छोरा-छोरीहरू किशोरावस्थामा छन् भने

किशोरावस्थाको छोरा-छोरीसँग कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ होला ?

20,694 भ्यु

बच्चाहरू आमाबाट एकछिन मात्र छुट्टिनुपऱ्यो भने आकाशै खसेझैँ गरेर डाँको छोडेर रुने गर्छन् भने आमालाई देख्यो भने तुरुन्त मुस्काउँछन् । आमाले जे भने पनि उनीहरू सजिलै विश्वास गर्छन् । तर बच्चा हुर्किएर विद्यालय जान थालेपछि उसलाई आफ्नी आमासँग भन्दा साथीहरूसँग बढी समय बिताउन मन पर्छ, अनि उसले आमासँग कुराहरू लुकाउन थाल्छ । अझ उसमा झट्टै रिसाउने स्वभाव देखा पर्छ । अनि उसले बाहिरी स्वरूपमा बढी ध्यान दिने र आफ्नो कोठाको ढोका बन्द राख्ने गर्छ । यी सबै किशोरावस्थामा पुगेपछि देखा पर्ने स्वभावहरू हुन् ।

किशोरावस्था भनेको कुनै पनि बच्चाले वयस्क बन्ने क्रममा भोग्ने पीडाजस्तै हो । बुबा-आमाले पनि त्यो पीडा सँगै सहनुपर्ने हुन्छ । बच्चाहरूले आफ्नो शारीरिक र मानसिक परिवर्तनप्रति अनौठो महसुस गर्छन् भने बुबा-आमाचाहिँ आफ्ना बच्चाहरूको अनियन्त्रित व्यवहारप्रति चिन्तित बन्ने गर्छन् ।

तर त्यसो भन्दैमा किशोरावस्थामा पुग्नेबित्तिकै जो पनि आफ्ना बुबा-आमाप्रति अटेरी बन्छन् भन्ने अर्थचाहिँ होइन । यो समयमा किशोर-किशोरीहरू अरू मानिसहरूले आफूलाई कस्तो दृष्टिकोणले हेर्छन् भन्ने कुराप्रति संवेदनशील हुन्छन्, अनि उनीहरूमा बुबा-आमाबाट स्वतन्त्र हुने ठूलो चाहना हुन्छ । आज्ञाकारी भएको चाहने बुबा-आमाले अह्राएको कुरामा उनीहरूले मैत्रीपूर्ण व्यवहार देखाउँदैनन् । बुबा-आमाले आफ्ना छोरा-छोरीहरूको व्यवहारलाई सीधै ‘विद्रोहपूर्ण’ ठहऱ्याए भने उनीहरूसँग राम्रो सम्बन्ध कायम गर्ने मौका गुमाउनेछन् । छोरा-छोरीहरू आफ्ना बुबा-आमाबाट जतिसुकै टाढिन खोजे पनि वास्तवमा बुबा-आमा नै उनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू भएकाले बुबा-आमाले सधैँ उनीहरूका साथमा रहेर समर्थन गरिदिनुपर्छ ।

किशोर-किशोरीहरू मस्तिष्क विकास हुने क्रममा भएकाले असल कुराहरू अनुभव गराउने

किशोरावस्थाचाहिँ शरीरमा गौण यौन विशेषताहरू विकास हुनुको साथै मस्तिष्क पुनर्निर्माण हुने समय हो । उनीहरू १२देखि १७ वर्षका भएपछि न्यूरोनमा जस्तै फ्रन्टल लोब(frontal lobe, मस्तिष्कको अगाडिको भाग)मा भारी विकास हुन्छ । योचाहिँ बच्चाहरूको मस्तिष्कले, वयस्कले जस्तै सोच्ने र निर्णय लिने हुनको निम्ति गुज्रिनुपर्ने ठूलो निर्माण प्रक्रिया हो ।

