WATV.org is provided in English. Would you like to change to English?

शोक सन्तप्त व्यक्तिलाई कसरी मद्दत गर्ने ?

विचारशीलता र सहानुभूति नै उत्तम सान्त्वना हो । सँगै शोक गर्दै सँगै जितौं ।

35,014 भ्यु

सबै मानिसहरूले, जीवनमा कसैलाई गुमाउँदाको क्षण अनुभव गरेका हुन्छन् । कसैले साथी गुमाउँछन्, कसैले परिवारजन, सहकर्मी, चिनाजाना इत्यादि गुमाउँछन् । कसैलाई गुमाउँदाको शोक र पीडा व्यक्तिअनुसार फरक त हुन्छ, तर आफ्नो मायालु परिवारजन गुमाउँदाको न्यास्रोपनाचाहिँ सबैभन्दा ठूलो हुन्छ ।

परिवारजन गुमाउँदाको शोकबाट सबै जना तर्किन चाहन्छन्, तर स्थायी/अस्थायी रूपमा आखिरमा सबैले यसको अनुभव गर्नुबाहेक विकल्प छैन । घनिष्ठ हुनुभएका हजुरबुबा, हजुरआमालाई गुमाएका नाति-नातिना, समुद्रपारिको विदेशमा पढ्न भनेर गएका सन्तानको तिर्सना गर्ने आमा, भेट्न चाहे तापनि भेट्न नसकिने गरी छरिएर रहेका परिवारजन, वर्षौंसम्म रोगसँग लडेर अन्तमा बित्नुभएका बुबालाई याद गर्ने छोरी, आधा जीवन सँगै बिताएका आफ्नो पतिलाई गुमाएकी पत्नी, दुर्घटनामा गुमाएका कलिला सन्तानलाई आफ्नो हृदयमा पुर्न विवश बनेका बुबा-आमा … यदि हाम्रो वरिपरि यस्ता व्यक्तिहरू छन् भने हामीले उनीहरूलाई कसरी मद्दत गर्न सक्छौं ?

परिवारजन गुमाएपछिको प्रभाव

जब कसैले परिवारजन गुमाउँछ तब ऊ झस्किने, तर्सिने र शोकमा डुब्ने जस्ता नकारात्मक भावनाहरूमा जकडिन्छ । विशेष गरी परिवारजनको अचानक र अप्रत्याशित मुत्युचाहिँ स्थायी मानसिक आघातको रूपमा रहन सक्छ, अनि समय बिते तापनि त्यो स्वतः मेटिँदैन ।

मानसिक आघात वा ‘पोस्ट-ट्रमाटिक स्ट्रेस डिसर्डर[PTSD, Post-traumatic Stress Disorder ]’ले युद्ध, दशा अथवा प्रकोप जस्ता आम मानव अनुभवको सीमाभन्दा बाहिर हुने बज्रपाती घटनाको अनुभव गरेपछि देखिने प्रभावलाई जनाउँछ । तर पछिल्लो अनुसन्धानका अनुसार योचाहिँ युद्ध अथवा दुर्दशा मात्र हुने होइनकि व्यक्तिगत घटना, कसैको मृत्यु हुँदा अथवा कोहीबाट अपमान पाउँदा पनि हुन सक्छ ।

PTSDका ३ मुख्य लक्षणहरू छन् । पहिलो, PTSDबाट ग्रस्त मानिस सामान्य कुरामा पनि अति संवेदनशील हुन्छ । दोस्रो, सानोतिनो कुरामा सजिलै डराउँछ । तेस्रो, निदाउन गाह्रो हुन्छ । कारण कुनै घटनाबाट पाएको झट्कापछि उसमा तनावको सामना गर्ने सहानुभूति स्नायु एकदमै सक्रिय हुन्छ । घटना घटेको लामो समय बितिसक्दा पनि उसलाई उही घटनाको झल्को आइरहन्छ । “अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ” भन्ने भनाइजस्तै त्यो घटनालाई याद दिलाउने वस्तु वा अवस्थाको सामना गर्दा उसले अघिल्लो घटनाबाट डर र त्रास महसुस गर्छ । यस्ता लक्षणहरूबाट लगातार ग्रस्त भइरह्यो भने उसले वास्तविकतालाई पनि सपनाको रूपमा लिने अथवा त्यो घटनालाई बिर्सने अवस्था पनि हुन सक्छ ।

