गर्व

स्वस्थ हुने मानिसहरूले प्रायः आफ्नो स्वस्थ्यको बेवास्ता गर्छन् । शरीरमा त्यस्तो कुनै दुःखाइ नभएकोले उनीहरू आँखा चिम्लेर आफ्नो स्वास्थ्यमा भरोसा गर्छन् तर कहिलेकहीँ अप्रत्याशित रूपमा रोग लाग्न सक्छ । वास्तविकतामा प्रायः सबैभन्दा स्वस्थ देखिने मानिसहरू नै अचानक बिरामी परिरहेका हुन्छन् ।
अर्कोतर्फ, दुर्बल शरीर भएका मानिसहरूले चाहिँ आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्छन् । उनीहरूलाई आफू दुर्बल भएको कुरा थाहा भएकोले उनीहरूले सम्भव भएसम्म स्वस्थ्यका लागि हानिकारक भएका खानेकुराहरू खाँदैनन्, तर स्वस्थ खाना खाँदै शारीरिक रूपमा स्वस्थ रहन परिश्रम गर्छन् ।
“… यसकारण ख्रीष्टको शक्ति ममा वास गरोस् भनेर म बरु मेरो दुर्बलतामा बढी खुशीसाथ गर्व गर्नेछु ।” २ कोर १२:९
प्रेरित पावलले आफ्नो दुर्बलतामा गर्व गरे, किनभने यसले उनलाई अभिमानी हुनबाट बचायो र सधैँ परमेश्वरमा भर पर्ने गरायो । यदि उनीसँग सबै थोक भएको भए र कुनै कुराको अभाव नभएको भए, परमेश्वरबाट पाएको ठूलो अनुग्रहले गर्दा उनको मन अभिमानी हुन सक्थ्यो र उनी शारीरिक रोगभन्दा पनि घातक आत्मिक रोगबाट पीडित हुन सक्थे ।
हरेक व्यक्तिमा कुनै न कुनै दुर्बल पक्ष हुन्छ । तर यदि त्यो दुर्बलतालाई विनम्रताको हतियार बनाइयो भने घमण्ड रूपी शत्रुलाई सजिलै परास्त गर्न सकिन्छ । त्यसैले आफ्ना दुर्बलताहरूमा पनि रमाउन सिकौं, र कमजोर भएको बेला सहयोग गर्नुहुने परमेश्वरसँग सधैँ नजिक रहौं ।