झगडा, सबै जना विजेता बन्ने अवसर !
झगडाचाहिँ यहाँहरूले एक-अर्कालाई प्रेम गर्नुहुन्छ भन्ने कुराको प्रमाण हो । यसबाट तर्किएर नगईकन यसलाई बुद्धिमानीपूर्वक सम्हाल्नुहोस् ।
हिजोआज प्रायः परिवारमा विभिन्न आपराधिक घटनाहरू हुने गरेको छ । वार्तालापको कमी भयो भने सबैभन्दा प्रेम गर्नुपर्ने र सुरक्षा दिनुपर्ने सदस्यहरूसमेत अपराधको शिकार बन्न पुग्छन् । विशेष गरी लामो समयसम्मको मनमुटावचाहिँ गहिरो भावनात्मक टक्कर र एक आक्रामक व्यवहार उत्पन्न गराउने कारक बन्न सक्छ ।
“घर सम्हाल्नु भनेको बगैँचाको काम गर्नुजस्तै हो” भन्ने कसैको भनाइ पनि छ । जतिसुकै सुन्दर बगैँचा भए पनि यदि उचित समयमा त्यहाँबाट सामाहरू हटाएन भने आखिरमा त्यसले पूरै खेत भरिदिन्छ । परिवार भन्ने बगैँचाभित्रको सामा नै झगडा हो । एउटा खुशी र आदर्शपूर्ण परिवारभित्र पनि झगडाचाहिँ हुन्छ । झगडा, उनीहरू जीवित छन् र एक-अर्कालाई प्रेम गर्छन् भन्ने कुराको एउटा प्रमाण पनि हो । झगडा भयो भन्दैमा उनीहरूले एक-अर्कालाई प्रेम गर्दैनन् भन्ने कुरा होइन, अनि उनीहरूले एक-अर्कालाई प्रेम गर्छन् भन्दैमा त्यहाँ झगडा नहुने पनि होइन ।
धेरै मानिसहरूले झगडालाई कष्टप्रद दुखाइको रूपमा लिने गर्छन् । यदि तपाईंले झगडालाई वास्तविकता देख्ने र आफैलाई फर्केर हेर्ने मौकाको रूपमा लिनुभयो भने त्यो तपाईंको जीवनको नयाँ मोड बन्न सक्छ । खुशी परिवारचाहिँ झगडालाई समाधान गर्ने तरिकामा निर्भर हुन्छ भन्दा फरक पर्दैन । भनिन्छ, “तूफानपछि साम्य माहोल आउँछ ।” झगडाको अवस्था सृजना हुँदाखेरि तपाईंले बुद्धिमानीपूर्वक त्यसको सामना गर्नुभयो भने तपाईं उल्टै आफ्नो पारिवारिक सम्बन्ध बलियो बनाउन सक्षम बन्नुहुनेछ ।
झगडालाई कसरी रोकथाम गर्ने
कसैसँग तपाईंको झगडा भयो भने त्यसलाई बुद्धिमानीपूर्वक सम्हाल्नु महत्त्वपूर्ण त हुन्छ, तर त्योभन्दा पनि आफू पहिल्यै होशियार भएर झगडा हुन नदिनु नै अझ उत्तम हुन्छ ।
१. गलत कोही छैन, तरिका मात्र फरक हो
झगडाचाहिँ “म सही, तपाईं गलत” भन्ने आधारबाट सुरु हुन्छ । सर्वप्रथम, गलत हुनु र फरक हुनु भन्ने कुरालाई छुट्ट्याऔं । अरूको विचार फरक छ भन्दैमा उनीहरूलाई ‘गलत’ भन्नुचाहिँ गलत हो । दुई जनाले एउटै स्याउ झरेको देखे भने एउटाले त्यो गुरुत्वाकर्षणको कारणले हो भन्न सक्छ भने अर्काले चाहिँ त्यो पाकेर झरेको हो भन्न सक्छ । एउटाले स्याउ मीठो छ होला भन्न सक्छ भने अर्कोले चाहिँ त्यो ममाथि झरेको भए मलाई चोट लाग्न सक्थ्यो भनेर सोच्न सक्छ । त्यसोभए यहाँ कसलाई सही भन्ने र कसलाई गलत ? यहाँ कोही गलत छैनन् । उनीहरूको सोच्ने तरिका मात्र फरक हो ।
विशेष गरी फरक वातावरणमा हुर्किएका दुई जना व्यक्तिहरू, विवाह बन्धनमा बाँधिन्छन् । यी दुई पति र पत्नीको एकै दिनमा कुरा मिल्नु भनेको लगभग असम्भवजस्तै हो । यसको साथै एउटै कोखबाट जन्मिएका बच्चाहरूमा समेत भिन्न स्वभाव हुन्छ । यदि तपाईंले हामी एक-अर्काबाट भिन्न छौं भनेर स्वीकार्नुहुन्न भने गुनासो उत्पन्न हुन्छ । अनि त्यो गुनासो, विवाद र झगडाको कारण बन्न पुग्छ । अन्य व्यक्तिलाई तपाईंको मान्यताको आधारमा परिवर्तन गर्न कोसिस गर्नुभन्दा आफ्ना परिवारका सदस्यहरूलाई आदर गर्न र उनीहरू जस्तो छन् त्यस्तै अवस्थामा स्वीकार्नको निम्ति आफैलाई तालीम दिनुहोस् ।