भनिन्छ, ४०% बच्चाहरूले आफू वयस्क उमेरमा पुग्नुअघि मानसिक आघात निम्त्याउने घटना कम्तीमा एउटा भए पनि अनुभव गर्छन् । तर कुनै कठिन कुराको अनुभव गरेका सबै जना मानसिक आघातबाट ग्रस्त हुन्छन् भन्ने कुराचाहिँ होइन । उदासीनता भनेको साधारण प्रतिक्रिया हो, तर यदि यसलाई जित्न सकिएन भने यसले मानसिक आघातको रूप लिन सक्छ । यसैकारण शोकमा डुबिरहेका मानिसहरूलाई सान्त्वना दिने मानिसको भूमिका एकदमै महत्त्वपूर्ण छ भनेर विज्ञहरू बताउँछन् ।

सान्त्वना दिन खोज्दा गर्न पुगिने गल्तीहरू

आफ्ना प्रियजन गुमाएका मानिसहरूको शोकको गहिराइलाई नाप्न गाह्रो हुन्छ । उनीहरूको शोक गहिरो भएकोले उनीहरूलाई सान्त्वना दिन झन् गाह्रो हुन्छ । गहिरो शोकमा डुबेकाहरूलाई के भन्ने भनेर थाहा नहुँदा “तिमीमाथि के बितिरहेको छ भन्ने कुरा म जान्दछु” भन्न पुगिन्छ । हुन त सान्त्वना दिने हिसाबले त्यसो भनेको हो, तर आफ्नो प्रियजन गुमाएको व्यक्तिले त्यो कुरालाई उल्टै प्रतिरोधी बोलीको रूपमा लिन सक्छ । सबैसितको सम्बन्ध फरक हुने भएकोले, भोगेको परिस्थिति उस्तै भए पनि प्रियजन गुमाउँदाको भावना अर्को व्यक्तिसँग मिल्दैन ।

मानिसहरू आफ्ना भावनाहरू व्यक्त गर्न डराउँछन्, विशेष गरी नकारात्मक भावनाहरू । केही मानिसहरूले “तिमी दह्रो हुनुपर्छ, हिम्मत नहार” अथवा “धेरै चिन्ता नगर” भन्दै सान्त्वना दिन खोज्छन् । तर यस्ता बोलीहरूले उल्टै शोक सन्तप्त व्यक्तिहरूलाई आफ्नो भावना व्यक्त गर्नबाट रोक्ने भएकोले त्यसो भन्नु अलि उचित हुँदैन ।

सान्त्वनाका अन्य साझा बोलीहरूचाहिँ “सबै ठीक हुनेछ” र “जे भयो, भयो । अब तिमीले जीवनलाई अगि बढाउनुपर्छ” इत्यादि हुन् । हुन त यी बोलीहरू सबै साँचो हृदयबाट आएका हुन् तैपनि परिवारजन गुमाएर शोकमा डुबेकाहरूलाई यसले अलिकति पनि मद्दत गर्दैन । शोकाकुल मानिसहरूका लागि यी बोलीहरूचाहिँ सान्त्वना नभएर सुझावका बोली मात्र हुन् । शोक सन्तप्त मानिसहरूले चाहने कुराचाहिँ आफ्नो कुरा सुनिदिने व्यक्ति हो, आफ्नो समस्या सुल्झाउने तरिका सिकाइदिने अथवा सुझाव दिने व्यक्ति होइन ।

शोकमा डुबेका मानिसहरूले कहिलेकहीँ आफ्ना भावनाहरू व्यक्त गर्ने गर्छन् । तर उनीहरूको कुरा एकैछिन सुनेर एक्कासि कुराकानीको विषयलाई मोड्ने मानिसहरू पनि हुन्छन् । त्योचाहिँ तिनीहरू अरूको दुःख बाँडेर लिन तयार नभएकाले गर्दा हो । यदि हामी साँच्चै उनीहरूलाई सान्त्वना दिन चाहन्छौं भने हामीहरू उनीहरूसँगै रुन पनि तयार हुनुपर्छ ।

शोक सन्तप्त व्यक्तिहरू सधैँ दुःखित देखिन्छन् भनेर सोच्नु नै मानिसहरूको ठूलो असमझदारी हो । दुःखको समना गर्ने तरिका सबै जनामा फरक-फरक हुन्छ, अनि मानिसमा एकै पटकमै मिश्रित भावनाहरू आउने गर्छ । ती शोकाकुल मानिसहरू एकैछिन खुशी देखिए भन्दैमा तिनीहरू दुःखबाट पूर्ण रूपमा मुक्त भए भन्ने अर्थचाहिँ होइन ।