अर्को शब्दमा भन्ने हो भने किशोरावस्थाको मस्तिष्कचाहिँ एउटा सानो कोठालाई भत्काएर त्यसको ठाउँमा तीन वटा कोठाहरू बनाउनुजस्तै अवस्थामा हुन्छ । यो प्रक्रियामा फ्रन्टल लोबको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । फ्रन्टल लोबले आवेग र रीसलाई नियन्त्रण गर्छ, अनि स्मृतिहरू, तर्कसङ्गत सोचाइ, निर्णय इत्यादिलाई व्यवस्थित गर्छ भने एमेग्डालोइड नाभिक(amygdaloid nucleus)ले चाहिँ डर, रीस र दुःख जस्ता भावनात्मक गुणहरूलाई नियन्त्रण गर्छ । किशोर-किशोरीहरू कलिलो छँदै उनीहरूमा एमेग्डालोइड नाभिकचाहिँ विकास भइसकेको हुन्छ, तर त्यस बेला फ्रन्टल लोब अस्थिर अवस्थामा हुन्छ । यसैकारण बच्चाहरूले सानोतिनो कुरामा पनि विद्रोहपूर्ण वा भावनात्मक प्रतिक्रिया जनाउने सम्भावना हुन्छ ।

यो समयमा गेमको लत वा स्मार्टफोनको अत्यधिक प्रयोगले फ्रन्टल लोब विकासमा बाधा पुऱ्याउन सक्छ । किशोर-किशोरीहरूको स्मार्टफोन र गेमहरूप्रतिको लत नै अहिलेको गम्भीर सामाजिक समस्या हो । त्यसरी लत बस्नुको कारणचाहिँ त्यसको प्रयोगद्वारा उनीहरूले पढाइको तनावबाट मुक्त हुन सक्ने, जिज्ञासाहरू मेटाउन सक्ने र वास्तविक संसारमा अनुभव गर्न नसकेको विचार र कार्यको आनन्द लिन सक्ने भएकाले हो ।

Google र Yahoo जस्ता विश्वप्रसिद्ध IT(Information Technology, सूचना प्रविधि) कम्पनीमा काम गर्ने बुबा-आमाहरूले आफ्ना बच्चाहरूलाई कम्प्यूटर र स्मार्टफोन प्रयोग गर्न निषेध गर्ने विद्यालयमा पढाउने गर्छन् । बरु त्यसको सट्टामा ती बुबा-आमाहरूले आफ्ना छोरा-छोरीहरूलाई पुस्तकहरू पढ्न, प्रकृतिलाई महसुस गर्न र विभिन्न कुराहरूको अनुभव लिनतर्फ अभिप्रेरित गर्छन् । ती बुबा-आमाहरूले छोरा-छोरीहरू १६ वर्ष पुगेपछि मात्र उनीहरूलाई डिजिटल शिक्षा दिन थाल्छन् । किनभने विद्यार्थीहरूले पुस्तक पढ्दा र व्यायाम गर्दाको आनन्द महसुस गरेमा मात्र उनीहरूमा IT उपकरणहरूको लत बस्दैन भन्ने ती बुबा-आमाहरूको धारणा छ ।

किशोर-किशोरीहरूलाई केबाट बढी सन्तुष्टि र खुशी मिल्छ भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ । उनीहरूलाई गेम खेल्दा, इन्टरनेट प्रयोग गर्दा, हिंसात्मक र आवेगपूर्ण व्यवहार गर्दा, खेलकुदहरूमा भाग लिँदा, हाइकिङ जाँदा, पढ्दा, वाद्यवादन अथवा कुनै असल कार्य गर्दाखेरि मिल्ने खुशीको आधारमा उनीहरूको मस्तिष्क परिवर्तन हुने गर्छ । बुबा-आमाले आफ्ना छोरा-छोरीहरूलाई सकारात्मक खुशी प्रदान गरेर अझ परिपक्व भई खुशीसाथ किशोरावस्था पार गर्न मद्दत पुऱ्याउनुपर्छ ।

बुबा-आमा व्यवस्थापकबाट सल्लाहकारमा परिवर्तन हुनुपर्छ

बच्चाहरूको प्रवृत्तिलाई खाना बनाउने कुरासँग तुलना गरिहेरौं । बच्चाहरू आफू प्राथमिक तहमा हुँदासम्म बुबा-आमाले बनाइदिएको खाना खाने गर्छन् । तर किशोरावस्थामा पुगेपछि उनीहरूलाई आफ्नो खाना आफै बनाउन मन लाग्छ । उनीहरूलाई बनाउने तरिका, सामग्री वा मरमसलाहरूको त्यति ज्ञान नभए पनि कुनै परिकार बनाउन इच्छा लाग्छ । उनीहरूले हात पोल्ने हुन् कि अथवा हात काट्ने हुन् कि भनेर बुबा-आमाले उनीहरूलाई भान्सामा छिर्न नदिएको खण्डमा उनीहरूले लुकेर एकलै वा आफ्ना साथीहरूसँग मिलेर पनि खानेकुरा बनाउन सक्छन् ।