२. ध्यान दिएर सुनिदिने
झगडा भएको परिवार प्राय:जसो वार्तालापको आधार रहेको ‘सुनिदिने’ पक्षमा कमजोर हुन्छ । यदि तपाईंले परिवारको सदस्यको कुरा बीचमै काट्ने अथवा एकतर्फी बोल्ने गर्नुभयो भने परिवारका सदस्यहरूबीच वार्तालाप बिस्तारै हराउँदैजानेछ । कम वार्तालापचाहिँ सदस्यहरूबीचको सम्बन्ध खराब हुँदा देखा पर्ने अवस्था हो । तपाईंको परिवारको सदस्यले तपाईंसँग कुरा गरिरहेको बेला ध्यानपूर्वक सुनिदिने गर्नुहोस् । ध्यानपूर्वक सुनिदिने गरेमा उनीहरूलाई खुशी र बल प्राप्त हुन्छ । तपाईंले अरूको कुरामा ध्यान दिँदाखेरि यदि कुनै समस्या समाधान भएन भने पनि, त्यसले अरूको गुनासोलाई ९०% समाधान गर्ने भूमिका निर्वाह गर्न सक्छ ।
३. म पनि गलत हुन सक्छु
तपाईंको समझ र निर्णय गलत पनि हुन सक्छ, सोच्ने तरिका विवेकपूर्ण नहुन सक्छ, गरेको कार्य असङ्गत हुन सक्छ, आफूले बुद्धिको रूपमा सोचेका कुराहरू बुद्धिमानी नहुन पनि सक्छ, अनि आफूले हुन्छ होला भन्ठानेको कुरा नहुन पनि सक्छ भन्नेबारे होश गर्नुहोस् । तपाईं आफू पनि गलत हुन सक्नुहुन्छ, तपाईंमा पनि सीमा र अन्तर्विरोध भन्ने कुरा हुन सक्छ भन्नेबारे सधैँ याद राख्नुहोस् ।
४. आफूलाई अरूको ठाउँमा राखिहेर्ने
मानिसहरू सही कुरा बोल्ने मानिसलाई भन्दा आफूलाई बुझिदिने मानिसलाई बढी रुचाउँछन् । मानिसहरू आफूलाई बुझिदिने मानिस हो भने उसले जे भने पनि त्यो कुरालाई स्वीकार्न प्रयास गर्छन्, तर आफूलाई नबुझिदिने मानिस हो भने उसले जतिसुकै सही कुरा भने पनि त्यसलाई सुन्न चाहँदैनन् । कसैलाई बुझिदिनको निम्ति पहिला आफूलाई अर्को व्यक्तिको स्थानमा राख्नुपर्छ । प्रत्येक कार्यको पछाडि कारण हुन्छ । यदि तपाईंले आफूलाई अरूको स्थानमा राखेर सोच्नुभयो भने अरूलाई १००% बुझ्न नसके पनि अरूलाई केही हदसम्म अझ राम्ररी बुझ्न सक्नुहुनेछ ।
झगडाको समाधानचाहिँ दुईतर्फी जितमा
परिवारका सदस्यहरूबीचको झगडाचाहिँ एउटाले जित्ने र अर्कोले हार्ने प्रतिस्पर्धात्मक खेल होइन । यसमा कि त दुईतर्फी जित हुन्छ, कि त दुईतर्फी हार । यदि तपाईंले झगडालाई राम्ररी समाधान गरेर सम्बन्धलाई अझ नजिक बनाउनुभयो भने दुईतर्फी जित हुन सक्छ । तर यदि मेलमिलाप नगरी एक-अर्काको मनमा चोट पुऱ्याएर आफ्नो पीठ फर्काउनुभयो भने त्यहाँ दुईतर्फी हार हुन पुग्छ । परिवारको सदस्यसँग झगडा गर्दा यदि तपाईंले जित्नुभयो भने मुकुट प्राप्त गर्ने पनि होइन, अनि हार्नुभयो भने ठूलो समस्या उत्पन्न हुने पनि होइन ।
परिवारका सबै सदस्यहरूलाई विजेता बनाउने झगडा समाधानका तरिकाहरू निम्नानुसार छन् :
१. झगडाको उद्देश्यचाहिँ रीस पोख्नु नभएर समस्या समाधान गर्नु हो
