरूको निराश स्वरूपलाई देख्दैपिच्छे उहाँहरूले किन गर्न नसक्नुभएको होला भनेर म बुझ्नै सक्दिनथें । अनि कठिनाइ भोगिरहनुभएका सन्तहरूलाई पनि म बुझ्दिनथें । सायद अलि बुद्धि पुऱ्याएर कार्य नगर्नुभएकोले कठिनाइबीच गुज्रिनुपरेको होला भनी म सोच्दथें । उहाँहरूप्रति चिन्ता लागेर, उहाँहरूको दुःखलाई बुझ्नुभन्दा पनि उहाँहरूलाई सहयोग गर्ने सोचले म उल्टै अर्ती दिनतिर लाग्थें । मेरो कुराले उहाँहरूको भावनामा चोट पुऱ्याउला भन्ने कुरा मलाई साँच्चै थाहा थिएन ।

यसैबीच ममाथि पनि अप्रत्याशित कठिनाइ आइपऱ्यो । कठिनाइ भन्ने कुराचाहिँ अरूलाई मात्र आउने कुरा हो भनेर म सोच्ने गर्थें । तर जब त्यो ममाथि आइपऱ्यो तब मेरा सबै योजना वा तर्कपूर्ण विचार अर्थहीन रहेछ भन्ने कुरा महसुस भयो । स्वर्गीय माताबाहेक म कसैमा भर पर्न सकिनँ । आफैले सम्हाल्न नसक्ने कठिन र पीडादायी समयलाई जित्न सक्नको निम्ति मैले व्यग्रतापूर्वक प्रार्थना गरें ।

यदि माताले मलाई नसमाइदिनुभएको भए सायद मेरो आत्मा त्यतिखेरै ढल्नेथियो । मैले मातालाई मात्र हेर्दै धैर्य गरेकीले कालो बादल हटेर गई घमाइलो दिन छायो ।

कठिन समयबाट गुज्रिएपछि, दाजुभाइ-दिदीबहिनीहरू मेरो आँखामा पहिलाभन्दा फरक देखिनुभयो । जति पीडाबीच गुज्रियो त्यति नै परिपक्व भइन्छ भन्ने कुरा साँच्चै सत्य थियो । विश्वासको मार्गमा आइपर्ने कठिनाइहरूचाहिँ कसैको कारणले निम्तिने कुरा अथवा कसैलाई दोष लगाउने कुरा होइनकि हाम्रो आत्मा पूर्ण रूपमा फेरि जन्मनको निम्ति हामीले बोक्नैपर्ने क्रूस हो भन्ने कुरा मैले महसुस गरें । यदि म कठिनाइबीच नगुज्रिएकी भए मैले अझै पनि सन्तहरूले किन त्यस्तो कठिनाइ भोग्नुपरेको होला भन्ने कुराको साथै उहाँहरूलाई कति गाह्रो भइरहेको छ भन्ने कुरा पनि सायद बुझ्न सक्नेथिइनँ ।

मैले मेरा सबै गलत मापनलाई फालेपछि सन्तहरू निकै मायालु र सुन्दर देखिनुभयो । ती सन्तहरू जसप्रति म, बुद्धि पुऱ्याएर कार्य गर्न नसक्ने भन्दै निराश हुन्थें, वास्तवमा उहाँहरू त विश्वासका साथ आफ्नो क्रूस आफै बोक्दै सबै कठिनाइलाई निःशब्द सामना गर्ने सबैभन्दा बुद्धिमान् र दह्रिला परमेश्वरका छोरा-छोरीहरू हुनुहुँदोरहेछ । आफ्नो कठिनाइको परवाह नगरी अरूहरूप्रति चिन्तित हुँदै एक आत्मालाई बचाउन प्रयत्नरत ती प्रत्येक सन्तहरू साँच्चै गर्व गर्न योग्यका र चम्किला देखिनुहुन्थ्यो । वास्तवमा उहाँहरूलाई घृणा गर्नुपर्ने कुनै कारण नै थिएन, तर कपटको आँखाले हेरेकीले मैले उहाँहरूलाई साँचो हृदयले प्रेम गर्न नसकेकी रहेछु ।

