मेरा पतिले कामबाट घर फर्कंदा बनाना मिल्क किनेर ल्याउनुभयो । पहिले उहाँले त्यसो कहिल्यै गर्नुभएको थिएन । परिवारसँग मनोहर समय बिताउन चाहेर मैले सबै जना सँगै खाना खान बाहिर जाऔं भन्दाखेरि पनि उहाँले सीधै “तिमीहरू ३ जना जाओ” भन्नुहुन्थ्यो । त्यसैले म कहिलेकहीँ निराश हुन्थें । तर हिजोआज उहाँले प्रायः खाजाहरू, आइसक्रिम र हाम्रा बच्चाहरूलाई मन पर्ने कुराहरू ल्याउनुहुन्छ ।
वास्तवमा हाम्रा छोराहरूले बनाना मिल्क मन पराउँदैनन्, र उहाँले उनीहरूका लागि भनेर किनेर ल्याउनुभएकोले मैले साँचो कुरा उहाँलाई बताउन सकेकी थिइनँ । त्यसैले मैले “विभिन्न खानेकुरा किनेर ल्याउनु राम्रो छ । हाम्रा छोराहरूलाई चक्लेट मिल्क र स्ट्रबेरी मिल्क मन पर्छ” भनेर उहाँलाई सङ्केत दिएँ । तर त्यसपछि पनि उहाँले बनाना मिल्क नै किनेर ल्याइरहनुभयो । त्यसैले मैले नचाहँदा-नचाहँदै ती सबै पिउनुपर्थ्यो । एक दिन मेरो जेठो छोराले यसो भन्यो,
“आमा, मलाई चक्लेट मिल्क मन पर्छ । अर्को पटकचाहिँ चक्लेट मिल्क किनेर ल्याइदिनू है ?”
मैले अर्को दिन किनिदिन्छु भनेकी थिएँ, तर बिर्सेछु । विद्यालयबाट फर्कनेबित्तिकै “आमा, चक्लेट मिल्क किनेर ल्याउनुभयो ?” भन्दै सीधै ऊ फ्रिजतिर दौडेर गयो ।
“ला ! माफ गर । मैले त भुसुक्कै बिर्सेछु । तिमी पसल गएर किनेर ल्याऊ न त, हुन्न ?”
“होस्, भोलि खाऊँला । तर खै किन हो, हिजोआज मलाई चक्लेट मिल्क निकै मन पर्छ ।”
ऊ दुःखित हुँदै आफ्नो कोठामा गयो । मैले चक्लेट मिल्क किन्नको लागि बाहिर जाने निर्णय गरें । त्यही समय, मेरा पति कालो प्लास्टिकको झोला हातमा लिएर घर आउनुभयो । उहाँले यस पटक पनि बनाना मिल्क नै किनेर ल्याएको हुनुपर्छ भन्ने सोच्दै मैले झोला खोलें । अप्रत्याशित रूपमा त्यहाँ ३ डिब्बा चक्लेट मिल्क थियो ।
“बाबु, मिन सग ! तिम्रो बुबाले तिमीलाई मन पर्ने चक्लेट मिल्क किनेर ल्याइदिनुभएछ । उहाँलाई कसरी थाहा भएछ ? तिम्रो बुबा सबैभन्दा राम्रो ।”
“साँच्चै ? बुबा, धन्यवाद । मलाई चक्लेट मिल्क एकदमै मन पर्छ । मीठो गरी खानेछु !”
अघिल्लो दिनमा छोरासँगको मेरो कुराकानी सायद उहाँले सुन्नुभएको थियो होला । आफ्नो छोरालाई खुशी देखेर मेरा पतिको मुहारमा पनि मुस्कान छायो । सानो कुरा भए पनि बुबाको निःशब्द प्रेम महसुस गरेर धन्यवादी र खुशी भएको छोरा, अनि सीधा कुरा गर्नुहुने भए पनि आफ्नो छोराको ख्याल गर्नुहुने मेरा पतिलाई देखेर म प्रभावित भएँ । “के हो ? आफ्नो छोरालाई मन पर्ने कुराहरू मात्र किनेर ल्याउनुभएछ, तर आफ्नी पत्नीको लागि चाहिँ केही ल्याउनुभएन ?” मैले गुनासो गरेको स्वाङ पारें ।
आफ्नो मनमा भएका कुराहरू राम्ररी व्यक्त नगर्नुहुने मेरा पतिलाई देखेर निराश हुने समयहरू धेरै हुन्थे । बिहान सबेरै काममा जानुभई थकित भएर बेलुका घर फर्कनुहुने र खाना खाएर ओछ्यानमा जानुहुने उहाँप्रति कहिलेकहीँ त दया पनि लाग्थ्यो, तर उहाँ आफ्ना बच्चाहरूसित मैत्रीपूर्ण नहुनुहुने र उनीहरूसित समय नबिताउनुहुने कुराले मलाई पिरोल्थ्यो । उहाँ थकित भएर घर आउनुभएको समयमा उहाँलाई दुःख नदिनको लागि म उहाँलाई एकलै छोडिदिन्थें, उहाँलाई आराम मिलोस् भनेर ।
मेरा पतिले घरमा खुशी महसुस गर्न सके हुन्थ्यो भनेर कामना गरेकी थिएँ । अन्ततः मेरो प्रार्थना पूरा भएको कुराप्रति म धन्यवादी छु । अनि मौनतापूर्वक परिवारलाई प्रेम गर्नुहुने मेरा पतिलाई पनि धन्यवाद दिन चाहन्छु । मेरा पति कहिल्यै हाम्रो नजिक आउनुहन्न भन्दै गुनासो गरेकोमा म आफैप्रति लज्जित छु । शान्त र लजालु स्वभावका मेरा पतिले पहिला हामी नै उहाँको नजिक आए हुन्थ्यो भनेर प्रतीक्षा गरिरहनुभएको थियो कि ? म र मेरा छोराहरू अगाडि नै उहाँको अलि नजिक गएको भए हामी अझ खुशी हुनेथियौं होला ।
चक्लेट मिल्कद्वारा फेरि एक पटक हामीलाई पारिवारिक प्रेम महसुस गर्ने र मेलमिलापमा रहने गराइदिनुभएका परमेश्वरलाई धन्यवाद चढाउँछु । त्यो दिनदेखि मेरा पतिले कामबाट फर्कंदाखेरि सधैँ चक्लेट मिल्क ल्याउने गरिरहनुभएको छ ।