यसबाहेक कसै-कसैले दुःखमा परिरहेका मानिसहरू केही नभएझैँ गरी चाँडो सामान्य जीवनमा फर्कनुपर्छ भनेर सोच्ने गर्छन् । तर यसरी सोच्नेहरूले चाहिँ आफ्नो सोचाइ परिवर्तन गर्न आवश्यक छ । उदासीनता भन्ने कुरो सबैलाई हुन्छ, र यसलाई दबाउनु राम्रो होइन । मानिसहरू दिन बितेपछि दुःख पनि आधा हुन्छ भन्ने गर्छन् । अलि कम हुन्छ, तर पूरै कहिल्यै हराउँदैन भन्ने अर्थ हो । घाउ निको भएको ठाउँमा मधुरो खत बसेजस्तै भएजस्तै हो । उदासीनतालाई केही हदसम्म ठीक गर्न त सकिन्छ, तर यसलाई पूर्ण रूपमा मेटाउनचाहिँ सकिँदैन ।

सान्त्वनादायक सन्देश : “हामी तपाईंको साथमा छौं !”

हालसालैको अनुसन्धानले, राम्ररी समर्थन र प्रेम नपाएका मानिसहरूभन्दा ती सबै पाएका मानिसहरूमा उदासीनता, चिन्ता, मुटुरोग र क्यान्सरका समस्याहरू कम हुने गरेको देखायो । पीडालाई जित्नु छ भने आफ्नो आत्मविश्वासलाई पुनः प्राप्त गर्न र स्थिर सम्बन्धलाई पहिलाकै स्थितिमा ल्याउन महत्त्वपूर्ण छ । त्यसैकारण उनीहरूसित जति नै राम्रो व्यवहार गरिए पनि स्थिर र विचारशील सम्बन्धविना उनीहरू निको हुन सक्दैनन् । उदासीनताको सामना गरिरहेकाहरूसँग अर्थपूर्ण र ईमानदार सम्बन्ध कायम राखियो भने तिनीहरू धेरै निको हुन सक्नेछन् ।

सहानुभूति भनेको दया अथवा सहमति होइन, तर पीडालाई कम गराएर शोक सन्तप्त व्यक्तिलाई सान्त्वना दिने पहिलो कदम हो । उनीहरूप्रति दया देखाउनु वा क्षमाप्रार्थी हुनुले कुनै फरक पार्दैन । सहानुभूति भनेको अर्को व्यक्तिको भावना र मनोभावलाई बाँड्ने क्षमता हो, अनि त्यसलाई हाम्रो मस्तिष्कद्वारा लेखाजोखा गर्न सकिँदैन, त्यो त हृदयदेखि आउनुपर्ने कुरा हो । यसको साथै उनीहरूले कति उदासीनता र एकलो महसुस गरिरहेका छन्, अनि उनीहरूलाई कत्तिको सहयोग चाहिएको छ भन्ने कुरा हामीले साँचो हृदयले बुझ्न आवश्यक हुन्छ । उनीहरूको दृष्टिकोणबाट सोच्नु, उनीहरूलाई सही तरिकाले बुझेर भावनात्मक रूपमा समर्थन गर्नु र उनीहरूको भावनाहरू बाँड्नुचाहिँ उनीहरूलाई सान्त्वना दिने र शान्ति खोज्न सहयोग गर्ने सुरुवाती बिन्दु हो ।