त्यसपछि पनि मलाई ढलपल पार्न खोज्ने केही परीक्षाहरू ममाथि आए । म गुज्रिरहेको त्यो कुराचाहिँ समय बित्दैजाने क्रममा केही होइन भन्ने कुरा त थाहा भयो, तर त्यसले मेरो मनलाई धेरै कमजोर बनाइदियो । पीडाले मलाई यति च्यापेको थियो, कि म धेरै पटक रोएँ । म थकित र उदास हुँदा “तिमीले धेरै गरिसक्यौ, अब सुसमाचारको कार्यबाट हात धुँदा राम्रो छ” भन्ने आवाज मेरो कानमा कतैबाट सुनिन्थ्यो ।

लामो प्रार्थनापछि मैले माताबाट पाएको उत्तर नै ‘सुसमाचार’ थियो । सुसमाचारको मार्गबाट नबरालियोस् भनेर माताले मेरो आत्मालाई सधैँ अँगाल्नुहुन्थ्यो । अति असहाय अवस्थामा पनि मैले मातालाई सोच्दै ‘हरेस खानेछैनँ’ भन्ने मन बनाउँदा मैले मेरो अगिको ढोका पहिल्यै खोलिएको पाउँथें । मन बनाएर फेरि सुसमाचारमा पाइला चाल्दा, एक आत्मालाई बचाउने खुशीद्वारा माताले मेरो थकित मनलाई सान्त्वना दिनुभयो ।

सियोन नजिकै बस्नुहुने एक जना हजुरआमा हुनुहुन्छ । युवा छँदा उहाँ विभिन्न मण्डलीहरूमा धाउनुभएछ, तर कतै पनि सत्यता नपाउनुभएर मण्डली जान छोड्नुभएको रहेछ । सत्यता ग्रहण गर्नुभन्दा अघिको मेरो स्वरूप उहाँले मलाई याद दिलाउनुभयो । उहाँले बाइबल पनि धेरै पल्ट पढिसक्नुभएकोले हामीले एउटा पद देखाउँदा त्यो पदमा के भनिएको छ भन्ने कुरासमेत उहाँलाई थाहा हुन्थ्यो । तर ती हजुरआमाले शरीरमा फेरि आउनुभएका परमेश्वरलाई ग्रहण गर्न मान्नुभएन । उहाँले, अबोप्रान्त वचन सुन्नु छैन, भेट्न पनि आउनुपर्दैन भन्नुभयो । उहाँको घरको बाटो भएर जाँदा मेरो मन दुख्छ ।

केही महिनापछि कुनै शबाथ-दिनमा, म सदाभन्दा अलि चाँडै घरबाट निस्किएँ । बाटोमा हिँड्ने क्रममा मैले एक्कासि ती हजुरआमालाई सम्झिन पुगें । त्यो क्षणमा, मैले उहाँलाई मतिर आइरहनुभएको देखें । तब निकै हर्षित हुँदै म उहाँ भएतिर दौडेर गएँ, अनि “नमस्ते !” भन्दै उहाँलाई अँगालो हालें । उहाँ अलि अप्ठ्यारो मानेको जस्तो देखिनुहुन्थ्यो, तर सायद मलाई देखेर उहाँ पनि एकदमै खुशी हुनुभएकोले होला, उहाँले मुस्कुराउँदै मलाई यसो भन्नुभयो,

“मैले तिम्रो लागि केही गरेकी छैनँ । कसरी तिमीले मलाई यति धेरै माया गर्न सक्यौ ?”