छोरा-छोरीहरूले उमेर पुगेर आफैले खाना बनाउने इच्छा गर्दाखेरि बुबा-आमाचाहिँ उसको व्यवस्थापकबाट सल्लाहकारमा परिवर्तन हुनुपर्छ । हुन त अझसम्म सही निर्णय लिन नसक्ने र त्यति अनुभव नबटुलेका छोरा-छोरीहरूलाई भरोसा गरिहाल्न सजिलो त हुँदैन । तर छोरा-छोरीहरू हिँडिरहेको बाटो लामो र कठिन भए पनि उनीहरूलाई तुरुन्तै जवाफ दिनुभन्दा बरु परीक्षा र कठिनाइबीच गुज्रिने गराएर आफ्नो जवाफ आफैले पत्ता लगाउने गराउनु नै अझ महत्त्वपूर्ण हुन्छ । यो कुरा बुबा-आमाले कदापि बिर्सनुहुँदैन ।

बुबा-आमाले आफ्ना छोरा-छोरीहरूमाथि कडा नजर राख्दै आफूले चाहेअनुसार गर्न लगायो भने बुबा-आमा र छोरा-छोरीहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम नहुने अवस्था हुन्छ । यसको ठीक विपरीत ‘जे गरे नि पटक्कै सुन्ने होइन’ भन्दै बुबा-आमाले छोरा-छोरीहरूलाई आफूखुशी गर्न छोडिदियो भने उनीहरूलाई दबाब दिँदाको परिणामभन्दा झन् गम्भीर परिणाम निम्तिन सक्छ । बुबा-आमाले छोरा-छोरीहरूलाई चुनौतीपूर्ण अवस्थाको सामना गर्ने मौका दिएर धैर्यतापूर्वक हेर्नु नै उचित हुन्छ ।

किशोर-किशोरीहरू आफूलाई सानो बच्चालाई जस्तै नभएर वयस्कलाई जस्तै व्यवहार गरिएको मन पराउँछन्, अनि कहिलेकहीँ उनीहरू बुबा-आमाबाट सुरक्षा पनि पाउन खोज्छन् । बुबा-आमाले सिकाउने अनुशासनलाई बाहिरी रूपमा स्वीकार नगरे पनि उनीहरू भित्रभित्रै केही हदसम्म त्यसमा भर परिरहेका हुन सक्छन् । छोरा-छोरीहरूको द्विपक्षीय व्यवहारप्रति बुबा-आमा अलमल्ल पर्ने अवस्था पनि हुन सक्छ । तर जतिसुकै गाह्रो भए पनि बुबा-आमाले छोरा-छोरीहरूसँग नजिकको सम्बन्ध कायम गर्न सक्दो प्रयत्न गर्नुपर्छ । बुबा-आमा र छोरा-छोरीहरूबीच सहानुभूतिको सम्बन्ध भएमा छोरा-छोरीहरूले बुबा-आमाको ज्ञान र अनुभवको कदर गर्दै उहाँहरूको सल्लाहमा कान लगाउनेछन् ।

किशोरावस्थाका छोरा-छोरीसँग सञ्चार गर्ने

१. बच्चाले आफूलाई आदर गरिएको चाहन्छ

कुनै शैक्षिक प्रकाशन कम्पनीले निम्न माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीहरूलाई प्रश्नावली बाँडेर गरेको सर्वेक्षणमा ४२६ जना विद्यार्थीहरूमध्ये ४३.८% विद्यार्थीहरूले किशोरावस्थाबाट राम्ररी पार हुने तरिका नै परिवार तथा साथीहरूको हेरचाह र आदर हो भनेर जवाफ दिएका थिए । छोरा-छोरीहरू किशोरावस्थामा पुगे भने उनीहरूलाई अब उसो सानो बच्चालाई झैँ व्यवहार गर्नुहुँदैन । उनीहरूको भावना, विचार र व्यक्तित्वको कदर गर्नुपर्छ । छोरा-छोरीहरूलाई लगातार बच्चालाई जस्तै व्यवहार गर्दै बुबा-आमाको इच्छाअनुसार मात्र गराउन खोज्यो भने उनीहरू झन् विद्रोहपूर्ण ढङ्गले हुर्किने अवस्था हुन्छ । त्यसो भन्दैमा छोरा-छोरीहरूलाई साथीलाई जस्तै व्यवहार गर्नुपर्छ भन्ने अर्थचाहिँ होइन । बुबा-आमाले आफ्नो स्थान र मर्यादा कायम राखेर एकतर्फी आदेशलाई त्याग्दै उनीहरूको सामु आफ्ना भावना र विचारहरू अभिव्यक्त गर्नुपर्छ ।