एक-अर्काको मन बुझेपछि बल्ल उनीहरूले आफ्ना भावनाहरू अलि-अलि गर्दै व्यक्त गर्न थाल्नेछन् । त्यसपछि हामीले कुराकानी गर्न सक्नेछौं । जब उनीहरूले आफूले भोगेका कुराहरू, आफ्ना भावनाहरू व्यक्त गर्छन् तब उनीहरूले दुःखलाई जित्ने बल प्राप्त गर्नेछन् । आफ्नो घाउलाई शब्दद्वारा व्यक्त गर्नुचाहिँ निको हुने एउटा तरिका पनि हो, तर उनीहरू आफ्नो हृदयमा भएका कुराहरू निकाल्न तयार छैनन् भने उनीहरूलाई कर गर्नुहुँदैन । किनभने त्यसो गऱ्यो भने उनीहरूलाई दुःखद् घटना फेरि याद दिलाएर उनीहरूमाथि अझ पीडा थप्न पुगिन्छ । कहिलेकहीँ धेरै शब्दहरूको बोलीभन्दा सहयोगी हात नै अझ बढी लाभदायक हुन्छ । जुनसुकै समयमा होस्, सधैँ आफ्नो साथमा रहने र आफ्नो दुःख बुझिदिने मानिस कोही त छ भन्ने कुरा महसुस हुँदा मनका घाउहरू बिस्तारै निको हुन सक्छन् ।

आफ्नो प्रियजन गुमाएका केही मानिसहरू उक्त घटनाको कारण पत्ता लगाउन प्रयास गर्छन्, अनि आफैलाई दोष दिँदै ‘यो सबै मैले गर्दा भएको हो’ अथवा ‘यदि मैले त्यसो नगरेको भए’ भन्ने कुराहरू सोच्दै दोषको पीडामा गुज्रिन्छन् । त्यसैकारण उनीहरूलाई आफ्नो दुःख दबाउन दिनुको सट्टा व्यक्त गर्न प्रोत्साहित गर्नुपर्छ । यसबाहेक खुशी महसुस गर्नु भनेको आफूलाई दोषी ठान्नु नपर्ने कुरा हो भन्ने तथ्य थाहा दिनुपर्छ । बरु उनीहरूले आराम, व्यायाम, खानपान, स्वास्थ्यको ख्याल लगायत अन्य सानातिना कुराहरू पनि पुनर्स्थापित गर्न प्रयास गर्नुपर्छ । त्यस अर्थमा हामीले उनीहरूलाई समर्थन गर्नुपर्छ । कहिलेकहीँ घरायसी कामकाज गर्न दिएर अथवा बच्चाहरूको हेरचाह गर्न दिएर उनीहरूलाई, उदासीनतालाई जित्न सहयोग गर्नु पनि राम्रो उपाय हो ।

उनीहरूले एकलो र कसैले आफूलाई मद्दत नगरेको महसुस गर्दा उनीहरूको दुःख दुई गुण हुन्छ, र उनीहरू अझ पीडाले ग्रस्त बन्न पुग्छन् । कसैलाई गुमाएको पीडाबाट ग्रस्त मानिसलाई प्रेमको आवश्यकता पर्दछ । मलाई बुझ्ने र मेरो भावनाप्रति सहानुभूति दिने कोही त छ भन्ने प्रेमको भावनाले उनीहरूलाई दुःखलाई जित्नको निम्ति साहस प्रदान गर्नेछ ।

“बोस्टन स्ट्रङ (Boston Strong) !”

बोस्टन म्याराथनमा बम बिस्फोटन हुँदा ३ जना मानिसहरूले ज्यान गुमाए, र करीब २६० जना मानिसहरू घाइते भए । त्यसको एक वर्षपछि, सन् २०१४ अप्रिल २१ तारिखमा ११८औँ बोस्टोन म्याराथन आयोजना गरिएको थियो, अनि पछिल्लो वर्षको तुलनामा अझ धेरै मानिसहरू सहभागी भएका थिए । “बोस्टन स्ट्रङ” भन्ने नाराले बोस्टन सहरलाई एक-अर्कालाई अँगाल्ने गरायो, अनि त्यसरी बोस्टनका धेरै क्षेत्रहरू भरिभराउ भयो । पीडितहरू, उनीहरूका परिवारहरू र पूरै सहर नै एउटै परिवारजस्तै भएर उनीहरू एकले अर्कालाई सन्त्वनाका सन्देशहरू पठाए । एक वर्षसम्म सहेको त्यो पीडा, आशामा परिणत भयो ।

हामीहरू मानसिक आघातको युगमा जिइरहेका छौं । बोस्टन सहरले गरेजस्तै हामीलाई पनि मनका घाउहरू निको पार्न र थोरै आराम गर्न मरुद्यान परिवारको आवश्यकता छ । दुःखबाट गुज्रिरहेका मानिसहरूलाई बुझिदिएर सहानुभूति दर्शाउने साँचो परिवारको भूमिका निभाई आपसमा दुःख बाँड्दै त्यसलाई एकसाथ जितौं ।