बदलामा कुनै कुराको अपेक्षा नगर्नु नै साँचो प्रेम हो जस्तो लाग्छ । सत्यता होइन भने अनुहार पनि, नाम पनि राम्ररी नजानेको व्यक्तिलाई कसरी त्यति धेरै प्रेम गर्न सकिन्थ्यो र ? यो कुरा मैले अझैसम्म पूर्ण रूपले बुझेकी छैनँ । तर यति मात्र जान्दछु, कि माताको प्रेम मेरो आत्मामा गहिरो गरी खोपिएको छ, जसले स्वार्थी र हिसाबी व्यवहार गर्ने मजस्ती मानिसलाई पनि अरूलाई प्रेम गर्ने बनायो ।

माताको प्रेम महसुस गर्नुभएकी ती हजुरआमा पूर्ण रूपमा फरक व्यक्ति बन्नुभयो । उहाँ निकै व्याकुल हुनुभएर “मैले परमेश्वरलाई दिन सक्ने कुरा केही छैनँ । परमेश्वरको अनुग्रहलाई थोरै भए पनि तिर्न म चाँडो धेरै सिक्का कमाउन चाहन्छु, तर मेरा साथीहरूले मेरो कुरा सुन्दैनन्” भन्दै आँसु नै झार्नुभयो । उहाँको निष्कपटताले चाँडै नै कसैको हृदयमा जीवनको फूल फुलाउनेछ भनी विश्वास गर्दछु ।

मैले सत्यता ग्रहण गरेको समयमा मेरो गर्भमा रहेको मेरो दोस्रो सन्तान अहिले उच्च माध्यमिक तहमा पढ्ने विद्यार्थी भइसक्यो । मेरो सन्तानसमेत मेरो ख्याल राख्न सक्नेसम्मको परिपक्व भइसक्यो, तर मचाहिँ अझैसम्म आत्मिक रूपमा अपरिपक्व छु, जसले मातालाई चिन्ता मात्र दिन्छ । तैपनि माताचाहिँ म उहाँको अँगालोमा रहेको कुरामा मात्र पनि आभारी हुनुहुँदै मतिर मुस्कुराउनुहुन्छ ।

कहिलेकहीँ म सोच्ने गर्छु । कमजोर र त्रुटिहरूले भरिएकी मलाई परमेश्वरले सियोनमा डोऱ्याउनुको कारण के होला ? मलाई अन्तिमसम्म सुसमाचारको जगमा उभिने गराउन परमेश्वरले मलाई बारम्बार समाइदिनुमा कस्तो इच्छा छ होला ? त्योचाहिँ अझै पनि ममा प्रेमको कमी भएकोले र त्यो प्रेममा अभाव भएका कुराहरू भरिदिनको निम्ति हो जस्तो लाग्छ ।

मैले बाइबलले गवाही दिएको स्वर्गीय मातालाई महसुस गरेकी छु, र म मातालाई चिन्दछु भनेर सोच्ने गर्थें । माता सत्यताको केन्द्रबिन्दु हुनुहुन्छ भन्ने कुरा बुझेकी भए पनि उहाँ स्वयम् प्रेम हुनुहुन्छ भन्ने कुराचाहिँ बुझेकी थिइनँ । मैले माताबाट असीम प्रेम पाएँ, तर उही देह र रगतमा सहभागी भएका दाजुभाइ, दिदीबहिनीहरूलाई चाहिँ किन मैले यतिका समयसम्म प्रेम नगरेको होला ?

हामी सबै जना ख्रीष्टको शरीरका अङ्गहरू हौं, तर हाम्रो भूमिका र वरदान भने फरक-फरक छ । मचाहिँ अरू सन्तहरूले मैले जसरी सोचून्, मैले जसरी कार्य गरून् भन्ने चाहन्थें । वास्तवमा त्योचाहिँ हातले खुट्टालाई “तिमी किन मैले गरेजसो गर्दैनौ ?” भनेर सोध्नुजस्तै हो । मैले मेरो साँघुरो सोचाइलाई परमेश्वरको इच्छाको रूपमा गलत तरिकाले बुझें, अनि साँचो प्रेमचाहिँ एक-अर्काको असमानतालाई स्वीकार्नु र अँगाल्नु हो भन्ने कुरा नबुझीकन आफूले सन्तहरूलाई प्रेम गरेकी छु भनेर सोच्न पुगें ।