२. छोरा-छोरीहरूको बलियो पक्ष पहिचान गर्ने

किशोरावस्थामा सन्तानहरू विवेकशील भन्दा अझ संवेदनशील हुने भएकाले उनीहरू कहिलेकहीँ अरूले भनेको सानो कुरामा हदभन्दा बढी प्रतिक्रिया दिने र कसैले उनीहरूको गल्तीलाई औँल्याइदियो भने चित्त दुखाउने गर्छन् । यस्तो अवस्थालाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका भनेकै उनीहरूको गल्तीलाई मौनतापूर्वक औँल्याउँदै उनीहरूको बलियो पक्षको चाहिँ खुलेर प्रशंसा गरिदिनु हो ।

बच्चाहरूलाई प्रशंसा गरिदियो भने उनीहरूले बुबा-आमालाई आफ्ना समस्याहरू सजिलै बताउनेछन् । सोच्दै नसोचेको पक्षलाई लिएर प्रशंसा गरिदियो भने त्यो प्रशंसा अझ प्रभावकारी बन्छ । अरू कसैले पनि ध्यान नदिएको उनीहरूको कुनै विशेषतालाई लिएर प्रशंसा गरिदियो भने उनीहरूले त्यसलाई खुशीसाथ स्वीकार्नेछन् ।

३. ईमानदारितापूर्वक कुराकानी गर्ने

बुबा-आमासँग पटक्कै कुराकानी गर्न नचाहने छोरा-छोरीहरू, बुबा-आमासँगको कुराकानी कचकचमै टुङ्गिने भएकोले कुराकानी गर्न नचाहेको बताउँछन् । छोरा-छोरीहरूसँग लगातार कुराकानी गरेन भने मौका मिल्नेबित्तिकै उनीहरूसँग भन्न मन लागेका कुराहरू भन्न खोज्दा पनि उनीहरूको गल्तीलाई नै औँल्याउन पुगिने अवस्था हुन्छ ।

बरु आफ्ना छोरा-छोरीहरूलाई के चाहिएको छ, अनि उनीहरू बुबा-आमाले के गरिदिएको चाहन्छन् भनेर नम्रतापूर्वक सोध्दै राम्ररी कुराकानी गरेर समस्याहरू समाधान गर्नु उचित हुन्छ । सधैँ कुनै गहन विषयलाई नै लिएर गम्भीरतापूर्वक कुराकानी गर्नुपर्छ भन्ने छैन । प्रत्येक दिनका गतिविधिहरूलाई लिएर रमाइलो र मैत्रीपूर्ण कुराकानी गर्न सक्दो प्रयास गर्नुपर्छ । अनि सबैभन्दा महत्त्वपूर्ण भनेकै छोरा-छोरीहरूको कुरालाई राम्ररी सुनिदिनु हो ।

सुझाव
किशोरावस्थाका छोरा-छोरीहरूलाई भन्न नहुने कुराहरू
“तिमी किन यस्तो भएको हँ ?” – छोरा-छोरीहरू आक्रोशित र निराश हुनेछन् ।
“तिम्रो चाला जहिले नि यस्तै त हो !” – छोरा-छोरीहरूको व्यवहार मन नपरे पनि कडा अभिव्यक्ति दिनुहुँदैन ।
“हेर ! बुबा-आमाले भनेको मानेन भने यस्तै हुन्छ !” – यसले छोरा-छोरीहरूलाई निरुत्साहित तुल्याइदिनेछ ।
“तिम्रो समस्याचाहिँ के हो हँ ?” – किशोरावस्था भनेको आँधीबेहरी चल्ने समय हो । किशोर-किशोरीहरूमा निराशा, आक्रोश उत्पन्न हुनुको साथै उनीहरूले असहाय महसुस गर्न सक्छन् । ती बोलीहरूले उनीहरूमा आफ्नो भावनाको कदर भएन भन्ने किसिमको सोचाइ ल्याउन सक्छ ।
निन्दात्मक बोली, टोकसो र एकतर्फी आदेशमूलक बोलीहरूले छोरा-छोरीहरूको आत्मसम्मानमा ठेस पुऱ्याउँछ, अनि यसले कुराकानीको बाटो नै रोकिदिन सक्छ ।