जब मानिसहरू भावनामा बहकिन्छन् तब उनीहरूले प्राय: एक-अर्कामाथि गुनासो र रीस पोख्ने गर्छन् । कसैमाथि रीस पोख्दाखेरि तपाईंको धेरै शक्ति खर्च हुन्छ, अनि यसले एक-अर्काको भावनामा चोट पुऱ्याउँछ । झगडाको उद्देश्यचाहिँ एक-अर्काको गल्तीलाई औँल्याउनु वा कसैमाथि रीस पोख्नु होइनकि समस्या समाधान गरेर ‘राम्रो सम्बन्ध कायम राख्नु’ हो भन्ने कुरालाई कृपया सदा याद राख्नुहोस् ।
२. झगडाको निशानाचाहिँ व्यक्ति होइन समस्या हो
परिवारजनबीच सोचाइ नमिल्दा अरूलाई आक्रमणको निशाना बनाउने अवस्था हुन्छ । यदि तपाईंले आफ्नो परिवारको सदस्यलाई नै झगडाको कारण ठहराउनुभयो भने आगोमा घ्यू थप्ने कार्य हुनेछ । विशेष गरी परिवारका सदस्यको व्यक्तित्व वा कमजोर पक्षहरूको विषयमा कुरा गर्नु उचित हुँदैन । व्यक्तिमा होइन, तर समस्यामा ध्यान दिएर मेलमिलाप कायम गर्नको निम्ति प्रयत्न गर्नुहोस् ।
३. वर्तमान समस्याको बारेमा मात्र कुरा गर्ने
रीस उठ्दाखेरि विगतमा भएका नराम्रा कुराहरूलाई पनि सम्झिन पुगिन्छ । धेरै समयअघिका कुराहरूलाई फेरि उठाउनुभयो भने झगडा समाधान गर्न गाह्रो हुन्छ । आफूले भनिरहेको कुरा वर्तमान समस्यासँग सम्बन्धित छ वा छैन भनेर जाँच्न आवश्यक हुन्छ ।
४. झगडा समाधान गर्न सक्रिय मनोवृत्ति देखाउने
कसैले गुनासोलाई समाधान गर्न कोसिस गर्दाखेरि अर्को व्यक्तिले त्यसलाई बेवास्ता गऱ्यो अथवा ऊ त्यो अवस्थाप्रति अजान बन्यो भने उनीहरूले एक-अर्कालाई बुझ्ने मौका नै गुमाउन पुग्नेछन् । एउटा बलियो परिवारले गुनासोलाई पछि हतियारको रूपमा प्रयोग गर्नको निम्ति त्यसलाई मनमा राख्ने गर्दैन । तपाईंका परिवारजन काम वा स्कूलबाट नआउञ्जेल अथवा उनीहरू शान्त नहोउञ्जेल पर्खनुभन्दा बरु दिन बित्नुभन्दा अघि नै समस्या समाधान गरिहाल्दा उचित हुन्छ ।
५. एक कदम पछि हट्ने
झगडाको अवस्था सृजना हुँदा एक-अर्काको निम्ति त्याग गर्नु र एक-अर्कासँग माफी माग्नु नै उत्तम समाधान हो । “माफ गर्नुहोस्” भन्ने अभिव्यक्तिले यी ३ सन्देशहरू एकसाथ सम्प्रेषण गर्दछ : “मेरै गल्ती हो,” “म तपाईंलाई आदर गर्दछु,” अनि “हाम्रो सम्बन्ध मेरो निम्ति महत्त्वपूर्ण ।”
परिवारका सदस्यहरूबीच झगडाचाहिँ प्राय: सानो कुराबाट सुरु हुने गर्छ । परिवारका कोही सदस्य तपाईंसँग रिसाए भने बहाना बनाउँदै आफ्नो कुरा बुझाउन प्रयास गर्नुभन्दा पहिला “माफ गर्नुहोस्” भनेर त्यसपछि आफ्नो व्यवहारको बारेमा व्याख्या गर्नुहोस् । माफी माग्ने एउटा सानो कार्यले झगडा समाप्त गर्न सक्ने भएकोले आफ्नो घमण्डको कारणले झगडालाई अझ बढाउने कार्य कृपया नगर्नुहोला ।
हिजोआज परिवारका सदस्यहरूबीचको कलह र मनमुटावले चरम सीमा नाघेर गम्भीर अपराधहरू निम्त्याइरहेको छ । यस्तो समस्या समाधानको एकमात्र तरिका भनेकै वार्तालाप हो । सबै मानिसहरू सुखी परिवार चाहन्छन्, तर कुनै प्रयासै नगरी सुखी परिवार बनाउन सम्भव हुँदैन । तपाईंले जति धेरै प्रयास गर्नुभयो तपाईं त्यति नै खुशी बन्न सक्नुहुन्छ ।