यसबारे सोचिहेर्दा, १० सिक्का सुसमाचार अभियानचाहिँ परमेश्वरले हामीलाई, एक-अर्कालाई अझ बढी प्रेम गर्ने बनाउनको निम्ति दिनुभएको मिसन हो जस्तो लाग्छ । प्रेमले मात्र यसलाई पूरा गर्न सक्छ । तर प्रेमलाई एकातिर सारेर मचाहिँ केवल दृश्य परिणामतिर केन्द्रित हुन पुगें । आफ्नै तरिकामा हठी भएर जिद्दी गरेको मेरो स्वरूपप्रति म लज्जित छु ।

मेरो नजिक आउन अझै पनि हिचकिचाउने सन्तहरू कतिपय हुनुहुन्छ । मेरो बोल्ने तरिका अरूको भन्दा फरक भएकोले र म सजिलै घुलमिल हुन नसक्ने व्यक्तिजस्तो देखिने भएकीले त्यसो भएको हो कि ? वास्तवमा म अझै पनि पूर्ण रूपमा नयाँ गरी नजन्मिएकीले हो जस्तो लाग्छ । यो कुराले मेरो मन दुख्छ । अब म परमेश्वरको दृष्टिमा दाग र खोटरहित अनि प्रेमले भरिएको व्यक्ति हुन व्यग्रतापूर्वक प्रार्थना गर्दछु ।

सुसमाचारको पाइला चाल्ने समयमा मात्र होइनकि जहाँ र जहिले पनि भेटेजति सबैलाई म प्रेम दिन चाहन्छु । त्यसैले केही सामान किन्नलाई पसलमा जाँदा पनि वचन सुनाउन कोसिस गर्छु । म प्रायः जाने गरेको एउटा पार्लर छ, र हालसालै मैले त्यहाँको कर्मचारीलाई वचन सुनाएँ । सत्यता सुनेर उहाँ छक्क पर्नुभयो, तर हाम्रो मण्डलीको विरुद्धमा केही आधारहीन निन्दाहरू सुनेर उहाँले आफ्नो मनको ढोका बन्द गर्नुभयो । अहिलेचाहिँ उहाँ “परमेश्वरको मण्डली निकै न्यानो र प्रेमले भरिपूर्ण छ” भन्दै सियोनमा आउन मन गर्नुहुन्छ । मैले वचन सुनाएको अर्की सिस्टर पनि हुनुहुन्छ । विवाह गर्नुअघि उहाँ परमेश्वरलाई विश्वास गर्नुहुन्थ्यो, तर विवाहपछि उहाँका पतिको परिवारले पितृपूजा गर्ने भएकाले उहाँ पनि त्यतैतिर लाग्नुभएको रहेछ । यसले गर्दा उहाँ परमेश्वरकहाँ आउन हिचकिचाउनुभयो, तर अहिले उहाँ निडर भएर परमेश्वरको इच्छालाई अनुसरण गर्दैहुनुहुन्छ । पक्कै पनि उहाँको आत्माले परमेश्वरको प्रेमलाई महसुस गरेको हुनुपर्छ । प्रेमले सबै कुरालाई सम्भव बनाउँछ, र ईमानदारिताले साँच्चै नै काम गर्छ ।

माता, धन्यवाद ! मलाई प्रेमको परिभाषा बुझाइदिनुभएकोमा र संसारका विभिन्न कार्यमध्ये मलाई, अन्य मानिसहरूलाई प्रेम गर्ने कार्यको जिम्मा दिनुभएकोमा धन्यवाद चढाउँदछु । मातालाई प्रेम गर्दै, अनि मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई पनि प्रेम गर्दै मैले त्यो प्रेम एक जना, दुई जनालाई गरेर सुनाएँ भने सबै मानिसहरूको हृदयमा माताको प्रेमको मुना पलाउने दिन निश्चय नै आउनेछ । त्यो दिन नआउञ्जेल म प्रेम हुनुभएकी माताले जस्तै प्रेम दिनेछु, दिइरहनेछु ।