४. प्रेम अभिव्यक्त गर्ने

बुबा-आमाले किशोरावस्थाका बच्चाहरूप्रति न्यानो र प्रेमपूर्ण व्यवहार गरिदिँदा उनीहरूलाई ठूलो सहयोग मिल्छ । छोरा-छोरीहरूलाई भित्री रूपमा प्रेम गरे भइहाल्यो नि भनेर सोच्नुभन्दा उनीहरूलाई प्रेम पाइरहेको महसुस दिलाउनको निम्ति बुबा-आमाले बोली र व्यवहारद्वारा प्रेम अभिव्यक्त गर्नुपर्छ । अँगालो हाल्नु, हात समाउनु, काँध थपथपाउनु इत्यादि गतिविधिहरूले किशोरावस्थाका छोरा-छोरीहरूलाई भावनात्मक स्थिरता प्रदान गर्नुको साथै चिन्तामुक्त गराउँछ । अनि “अरूले जे भने पनि तिमी मेरो लागि एकदमै अमूल्य छौ !” “ठीकै छ । अर्को पटक राम्ररी गऱ्यौ भने भइहाल्छ नि !” वा “तिमीबाट मलाई कति खुशी मिल्छ भन्ने तिमीलाई थाहा छैन,” लगायतका असल बोलीहरूद्वारा आफ्नो प्रेम अभिव्यक्त गरेमा छोरा-छोरीहरू पनि “बुबा-आमा मेरो साथमा हुनुहुन्छ” भनेर विश्वस्त हुनेछन् ।

५. छोरा-छोरीहरूलाई परिवारको महत्त्व बुझाइदिने

परिवारको महत्त्व बुझेका छोरा-छोरीहरूमा आत्मविश्वास हुन्छ, अनि उनीहरूले साथी वा शिक्षकहरूसँगको सम्बन्धमा आएको समस्यालाई बुद्धिमानीपूर्वक सुल्झाउने तरिका पत्ता लगाउन सक्छन् । बुबा-आमाले परिवारको महत्त्वलाई बुझाइदिनको निम्ति सबैभन्दा पहिला आफैले असल उदाहरण देखाइदिनुपर्छ । पति-पत्नीबीच मेलमिलाप र प्रेमको कमी छ, अनि छोरा-छोरीहरूसँग कुनै कुराकानी हुँदैन भने उनीहरू सजिलै भ्रम र कलहतिर धकेलिनेछन् । कुनै एक सर्वेक्षणका अनुसार रिसाह परिवारमा हुर्किएका छोरा-छोरीहरू आपराधिक गतिविधिहरूमा सहभागी हुने सम्भावना ५ गुणा बढी हुन्छ । पति-पत्नीले एक-अर्कालाई आदर गरेमा छोरा-छोरीहरूले पनि बुबा-आमालाई आदर गर्नेछन् । पति-पत्नीले परिवारमा मेलमिलाप कायम राख्दै आपसमा मैत्रीपूर्ण कुराकानी गरेमा छोरा-छोरीहरूलाई पनि बाहिरी संसारसँग कुराकानी गर्न मद्दत मिल्छ ।

किशोरावस्था भनेको किशोर-किशोरीहरूले आफ्नो पूरै जीवनका मूल्यहरू निर्माण गर्ने निर्णायक र गहन समय हो । संयुक्त राज्य अमेरिकाका अभिभावक विशेषज्ञ तथा प्रशिक्षक रहेका डा. माइक रिएराले “किशोरावस्थाका छोरा-छोरी र बुबा-आमाका लागि सफलताको चाबी भनेकै धैर्यता, विश्वास र पारिवारिक बन्धन हो” भनेका छन् । फल पाक्नको निम्ति त्यसले चर्को घाम र तेज बतास सहनुपर्छ । बुबा-आमा र छोरा-छोरीहरूबीचको सम्बन्ध पनि उस्तै नै हो । मानव विकासको यात्रामा सबैभन्दा संवेदनशील र अस्थिर समय भनिने किशोरावस्थामा बुबा-आमाले सधैँ आफ्ना छोरा-छोरीहरूको पक्षमा रहेर उनीहरूलाई प्रोत्साहन दिनुपर्छ । त्यसो हुँदा छोरा-छोरीहरू कुनै ठूलो समस्याविनै किशोरावस्थालाई पार गरेर असल वयस्कको रूपमा हुर्किनेछन् ।